एक विद्यालयका प्रधानाध्यापक अभिभावक भेलामा भन्दै हुनुहुन्थ्यो, ‘परीक्षा नहुने भनेपछि तपाईंका छोराछोरीले पढ्नै छाडे। अहिले त शिक्षकहरूलाई पनि नपत्याउने भए।’
एकजना अभिभावकले नर्सरी कक्षा पढ्ने छोरीले परीक्षामा ९५ प्रतिशत अंक हासिल गरेको मार्कसिट सहित पोस्ट गरेर बधाई भने।
कक्षा एकमा पढ्ने छोरो फेल भएको कारण रुँदै आमासित हिँडिरहेको थियो। आमा छोरालाई पढेन भनेर गाली गर्दै थिइन्।
‘अन्दाज गरेर फटाफट नम्बर राख्नु न सर। पास फेल हुने हैन क्यारे। के टेन्सन लिनुहुन्छ?’ शैक्षिक सत्रको अन्तमा दुई शिक्षकहरूको भलाकुसारी यस्तो थियो। अर्का एक शिक्षक थप्नुहुन्छ, ‘यो निरन्तर मूल्याङ्कन गर्ने काम मलाई एकदम झन्झटिलो लाग्छ।’
जाँचै नलिने भनेको हो?
हाम्रो पाठ्यक्रमले प्रारम्भिक कक्षामा औपचारिक परीक्षा तोकेको छैन। आधारभूत तह कक्षा १ देखि ५ सम्म पूर्ण रूपमा र माथिल्लो कक्षामा आंशिक रूपमा निरन्तर मूल्याङ्कनको प्रावधान छ। यसलाई ‘सिकाइका लागि मूल्याङ्कन’ पनि भनिन्छ।
बालबालिकालाई कक्षामा सिकाउँदै गर्दा कति सिके कहाँ ‘सिकाइ खाडल’ रह्यो भनी पहिचान गर्ने र तुरुन्तै सुधारात्मक शिक्षण गर्ने काम सिकाइको लागि मूल्याङ्कन हो। यो रचनात्मक र गुणात्मक मूल्याङ्कन प्रक्रिया हो। मूल्याङ्कन सिकाइको लागि हो, न कि वर्षको अन्तमा पास वा फेल।
कक्षा अवलोकन, विद्यार्थी सहभागिता, प्रयोगात्मक कार्य, विद्यार्थी पोर्टफोलियो, दौँतरी सिकाइ, सिकाइ उपलब्धिहरूको रेकर्ड र प्रगतिबाट विद्यार्थीको सिकाइ अवस्था अभिलेखीकरण गरिन्छ। यसले साना विद्यार्थीलाई परीक्षाको डर र ह्याङ्गबाट मुक्त गराइ स्वतन्त्र सिकाइमा प्रेरित गर्दछ।
यस हिसाबले सिकाइको हर बखत विद्यार्थीको जाँच भइरहेको हुन्छ। पेपर पेन्सिलबाट लिखित परीक्षाको आधारमा मात्रै पास र फेल नगराउने भनेको हो।
भएको चाहिँ के हो?
विषयवस्तु घोकाउने, त्यसलाई हुबहु परीक्षामा उतार्न लगाउने र त्यसैलाई मुख्य सिकाइको रूपमा हेरिने पद्धति बस्यो। त्यही नै असली परीक्षा हो भन्ने हाम्रो गहिरो बुझाइले धेरै काम भयो। पेपर पेन्सिल टेस्ट मात्रै वास्तविक जाँच ठानियो र उदार कक्षान्नोति भन्ने भाषालाई ‘नपढीकन नै पास’ भन्ने अर्थ लगाइयो। अर्कातिर अभिभावकले छोराछोरीको पढाइ प्रगति खोज्ने नै भए। शिक्षकको हातमा विद्यार्थी प्रगति विवरण ठ्याक्कै नहुँदा अप्ठ्यारो हुन गयो।
वास्तवमा निरन्तर मूल्याङ्कनलाई सिकाइसित जोड्नै सकिएन। सिकाइ र मूल्याङ्कन एकअर्काको परिपूरक हुन् भन्ने कुरालाई व्यवहारमा उतार्न सकिएन। त्यसै गरी विद्यार्थी मूल्याङ्कनलाई प्रशासनिक कामको रूपमा बुझियो र झन्झटिलो मानियो। मूलतः ‘परीक्षा केन्द्रित संस्कृति’ले गाँज्यो।
शिक्षकको कठिनाइ
धेरै विद्यार्थी भएको ठाउँमा सबैको तथ्याङ्क राख्ने काम कठिन भयो। एक दिनमा धेरै घण्टी पढाउन पर्दा शिक्षकलाई थप समय भएन। अधिकांश विद्यालयमा चेकलिस्ट, अवलोकन फाराम, पोर्टफोलियो व्यवस्थापन, डिजिटल रेकर्ड सिस्टम आदिको अभाव नै छ। ‘राम्रो विद्यालय–राम्रो रिजल्ट’को थप दबाब शिक्षकले भोगिरहे।
सबैभन्दा ठुलो अभाव शिक्षकलाई निरन्तर मूल्याङ्कनको उपयुक्त तालिमको नै अभाव देखियो। मूल्याङ्कन ‘पृष्ठपोषण दिन’, ‘सिकाइ खाडल पुर्न’ र ‘सिकाइ समस्या हल’ गर्नको लागि हुनै सकेन। अन्ततः घुम्दै फिर्दै उही पेपर पेन्सिल परीक्षामा अडियौँ जुन तुलनात्मक रूपमा सजिलो पनि छ।
विद्यार्थीको सिकाइ क्षति
परीक्षामा उत्तरपुस्तिकाभरि लेखे मात्रै उत्कृष्ट ठहरिने परिपाटीले बालबालिकाको सर्वाङ्गीण विकास र सिकाइमा धक्का लाग्यो। सक्षमतामा आधारित पाठ्यक्रमले बालबालिकाको संज्ञानात्मक विकासको मात्रै अपेक्षा गर्दैन। विद्यार्थीलाई के थाहा छ भन्दा पनि के गर्न सक्षम र योग्य छ भन्ने हो। तसर्थ यस्ता पाठ्यक्रमले बालबालिकामा जीवनोपयोगी सिप, मानवीय मूल्य, सामाजिक व्यवहार, कार्यदक्षताको विकास खोज्छ।
यसो हुँदा सिकाइ जीवनसँग पनि जोडिन्छ। जस्तै, कोठा सफा गर्नु, गीत गाउन सक्नु, छिमेकीलाई आदर गर्नु, आफ्नो शरीरको सरसफाइ गर्नु, पैसा बचत गर्न जान्नु, आफ्नो अनुभव वा विचारलाई व्यक्त गर्न सक्नु, ट्राफिक नियम पालना गर्नु, अरूलाई सहयोग गर्नु, सामान किनेर हिसाब राख्न सक्नु जस्ता सक्षमता पाठ्यक्रमले खोज्छ। यसलाई हामीले खासै महत्त्व नै दिएनौँ। कोरा किताबी ज्ञान मात्रै विद्यार्थीलाई बाँडियो। अनि लिखित परीक्षा नै अन्तिम लक्ष्य भयो।
र्याङ्किङ भर्सेस रेटिङ
हामीलाई को विद्यार्थी प्रथम र को दोस्रो भयो भनेर हेर्ने बानी बस्यो। अभिभावकलाई आफ्नो छोराछोरी प्रथम वा दोस्रो भएको कुरा छिमेकी र आफन्तलाई सुनाउन मज्जा लाग्ने भयो। सय नम्बरमा पचास नम्बर ल्याएर पनि त प्रथम हुन सक्ने भए नि। हैन? त्यसैले, र्याङ्किङ हैन रेटिङ खोजौँ। बालबालिकालाई सर्वोकृष्ट वा उत्कृष्ट बनाउन तिर लागौँ। अरूसित तुलना हैन।
जोन विग्ज लेख्छन्, ‘बालबालिकालाई र्याङ्किङ गर्न थालेपछि उनीहरूले परीक्षाको लागि घोक्न थाल्छन् र गहिरो बुझ्ने, समालोचनात्मक सोचाइ गुमाउँछन्।’
ब्ल्याक र विलियमका अनुसार र्याङ्किङ प्रणालीले बालबालिका एकापसमा प्रतिस्पर्धी बन्छ र अरूलाई सहयोग गर्ने भावना गुमाउँछ।
यसै गरी क्यारोलले भनेका छन्, ‘कम र्याङ्कमा परेको बालबालिकाले सिक्ने उत्प्रेरणा गुमाउँछ र उनीहरू तनावमा बाँच्छन्।’
अन्य थुप्रै अनुसन्धान कार्यहरूले पनि के देखाउँछ भने र्याङ्किङ पद्धतिले बालबालिकामा सहयोगात्मक भावना, सहकार्यमा सिकाइ, स्वनिर्माणको लागि सिकाइ अन्त्य गर्छ। अस्वस्थ प्रतिस्पर्धा, अरूलाई हराउने स्वभावको विकास हुँदै जान्छ। यसर्थ पनि औपचारिक मूल्याङ्कन नगरी निर्माणात्मक मूल्याङ्कन मार्फत बालबालिकाको सिकाइ रेटिङ गर्नुपर्ने कुरा महत्त्वपूर्ण छ।
अबको बाटो
विश्वका कैयन राष्ट्रहरूमा आधारभूत तहका बालबालिकालाई मनोवैज्ञानिक असर र दबाब कम गर्न कक्षाकोठा केन्द्रित प्रकृतिको परीक्षा लिने प्रचलन छ। विभिन्न अध्ययनहरूले पनि साना बालबालिकालाई औपचारिक परीक्षाले मनोवैज्ञानिक दबाब सिर्जना गर्ने कुरा प्रस्ट्याएको छ। तसर्थ, व्यवस्थित रूपमा अनौपचारिक र निरन्तर मूल्याङ्कनको विकल्प छैन।
सिकाइका लागि मूल्याङ्कनको सिद्धान्तले विद्यार्थीको सिकाइ बढाउन मूल्याङ्कन हुनुपर्छ न कि उनीहरूलाई श्रेणी छुट्टाउन। त्यसैले मूल्याङ्कनलाई पास र फेलसँग जोडेर हेर्न छोडौँ।
पल ब्ल्याक लेख्छन्– ‘मूल्याङ्कनबाट आएको तथ्यहरू विद्यार्थीको सिकाइ आवश्यकता पूरा गर्न हो।’ तसर्थ मूल्याङ्कनलाई सिकाइ सहजीकरणसँग जोडौँ।
जेम्स लि. थप्छन्– ‘विद्यालय, शिक्षक आफैद्वारा निर्धारण गरेको शैक्षिक लक्ष्यहरू प्राप्त गर्ने सम्बन्धमा विद्यार्थीको प्रगति जाँच वा आकलन रूपमा मूल्याङ्कन गरिनु पर्छ।’ यसर्थ, यो निरन्तर र हरेक पाठ शिक्षणसँगै हुनु जरुरी छ।
अर्कातिर, सक्षमता आधारित पाठ्यक्रमले विद्यार्थीमा ज्ञान, सिप, मानवीय मूल्य, अभिवृत्ति, कार्य क्षमता विकास गर्ने लक्ष्य राखेको छ। यसका लागि पाठ्यक्रमले सुझाएका अनेकन् मूल्याङ्कनका विधिहरूको अभ्यास नै उत्तम बाटो हो। यसको लागि शिक्षकहरूलाई तालिम र सोही अनुसारको अभ्यास जरुरी छ।
(लेखक शिक्षा क्षेत्रमा कार्यरत छन्।)