ऊ!
ऊ त्या पर...
माटोमा पुरिएको छ
मेरो छोरा!
उता
कतै रसुवातिर
एउटी महिला
धेरै दिन नसुतेझैँ आँखा
धेरै दिन नकोरेझैँ कपाल
कराउँदै, चिच्याउँदै
गरिन्
औँलाले इशारा।
सबै
हतारिँदै
पछि लागे
कोदालोले सम्हालिएर खने
बेल्चाले माटो फाले
हातले खोस्रिए
केही भेटिएन।
नपत्याएझैँ हेरिन् उनले
आफैँ पसिन् खाल्डोमा
खोस्रिइन्
अझै
खोस्रिइन्
केही भेटिएन
ए!
ह्या, होइन साँच्चै!
ऊ! पर पो हो
भन्दै देखाइन्
अलि
परको ढिस्को
सबै पुगे
कोदालोले खने
बेल्चाले खने
हातले खोस्राए
केही भेटिएन।
हातले मुख थुन्दै
थचक्क बसिन्
त्या पनि छैन
ह्या पनि छैन
भन्दै एक्लै रोइन्,कराइन्
चिच्याइन्।
खन्दा खन्दै
खोस्रिँदा-खोस्रिँदै
डुबी पो सकेछ
डाँडामाथिको घाम
झिसमिसे पो भइसकेछ साँझ
अनि
कालो कालो पो
देखिन थालेछन् बगरका
माटाका ढिस्काहरू।
जुरुक्क उठिन्
तिनीहरू खेल्ने ठाउँ
ऊ
त्या पर हो
त्यहाँ पुरिएका होलान्
भन्दै एक्लै दौडिइन्।
फेरि खनियो
ढुङ्गा फालियो
माटो फालियो
पसिना बगाइयो
केही भेटिएन
अब त
अँध्यारो पो भइसकेछ
कराउन थाले
किर-किर गर्दै किराहरू
चल्न थाल्यो बगरमा
चिसो सिरेटो
अझै
केही भेटिएको थिएन
ऊ!
त्या पर!
मेरो छोरा...!
अझै जिउँदै होला!
कति?
कति गाह्रो पो
भयो होला त्यसलाई?
एक रात!
एक रात छोडेकी छैन मैले
अझैसम्म
भन्दै दौडिइन् फेरि
केही बेरमा फर्केर हेरिन्
फर्किसकेका पो
रहेछन् सबै।
उनी त
एक्लै
पो रहेछिन्।
धेरै बेर
पर...पर
सम्म हेरिन्
थचक्क
बसिन्
फेरि उठिन्
केही परसम्म गइन्
फेरि फर्किइन्
यता गइन्, उता गइन्
अब त!
बगर पनि
कालो
भएको थियो।
झन्
ठुलो भइरहेको थियो
खोलाको स्वाँ-स्वाँ आवाज।
अँध्यारोमै
यता हेरिन्
उता हेरिन्
कोही देखिएन
केही भेटिएन
आकाश हेर्दै
उनी एक्लै
बरबराउँदै थिइन्
यो!
यो बगरको गहिराइ कति होला?