‘बिहे गर्न नेपाल जान एक महिनाको मात्रै छुट्टी दिन्छ कम्पनीले, त्यो एक महिना भित्रै यहाँबाट गएर खोजी वरि बिहे गरेर आउन त भ्याउँदै भ्याइन्न ए दाजु, लौ न बिएस्सी नर्सिङ गरेकी वा गर्न लागेकी केटी तपाईंको चिनजानमा कोही छन् भने बुझ्नुस् न प्लिज। अरू अरू पढेका चाहिँ हुँदैन है।’
अस्ट्रेलिया बस्ने एक नातेदार भाइले मलाई म्यासेजमा लेख्दै थिए।
अर्को, अमेरिका बस्ने आफन्तको बुवाले पनि ‘चिनजानमा कोही बिएस्सी गरेको स्वजाति केटी छन् भने छोरोको लागि बुझ्दै गर्नु है बाबु’ भन्दै थिए।
न्युजिल्याण्ड बस्ने एक भाइले पनि भन्दै थिए- ‘बिएस्सी नर्स गरेको केटी भेटियो भने नेपाल गई तुरुन्तै बिहे गर्ने भनेको, खै लास्टै सर्टेज छ हौ, आफन्तहरू लगाएर जति खोज्दा पनि भेट्दै भेटिन्न अहिले त।’
मेरो नजिकै बस्ने क्यानडाको पढाइ सकाएर वर्क पर्मिट लिएका एक हुल विद्यार्थी भाइहरू पार्कमा आपसमा गफिँदै थिए- ‘बिहे गर्न नेपाल जाने भनेको बिएस्सी नर्सिङ गरेकी केटी खोज्न थालेको पुरै एक वर्ष हुन लगिसक्यो घर तिरकाले, अहँ! अहिलेसम्म भेटाउनै सकिरहेका छैनन्, यता फेरि आफ्नो वर्क पर्मिटको म्याद अब डेढ वर्षभन्दा बढी बाँकी छैन। कम म्याद भएको वर्क पर्मिटले एप्लाइ गर्दा डिपेन्डेन्टमा भिसा दिने चान्स एकदमै कम हुन्छ, तनाव छ हौ।’
नेपालबाट भर्खरै बिहे गरेर आएको उनीहरू मध्ये एकले चाहिँ उसलाई जिस्काउँदै अझै रसिक लवजमा, ‘तेरो बाउले जसरी खोज्दा त बुहारी भेट्या-भेट्यै हो बाबु, त्यसमा पनि बिएस्सी नर्स त झनै सम्झिने पानी छम्किने। हेर केटा, बिएस्सी नर्सहरू त आजकाल नेपालमा कलेज पास नहुँदै लास्ट सेमेस्टर भित्रै सबै 'बुक' भइसक्छन् रे, विदेश आउनुपूर्व नै 'रुमाल राखेर बुक' गर्न सकियो भने सम्भव छ, नत्र त पाउन लास्टै मुस्किल हुन्छ हौ। बरु दले लगा दले, त्यसले सर्भिस चार्ज राम्रै लिन्छ तर काम चाहिँ गर्छ है। मैले त दलेमार्फत नै हो तेरो भाउजूलाई भेटेको।’
सोही ग्रुप भित्रकै अर्को अर्को ब्राह्मण जातको केटो गुनासो सुनाउँदै थियो- ‘मागेरै बिहे गर्न त इन्टरकास्टलाई बुवाआमाले मान्दैनन्, मात्रै आर्यन वर्गको चाहिँ होस तर रूपरङ जस्तोसुकै भए पनि हुन्थ्यो भनेर भए भरको आफन्त नातेदारहरू सबका सबमा खबर गरेको, खै कसैले भेटाएकै छैनन् यार बिएस्सी नर्स।’
भर्खरै १९/२० पैला टेक्दै गरेकीहरूलाई विदेश बस्ने तालुखुइले 'अङ्कल' उमेरकाले उडाइसक्ने हुँदा बिएस्सी नर्स भेट्न बहुतै मुस्किल परिरहेको कुरा ठट्टा मिश्रित लवजमा नेपालमै इन्जिनियरिङ पास गरी हाइड्रोपावर कम्पनीमा कार्यरत उचित कन्यार्थको लागि भौँतारिरहेका एक जेहेन्दार भाइले दुखेसो मिश्रित अवरमा सुनाउँदै थियो।
प्रस्तुत दृष्टान्तबाट के पुष्टि हुन मद्दत गर्छ भने, विदेशमा बस्ने त्यसमा पनि विकसित राष्ट्रहरू अस्ट्रेलिया, क्यानडा, अमेरिका, युरोपेली मुलुकहरू, मध्यपूर्वका विकसित मुलुकहरू एवम् पूर्वी एसियाली मुलुकहरूमा पढ्न गएका अधिकांश पुरुष युवाहरू (जहाँ, डिपेन्डेन्ट भिसामा श्रीमतीलाई लैजान सकिन्छ) उनीहरूले बिहे गर्ने कन्याको प्रमुख छनौट बिएस्सी नर्सिङ पास गरेको हुने गरेको यथार्थ वर्तमान समाजमा देखिइरहेको छ।
परदेशमा पढ्दै गरेका वा पढाइ सकाएर बिहेको लागि मानसिक रूपमा तयार हुँदै गरेका ठिटाहरूले नेपाल मूलका छिमेकी दाइ, काकाहरूको हिजोसम्म आफू जस्तै सामान्य जीवन भएको। एकजनाको कमाइले मात्रै त विदेशी भूमिमा के नै पो गर्न सकिन्थ्यो र, जब बिहे गरेर बिएस्सी नर्स श्रीमती लिएर आए अनि आफ्नो कमाइको आधा पैसा मात्र बचे पनि भाउजूले कमाएको पुरै तलब समेत सेभ हुने हुँदा २/३ वर्ष भित्रै देखिएको उनीहरूको जीवनमा आएको परिवर्तन र तरक्कीको छड्के किनाराको साक्षी भएको हुनाले पनि नर्सिङ गरेकै केटी खोज्न अधिकांश ठिटाहरूले यत्ति धेरै मरिहत्ते गर्ने गरेको।
नर्सिङ पेसा, जसरी स्वदेशमा जनशक्तिको अभाव छ, त्यसै गरी परदेशमा पनि बढ्दो आप्रवासी जनसङ्ख्याको चापले त्यहाँ पनि तत पेसाधारीहरूको उच्च माग हुने। जहाँ कामदारको उच्च माग हुन्छ, त्यहाँ रोजगार सहज मिल्ने, राम्रो तलब पाइने कारण उनीहरूको पहिलो प्राथमिकतामा उनीहरू परेको हो। स्टाफ नर्स, अनमीहरू अलि कम योग्यता भएको हुँदा उनीहरू द्वितीय रोजाइमा पर्दछन् भने बिएनहरू चाहिँ आफ्नो क्यारियर बनाउँदा बनाउँदै अलि बढी उमेरको भइसक्ने हुँदा बिएस्सी नर्स नै प्रमुख रोजाइ बन्न पुगेको बुझ्न सकिन्छ।
यस विषयमा ललितपुर जिल्लामा सञ्चालित एक नर्सिङ कलेजका मास्टरजीसँग जिज्ञासा राख्दा- उनको क्याम्पसबाट उत्तीर्ण भएकाहरू मध्ये ८५ प्रतिशत नर्सहरू हाल् बिदेसिएको बताए। उनका अनुसार कारण चाहिँ वरपरका जिल्ला तिरबाट, कलेजको स्टाफ, वार्डेन, कर्मचारी, साथीभाइ, मास्टरजीहरू तथा उनीहरूलाई चिनजान गर्ने कोही न कोहीको माध्यमबाट विद्यार्थीहरूको अन्तिम रिजल्टै नआई बिहे गरेर विदेश जाने प्रस्ताव पुगिसकेको हुन्छ रे। अर्को अर्थमा भन्नु पर्दा उनीहरूलाई पूर्ववत् रूपमै 'बुक' गरिसकेको हुन्छ रे।
थप उनले भनेको अझै अर्को एक रोचक कुरा सुन्दा त झनै आश्चर्यमा नै पर्ने देखियो। उनले भने अनुसार 'जसरी गाउँघर तिर पोल्ट्री फार्मको व्यवसाय गर्ने किसानहरूलाई सप्लायर्सहरूले चल्ला आफैले उपलब्ध गराउने, उनीहरूले खाने दाना पनि आफैले उधारोमा उपलब्ध गराउँदछन् अनि कुखुरा हुर्केपछि आफैले किनिदिन्छन् तर सोको मूल्य भने सप्लायर्सले आफैले तोक्ने गरेका हुन्छन्। ठिक त्यसैसरि परदेशमा भएको छोरोको लागि नेपाल हुने अभिभावकले केटी खोजेर पहिल्यै बुक गरी उनीहरूलाई नर्सिङ पढाउन लाग्ने सम्पूर्ण लगानी, पढाइ सकिएपछि आफ्नो छोरोसँग नै बिहे गर्ने सर्तनामा गरी पारिवारिक म्युचुअल अन्डरस्ट्यान्डिङमा लाग्ने शुल्क बुक गर्ने केटोको परिवारहरूले तिरिदिने गरेको समेत उदाहरण देखियो।
यसमा केटी पट्टिका अभिभावकहरू छोरीको लागि पढाइमा लाग्ने लगानी पनि बचेकोमा गमक्क देखिन्छन्। केटी पनि परदेशमा जान पाइने भइयो भन्दै फुरुङ्ग देखिन्थिन् भने केटा पट्टिकाहरू पनि जसरी डेढ महिनापछि नाफाको हिसाब गरी पोल्ट्री सप्लायर्सले इन्भेस्ट गर्छ, ठिक ४ वर्षपछि मुनाफाको इरादा पक्का गरिसकेका समेत देखियो।'
उता स्वाभाविकै हो, माग बढेको हुँदा कलेज सञ्चालकहरूले पनि शुल्क मज्जाले बढाइरहेका छन्।
उनका अनुसार अहिले काठमाडौँ उपत्यका लगायत देशका मुख्य सहरहरूमा विदेशको केटोको लागि बिएस्सी नर्सिङ गरेकी केटी खोजिदिने लमी (एजेन्ट) हरू नै खटिएका हुन्छन् रे। नेपालीहरूलाई राम्रोसँग थाह छ कि, क्राइसिसको फाइदा उठाउन। त्यसैले सोही अभावको फाइदा उठाउँदै 'म मिलाइदिन सक्छु नर्स पास गरेकी कन्या' भनेर केटा पट्टिबाट पनि पैसा लिने अनि पिआर वाला मिलाइदिन सक्छु भनी केटीको परिवारबाट पनि पैसा असुल्ने गिरोह नै सक्रिय रूपमा लागेको समेत उनले बताए।
उल्लेखित दृष्टान्तहरूलाई मध्यनजर गर्दा यसको पछाडि गावत् कारणहरू देखापर्द्छन्। साझामध्ये आर्थिक, सामाजिक र व्यावसायिक मुख्य रूपमा जोडिएको देखिएको छ। जसरी नेपालबाट सोचिन्छ र कन्सल्टेन्सीका दलालहरूले भने जस्तो दालभात खाएको जस्तो सहज हुँदैन परदेश। सानो पापड पेलाइले विदेशमा टिक्न सकिन्न।
नव आगन्तुक त्यसमा अझै विद्यार्थीहरूको लागि त झनै विवाह केवल भावनात्मक विषय मात्र नहुने रहेछ। नेपालको बोझिलो ऋण, थुप्रै कानुनी प्रक्रिया, परिवार व्यवस्थापन र भविष्यको आर्थिक सुरक्षा जस्ता पक्ष पनि महत्त्वपूर्ण विषय हुने हुँदा नर्सिङ जस्तो अन्तर्राष्ट्रिय माग भएको पेसामा कार्यरत जीवनसाथी हुनु धेरैलाई सुरक्षित र व्यावहारिक विकल्प ठहरिएकाले बिएस्सी नर्सिङ गरेकी युवतीप्रति आकर्षण बढेको देखिन्छ।
नेपालमा बिएस्सी नर्सिङ गरेकाहरूले क्यानडा, अस्ट्रेलिया, बेलायत, अमेरिका, अस्ट्रेलिया, जर्मनी, जापान, सिङ्गापुर, लगायतका मुलुकहरूमा त्यहाँको सरकारले लिने एक निश्चित एक्जामको प्रक्रिया पूरा गरेपछि उनीहरू काम गर्न योग्य हुन्छन् र काम पनि अरूले भन्दा सहज रूपमा पाउँछन् पनि। सिपको काम भएकोले आफ्नो पेसाअनुसार भन्दा अरू गर्न नपर्ने अनि भारी उचाल्न नपर्ने, पैसा पनि अन्य सामान्य पेसा बाहकको भन्दा बढ्ता नै आउने हुँदा उनीहरू सो पेसाधारीहरू पट्ट्याउन र बिहे गर्न मरिहते गर्दैछन्।
उदाहरणका लागि एक बिएस्सी पास गरेकी नर्सले अमेरिकामा कर सहित करिब ९ लाख नेपाली रुपैयाँ मासिक कमाउन सक्छिन्, क्यानडामा ७ लाख, अस्ट्रेलियामा ७ लाख, बेलायतमा ६ लाख, जापानमा साढे ४ लाख जर्मनीमा साढे ५ लाख औसतमा कमाइ गर्ने त्यहाँको जब साइटहरूमा देख्न सकिन्छ। यही कारण विदेशमा रहेका धेरै नेपाली युवाले यस्तो शैक्षिक पृष्ठभूमि भएकी युवतीसँग विवाह गर्दा भविष्यमा आर्थिक स्थायित्व र पारिवारिक सहयोग दुवै बलियो हुने अपेक्षा राख्छन्।
नेपालमा पढ्दै गरेकाहरूलाई झन् उल्लेखित तलबमान थाह नहुने झन् कुरै भएन किनभने त्यति मेहनत र लगानी लगाएर पास गरेको विद्यालाई पछि देशमै जागिर खाऊँ न त भन्ने सोच राखी लोक सेवाको तयारी गरी नाम निकालियो भने स्टाफ नर्सले प्रतिमहिना मासिक ३५ हजार, अनुभवी नर्सले करिब ४५ हजार रुपैयाँ प्रतिमहिना। वरिष्ठ वा विशेष जिम्मेवारी भएका नर्सले करिब करिब ५२ हजार प्रतिमहिना कमाइ गर्न सक्छन्। जुन बढ्दो महँगाई र लागत अनुसार असाध्यै कम पारिश्रमिक हो।
त्यो पनि फेरि सरकारी तलबमानको कुरा हो। निजीको कथा त झनै दर्दनाक नै छ। त्यहाँ त झन् उनीहरूले माथि तोकिएको भन्दा झन्डै आधा तलबमै अस्पताल सञ्चालकहरूले काममा दलाइरहेको देख्न सक्छौँ। जसले गर्दा अधिकांश पास भएका ग्र्याजुएटहरूको एक मात्र मिसन नै विदेश जाने हुन्छ। झन् केटाहरूले नै लगानी गरी-गरी भाउ दिइरहेका छन् भने त उनीहरूको लागि राम्रो अवसर हो।
दुर्गा प्रसाईंले 'यो देशमा अब नर्स पाउनै छाड्छ' भनेर दिएको अभिव्यक्तिमा तथ्यगत सत्यता नभेटिए पनि, यसले एउटा तीतो यथार्थलाई पक्कै उजागर गरेको छ कि- बिएस्सी नर्सिङ उत्तीर्ण हुनासाथ उनीहरू सिधै विदेशको रोजगारी बजारमा पुगिहाल्छन्। यसले गर्दा नेपालमा दक्ष जनशक्तिको अभाव पहिलेदेखि नै थियो, अहिले पनि छ र भविष्यमा अझ बढ्दै जानेछ।
नेपाल नर्सिङ परिषद् र सरकारी निकायहरूको सार्वजनिक तथ्याङ्क अनुसार परिषदमा हालसम्म एक लाख २८ हजार ८४० जना नर्सिङ पेसाकर्मी दर्ता भएका छन्। यसमध्ये ८८ हजार २३२ जना रजिस्टर्ड नर्सहरू सूचीकृत छन्। आ.व २०८१/८२ को अन्त्य सम्म मात्रै ५२ हजार २५५ जना नेपाली नर्स विदेश गएका छन्। जसमध्ये कोही आफै गएका हुन भने अधिकांश चाहिँ विवाह गरेर आश्रित भिसामा गएकाहरू हुन्।
साथै परदेशमा भएकाहरूलाई नर्सिङ पेसामा आबद्ध केटी नै किन चाहिन्छ भन्ने अर्को द्वितीय कारण- नर्सिङ शिक्षासँग जोडिएका व्यक्तिहरू अलग्गै किसिमका गुणवान् हुन्छन्। उनीहरूमा अनुशासन, धैर्यता, जिम्मेवारी, सेवा भावना र संवेदनशीलता विकास हुने विश्वास गरिन्छ। बिरामीको हेरचाह गर्ने पेसामा संलग्न भएकाले यस्ता व्यक्तिहरूलाई सहनशील, व्यवस्थित र परिवारप्रति जिम्मेवार बहन गर्न सक्ने धारणा धेरै पाइन्छ।
विदेशमा बस्ने युवाहरूलाई यस्तो स्वभाव परिवार सम्हाल्न, नयाँ वातावरणमा घुलमिल हुन र कठिन परिस्थितिमा साथ दिन उपयोगी ठानिएको कारण पनि हुन सक्छ उनीहरूको प्रमुख प्राथमिकतामा नर्सहरू पर्ने गरेको। तर दोस्रो भन्दा पनि पहिलो कारणले प्रथम स्थान लिइरहेको छ हाम्रो समाजमा।
प्रस्तुत आलेखको आशय अरू पढाइ र पेसालाई कम आँक्न खोजेको वा डिमान्ड हुँदै नभएको भन्न खोजेको होइन, साथै नर्सिङ पेसाप्रति मेरो हमेसा सम्मान थियो, छ र रहिरहनेछ। लेखको मूल आशय यो कि, सबै बिएस्सी नर्सिङ पढ्दै गरेकी युवती विदेशको केटा र त्यहाँको कमाइ, सो कल्ड वैभवको जीवन देखेर आकर्षित हुने एक मात्र कारण हो भन्ने मनसुवा पटक्कै होइन र विदेशमा बस्ने सबै नेपाली युवाले नर्सिङ पढेकी युवती नै खोज्छन् अन्य पेसा वाहकहरूलाई वास्ता गर्दैनन् भन्ने पनि होइन। तर वर्तमान नेपाली समाजमा एक यस्तो भाष्यको प्रादुर्भाव र तितो यथार्थ देखिइरहेको छ कि, जसले नर्सिङ जस्तो सम्मानित पेसालाई सौदाबाजीको विषय जबरजस्त बनाइरहेको छ।
मेरो बिचारमा, वैवाहिक जीवनको सफलता केवल पेसा वा शैक्षिक योग्यताले निर्धारण हुँदैन। आपसी सम्मान, विश्वास, समझदारी, संवाद, समान मूल्य र भावनात्मक परिपक्वता अझ महत्त्वपूर्ण आधार हुन्। कलेजमै सम्बन्ध पक्का हुनु आफैँमा गलत होइन तर त्यसमा हतार, दबाब वा केवल भविष्यको कमाइलाई मात्र आधार बनाइयो भने सम्बन्ध कमजोर हुन सक्छ।
विदेशमा बस्ने धेरै नेपाली युवाले भविष्य सुरक्षित देखिने, काम गर्न सक्ने, परिवार सम्हाल्न सक्ने र अन्तर्राष्ट्रिय अवसर भएको जीवनसाथी खोज्ने गर्छन्। नर्सिङ पढ्दै गरेकी युवतीमा यी सम्भावना देखिने भएकाले यस्तो आकर्षण बढ्नुलाई पक्कै पनि गलत मान्न सकिन्न तर यसलाई 'बुक गर्ने' संस्कृति र सौदाबाजीको रूपमा मात्र बुझ्न थालियो भने कालान्तरमा यसले सम्बन्धको मानवीय पक्ष ओझेलमा पार्न सक्छ।
विवाह कुनै व्यापारिक सम्झौता होइन, यो दीर्घकालीन विश्वास, सम्मान र जिम्मेवारीको सम्बन्ध हो। अन्ततः असल विवाह भनेको सम्झौता भन्दा ठुलो समझदारी, पेसा भन्दा ठुलो प्रेम र कमाइ भन्दा ठुलो विश्वास हो। जीवनभर साथ दिने सम्बन्ध निर्माण गर्न योग्यता सँगै मानवीय गुणहरूलाई पनि समान महत्त्व दिनु नै सबैभन्दा बुद्धिमानी निर्णय हुनेछ।
पहिला पहिला हाम्रा पालामा बिहे गर्न कन्यार्थको लागि जाँदा बुढापाकाहरू 'डोकामा पनि, ढोकामा पनि फिट हुने' केटी खोज्नुपर्छ है भन्थे। जसको अर्थ हुन्थ्यो घर भित्रको काममा पनि, घर बाहिरको काममा पनि निपुण होस भन्ने सोच राखेर सोही अनुसारको कुटुम्बमा कुरा पुर्याउँथे। केही पछि शिक्षित, असल स्वभाव, राम्रो पारिवारिक पृष्ठभूमि हेर्न थालियो। त्यसपछि स्वरोजगार र आफ्नै जागिर भएको योग्य केटीहरू प्राथमिकतामा पर्न थाल्यो भने अहिले सोमा परिवर्तन भएर पढ्न परदेशिएका विवाह केटाहरूको पहिलो रोजाइ नर्स, त्यसमा पनि बिएस्सी नर्सिङ पास गरेकी केटीहरू नै प्रमुख रोजाइमा आउँछ।
यसको समाजशास्त्रीय मनोविज्ञानलाई ह्रिदयङ्गम गर्ने हो भने के देखिन्छ भने नेपाली समाजले विवाहलाई मूलतः दुई मुटुको बन्धनबाट क्रमिक रूपमा दुई पक्ष बिचको सम्झौता र केवल एक आर्थिक टेकोको रूपमा लिइँदै गएको देख्न सकिन्छ।
आज धेरै अभिभावक पनि 'भविष्य सुरक्षित' भन्ने सोचले नर्सिङ पढेकी छोरी वा विदेशमा बस्ने ज्वाइँ खोज्न चाहन्छन्। अभिभावकहरूमा सन्तानको सुरक्षित भविष्यको चाहना हुने कुरा स्वाभाविक हो, उहाँहरूको मानसिकतालाई अनुचित मानिहाल्नु पनि अन्यथा होला। तर विवाहलाई केवल 'करियरको सम्झौता' बनाइयो भने यसको भावनात्मक पक्ष कमजोर हुन सक्छ।
सम्बन्धलाई टिकाउने शक्ति डिग्रीमा होइन, चरित्रमा हुन्छ। पेसाले अवसर दिन सक्छ तर प्रेम, विश्वास र सम्मानले मात्र जीवन भरको साथलाई अर्थपूर्ण बनाउँछ। सायद यही कारण नर्सिङ पढ्दै गरेका र परदेशिएका युवायुवतीहरू अनि उनीहरूमा परिवारका अभिभावकहरूले आज आफैले आफैँलाई मनमनै यो प्रश्न सोध्नुपर्छ कि, हामी जीवनसाथी खोजिरहेका छौँ कि केवल एउटा सुरक्षित करियर?