कुन ठाउँमा के राहत चाहिएको छ?
सम्पादकीय नोट — भोटेकोशी–त्रिशूली बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत वितरणको काम जारी छ। राहत वितरणमा स्थलगत आवश्यकता मिलेन भने त्यसको उपयोगिता एकदमै कम हुन्छ। खानेकुरा चाहिएको ठाउँमा लुगाफाटो लैजाँदा वा लुगाफाटो चाहिएको ठाउँमा पानी लिएर जाँदा त्यसले पीडित समूह लाभान्वित हुँदैनन्। उल्टै अतिरिक्त राहतको थुप्रो मात्र लाग्छ।
हामीले यो शृंखलामा प्रभावित क्षेत्रका वडाध्यक्षलाई त्यस ठाउँका बाढीपीडितहरूको आवश्यकता के हो भनेर सोधेका छौं। तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने पीडित समूहको आवश्यकता बुझेर सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि सम्बन्धित वडाध्यक्षको नम्बर तल दिएका छौं।
***
बाढीपछि धादिङको गल्छी गाउँपालिका–४ का प्रभावित परिवारलाई केही दिन विद्यालयमा बनाइएको होल्डिङ सेन्टरले ओत दिएको छ। दाताहरूले पठाएको खाद्यान्नले उनीहरूको चुह्लो पनि चलेको छ।
तर अब प्रश्न छ — होल्डिङ सेन्टरबाट निस्किएपछि कहाँ बस्ने?
बाढीले घरको तल्लो तला पुरिएका परिवारमध्ये केही घर फर्किन थालेका छन्। तर घरको बाँकी भागमा फर्किनु पनि जोखिममुक्त छैन।
घर पूर्ण रूपमा क्षति भएका वा जोखिममा रहेका परिवारका लागि तत्काल स्थायी घर बनिहाल्ने अवस्था छैन।
त्यसैले अहिले यो वडालाई खाद्यान्नभन्दा बढी टेन्ट, त्रिपाल, जस्तापाता जस्ता अस्थायी आवासका सामग्री चाहिएको छ।
'राहतहरू बाढीको पर्सिपल्टदेखि आउन थालेको थियो। अहिलेसम्म आइ नै रहेको छ। अरू राहत सामग्रीको खास खाँचो छैन,' गल्छी–४ का वडाध्यक्ष राजु अधिकारीले सेतोपाटीसँग भने, 'तर बाढीले जसका घरमा क्षति पुर्याएको छ र जो जोखिममा परेका छन्, ती घरमा बस्नेहरूलाई राख्ने टेन्ट, पालजस्ता अस्थायी आवास बनाउने सामग्री भए हुन्थ्यो।'
६५ घर प्रभावित
लाङटाङ लिरूङ हिमालमा गएको हिमपहिरोपछि त्रिशूली नदीमा आएको बाढीले गल्छी–४ मा ६५ घर प्रभावित भएका छन्।
बाढी आएको पहिलो दिन ४० घरको तल्लो तला डुबानमा परेको थियो। भदौ १४ गते नदी कटानका कारण थप २५ घर प्रभावित भएको अधिकारीले बताए।
बाढी पसेका ४० घरका तल्लो तलामा १९ परिवार भाडामा बस्दै आएका थिए। ती परिवारका लत्ताकपडा र खाद्यान्नसमेत पुरिएपछि उनीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
'तल्लो तला पुरिएका ४० घरमध्ये १९ वटा घरमा भाडामा बस्ने मजदुर परिवार थिए, जसको लत्ताकपडा र खाद्यान्न पुरिएर प्रत्यक्ष प्रभावित भएका छन्,' अधिकारीले भने।
यीमध्ये केही परिवार अहिले पनि होल्डिङ सेन्टरमै छन्।
घर बाँकी छ, तर जोखिम कायमै
बाढीले क्षति पुर्याएका घरका घरबेटी भने होल्डिङ सेन्टरमा बसेका छैनन्। घरको केही भाग बाँकी रहेकाले उनीहरू बिस्तारै आफ्नै घर फर्किन थालेका छन्।
तर घर फर्किनु सुरक्षित नभएको वडाध्यक्ष अधिकारी बताउँछन्।
'स्थानीयहरू अहिले बिस्तारै आफ्नै घरको बाँकी भागमा बस्न थालेका छन्। अब त बाढी आउँदैन, आए पनि थाहा भइहाल्छ भन्दै आफ्नै घरतिर गएका हुन्,' उनले भने, 'तर त्यो पनि जोखिमपूर्ण हो।'
त्यसैले जोखिमयुक्त घरमै फर्किनुभन्दा केही समयका लागि सुरक्षित अस्थायी बसोबासको व्यवस्था गर्न टेन्ट, त्रिपाल र जस्तापाता जस्ता सामग्री आवश्यक रहेको उनले बताए।
'हामीलाई होल्डिङ सेन्टर र जोखिमयुक्त घरमा बस्नुभन्दा अस्थायी रूपमा अलि समय बस्ने ठाउँ बनाउन टेन्ट, त्रिपाल, जस्तापाता जस्ता सामग्री भए हुन्थ्यो भन्ने छ,' उनले भने।
होल्डिङ सेन्टरमा १५०–१६० जना
बाढी आएलगत्तै गल्छी–४ को गाउँपालिकासँग सम्पर्क विच्छेद भएको थियो। भोलिपल्ट मात्रै गाउँपालिका र अन्य वडासँग समन्वय गरेर राहत तथा प्रभावितको व्यवस्थापन अघि बढाइएको अधिकारीले बताए।
भदौ १२ देखि धादिङ बहुमुखी कलेजमा दुईवटा होल्डिङ सेन्टर बनाएर करिब १५०–१६० जना प्रभावितलाई राखिएको थियो। उनीहरूलाई संयुक्त मेस सञ्चालन गरेर खाना खुवाउने व्यवस्था गरिएको थियो।
दाताहरूबाट दुई–तीन महिनालाई पुग्ने रासन प्राप्त भएको र त्यसलाई प्रभावित परिवारमा वितरण गरेर व्यवस्थापन भइसकेको अधिकारीले बताए।
त्यसैले अहिले राहतको प्राथमिकता फेरिएको छ।
पहिलो चरणमा आवश्यक परेको थियो — ओत र खाना।
अहिले आवश्यकता छ — जोखिमबाट जोगिएर केही समय बस्न सकिने अस्थायी आवास।
अब घर सुरक्षित रहेका परिवारलाई घर फर्काउने र घर नरहेका वा जोखिममा रहेका परिवारलाई भाडामा बस्ने व्यवस्था मिलाएर होल्डिङ सेन्टर बन्द गर्नेबारे वडा छलफलमा छ। यसका लागि सर्वदलीय बैठकसमेत बोलाइएको अधिकारीले बताए।
बाढीपछि गल्छी–४ को अवस्था राहतको एउटा महत्त्वपूर्ण पक्ष देखाउने उदाहरण बनेको छ — प्रभावितलाई राहत दिनु भनेको सधैं चामल र दाल पठाउनु मात्र होइन। संकटको चरण बदलिँदै जाँदा राहतको आवश्यकता पनि बदलिन्छ।
अहिले यहाँका लागि राहतको अर्थ पेट भर्ने खाद्यान्नभन्दा एक कदम अगाडि पुगिसकेको छ — जोखिमयुक्त घरमा फर्किन नपर्ने गरी केही समयका लागि सुरक्षित छानो।
गल्छी–८ मा ३२ घरपरिवार प्रभावित, राहत होइन आवासकै खाँचो
गल्छी गाउँपालिका, वडा नम्बर ८ का वडाध्यक्ष विशाल लुंगेलीसँग मोबाइलमा सम्पर्क हुन सकेन। त्यसैले हामीले वडा नम्बर ७ का अध्यक्ष हरिप्रसाद खतिवडासँग केही जानकारी लिएका छौं।
उनी आफ्नो वडामा खासै प्रभाव नपरेकाले अन्य प्रभावित क्षेत्रमा सघाइरहेको बताउँछन्।
भदौ १० को बाढीबाट यो वडाका ३२ घरपरिवार प्रभावित भएका छन्। तीमध्ये पाँच/सात जना स्थानीय परिवार भए पनि अरू मजदुरी, व्यापार तथा अन्य कामका लागि बाहिरबाट आएर भाडामा बस्नेहरू छन्। कतिपय त टहरा बनाएर बसेका थिए।
खतिवडाका अनुसार भाडामा बस्नेहरूलाई महिनादिन पुग्ने रासन, भान्छाका लागि चाहिने भाँडाकुँडा, ग्यास, लत्ताकपडा, बेड–बिस्तरा दिएर अर्को ठाउँमा बसोबासको व्यवस्था मिलाउने तयारी छ।
नदीले घर नै लगेका स्थानीय तथा धेरै समयदेखि यही ठाउँमा टहरा बनाएर बसेकाहरूलाई अस्थायी आवास बनाइदिन जस्तापाता, टेन्ट लगायतका सामग्री भने चाहिएको छ।
(बाढी प्रभावित गल्छी गाउँपालिका–४ मा आवश्यक सहयोग गर्न चाहनेले वडाध्यक्ष राजु अधिकारीलाई 9841267626 मा र वडा नम्बर ८ मा सहयोग गर्न चाहनेले विशाल लुंगेली मगरलाई 9851013656 मा प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ।)