नेपालमा महिलाविरुद्ध हुने लैङ्गिक हिंसा अझै पनि गम्भीर चुनौतीका रूपमा देखिएको छ। कानुनी व्यवस्था, नीति-नियम तथा महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि कतिपय महिलाहरूले वैवाहिक सम्बन्धभित्र शारीरिक, मानसिक, यौन तथा आर्थिक हिंसा र शक्ति असन्तुलनको सामना गरिरहेका छन्।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५–४९ वर्ष उमेरका विवाहित महिलामध्ये करिब २२ प्रतिशतले आफ्नो जीवनकालमा शारीरिक, यौन वा भावनात्मक हिंसाको अनुभव गरेका पाइएको छ। तर सामाजिक मान्यता, परिवारको इज्जत जोगाउनुपर्ने दबाब, आर्थिक निर्भरता र न्यायमा सीमित पहुँचका कारण धेरै महिलाहरूले यस्ता घटनाहरूलाई सार्वजनिक गर्न वा औपचारिक रूपमा उजुरी गर्न समेत सकिरहेका छैनन्।
यस यथार्थका बिच प्रायजसो महिलाहरूले आफ्नो वैवाहिक जीवनका वास्तविक समस्याहरूलाई लुकाएर भए पनि परिवारलाई कसरी सुखी, खुसी तथा सुमधुर सम्बन्धमा रहेको देखाउने भनेर लगातार रूपमा प्रयास गरिरहेका हुन्छन्। समाजले गर्ने अपेक्षा, आलोचना वा दोष लगाउने डर, सम्बन्ध विच्छेदसँग जोडिएको नकारात्मक धारणा तथा सन्तान र परिवारको भविष्यप्रतिको जिम्मेवारीले उनीहरूलाई आफ्ना पीडित भोगाइहरू खुला रूपमा व्यक्त गर्न निरुत्साहित गरेको पाइन्छ।
नेपाली महिलाहरू किन आफ्नो वैवाहिक जीवनको वास्तविकता लुकाउन बाध्य हुन्छन् भन्ने विषयलाई अझ गहन दृष्टिकोणबाट विश्लेषण गर्दै त्यसका मूल कारण, यसले पार्ने प्रभाव तथा समाधानका उपायबारे गम्भीर रूपमा सार्वजनिक बहस हुन नितान्त आवश्यक देखिन्छ।
पितृसत्तात्मक सोच र सामाजिक मान्यता
नेपालको अधिकांश जनसंख्या अझै पनि पितृसत्तात्मक सामाजिक संरचना र मान्यताबाट निर्देशित छ, जहाँ महिलाको भूमिका, व्यवहार र पहिचानलाई प्रायः विवाह, परिवार र श्रीमानसँग जोडेर मूल्याङ्कन गर्ने प्रवृत्ति हाबी छ। परम्परागत सामाजिक मान्यताअनुसार परिवार जोगाउनु, सम्बन्धलाई निरन्तरता दिनु तथा परिवारको प्रतिष्ठा कायम राख्नु महिलाले प्रमुख जिम्मेवारीका रूपमा बहन गर्नुपर्छ भन्ने अपेक्षा गरिन्छ। यही कारणले वैवाहिक जीवनमा हिंसा, मानसिक तनाव वा अन्य असमान व्यवहारको सामना गर्दा पनि अधिकांश महिलाहरू आफूभित्रका पिडालाई सार्वजनिक गर्न रुचाउँदैनन्।
नेपाली समाजका धेरैजसो समुदायमा वैवाहिक समस्याका बारेमा खुलेर बोल्ने महिलालाई परिवार जोगाउन नसकेको, घरभाडुवा, विद्रोही वा परिवारको इज्जतमा आँच पुर्याउने व्यक्तिका रूपमा हेर्ने गरिन्छ। कतिपय अवस्थामा महिलालाई नै समस्या सिर्जना गर्ने व्यक्तिका रूपमा दोषारोपण गरिन्छ, जबकि हिंसा वा विभेद गर्ने व्यक्तिको व्यवहारलाई सामान्य वा पारिवारिक विषयका रूपमा स्वीकार गरिन्छ। यस्तो पीडितलाई नै दोष दिने प्रवृत्तिले महिलाहरूलाई न्याय खोज्न, कानुनी सल्लाह लिन वा मनोसामाजिक सहयोग प्राप्त गर्नबाट समेत हतोत्साहित गर्दछ।
यसका अतिरिक्त, सम्बन्धविच्छेद, अलग बसाइ वा घरेलु हिंसाको विषयलाई सार्वजनिक गर्दा महिलालाई समाजमा आलोचना हुने तथा चरित्रमाथि पनि प्रश्न उठाउने डर हुन्छ। विशेष गरी ग्रामीण तथा परम्परागत समुदायहरूमा यस्ता सामाजिक दबाब अझ गहिरो रूपमा देखिन्छन्। फलस्वरूप, ती महिलाहरूले आफ्ना पीडा तथा भोगाइहरू सार्वजनिक गर्नुभन्दा मौन बस्नु नै सुरक्षित विकल्प ठान्छन्। यसले महिलाहरूले भोगिरहेका समस्या र पीडाहरूलाई लुकाइराख्ने मात्र होइन, ती समस्याहरूको दीर्घकालीन समाधानका उपायहरू पहिचान र कार्यान्वयन गर्ने प्रक्रियामा समेत अवरोध सिर्जना गर्दछ।
सन्तानको भविष्यप्रतिको चिन्ता
अधिकांश महिलाहरू आफ्ना सन्तानको भविष्यलाई पहिलो प्राथमिकतामा राख्दछन्। उनीहरूले परिवारसँगै बस्नु नै सन्तानको सुरक्षित र उज्ज्वल भविष्यका लागि आवश्यक छ भन्ने ठान्दछन्। फलस्वरूप, कतिपय महिलाहरू परिवारसँग छुट्टिएर बस्नु तथा भविष्यप्रतिको सम्भावित अनिश्चितताको जोखिम मोल्नुभन्दा आफ्ना दुःख, पीडा र अन्यायलाई मौनतामै सहेर जीवनसँग सम्झौता गर्न बाध्य हुन्छन्।
प्रायः महिलाहरूले बुढेसकालमा आफ्ना सन्तानबाट साथ र सहयोग पाउने आशाले गर्दा पनि वर्षौँसम्मका पीडा र सङ्घर्षलाई सहन सक्ने शक्तिमा बदलेका हुन्छन्। श्रीमान् तथा परिवारबाट दुर्व्यवहारको सामना गर्नुपरे पनि उनीहरू आफ्ना सन्तानका लागि निरन्तर त्याग गरिरहन्छन्। उनीहरूले आफ्ना सन्तानले आफूले जीवनभर गरेका त्याग र संघर्षलाई बुझ्नेछन् र बुढेसकालमा साथ तथा सहयोग गर्नेछन् भन्ने विश्वास राखेका हुन्छन्। तर वर्तमान अवस्था भने आशा गरेअनुसार देखिँदैन। उच्च शिक्षा तथा रोजगारीका अवसरको खोजीमा बढ्दो संख्यामा युवायुवतीहरू विदेश पलायन भइरहेका कारणले गर्दा धेरै आमाबुबाहरूले बुढेसकालमा आफ्ना सन्तानबाट अपेक्षा गरिएको साथ र सहयोग पाउने सम्भावना कम देखिन्छ।
आफ्नो सम्मान र सामाजिक प्रतिष्ठा जोगाउने चाहना
परिवारको इज्जत, व्यक्तिगत सम्मान तथा समुदायमा आफ्नो सामाजिक प्रतिष्ठा कायम राख्ने उद्देश्यले महिलाहरू घरेलु विवाद, हिंसा वा वैवाहिक समस्याहरू आफन्त वा अरू कसैलाई पनि भन्न रुचाउँदैनन्। कैयौँ महिलाहरूका लागि सम्बन्धविच्छेदपछि उनीहरूको जीवन अझ बढी कठिन हुने हो कि भन्ने सोचाइले गर्दा पनि हिंसात्मक सम्बन्धबाट बाहिरिन सकिरहेका हुँदैनन्। एक्लै सन्तान हुर्काउनुपर्ने जिम्मेवारी, आर्थिक असुरक्षाको सामना गर्नुपर्ने अवस्था तथा एकल आमा वा एकल महिलाका रूपमा समाजबाट गरिने मूल्याङ्कन र आलोचनाको डरले उनीहरू प्रतिकूल परिस्थितिमै जीवन बिताउन बाध्य हुने गर्छन्।
अझै पनि कतिपय समुदायमा एकल महिलालाई समाजका अरूभन्दा कमजोर र जोखिममा रहेका समूहको रूपमा हेरिन्छ। जसले गर्दा उनीहरूलाई अरूमाथि निर्भर गर्ने र सजिलै शोषण गर्न सकिने वर्गको रूपमा गलत ढङ्गले चित्रण गरिन्छ। कतिपय अवस्थामा यस्ता रूढिवादी सोच र सामाजिक धारणाले उनीहरूको आत्मविश्वास, अवसर र स्वतन्त्र जीवनयापन गर्ने अधिकारमा समेत नकारात्मक प्रभाव पार्ने गरेको पाइन्छ। यद्यपि, पछिल्ला वर्षहरूमा केही सकारात्मक परिवर्तन देखिन थालेका छन्। केही महिलाहरूले उच्च शिक्षा र आर्थिक आत्मनिर्भरता प्राप्त गरेर सार्वजनिक जीवनमा सक्रिय बन्दै गएपछि समाजमा उनीहरूको क्षमता, योगदान र सम्मानपूर्वक बाँच्ने अधिकारप्रति क्रमशः सकारात्मक दृष्टिकोण विकास भएको देखिन्छ।
माइती परिवारको प्रतिष्ठा जोगाउने दबाब
महिलाहरूले आफ्नो समस्या सार्वजनिक गर्दा माइती परिवारको इज्जत, प्रतिष्ठा र सामाजिक सम्मानमा आँच पुग्ने डर मान्छन्। हाम्रो समाजका प्रायजसो समुदायमा छोरीको वैवाहिक जीवनलाई उसको माइतीपट्टिको परिवारले दिएको संस्कार, पालनपोषण र सामाजिक हैसियतसँग जोडेर हेर्ने चलन अझै पनि रहेको पाइन्छ। फलस्वरूप, महिलाहरू आफ्ना आफन्त र समाजमा परिवारको प्रतिष्ठामा असर पर्न नदिन आफ्ना दुःख–कष्टहरू आफूभित्रै दबाएर राख्न बाध्य हुन्छन्।
माइती परिवारमा बोझ बन्ने महसुस
महिलाहरूले आफ्नो घरमा जति नै दुःख, कष्ट वा हिंसा भोग्नुपरे पनि माइतीको सहयोग लिनु वा माइतीघरमै आश्रय लिएर जीवनयापन गर्नु प्रायः त्यति सहज तथा व्यवहारिक विकल्पका रूपमा लिँदैनन्। विशेष गरी परिवारको आर्थिक अवस्था कमजोर भएका वा आमाबुबा स्वयं विभिन्न आर्थिक तथा पारिवारिक समस्यामा रहेका अवस्थाका महिलाहरूले आफ्नो कारणले गर्दा माइतीमाथि थप बोझ थपिने चिन्ताले सहयोग माग्ने इच्छा गर्दैनन्। कतिपय अवस्थामा परिवारभित्रका जटिल सम्बन्ध, नन्द–आमाजू तथा भाउजू–बुहारीबिचको असहजता तथा आत्मीय सम्बन्धको कमीले पनि महिलाहरूलाई आफ्नै माइतीघरमा समेत आफू स्वागतयोग्य नभएको अनुभूति गराउँछ। यस्ता परिस्थितिहरूले उनीहरूलाई माइतीको साथ र सहयोग खोज्न निरुत्साहित गर्छन्।
निष्कर्ष
महिलाहरूले आफ्नो वैवाहिक जीवन मौनतामै जिउन बाध्य हुनु, अधिकांश महिलाका लागि व्यक्तिगत कमजोरी नभई सामाजिक संरचना र लैङ्गिक असमानताले सिर्जना गरेको प्रतिकूल परिस्थितिसँग जुध्ने एक प्रकारको वैकल्पिक रणनीति बन्न पुगेको छ। परिवारको प्रतिष्ठा जोगाउने दबाब, सन्तानको भविष्यप्रतिको चिन्ता, सम्बन्धविच्छेदसँग जोडिएको सामाजिक मान्यता, माइती परिवारमा बोझ बन्ने डर तथा आर्थिक असुरक्षाका कारण अधिकांश महिलाहरू घरेलु हिंसा, मानसिक उत्पीडन र वैवाहिक सम्बन्धको समस्याहरू अरूलाई बताउन वा सहयोग माग्न चाहँदैनन्।
यद्यपि शिक्षा, आर्थिक सशक्तीकरण, सूचना तथा सञ्चार प्रविधिको विस्तार र महिला अधिकारसम्बन्धी सामाजिक चेतनाको विकासले महिलाहरूको आत्मविश्वास र सहभागितामा सकारात्मक परिवर्तन ल्याएको छ। तर यी उपलब्धिहरू सबै वर्ग, समुदाय र भौगोलिक क्षेत्रमा समान रूपमा पुगेका छैनन्। विशेष गरी ग्रामीण क्षेत्र, आर्थिक रूपमा विपन्न परिवार तथा सामाजिक रूपमा सीमान्तकृत समुदायका महिलाहरू अझै पनि बहुआयामिक विभेद र संरचनात्मक अवरोधको सामना गरिरहेका छन्।
यस सन्दर्भमा, वैवाहिक सम्बन्धलाई केवल परिवारको निजी विषयका रूपमा मात्र नभई महिलाको मानवअधिकार, लैङ्गिक समानता तथा सामाजिक न्यायसँग जोडिएको सार्वजनिक सरोकारको विषयका रूपमा हेर्न आवश्यक छ। महिलाहरूले भोगेका पीडा वा विभेदलाई लुकाउनुपर्ने सामाजिक अवस्थाको अन्त्य गर्न लैङ्गिक रूपान्तरणमुखी नीतिहरूको प्रभावकारी कार्यान्वयन, आर्थिक सशक्तीकरणका अवसरहरूको विस्तार, गुणस्तरीय कानुनी तथा मनोसामाजिक सेवा, सुरक्षित उजुरी प्रणाली तथा समुदाय स्तरमा पितृसत्तात्मक सोच परिवर्तन गर्ने दीर्घकालीन सामाजिक अभियान कार्यक्रमहरू सञ्चालन गर्न आवश्यकता देखिन्छ।
अन्ततः, महिलाको सहनशीलतालाई सामाजिक आदर्शका रूपमा मात्र नहेरी उनीहरूको अधिकार, सुरक्षा र निर्णय लिने क्षमताको सम्मान गर्ने सामाजिक संस्कृतिको विकास गर्नु नै दिगो सामाजिक रूपान्तरणको मुख्य आधार हुनेछ। जब महिलाहरू डर वा सामाजिक दबाबबिना आफ्ना अनुभवहरू व्यक्त गर्न र सम्मानजनक जीवन बाँच्न सक्षम हुन्छन्, तब मात्र नेपालको संविधानले परिकल्पना गरेको लैङ्गिक समानता, सामाजिक न्याय र समावेशी विकासका लक्ष्यहरू व्यवहारमा रूपान्तरण हुन सक्नेछन्।
(लेखक लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ हुन्।)