कुन ठाउँमा के राहत चाहिएको छ?
सम्पादकीय नोट-भोटेकोशी–त्रिशूली बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत वितरणको काम जारी छ। राहत वितरणमा स्थलगत आवश्यकता मिलेन भने त्यसको उपयोगिता एकदमै कम हुन्छ। खानेकुरा चाहिएको ठाउँमा लुगाफाटो लैजाँदा वा लुगाफाटो चाहिएको ठाउँमा पानी लिएर जाँदा त्यसले पीडित समूह लाभान्वित हुँदैनन्। उल्टै अतिरिक्त राहतको थुप्रो मात्र लाग्छ।
हामीले यो शृंखलामा प्रभावित क्षेत्रका वडाध्यक्षलाई त्यस ठाउँका बाढीपीडितहरूको आवश्यकता के हो भनेर सोधेका छौं। तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने पीडित समूहको आवश्यकता बुझेर सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि सम्बन्धित वडाध्यक्षको नम्बर तल दिएका छौं।
***
रसुवाको उत्तरगया गाउँपालिका–२ मा बाढीबाट विस्थापित मानिसहरू अहिले विद्यालय र होल्डिङ सेन्टरमा ओत लागेर बसेका छन्।
त्यहाँ उनीहरूका लागि अर्को समस्या सुरू भएको छ — पकाएर खाने खाद्यान्न अभाव।
राहतमा चाउचाउ, बिस्कुट लगायतका तयारी खानेकुरा प्रशस्त आइरहेका छन्। तर विद्युत सेवा अवरूद्ध हुँदा स्थानीय मिल चलेका छैनन्। सडक सञ्जाल टुटेकाले बजारमा खाद्यान्न किन्न सकिने अवस्था छैन। आफूसँग भएको धान कुटेर खान बाटो बन्द भएपछि विस्थापितसँगै अन्य स्थानीय पनि खाद्यान्न अभावमा परेका छन्।
'हामीकहाँ बत्ती नहुँदा स्थानीयसँग भएको धान कुटेर खाने मिल चलेको छैन। बजारबाट किनेर खाऊँ भने सडक भत्किएर पसलमा सामान छैन,' उत्तरगया–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीले सेतोपाटीसँग भने, 'हामीले विद्यालयहरूमा बस्ने ठाउँ (ओत) को व्यवस्था त गरेका छौं, तर पकाएर खाने सामान नै भएन। राहतमा चाउचाउभन्दा चामल, नुन र तेल पठाइदिए मान्छेहरूले पकाएर पेट भर्न पाउँथे।'
ओत छ, तर भान्साका सामान छैनन्
बाढीले विस्थापित परिवारलाई वडाले दुईवटा विद्यालयमा होल्डिङ सेन्टर बनाएर राखेको छ। एउटामा १०२ र अर्कोमा ४६ गरी १४८ जना आश्रय लिएर बसिरहेका छन्।
बाँकी विस्थापित परिवार आफन्तको घरमा बसेका छन्। तर आफन्तकहाँ आश्रय लिएका परिवारसँग रहेको खाद्यान्नसमेत सकिँदै गएको सुवेदीले बताए।
'केही खाद्यान्न हेलिकप्टरबाट सहयोग आइरहेको छ। तर पर्याप्त मात्रामा आएको छैन,' उनले भने, 'हामीलाई तत्काल बाँच्न खाद्यान्नको आवश्यकता छ। बाँकी अरू केही सोच्नै सकिएको छैन।'
वडा नम्बर १ र २ का बाढीप्रभावितलाई लक्ष्य गरेर हेलिकप्टर तथा विभिन्न संघ–संस्थामार्फत राहत सामग्री ल्याउने प्रयास भइरहेको छ। तर आएको सीमित सामग्रीले सबै प्रभावित परिवारलाई नपुगेको उनको भनाइ छ।
सडक र बत्ती बन्द भएपछि राहत पनि संकटमा
उत्तरगया–२ मा खाद्यान्न अभाव हुनुको मुख्य कारण राहत नआउनु मात्र होइन, बजारबाट किनेर खाने अवस्था पनि नरहनु हो।
बाढीले सडक सञ्जालमा क्षति पुर्याएपछि नियमित यातायात ठप्प छ। वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ। धादिङबेसी हुँदै कोलबुटारबाट वैकल्पिक बाटो प्रयोग गरेर चारपांग्रे साना गाडीमा राहत सामग्री ल्याउँदा १८ देखि २० घन्टासम्म लाग्ने वडाध्यक्ष सुवेदीले बताए।
त्यसरी ल्याउँदा ढुवानी खर्च सामान्यभन्दा करिब चार गुणासम्म बढी पर्ने उनको भनाइ छ।
विद्युत सेवा पनि अवरूद्ध छ। त्यसैले स्थानीयसँग भएको धान कुटेर चामल बनाउने मिलसमेत सञ्चालनमा छैनन्।
'पहिले बाटो र बत्ती भइदिए त मान्छेहरूले किनेरै भए पनि खान्थे,' सुवेदीले भने, 'अहिले त्यो सम्भव नभएकाले बाँचेका मानिसलाई बचाउन तत्काल खाद्यान्नको सहयोग चाहिएको छ।'
उनका अनुसार समस्या चामलमा मात्र सीमित छैन। नुन, तेल र साबुनजस्ता दैनिक उपभोग्य वस्तुको समेत अभाव छ।
बाँचेकाहरूको अर्को संघर्ष
उत्तरगया–२ मा बाढी र पहिरोले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारलाई आफन्त गुमाउने पीडासमेत दिएको छ।
वडाभित्रका ७२ जना बेपत्ता रहेको प्रारम्भिक विवरण छ। अहिलेसम्म एक जनाको मात्र शव भेटिएको सुवेदीले बताए। कतिपय परिवारले शव नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिसकेका छन्। बेपत्ता आफन्तको खोजी जारी रहे पनि आस मारिसकेका केही परिवारले काजकिरिया सुरू गरिसकेको उनले बताए।
बाढीले पाँचवटा घर जगैदेखि खोस्रिएर ढल्किएका छन्। बाहिरबाट हेर्दा घर ठडिएको देखिए पनि ती बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको उनको भनाइ छ।
बाढी र पहिरोको जोखिमका कारण बोटेगाउँ टोल नै खाली गराएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
यस्तो अवस्थामा तत्कालको प्राथमिकता विस्थापितलाई सुरक्षित ओत दिने मात्र नभएर उनीहरूले पेट भर्न सक्ने आधारभूत खाद्यान्न उपलब्ध गराउनु बनेको छ।
उत्तरगया–२ को अवस्था बाढीपछि राहतको आवश्यकता कसरी ठाउँ अनुसार फरक हुन्छ भन्ने अर्को उदाहरण हो। कतै खाद्यान्न पर्याप्त भएर अब टेन्ट, भाँडाकुँडा र ग्यास आवश्यक परेको छ। कतै खानेपानी प्रणाली ध्वस्त भएकाले पानी नै पहिलो आवश्यकता बनेको छ। उत्तरगया–२ मा भने सडक र विद्युत दुवै अवरूद्ध हुँदा बजारबाट किनेर खान सक्ने विकल्पसमेत बन्द भएको छ।
त्यसैले यहाँ अहिले चाहिएको राहत तयारी खानेकुराभन्दा बढी चामल, नुन, तेल र दैनिक उपभोग्य सामग्री हो।
'पहिले बाटो र बत्ती सुरू भइदिए त मान्छेहरूले किनेरै भए पनि खान्थे,' सुवेदी फेरि भन्छन्, 'तर अहिले त्यो सम्भव नभएकाले बाँचेका मानिसलाई बचाउन तत्काल खाद्यान्नको सहयोग चाहिएको छ।'
(उत्तरगया–२ का बाढी प्रभावितहरूका लागि चामल, नुन, तेल लगायतका खाद्यान्न सहयोग गर्न चाहनुहुने व्यक्ति वा संस्थाले वडाध्यक्ष टुकुप्रसाद सुवेदीलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। उनको फोन नम्बर 9851174056)