समयका चिसा औँलाले
पुरानो बस्तीको अन्तिम ढुङ्गाझैँ
उर्लिएको पानीसँगै
आवाजविहीन भई बिलायौ
मौनताको समुद्रमा
छोडेर केही अधुरा कथाहरू ।
हामीले वर्षौँ लगाएर उठाएका
हाम्रा प्रेमका भित्ताहरू
इँटाको चिराझैँ चुपचाप चर्किए
साक्षी मानेका जूनतारा
सन्नाटाको काँधमा चढेर
उजाड आँगनको हिलोमा
अस्तव्यस्त छरिए ।
अब
नदीले छोडेको बगरमा
म एक्लै उभिएको छु
क्षितिजपारिको चन्द्रमा हेर्दै
हृदयको शून्यतासँगै
हामीबिचका
स्पर्श र अँगालोका
अधुरा कथाहरू बोकेर ।