बुटवल–गोरूसिंगे सडक खण्डअन्तर्गत तिनाउ नदीमाथि सिग्नेचर पुल निर्माणका लागि औपचारिक रूपमा ठेक्का सम्झौता भएको छ।
सिग्नेचर पुलसँगै पहुँच मार्ग निर्माणका लागि चिनियाँ निर्माण कम्पनी एम एस आनहुई सिनजियान होल्डिङ ग्रुप कम्पनी लिमिटेडले ठेक्का पाएको हो।
सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार पुलको डिजाइनसमेत निर्माण कम्पनीले नै गर्ने गरी भ्याट र पिसिएससहित १ अर्ब ७० करोड ५४ लाख २९ हजार ५९२ रूपैयाँमा निर्माण गर्ने गरी गत बिहीबार ठेक्का सम्झौता गरिएको हो।
सडक विभागले यसअघि नै गरेको विस्तृत अध्ययन र पुलका डिजाइनका नमूनासमेत तयार पारेको थियो।
ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले अबको तीन वर्षमा पुल निर्माणको काम पूरा गर्नुपर्ने छ।
सम्झौता अनुसार निर्माण गर्दाको तीन वर्ष र पुल निर्माण भएको पाँच वर्षपछिसम्मको मर्मतसम्भारको कामसमेत निर्माण कम्पनीले गर्नुपर्ने छ।
महाशाखाका प्रमुख तथा परियोजना निर्देशक उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हाल पुल भएकै स्थानको छेउमा नयाँ पुल बन्ने छ।
सम्झौता अनुसार हाल रहेको पुलको दुवैतर्फ दुई/दुई लेनको नयाँ पुल, पैदल यात्रु मार्ग र कुल ९८० मिटर न्यूनतम पहुँच मार्ग निर्माण गरिनेछ।
यसअघि सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमै नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्ने भन्दै बजेटको व्यवस्था गरेको थियो।
सोही अनुसार नारायणी नदीमा पुल निर्माण सुरू भइसकेको छ भने तिनाउ नदीको पुलका लागि गत मंसिर अन्तिम साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो।
बोलपत्रमा छ वटा चिनियाँ कम्पनी सहभागी भएका थिए। दुई कम्पनीले भने नेपाली निर्माण व्यवसायीसँग संयुक्त रूपमा प्रस्ताव पेस गरेका थिए। जसमा प्राविधिक र आर्थिक प्रस्तावलाई छुट्टाछुट्टै मूल्यांकन गरी दुवैको प्राप्तांकका आधारमा एम एस आनहुई सिनजियान होल्डिङ ग्रुप कम्पनी लिमिटेड छनोट भएको हो।
सडक विभागले करिब दुई अर्ब रूपैयाँ लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो।
हाल प्रयोगमा रहेको पक्की पुललाई यथावत् राख्दै त्यसको उत्तर र दक्षिणतर्फ थप दुई–दुई लेनमा निर्माण गरिने पुलको लम्बाइ २३० देखि २४० मिटरसम्म हुनेछ।
२०३८ सालमा निर्माण भएको हालको तिनाउ पुल साँघुरो र जीर्ण बन्दै जाँदा बढ्दो सवारी चाप व्यवस्थापन गर्न कठिन हुँदै आएको छ।
सिग्नेचर पुल निर्माण भएपछि पूर्व–पश्चिम राजमार्गको आवागमन थप सुरक्षित, सहज र व्यवस्थित हुने विश्वास गरिएको छ।
हाल विश्व बैंकको आर्थिक सहयोगमा बुटवलदेखि चन्द्रौटासम्मको करिब ६९ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ।
बुटवलदेखि गोरूसिंगेसम्मको ५० किलोमिटर सडक निर्माणको काम चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र आशिष निर्माण सेवा जेभीले गरिरहेका छन्।
तिनाउ नदीमा सिग्नेचर पुल पनि सोही आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको हो।
सिग्नेचर पुल सामान्यतया कलात्मक र आकर्षक हुने भएकाले पुल निर्माणपछि बुटवलमा पर्यटकीय आकर्षणसमेत बढाउने अपेक्षा गरिएको छ।