विद्यालयको एउटा कक्षामा कहिलेकाहीँ कुनै विद्यार्थी चुपचाप बसेको हुन्छ। बाहिरबाट हेर्दा ऊ सामान्य देखिए पनि भित्रभित्रै अनेक प्रश्न, डर, असफलता, पारिवारिक तनाव, सम्बन्धका जटिलता वा भविष्यप्रतिको अन्योलसँग संघर्ष गरिरहेको हुन सक्छ।
त्यही विद्यालयमा कुनै अभिभावक आफ्ना सन्तानमा आएको परिवर्तनले चिन्तित हुनुभएको हुन्छ भने कुनै शिक्षक विद्यार्थीको व्यवहार वा सिकाइमा आएको परिवर्तन बुझ्न खोजिरहनु भएको हुन्छ। यस्ता अनगिन्ती कथाका बिच विद्यालयमा एउटा यस्तो व्यक्ति पनि हुनुहुन्छ, जसको भूमिका सबै समस्याको उत्तर दिनु होइन, बरु मानिसलाई सुन्नु, बुझ्नु र उसलाई आफ्नै सम्भावना पहिचान गर्न साथ दिनु हो। त्यो व्यक्ति हो, विद्यालय मनोविमर्शकर्ता।
नेपालमा विद्यालय मनोविमर्शकर्ताको भूमिकाबारे अझै पनि धेरै भ्रमहरू छन्। धेरैले मनोविमर्शकर्ता भनेको सल्लाह दिने, उपाय सुझाउने, निष्कर्ष निकालिदिने वा कसैले कुन निर्णय लिनुपर्छ भनेर निर्देशन दिने व्यक्ति हो भन्ने ठान्नुहुन्छ।
मनोविमर्शकर्तासँग पुगेपछि आफ्नो समस्याको तुरुन्तै समाधान प्राप्त हुन्छ भन्ने अपेक्षा पनि सामान्य छ। तर मनोविमर्शको वास्तविक उद्देश्य कसैको जीवनको निर्णय गरिदिनु होइन। यसको उद्देश्य व्यक्तिलाई आफ्ना भावना, अनुभव र सम्भावनालाई सुरक्षित वातावरणमा बुझ्न सहयोग गर्नु हो, ताकि उसले आफ्नै निर्णय आफैँ गर्न सक्ने आत्मविश्वास विकास गर्न सकोस्।
मनोविमर्शकर्ताको आधार समाधान होइन, सम्बन्ध हो। विश्वास हो। संवेदनशील सुनाइ हो। धेरै पटक मानिसलाई तयार उत्तरभन्दा बढी आवश्यक पर्ने कुरा भनेकै कसैले बिना आलोचना, बिना तुलना र बिना पूर्वाग्रह धैर्यपूर्वक सुनिदिएको अनुभूति हो।
जब कुनै विद्यार्थीले आफ्ना मनका कुरा निर्धक्क भन्न पाउँछ, जब उसका भावनालाई कमजोर वा अनावश्यक भनेर अस्वीकार गरिँदैन, त्यही क्षणबाट सकारात्मक परिवर्तनको यात्रा सुरु हुन्छ। विद्यालय मनोविमर्शकर्ताको भूमिका यहीँबाट सुरु हुन्छ।
विद्यालय मनोपरामर्शलाई धेरैले विद्यार्थीसँग एक्लै बसेर गरिने परामर्शका रूपमा बुझ्ने गर्छन्। वास्तवमा यो एउटा सहयोगात्मक प्रक्रिया हो। विद्यार्थीको समग्र हितलाई केन्द्रमा राखेर विद्यालय मनोपरामर्शदाताले अभिभावक, शिक्षक, विद्यालय नेतृत्व, प्रशासन तथा आवश्यक परे अन्य सम्बन्धित सेवा प्रदायकसँग पनि सहकार्य गर्नुहुन्छ। यस सहकार्यको उद्देश्य गोपनीयता भंग गर्नु होइन, बरु विद्यार्थीलाई आवश्यक सहयोग उचित तरिकाले उपलब्ध गराउनु हो।
व्यावसायिक नैतिकताअनुसार गोपनीयताको सम्मान विद्यालय मनोपरामर्शको आधारभूत मूल्य हो। त्यसैले व्यक्तिगत जानकारीलाई सुरक्षित राख्दै, विद्यार्थीको सर्वोत्तम हितलाई केन्द्रमा राखेर मात्र आवश्यक समन्वय गरिन्छ।
विद्यालय मनोविमर्शको काम समस्या आएपछि मात्र सुरु हुँदैन। यसको उद्देश्य समस्या देखिनुअघि नै विद्यार्थीलाई भावनात्मक रूपमा सक्षम बनाउनु, आत्मविश्वास अभिवृद्धि गर्नु, स्वस्थ सम्बन्ध निर्माण गर्न सहयोग गर्नु तथा जीवनका विभिन्न चरणमा आवश्यक सामाजिक र भावनात्मक सीप विकास गराउनु पनि हो। यही कारणले आधुनिक विद्यालय मनोपरामर्शलाई विद्यालयको समग्र शैक्षिक प्रणालीको अभिन्न अङ्गका रूपमा हेरिन्छ।
अमेरिकन स्कुल काउन्सेलर एसोसिएसन (एएससिए) ले पनि विद्यालय मनोविमर्शकर्तालाई विद्यालयको शैक्षिक टोलीको महत्त्वपूर्ण सदस्यका रूपमा परिभाषित गरेको छ। एएससिएको राष्ट्रिय मोडलअनुसार विद्यालय मनोपरामर्श कार्यक्रमले विद्यार्थीको शैक्षिक, करियर तथा सामाजिक–भावनात्मक विकासलाई समान रूपमा प्रवर्द्धन गर्छ। यस दृष्टिकोणले विद्यालय मनोपरामर्शदातालाई समस्या समाधान गर्ने व्यक्ति मात्र होइन, प्रत्येक विद्यार्थीको समग्र विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने व्यावसायिक जनशक्तिका रूपमा स्थापित गरेको छ।
आजको समयमा बालबालिका र किशोरकिशोरीहरू केवल परीक्षाको दबाबसँग मात्र संघर्ष गरिरहेका छैनन्। उनीहरू सामाजिक सञ्जालको प्रभाव, प्रतिस्पर्धा, पारिवारिक अपेक्षा, सम्बन्धका जटिलता, आत्मपहिचानको खोज र भविष्यप्रतिको अनिश्चिततासँग पनि जुधिरहेका छन्। यस्तो समयमा विद्यालयमा एउटा यस्तो सुरक्षित स्थान हुनु आवश्यक छ, जहाँ उनीहरूले आफ्ना भावना निसंकोच व्यक्त गर्न सकुन्, आफूलाई सुनिएको र स्वीकार गरिएको अनुभूति गर्न सकुन्। किनभने सुन्ने संस्कृतिको विकास भएको विद्यालयमा मात्र विद्यार्थीहरू आत्मविश्वासी, जिम्मेवार, भावनात्मक रूपमा सक्षम र सिकाइप्रति सकारात्मक बन्न सक्छन्।
विद्यालय मनोविमर्शकर्ताको काम कसैको जीवनको उत्तर लेखिदिनु होइन, व्यक्तिलाई आफ्नै उत्तर खोज्न सहयोग गर्नु हो। उहाँहरू समस्याभन्दा पहिले व्यक्तिलाई देख्नुहुन्छ, कमजोरीभन्दा पहिले सम्भावना देख्नुहुन्छ र शब्दभन्दा पहिले भावनालाई सुन्नुहुन्छ। त्यसैले विद्यालय मनोविमर्शकर्तालाई सायद सबैभन्दा सुन्दर रूपमा यसरी चिनाउन सकिन्छ, उहाँहरू उत्तर दिने व्यक्ति होइनन्; सुन्ने, बुझ्ने र प्रत्येक व्यक्तिलाई आफ्नै सम्भावनासम्म पुग्ने यात्रामा साथ दिने सहयात्री हुन्।
विद्यालयमा यस्ता सहयात्रीहरूको उपस्थिति कुनै सुविधा होइन, समयको आवश्यकता हो। किनकि जब विद्यालयले विद्यार्थीलाई केवल पढाउन मात्र होइन, सुन्न पनि सिक्छ, तब त्यहाँ ज्ञान मात्र होइन, विश्वास पनि हुर्कन्छ। उपलब्धि मात्र होइन, आत्मविश्वास पनि निर्माण हुन्छ। सफल विद्यार्थी मात्र होइन, संवेदनशील र सक्षम नागरिक पनि तयार हुन्छन्।
(लेखक विद्यालय मनोपरामर्शदाता हुनुहुन्छ।)