नेपालको भौगोलिक बनावट, आर्थिक संरचना र सामाजिक जीवनको केन्द्रबिन्दु सडक यातायात नै हो। हिमाल, पहाड र तराईलाई जोड्ने सडक सञ्जालले केवल मानिस र वस्तुको आवागमन मात्र सहज बनाएको छैन, यसले राष्ट्रिय एकता, आर्थिक गतिविधि र विकासको गति समेत निर्धारण गरेको छ।
दुर्भाग्यको कुरा, विकासको मेरुदण्ड बन्नुपर्ने यही सडक प्रणाली आज हजारौँ नेपालीका लागि अकाल मृत्यु, पीडा र अपूरणीय क्षतिको कारण बन्दै गएको छ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सडक दुर्घटनामा २,२७२ जनाले ज्यान गुमाएका छन् भने ६,८४७ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुने र गम्भीर घाइते हुनेहरूमध्ये ठुलो हिस्सा १५ देखि ४० वर्ष उमेर समूहका युवा जनशक्ति हुनु झन् चिन्ताको विषय हो।
एउटा दुर्घटनाले केवल एक व्यक्तिको जीवन मात्र समाप्त गर्दैन; यसले एउटा परिवारको आशा, समाजको उत्पादनशील जनशक्ति र राष्ट्रको विकास सम्भावनामाथि समेत गम्भीर क्षति पुर्याउँछ। त्यसैले सडक सुरक्षा अब केवल ट्राफिक व्यवस्थापनको विषय मात्र नभई राष्ट्रिय विकास, सार्वजनिक स्वास्थ्य र मानव सुरक्षासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय प्राथमिकताको विषय बनेको छ।
सडक दुर्घटनाको प्रभाव मानवीय क्षतिमा मात्र सीमित रहँदैन। उपचार खर्च, उत्पादक श्रमशक्तिको ह्रास, दीर्घकालीन अपाङ्गता, पारिवारिक तनाव र सामाजिक-आर्थिक दायित्वका कारण यसले राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर पुर्याउँछ। विश्व बैंकको अध्ययनअनुसार नेपालले सडक दुर्घटनाका कारण वार्षिक रूपमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ३ प्रतिशत बराबरको आर्थिक क्षति बेहोर्दै आएको छ। यस अर्थमा सडक दुर्घटना केवल यातायात क्षेत्रको समस्या होइन, आर्थिक विकासको समेत चुनौती हो।
विशेष गरी सार्वजनिक यातायातका साधनहरू दुर्घटनामा पर्दा त्यसको क्षतिको आकार अझ भयावह हुन्छ। बस, ट्रक वा माइक्रोबस दुर्घटनामा एकैपटक दर्जनौँ यात्रुको ज्यान जान सक्छ वा धेरै यात्रु घाइते हुन सक्छन्। पछिल्ला वर्षहरूमा भएका ठुला बस दुर्घटनाहरूले सार्वजनिक यातायात व्यवस्थापनमा विद्यमान कमजोरीलाई स्पष्ट रूपमा उजागर गरेका छन्। यस्ता घटनाले एउटा स्पष्ट सन्देश दिन्छन्- यातायात व्यवसायको वास्तविक परीक्षा नाफा कमाउँदा होइन, यात्रुको जीवन सुरक्षित राख्दा हुन्छ।
वास्तवमा यातायात व्यवसाय कुनै सामान्य व्यापार होइन। यो प्रत्यक्ष रूपमा मानवीय जीवनसँग जोडिएको सेवा क्षेत्र हो। यात्रुले आफ्नो जीवनको सुरक्षा चालक, सवारी साधन र व्यवसायीको जिम्मेवारीमा सुम्पेका हुन्छन्। त्यसैले यातायात व्यवसायको केन्द्रमा नाफा होइन, यात्रुको सुरक्षा हुनुपर्छ। व्यावसायिक सफलताको वास्तविक मापन सुरक्षित यात्राको सुनिश्चितताले मात्र हुन्छ।
दुर्घटनाका अधिकांश कारण मानवीय त्रुटिसँग सम्बन्धित देखिन्छन्। अत्यधिक गति, लापरबाही, थकान, मादक पदार्थ सेवन, लागूपदार्थको प्रयोग तथा असुरक्षित ड्राइभिङ संस्कारले दुर्घटनाको जोखिम बढाउँछ। त्यसैले चालकको व्यवहार, स्वास्थ्य अवस्था र आचरण माथि नियमित निगरानी आवश्यक छ।
चालकलाई केवल सवारी चलाउने कर्मचारीको रूपमा नभई यात्रुको जीवनको संरक्षकका रूपमा बुझ्न सक्नुपर्छ। मानसिक तनाव, पारिवारिक समस्या वा अस्वस्थ अवस्थाले चालकको निर्णय क्षमतामा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्न सक्छ। त्यसैले व्यवसायीहरूले चालकको क्षमता परीक्षणसँगै मानसिक स्वास्थ्य र कार्य वातावरण प्रति पनि संवेदनशील हुनुपर्छ। आरामको पर्याप्त समय, नियमित स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शलाई समेत यातायात व्यवस्थापनको अभिन्न अङ्ग बनाउन आवश्यक छ।
यात्रुसँगको व्यवहार पनि सुरक्षित यातायात संस्कृतिको महत्त्वपूर्ण पक्ष हो। यात्रुले गाडीभित्र सुरक्षित, सम्मानित र विश्वस्त महसुस गर्नुपर्छ। यात्रुका गुनासा सुनुवाइ गर्ने प्रणाली, सेवा मूल्याङ्कन संयन्त्र तथा जबाफदेही व्यवस्थाको विकास आजको आवश्यकता हो।
दुर्भाग्यवश, धेरैजसो अवस्थामा दुर्घटनापछि सम्बन्धित व्यवसायी वा समितिहरू जिम्मेवारीबाट पन्छिन खोजेको देखिन्छ। दुर्घटनाको समयमा सम्पर्कविहीन हुने वा उत्तरदायित्वबाट भाग्ने प्रवृत्तिले सार्वजनिक विश्वास कमजोर बनाउँछ। दुर्घटना भएमा उद्धार, उपचार र राहत व्यवस्थापनमा सक्रिय भूमिका खेल्नु नै व्यावसायिक नैतिकताको आधारभूत मापदण्ड हुनुपर्छ।
सडक सुरक्षाको अर्को महत्त्वपूर्ण पक्ष सवारी साधनको प्राविधिक अवस्था हो। नियमित मर्मत सम्भारको अभाव, पुराना सवारी साधनको प्रयोग, ब्रेक प्रणालीको कमजोरी, टायरको जीर्ण अवस्था तथा अन्य यान्त्रिक त्रुटिका कारण समेत दुर्घटना हुने गरेका छन्। विशेष गरी पहाडी तथा जोखिमयुक्त मार्गमा सञ्चालन हुने सवारी साधनहरूको प्राविधिक परीक्षण अझ कडा हुनुपर्छ। सवारीको नियमित स्वास्थ्य परीक्षण नगरी सडकमा सञ्चालन गर्नु भनेको यात्रुको जीवनलाई जोखिममा राख्नु सरह हो।
यातायात व्यवस्थापक वा कम्पनीको भूमिका पनि पुनः परिभाषित हुन आवश्यक छ। विगतमा रुट व्यवस्थापन र सञ्चालन अनुमति केन्द्रित रहेका समिति/कम्पनीहरू अब सुरक्षा, सेवा गुणस्तर र व्यावसायिक अनुशासनका केन्द्र बन्नुपर्छ। टाइम कार्डको प्रभावकारी कार्यान्वयन, चालकको नियमित तालिम, यात्रु गुनासो व्यवस्थापन, भाडादर पारदर्शिता, सवारी साधन भित्र सूचना प्रणाली र सरसफाइ व्यवस्थापन जस्ता विषयलाई संस्थागत प्राथमिकता दिनुपर्छ। नियम उल्लङ्घन गर्ने चालक वा कर्मचारीमाथि आवश्यक कारबाही गर्ने साहस समितिहरूले पनि देखाउनै पर्छ।
यसका साथै, सडक सुरक्षामा राज्यको दायित्व पनि उत्तिकै महत्त्वपूर्ण छ। जर्जर सडक, खाल्डाखुल्डी, कमजोर संरचना, अपर्याप्त ट्राफिक संकेत चिन्ह र जोखिमयुक्त सडक डिजाइनले दुर्घटनाको सम्भावना बढाउँछन्। यातायात व्यवसायीहरू राज्यका प्रमुख करदाता भएकाले सरकारलाई सुरक्षित पूर्वाधार निर्माणप्रति थप जिम्मेवार बनाउन आवाज उठाउने अधिकार र दायित्व दुवै उनीहरूसँग छ। सुरक्षित सडक बिना सुरक्षित यातायात सम्भव हुँदैन।
सडक सुरक्षामा यात्रुहरूको आफ्नै सजगता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। कोचाकोच गुडिरहेका गाडीमा जबरजस्ती कोचिएर यात्रा गर्ने, छतमा बस्ने, वा चालकले लापरबाही र तीव्र गतिमा सवारी चलाउँदा मौन बस्ने बानी यात्रुले त्याग्नुपर्छ। चालकले नियम मिचेमा तत्काल प्रतिवाद गर्ने वा प्रहरीको हटलाइन (१००/१०३) मा खबर गर्ने चेतना नागरिक स्तरमा विकास हुन जरुरी छ।
वर्तमान डिजिटल युगमा प्रविधिको प्रभावकारी प्रयोग सडक सुरक्षा अभिवृद्धिको महत्त्वपूर्ण माध्यम बन्न सक्छ। सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ, चालक निगरानी प्रणाली, ड्यास क्यामेरा, डिजिटल ट्याकोग्राफ, गति नियन्त्रक उपकरण तथा सिसिटिभी निगरानी प्रणाली जडान गर्नु आजको आवश्यकता बनेको छ।
यी प्रविधिले सवारीको गति, चालकको व्यवहार तथा सञ्चालनसम्बन्धी गतिविधिको डिजिटल अभिलेख राख्न मद्दत पुर्याउँछन्, जसले दुर्घटनाको जोखिम न्यूनीकरण गर्नुका साथै दुर्घटनापछिको अनुसन्धान र जबाफदेहिता सुनिश्चित गर्न पनि सहयोग पुर्याउँछ। विकसित मुलुकहरूले सफलतापूर्वक अपनाएका यस्ता प्रविधिमैत्री अभ्यासलाई नेपाली सन्दर्भ अनुकूल विस्तार गर्दै लैजानु समयको माग हो।
सडक सुरक्षा कुनै एक निकायको एकल जिम्मेवारी होइन। यसका लागि सरकार, नेपाल प्रहरी, यातायात व्यवसायी, चालक, परिचालक र यात्रु सबैको साझा प्रतिबद्धता आवश्यक हुन्छ। दुर्घटना हुन एउटा गल्ती नै पर्याप्त हुन्छ, तर त्यसलाई रोक्न सबैको जिम्मेवार भूमिका अपरिहार्य हुन्छ। यही कारणले सडक सुरक्षा एक साझा चुनौती मात्र होइन, राष्ट्रिय दायित्व पनि हो।
जीवनभन्दा मूल्यवान् सम्पत्ति संसारमा अर्को छैन। त्यसैले सडकमा गुड्ने प्रत्येक पाङ्ग्राले विकासको गति त बढाओस् तर कुनै परिवारको जीवनयात्रा कहिल्यै नरोकोस्। सुरक्षित सडक र सुरक्षित यात्रा केवल नारा होइन; यो राज्य, यातायात व्यवसायी, चालक, यात्रु र प्रत्येक नागरिकको साझा दायित्व र अटल प्रतिबद्धता हो।
यातायात व्यवसायको सफलता केवल आम्दानी, यात्रुको संख्या वा नाफाले मापन हुँदैन। यसको वास्तविक सफलता तब प्रमाणित हुन्छ, जब यात्रुको जीवन सर्वोच्च प्राथमिकता बन्छ, सुरक्षाको संस्कृतिले संस्थागत रूप लिन्छ र व्यावसायिक निर्णयको केन्द्रमा मानवीय संवेदना रहन्छ। सडकमा गुड्ने प्रत्येक सवारीले केवल यात्रु बोकेको हुँदैन; त्यसले असंख्य सपना, परिवारको भरोसा र राष्ट्रको भविष्य बोकेको हुन्छ।
त्यसैले सुरक्षित यात्रा संयोगले होइन, जिम्मेवार निर्णय, व्यावसायिक अनुशासन, प्रभावकारी नियमन र सबै सरोकारवालाको साझा प्रतिबद्धताबाट सुनिश्चित हुन्छ। जब सुरक्षालाई व्यवहार र संस्कृतिको अभिन्न हिस्सा बनाउन सकिन्छ, तब मात्र हाम्रा सडकहरू दुर्घटनाका थलो होइन, सुरक्षित यात्रा, विश्वास, विकास र समृद्धितर्फ डोर्याउने जीवनमार्ग बन्नेछन्। किनकि प्रत्येक सुरक्षित यात्राले एउटा परिवारको भविष्य जोगाउँछ र प्रत्येक जोगिएको जीवनले राष्ट्रको समृद्धिको जग बलियो बनाउँछ।
(प्रहरी वरिष्ठ नायव निरीक्षक थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा कार्यरत छन्।)