हातमा महँगो स्मार्टफोन छ, हजारौँ रुपैयाँको इन्टरनेट प्याकेज छ। बिहान उठ्ने बित्तिकै हाम्रो आँखा स्मार्टफोनतर्फ जान्छ र फोन बन्द भएसँगै दिनको अन्त्य हुन्छ।
अहिलेको समय डिजिटल युगको उत्कर्षमा छ। सामाजिक सञ्जाल चलाउने, बैंकिङ कारोबार गर्ने, समाचार तथा सूचना प्राप्त गर्ने लगायतका विभिन्न कामका लागि हामी डिजिटल प्लेटफर्मको प्रयोग गर्छौँ। भनौँ, हाम्रो दैनिक जीवन डिजिटल प्रविधिविना अधुरो जस्तै भएको छ।
तर यसैबिच एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ— डिजिटल प्रविधिलाई जीवनको अभिन्न अङ्ग बनाएका हामीमा वास्तवमै डिजिटल साक्षरता छ त? हामी डिजिटल साक्षरतामा पास छौँ कि फेल?
आउनुस्, आज एक पटक आत्ममूल्याङ्कन गरौँ।
हाल नेपालमा कुल जनसङ्ख्याको झन्डै ५६ प्रतिशत अर्थात् १ करोड ६६ लाखभन्दा बढी मानिसको पहुँचमा इन्टरनेट पुगिसकेको छ। साथै, झन्डै ५० प्रतिशत जनता सामाजिक सञ्जालमा सक्रिय छन्। तर विडम्बना के छ भने प्रविधिको पहुँच जति तीव्र गतिमा बढेको छ, डिजिटल सुरक्षा र साक्षरताको अभावका कारण अनलाइन ठगी, फेक न्युज र साइबर अपराधका घटनाहरू पनि त्यसै गरी बढिरहेका छन्।
सामान्यतया डिजिटल साक्षरता भन्नाले मोबाइल, कम्प्युटर र इन्टरनेट चलाउन जान्नु भन्ने बुझिन्छ। तर यसको दायरा यतिमै सीमित छैन। इन्टरनेटमा पाइने सूचनाको सत्यता जाँच गर्न सक्नु, आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्न सक्नु, डिजिटल उपकरणलाई सिर्जनात्मक तथा उत्पादक रूपमा प्रयोग गर्न सक्नु र अनलाइन संसारमा जिम्मेवार व्यवहार गर्न सक्नु नै वास्तविक डिजिटल साक्षरता हो।
हामी दैनिक सामाजिक सञ्जाल स्क्रोल गरिरहेका हुन्छौँ। त्यहाँ सकारात्मक र नकारात्मक दुवै प्रकारका समाचार तथा सूचनाहरू देख्छौँ। ती समाचारले हामीलाई प्रभाव पार्छन्। सकारात्मक लागे शेयर गर्छौँ, नकारात्मक लागे त्यसैअनुसार प्रतिक्रिया दिन्छौँ। तर के हामी त्यो समाचार वा सूचनाको स्रोत के हो भनेर जाँच गर्छौँ? त्यसको सत्यता पुष्टि गर्ने प्रयास गर्छौँ?
यदि हामी समाचारको स्रोत खोज्छौँ, तथ्य जाँच गर्छौँ र त्यसपछि मात्र प्रतिक्रिया दिन्छौँ भने हामी डिजिटल साक्षरतातर्फ अघि बढिरहेका छौँ। तर स्रोत नखोजी, सत्यता नबुझी र भावनामा बगेर प्रतिक्रिया दिन्छौँ भने हामी डिजिटल साक्षरतामा फेल हुँदै छौँ।
आजकल भाइरल हुने र ‘ब्रेकिङ न्युज’ बन्ने होडमा कतिपय सार्वजनिक व्यक्तित्व र सञ्चारमाध्यमले समेत पर्याप्त तथ्य परीक्षण नगरी सामग्री प्रकाशित वा साझा गर्ने गरेका उदाहरणहरू प्रशस्तै छन्। यसले आम नागरिकलाई दिग्भ्रमित बनाइरहेको छ।
त्यसै गरी, आफ्नो डिजिटल सुरक्षा र गोपनीयता जोगाउन सक्नु पनि डिजिटल साक्षरताको महत्त्वपूर्ण सूचक हो। फरक र बलिया पासवर्ड प्रयोग गर्नु, दुई-स्तरीय सुरक्षा अपनाउनु, डिजिटल पहिचानलाई अनधिकृत पहुँचबाट जोगाउनु, सामाजिक सञ्जालमा व्यक्तिगत विवरण अनावश्यक रूपमा सार्वजनिक नगर्नु, प्रयोग गरिने एप र वेबसाइटका गोपनीयता सेटिङ बुझ्नु तथा आवश्यकताअनुसार व्यवस्थापन गर्नु, सार्वजनिक वाइफाई प्रयोग गर्दा संवेदनशील कार्यमा सावधानी अपनाउनुजस्ता व्यवहारले हाम्रो डिजिटल साक्षरताको स्तर निर्धारण गर्छन्।
सामाजिक सञ्जाल प्रयोग गर्दा हामीले एकअर्कालाई गालीगलौज गर्ने, चरित्रहत्या गर्ने, फरक विचार राख्ने सबैलाई कुनै न कुनै राजनीतिक वा वैचारिक ट्याग लगाउने, अनुमति बिना अरूका फोटो तथा भिडियो साझा गर्ने, अश्लील वा अपमानजनक भाषा प्रयोग गर्ने, अनलाइन माध्यमबाट धम्की दिने, अरूको सिर्जना अनुमति बिना प्रयोग गर्ने तथा भ्रामक सामग्री फैलाउनेजस्ता गतिविधिहरू देखिरहेका हुन्छौँ। यस्ता व्यवहारले हाम्रो डिजिटल साक्षरताको स्तरलाई कमजोर बनाउँछन्।
त्यसै गरी, ‘लट्री जित्नुभयो’, ‘पैसा कमाउने सुनौलो अवसर’ वा यस्तै प्रलोभनमा परेर अनधिकृत लिङ्कमा क्लिक गर्नु, ओटिपी साझा गर्नु वा व्यक्तिगत विवरण उपलब्ध गराउनु डिजिटल अशिक्षाको स्पष्ट उदाहरण हो।
डिजिटल साक्षरताको महत्त्वपूर्ण पक्ष डिजिटल शिष्टाचार पनि हो। प्रविधि प्रयोग गर्न जान्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई कसरी जिम्मेवार र सभ्य ढङ्गले प्रयोग गर्ने भन्ने चेतना पनि आवश्यक हुन्छ।
हामीले आफ्नो दिनको ठुलो हिस्सा सामाजिक सञ्जालमा बिताइरहेका हुन्छौँ। तर त्यो समय केवल उपभोगमा बितिरहेको छ कि सिकाइमा भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। डिजिटल प्लेटफर्म मनोरञ्जनका साधन मात्र होइनन्। तिनबाट ज्ञान आर्जन गर्न, नयाँ सीप विकास गर्न, समस्या समाधान गर्न र सिर्जनात्मक कार्य गर्न सकिन्छ। विभिन्न प्रकारका सामग्री सिर्जना गरेर आम्दानीसमेत गर्न सकिन्छ। युट्युब, अनलाइन पाठ्यक्रम र कृत्रिम बुद्धिमत्ता (एआई) का उपकरणहरू सिकाइका प्रभावकारी माध्यम बनेका छन्।
यदि हामी डिजिटल माध्यमलाई केही नयाँ सिक्न, सिर्जना गर्न र सचेत रूपमा प्रयोग गरिरहेका छौँ भने हामी पासतर्फ छौँ। तर यदि हामी केवल निरन्तर स्क्रोल गरिरहेका छौँ, आफ्नो अमूल्य समय खेर फालिरहेका छौँ र एल्गोरिदमको सिकार बनिरहेका छौँ भने हामी फेल हुँदै छौँ।
शैक्षिक साक्षरता अझै चुनौतीपूर्ण रहेको हाम्रो मुलुकमा डिजिटल अशिक्षाले झुटा समाचारको सिकार बन्ने, साइबर ठगीमा पर्ने, गोपनीयता गुमाउने, अनलाइन दुर्व्यवहार भोग्ने, समयको दुरुपयोग गर्ने तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने जस्ता अनेकौँ जोखिमहरू निम्त्याएको छ। यस्ता उदाहरणहरू हाम्रो समाजमा प्रशस्तै छन्।
डिजिटल साक्षरता कुनै डिग्री होइन; यो डिजिटल संसारमा सुरक्षित, जिम्मेवार र बुद्धिमानीपूर्वक बाँच्न आवश्यक जीवनोपयोगी सीप हो। स्मार्टफोन हुनु मात्र साक्षरता होइन, त्यसको सही, सुरक्षित र सिर्जनात्मक प्रयोग गर्न जान्नु नै वास्तविक साक्षरता हो।
आजको संसारमा निरक्षर भन्नाले पढ्न-लेख्न नजान्ने व्यक्तिलाई मात्र बुझिँदैन। डिजिटल माध्यमलाई सुरक्षित, जिम्मेवार र विवेकपूर्ण ढङ्गले प्रयोग गर्न नजान्ने व्यक्ति पनि आधुनिक अर्थमा निरक्षरकै श्रेणीमा पर्न सक्छ।
प्रश्न मोबाइल चलाउन जान्नु हो कि होइन भन्ने होइन; प्रश्न त डिजिटल संसारमा सचेत, सुरक्षित र जिम्मेवार नागरिक भएर बाँच्न सकिन्छ कि सकिँदैन भन्ने हो।
त्यसैले, आजै आफूलाई एक पटक सोधौँ— ‘म डिजिटल साक्षरतामा पास छु कि फेल?’