कुन ठाउँमा के राहत चाहिएको छ?
सम्पादकीय नोट — भोटेकोशी–त्रिशूली बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत वितरणको काम जारी छ। राहत वितरणमा स्थलगत आवश्यकता मिलेन भने त्यसको उपयोगिता एकदमै कम हुन्छ। खानेकुरा चाहिएको ठाउँमा लुगाफाटो लैजाँदा वा लुगाफाटो चाहिएको ठाउँमा पानी लिएर जाँदा त्यसले पीडित समूह लाभान्वित हुँदैनन्। उल्टै अतिरिक्त राहतको थुप्रो मात्र लाग्छ।
हामीले यो शृंखलामा प्रभावित क्षेत्रका वडाध्यक्षलाई त्यस ठाउँका बाढीपीडितहरूको आवश्यकता के हो भनेर सोधेका छौं। तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने पीडित समूहको आवश्यकता बुझेर सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि सम्बन्धित वडाध्यक्षको नम्बर तल दिएका छौं।
***
भोटेकोशी–त्रिशूली बाढीले घर बगाएपछि नुवाकोटको विदुर नगरपालिका–९ का धेरै परिवार अहिले एउटै ठाउँमा आश्रय लिएर बसेका छन्।
त्यहाँ उनीहरूका लागि दाल, चामल र गेडागुडीको अभाव छैन। तर आफ्नै घरमा फर्किन नसक्ने ती परिवारसँग भान्सामा चाहिने भाँडाकुँडा छैन। खाना पकाउने ग्यास छैन। फेर्ने लत्ताकपडा र बस्ने टेन्टको पनि अभाव छ।
बाढी आएको केही दिनसम्म अत्यावश्यक बनेको खाद्यान्न अहिले पर्याप्त भइसकेको वडाध्यक्ष हरिराम भण्डारी बताउँछन्।
अब भने प्रभावित परिवारलाई राहतको अर्को चरणका सामग्री आवश्यक पर्न थालेको उनको भनाइ छ।
'अब खाद्यान्न ल्याउनुभयो भने कुहिएर जान सक्छ। त्यसैले लत्ताकपडा, भाँडाकुँडा, ग्यास, टेन्ट लगायतका सामग्री ल्याउनुहोस्,' विदुर नगरपालिका–९ का वडाध्यक्ष भण्डारीले सेतोपाटीसँग भने, 'अहिले होल्डिङ सेन्टरमा बस्न परेकालाई पुगेको छ। भोलिका दिनमा अलग्गै हुनुपर्यो भने प्रत्येक परिवारका लागि सामग्री चाहिन्छ।'
यो अवस्था एउटा वडाको मात्र समस्या होइन।
भदौ १० गते त्रिशूली नदीमा आएको बाढीले नुवाकोटका नदी किनारका बस्तीमा ठूलो क्षति पुर्याएको छ। घर बगेका, घरमा क्षति पुगेका र कटानका कारण जोखिममा परेका परिवारका लागि उद्धारपछि अब राहत, अस्थायी आश्रय र पुनर्स्थापना मुख्य चुनौती बनेको छ।
'खाद्यान्नभन्दा अब परिवारलाई घर चलाउने सामान चाहिएको छ'
वडाध्यक्ष भण्डारीका अनुसार विदुर–९ मा दाल, चामल, गेडागुडी लगायतका खाद्यान्न सामग्री पाँच–सात महिनासम्म पुग्ने गरी मौज्दात छ।
त्यसैले बाहिरबाट राहत पठाउने व्यक्ति तथा संघ–संस्थाले आवश्यकता नहेरी खाद्यान्न मात्रै पठाउँदा उपयोगभन्दा बढी समस्या सिर्जना हुन सक्ने उनी बताउँछन्।
अहिले होल्डिङ सेन्टरमा सामूहिक रूपमा बसिरहेका परिवारलाई तत्कालको खाना व्यवस्थापन भइरहेको छ। उनीहरूलाई अलग–अलग स्थानमा राख्नुपर्ने अवस्था आएपछि प्रत्येक परिवारलाई आफ्नै दैनिक जीवन चलाउन आवश्यक पर्ने सामग्री चाहिनेछ।
त्यसका लागि लत्ताकपडा, भाँडाकुँडा, ग्यास र टेन्टलाई उनले प्राथमिकतामा राखेका छन्।
११५ घर बगे, ५५ जना बेपत्ता
भण्डारीका अनुसार बाढीले विदुर–९ का ११५ घर बगेका छन् भने ५५ जना बेपत्ता रहेको प्रारम्भिक आँकडा छ। नदी कटानका कारण करिब ३० घर अझै जोखिममा छन्।
'म स्वयं पनि यही पीडामा छु,' उनले भने।
घर गुमाएका परिवारलाई तत्कालको राहतले केही दिन धान्न सकिए पनि उनीहरूको दीर्घकालीन व्यवस्थापन अझ ठूलो चुनौती हो।
घर गुमाएका र कटानको जोखिममा रहेका परिवारलाई कहाँ राख्ने, कसरी सुरक्षित आवासको व्यवस्था गर्ने र उनीहरूलाई पुनर्स्थापित कसरी गर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको भण्डारी बताउँछन्।
राहतमा अर्को समस्या : समन्वय अभाव
राहत सामग्रीको आवश्यकता र वितरणसँगै वडाले अर्को समस्या पनि भोगिरहेको छ — स्थानीय तहसँग समन्वय नगरी राहत वितरण गर्ने प्रवृत्ति।
विभिन्न संघ–संस्थाले जनप्रतिनिधिसँग समन्वय गरेर राहत वितरण गरे पनि कतिपयले स्थानीय सरकारसँग सम्पर्क नगरी आफै राहत वितरण गर्न खोजेको उनले बताए।
'कतिपय संघ–संस्थाले समन्वय गरेर काम गरे। तर कतिले त हामीलाई स्थानीय जनप्रतिनिधिसँग केही मतलब छैन, हामीले पीडितलाई राहत दिने हो समेत भनेका थिए,' उनले भने।
एक संस्थाले समन्वय नगरी राहत ल्याएपछि आफूहरूको भनाभन भएको उनले बताए।
'मैले त राहत फिर्ता लैजानुस् पनि भनेको थिएँ। पछि कुरा मिलेपछि राहत राखेको हो,' उनले भने।
वडाध्यक्ष भण्डारीका अनुसार स्थानीय जनप्रतिनिधिलाई कुन परिवारको घर बग्यो, कुन परिवारसँग बस्ने ठाउँ छैन र कसलाई कस्तो सामग्री चाहिन्छ भन्ने तुलनात्मक रूपमा बढी जानकारी हुन्छ। त्यसैले राहत वितरणमा स्थानीय तहसँग समन्वय गर्दा एउटै परिवारमा अनावश्यक सामग्री थुप्रिने र अर्को परिवार छुट्ने अवस्था कम गर्न सकिन्छ।
'हाम्रो वडाका लागि खाद्यान्न बाहेकको सहयोग गर्नुपरे मलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ,' उनले भने।
वडा कार्यालयमा भने बाढीबाट कुनै क्षति नपुगेको उनले बताए। कार्यालय सुरक्षित रहेकाले नियमित वडाको काम सञ्चालन गर्न समस्या नरहेको उनको भनाइ छ।
(बाढी प्रभावित विदुर नगरपालिका–९ मा लत्ताकपडा, भाँडाकुँडा, ग्यास र टेन्ट सहयोग गर्न चाहनेले वडाध्यक्ष हरिराम भण्डारीलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। उनको फोन नम्बर – 9843356398)