बाढी आएको एघारौं दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको परिवारले काजकिरिया सुरू गरिसेकेको खुलेको छ।
नुवाकोटको बेत्रावतीबाट जीवित उद्धार गरिएकी ६५ वर्षीय चण्डिकाको काजकिरिया समेत सुरू गरेको उनका सम्धी रमेशमान श्रेष्ठले बताएका छन्।
चण्डिकालाई बेत्रावतीमा गेग्रानले पुरेको चार तले घरको चौथो तलाबाट शनिबार दिउँसो सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरी छाउनी अस्पताल ल्याएको छ।
अस्पतालमा पत्रकारहरूसँगको कुराकानीमा उनकी सम्धी रमेशमानले परिवारले धेरै दिनसम्म खोजी गर्दा पनि नभेटेपछि काजकिरिया सुरू गरिएको बताएका हुन्।
'बाढी गएको आठौं दिनसम्म खोजी गर्दा पनि भेटिनुभएन। अब सम्भावना छैन भनेर कुस बनाएर दाहसंस्कार गरी परिवारले काजकिरिया पनि सुरू गरिसकेको थियो,' उनले भने।
बाढी आएको दिनपछि परिवारले बेत्रावती क्षेत्रमा लगातार चण्डिकाको खोजी गरेको उनले बताए।
'त्यही दिन पनि ज्वाइँले गाडी र मोटरसाइकल लिएर खोज्न जानुभएको थियो। बाटो बिग्रेको भनेपछि गाडी छाडेर मोटरसाइकलबाट बनकाली हुँदै त्यस क्षेत्रमा जानुभएको थियो। पछि त्यहाँ पनि बाटो छैन भनेपछि बसेर खोज्न चाहिँ पाउनुभएन,' उनले भने।
पछि तिब्बतमा अर्को ताल फुटेर बाढी आएको खबर पछि खोज्दै हिँडेका परिवार आफ्नो घर भएसम्म पुग्न नसकेको उनले बताए।
सुरूवातका दिनमा बाढीले ल्याएको लेदो र ग्रेग्रान दल दलका कारण जानै नसक्ने अवस्था रहेको पनि रमेशमानले बताए। 'खोज्न गएका परिवारका सदस्यहरू मात्रै होइन, त्यहाँ खटिएका उद्धार टोली पनि दल दलका कारण घरसम्म पुग्ने अवस्था थिएन,' उनले भने।
पछि बेत्रावतीमा अलि माथि भएको घर बाढीले बगाएर त्रिशूलीको फेदमा पुर्याएको अवस्थामा भेटिएको उनले बताए।
घर नै बगाएर त्यति तल पुगेपछि मान्छे जीवित रहेको आश जीर्ण बनेको उनी बताउँछन्।
'पछि बेत्रावतीमा लास गन्हाएर जान सक्ने अवस्था छैन भन्ने पनि बुझियो। त्यही पनि ज्वाइँ लगातार खोज्न गइरहनुभएको थियो। नपाएपछि निराश भएर फर्किनुभयो। दुई तीन दिनपछि घरका मान्छेहरू सल्लाह गरेर कुश बनाएर भए पनि दाहसंस्कार गरौं भन्नुभयो र त्यही अनुसार गर्यौं,' उनले भने।
चण्डिकाको घर त्रिशूलीको बाढीले सय मिटर तलसम्म बगाएको थियो।
चार तले घर माथिल्लो तलाको केही भाग मात्रै देखिने गरी ढुंगा माटोले पुरेको छ।
चौथो तला जमिनमा देखिने थोरै मात्रै भागबाट कोही बोलेको आवाज सुनिएपछि शनिबार दिउँसो साढे १ बजेतिर त्यस क्षेत्रमा खोजी कार्यमा खटिएको सशस्त्र र नेपाल प्रहरीको टोलीले उनलाई उद्धार गरेको थियो।
उनी एउटा सानो भागमा हिलोमा बुडेको अवस्थामा थिइन्।
उद्धार टोलीले बाढी आएर घर बगाएपछि चण्डिका बेहोस् भएको र लामो समयपछि होस आएको हुन सक्ने बताएका छन्।
उनले बचाऊ बचाऊ भनेपछि उद्धार टोलीले घरको सानो झ्याल देखिने भाग फुटाएर उनको उद्धार गरेको थियो।