‘ए कान्छी, भाइ बोलाइनस्? बोलाउन पर्यो एउटा भाइ त!’
म केही वर्ष अघिसम्म यस्तै कुरा सुन्दै हुर्किएँ। अलि बुझ्ने नहुँदासम्म त ममा हाम्रो सामाजिक परिवेशले भाइ त चाहिने नै रहेछ भन्ने व्यर्थ भाष्य निर्माण गरिदिएको थियो, जुन मलाई ठुली भएपछि ज्ञात भयो।
दसैँको टिका लगाएर आशीर्वाद दिँदा पनि ममीलाई एउटा छोरा त चाहिन्छ भनेको सुन्थेँ। मानौँ छोरीहरू मात्रले परिवार पूर्ण हुनै सक्दैन!
हामी छोरीहरू 'पराइको घर जाने जात मात्र हौँ! छोरा नभए त बुढेसकालमा कसले पाल्छ? मृत्यु संस्कार कसले गर्छ? वंश पनि यतिमै सकिन्छ!' यस्ता कुराहरूले कान भरिँदै आएको छ मेरो।
हामी यस्तो समाजमा छौँ, जहाँ अपवादबाहेक छोरा नहुनेलाई ठुलो पिर हुन्छ। के यस्तो समाजलाई शिक्षित भन्न मिल्छ? पहिलो सन्तान छोरो भएपछि सधैँ भरलाई ढुक्क हुन्छ रे! छोरी-छोरी भए भने छोरा नहुँदासम्म जन्माउने प्रयास गरिन्छ। यसरी कति छोरीहरू भ्रूणमै मारिनु परेको छ।
बाहिर हल्ला लैङ्गिक असमानता अहिले धेरै कम भइसक्यो भन्ने सुनिन्छ। हो, कम भएको होला तर 'धेरै' होइन, केही मात्र! पहिलेको तुलनामा थोरै भए पनि हटेको त होला तर भित्री जरो उस्तै नै छ। समाज परिवर्तन हुनलाई मानिसको सोच परिवर्तन हुनुपर्छ।
म बाँचेको समाजमा छोरा र छोरीबिच विभेदको सोच नराख्ने मानिस निकै कम हुनुहुन्छ। शिक्षित देखिने मानिस पनि आफ्नै घरभित्र असमानतालाई बढवा दिइरहेका हुन्छन्। छोरा र छोरी समान हुन् भन्ने सोचको विकास हुन अझै कति वर्ष लाग्ने होला!
छोरी भएपछि यो गर्नुपर्छ, यी कामहरू सिक्नुपर्छ, यो जान्नै पर्छ.. हो नि! सबै काम जानेको राम्रो हो तर 'छोरी भएपछि' चाहिँ किन? छोराले किन जान्नु, सिक्नु वा गर्नु पर्दैन? घरभित्रको काम सबै छोरीमान्छेकै भागमा हुन्छ।
मैले कति परिवारमा यस्तो देखिरहेकी हुन्छु कि छोरीलाई सानैदेखि घरका कामहरू गराइन्छ। खाना पकाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने आदिजस्ता काममा छोरी नै सरिक हुन्छन्। छोरा चाहिँ पढ्ने, मोबाइल चलाउने, खेल्ने जे गरे पनि भयो!
छोरीलाई सिकाइन्छ- धेरै बोल्नु हुँदैन, अरूले भनेको मान्नुपर्छ, राम्रोसँग बस्नुपर्छ/हिँड्नुपर्छ, पाहुनाको सेवा गर्नुपर्छ, सबै काममा आँखा पुर्याउनु पर्छ, अल्छी हुनु हुँदैन। यी सबै कुरा छोराले चाहिँ किन जान्नु पर्दैन?
जहाँकहीँ पनि, खाना खाएपछि छोरा मान्छेले चुठेर उठे हुन्छ तर छोरी मान्छेलाई यो छुट हुँदैन। यसबाट उक्त छोराले के सिक्छ? यही कि 'भाँडा माझ्ने काम त दिदी/बहिनीको हो'! कमसेकम आफूले खाएको भाँडा माझ्नु त एउटा सामान्य संस्कार होइन र?
हामी दिदी र म दुई सन्तान छौँ। हामीलाई प्रश्न आउँछ– ‘तिमीहरू कति जना छौ छोराछोरी?’
हामी भन्छौँ– हामी दुई जना।
‘अरू दाजुभाइ केही छैनन्? ए.. दिदीबहिनी मात्रै हो?’
हामी मुस्कुराएर 'हो' भन्छौँ। उहाँहरूको अनुहारको भाव त म यहाँ लेख्न सक्दिनँ तर छुट्टै थाहा हुन्छ कि धारणा कस्तो बनेको छ!
छोरा-छोरा हुनेलाई 'छोरी छैनन्?' भन्नु र छोरी-छोरी हुनेलाई 'छोरा छैनन्?' भन्नुमा हुने फरक हामीले धेरै नजिकबाट, धेरै पटक नियालिसकेका छौँ। धेरै छोरीहरू जन्मिएका घरमा अझ कस्तो होला!
लैङ्गिक विभेद लामो समयदेखि पुस्तान्तरण हुँदै आएको हो। यो क्रम अहिलेसम्म जारी छ। अबका पुस्तामा चाहिँ केही हदसम्म यसो नहोला भन्ने आशा राख्न सकिन्छ। तर खोइ के हुने हो!
केही महिनाअघि मैले गाउँको एउटा भाइले साथीहरूसँग आफ्नी बहिनीलाई 'यो त केटी हो.. यस्ती छे..' जस्तै केही कुरा गरेको सुनेँ। त्यस्तो सोच विकास भएको देखेर मन कुँडियो। यस्ता कुराहरू त मैले धेरै देखेकी हुन्छु। एक बालकको मानसमा लैङ्गिक असमानताको सोच सिर्जना गराउने यही हाम्रो सामाजिक र पारिवारिक परिवेशले त हो!
आजको हाम्रो युग धेरै अघि बढिसकेको छ। विभेदको सोचले थिचिएको हाम्रो समाजका 'छोरीमान्छे' आ-आफ्नो क्षेत्रमा सक्षम छन्। महिलाहरू केही गर्न नसकेर पछाडि पर्ने अवस्था छैन। सङ्कुचित सोचका मानिसलाई दिन प्रशस्त उदाहरणहरू हामीसँग छन्। र यही परिवेशमा मलाई पनि एक बलियो उदाहरण बन्ने मन छ। छोरा छैनन्? भनेर प्रश्न गर्ने समाजलाई 'छोराछोरी एकै त हुन्' भन्ने एकमुष्ट जवाफ कर्मबाट दिनु छ। परिवर्तनको पाइला अगाडि सार्न के के गर्न सक्छु, त्यो सबै गर्नु छ।
अनि अर्को कुरा, छोरा नहुने घरमा छोरीले केही ठुलो काम गरेर नाम कमाइन् भने मानिसले ‘ऊ त छोरा नै भई घरको’ भन्छन्! किन? छोरी 'छोरी' नै भएर कर्तव्य निभाउन सक्दैनन् र? उनलाई छोराकै नाम किन दिनुपर्छ?
मैले यहाँ जे लेखेँ, यी सबै मेरो मगजमा वर्षौँदेखि भरिएका, कोचिएका यथार्थहरू हुन्। मैले समाज भन्दै गर्दा सबैलाई भने जस्तो देखिन सक्छ तर त्यसो होइन। समाज समग्रलाई नराम्रो भन्नु पनि मिल्दैन। अपवादको रूपमा हुनुहोला केही व्यक्तिहरू। यदि यो पढ्दै गर्दा हजुरलाई 'म यो विभेदमा सामेल छैन' भन्ने लाग्छ भने त्यो धेरै राम्रो कुरा हो।
अन्त्यमा, हामी चाहन त चाहन्छौँ परिवर्तन, तर आफैँबाट सुरु गर्दैनौँ। लैङ्गिक समानता कायम गर्ने हो भने यसका लागि आफू वा आफ्नो घर परिवारबाटै पाइला चाल्नुपर्छ। आफ्नो घरभित्र भएका विभेदलाई मनन गर्नुपर्छ र त्यसलाई हटाउनतर्फ लाग्नुपर्छ। हरेकले आफूबाटै थालनी गरेमा विभेदको अन्त्य त्यति धेरै टाढा छ जस्तो लाग्दैन। होइन र?