गाउँमा राति कसैको घरमा समस्या पर्यो भने सबैभन्दा पहिले कसलाई सम्झिन्छन्?
टोलमा बाटो भत्कियो भने कसलाई खोज्छन्?
कसैको घरमा झगडा भयो, दुर्घटना भयो, कसैलाई सिफारिस चाहियो वा कुनै समस्या आइपर्यो भने मानिसहरू कहाँ पुग्छन्?
धेरैजसो अवस्थामा एउटै जवाफ आउँछ, वडा अध्यक्षकहाँ। तर विडम्बना, यही सबैभन्दा नजिकको जनप्रतिनिधिको पदलाई हामीले राजनीतिमा सबैभन्दा कम प्राथमिकता दिने गरेका छौँ। चुनावका बेला धेरैको नजर माथिल्लो पदमा हुन्छ। तर जनताको दैनिक जीवनसँग सबैभन्दा बढी जोडिएको पद भने वडा अध्यक्षकै हो।
नेपालको संघीय शासन व्यवस्थाले स्थानीय सरकारलाई नागरिकको घरदैलोसम्म पुर्याएको छ। ७५३ स्थानीय तह र ६ हजार ७४३ वडा छन्। यी प्रत्येक वडामा जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने निर्वाचित नेतृत्व वडा अध्यक्ष हो। संघीय मन्त्री र सांसदको नाम सबैलाई थाहा नहुन सक्छ। तर आफ्नै वडाको अध्यक्ष को हो भन्ने कुरा प्रायः सबैलाई थाहा हुन्छ। किनकि नागरिकलाई राज्यको उपस्थिति महसुस गराउने पहिलो व्यक्ति धेरै अवस्थामा वडा अध्यक्ष नै हुन्छ।
वडा अध्यक्ष बन्न सजिलो होला, तर वडा अध्यक्ष भएर काम गर्न त्यति सजिलो छैन। यसका लागि आफ्नो ठाउँ, समाज र नागरिकप्रतिको लगाव चाहिन्छ। समय दिन सक्ने इच्छाशक्ति चाहिन्छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता चाहिन्छ।
राजनीति भनेपछि आजभोलि धेरैलाई सजिलो बाटो जस्तो लाग्छ। राजनीतिमा प्रवेश गर्न कुनै निश्चित समय, अनुभव वा क्षमता नै चाहिन्छ भन्ने सोच पनि हराउँदै गएको देखिन्छ। राजनीतिक यात्रा सुरु गरेपछि धेरैको लक्ष्य सिधै संघीय मन्त्री, सांसद वा समानुपातिक सांसद बन्ने हुन्छ। त्यसपछि प्रदेशको पद, नगरपालिकाको प्रमुख वा उपप्रमुख। तर वडा अध्यक्ष बन्ने चाहना तुलनात्मक रूपमा कम देखिन्छ। सायद पद सानो देखिएर होला।
तर पद सानो वा ठूलो हुँदैन, त्यसले गर्ने काम र निर्वाह गर्ने जिम्मेवारी महत्त्वपूर्ण हुन्छ। वडा अध्यक्षको जिम्मेवारी आफ्नै खालको छ। नागरिकको सबैभन्दा नजिक रहेर काम गर्नुपर्ने भएकाले यस पदमा चुनौती पनि धेरै छन् र काम गर्ने अवसर पनि उत्तिकै छन्।
टाढाको देवताभन्दा नजिकको भूत काम लाग्छ भन्ने हाम्रो समाजको उखान यहाँ पनि सान्दर्भिक हुन्छ। नागरिकलाई समस्या पर्दा टाढाको सिंहदरबारभन्दा नजिकको वडा कार्यालय चाहिन्छ। आफ्नो समस्या सुनिदिने, बाटो देखाइदिने र आवश्यक समन्वय गरिदिने व्यक्ति चाहिन्छ।
तर जनताको अपेक्षा र वडा अध्यक्षको अधिकार तथा क्षमताबीच ठूलो अन्तर छ। नागरिकले वडा अध्यक्षसँग धेरै अपेक्षा राख्छन्। कतिपय अपेक्षा जायज हुन्छन्, कतिपय वडा अध्यक्षको अधिकार क्षेत्रभन्दा बाहिरका हुन्छन्। सबै समस्या वडा कार्यालयले समाधान गर्न सक्दैन। सबै निर्णय वडा अध्यक्ष एक्लैले गर्न सक्दैनन्। तर नागरिकले आफ्नो समस्या लिएर आउने ठाउँ भने वडा कार्यालय नै हो।
बाटो बिग्रियो, वडा अध्यक्ष। घरमा समस्या पर्यो, वडा अध्यक्ष। दुर्घटना भयो, वडा अध्यक्ष। घरायसी विवाद भयो, वडा अध्यक्ष। कसैसँग आर्थिक कारोबारको समस्या पर्यो, वडा अध्यक्ष। सिफारिस चाहियो, वडा अध्यक्ष। टोलमा कुनै घटना भयो, वडा अध्यक्ष। नगरपालिकाले दिएको जिम्मेवारी पूरा गर्नुपर्यो, वडा अध्यक्ष। वडाको बजेट ल्याउन लड्नुपर्यो, वडा अध्यक्ष। वडा सदस्य तथा मातहतका कर्मचारीबीच समन्वय गर्नुपर्यो, वडा अध्यक्ष। टोल विकास संस्था, विद्यालय, स्वास्थ्य संस्था र अन्य सामुदायिक संस्थासँग सहकार्य गर्नुपर्यो, वडा अध्यक्ष।
यसरी हेर्दा वडा अध्यक्षको जिम्मेवारीको सूची निकै लामो छ। कहिलेकाहीँ आफ्नो घर-परिवारलाई दिने समयसमेत निकाल्न नसक्ने अवस्था आउँछ। तर यति धेरै जिम्मेवारीबीच काम गर्दा पनि जस पाउनेभन्दा अपजस पाउने सम्भावना बढी हुन्छ। समस्या पर्दा सबैभन्दा पहिले खोजिने व्यक्ति वडा अध्यक्ष हुन्छ। समाधान हुन सकेन भने गाली खाने व्यक्ति पनि वडा अध्यक्ष नै हुन्छ।
नगरपालिकामा बैठक चलिरहेको हुन्छ, वडा अध्यक्ष फिल्डमा गएको हुन्छ वा कुनै अर्को सार्वजनिक काममा व्यस्त हुन्छ। यता सिफारिस लिन आएको नागरिकले वडा अध्यक्ष खोजिरहेको हुन्छ। केही समय कुर्नुपर्दा प्रश्न उठ्छ, ‘वडा अध्यक्ष खोइ?’ कुनै काम अधिकार क्षेत्रभन्दा बाहिरको हुन्छ, स्रोतसाधन हुँदैन, बजेट हुँदैन। तर नागरिकको अपेक्षा पूरा भएन भने अन्तिममा सुनिने टिप्पणी हुन्छ, ‘नसक्नेले किन पद ओगट्नु?’
यो अवस्था वडा अध्यक्षको मात्र कमजोरीले आएको होइन। हाम्रो स्थानीय शासन प्रणालीमा अधिकार, स्रोत र जिम्मेवारीबीच अझै तालमेल मिल्न सकेको छैन। वडालाई धेरै कामको जिम्मेवारी दिइएको छ, तर सबै काम गर्न पर्याप्त बजेट र जनशक्ति हुँदैन। खल्तीमा थोरै छ, गर्नुपर्ने धेरै छ। वडाको सीमित बजेटबाट सबै नागरिकका सबै आवश्यकता पूरा गर्न सम्भव हुँदैन। कुनै ठाउँमा बाटो बनाउनुपर्ने हुन्छ, कतै खानेपानीको समस्या हुन्छ, कतै विद्यालय र स्वास्थ्य संस्थाको आवश्यकता हुन्छ। सबैलाई एकैपटक सम्बोधन गर्न सकिँदैन।
वडा अध्यक्षले आफ्नो अधिकार र सीमित स्रोतसाधन बुझ्नुपर्छ। नागरिकले पनि वडा अध्यक्षको अधिकार, क्षमता र कार्यक्षेत्र बुझ्न आवश्यक छ। वडाका निर्वाचित प्रतिनिधि, कर्मचारी र नागरिकबीच सहकार्य भएमा धेरै समस्या समाधान हुन सक्छन्। स्थानीय सरकार भनेको जनप्रतिनिधिले मात्र चलाउने संस्था होइन। नागरिकको सहभागिता र सहयोग पनि उत्तिकै आवश्यक हुन्छ।
नेपालमा स्थानीय तहको दोस्रो कार्यकाल चलिरहेको छ। यस अवधिमा धेरै वडा अध्यक्षले आफ्नो ठाउँमा उदाहरणीय काम गरेका छन्। कतिपयले नागरिकको विश्वास जितेका छन्। विकास निर्माणदेखि सामाजिक समस्या समाधानसम्म सक्रिय भूमिका निर्वाह गरेका छन्। केही अपवाद पनि छन्। जिम्मेवारी पूरा नगर्ने, जनताको पहुँचबाट टाढा रहने र पदलाई व्यक्तिगत लाभको माध्यम बनाउने प्रवृत्ति पनि देखिन्छ। त्यसैले सबैलाई एउटै तराजुमा राखेर मूल्यांकन गर्न मिल्दैन।
कोभिड–१९ महामारीको समयलाई सम्झौँ। नागरिकलाई संक्रमणबाट जोगाउने, संक्रमितको खोजी गर्ने, स्वास्थ्य संस्थासँग समन्वय गर्ने, राहत वितरण गर्ने र जोखिममा रहेका परिवारको अवस्था बुझ्ने काममा वडा अध्यक्षको भूमिका महत्त्वपूर्ण थियो। त्यो बेला स्थानीय सरकारको वास्तविक उपस्थिति नागरिकले आफ्नै वडामा महसुस गरेका थिए। संकटको समयमा वडा अध्यक्षको आवश्यकता कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा त्यसले देखाएको थियो।
वडा अध्यक्षको पदलाई सानो ठानेर राजनीतिमा प्रवेश गर्नेहरूका लागि यो जिम्मेवारीको वास्तविकता बुझ्नु आवश्यक छ। चुनाव जित्नु मात्र उपलब्धि होइन। पाँच वर्षसम्म नागरिकको विश्वास कायम राख्नु ठूलो चुनौती हो। विकासका योजना बनाउनु, बजेटको सही उपयोग गर्नु, सेवाप्रवाहलाई सहज बनाउनु र नागरिकका गुनासा सुन्नु नै यस पदको वास्तविक परीक्षा हो। पदमा पुग्नुभन्दा त्यसको जिम्मेवारी पूरा गर्न सक्ने तयारी महत्त्वपूर्ण हुन्छ।
यो लेख कुनै दल, व्यक्ति वा कार्यकालको पक्ष वा विपक्षमा लेखिएको होइन। जिम्मेवारीमा रहेका वडा अध्यक्षहरूले आफ्ना काम र भूमिकाबारे शुद्ध अन्तःकरणका साथ पुनः मनन गरून् भन्ने अपेक्षा हो। आगामी दिनमा वडा अध्यक्ष बन्न चाहनेहरूले पनि यो पदलाई अवसरसँगै चुनौती र सेवाको जिम्मेवारीका रूपमा बुझून् भन्ने उद्देश्य हो।
किनकि नागरिकले राज्यलाई सबैभन्दा पहिले आफ्नै वडामा भेट्छन्। नागरिकको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने पहिलो ढोका वडा कार्यालय नै हो। त्यो ढोका खुला राख्ने जिम्मेवारी वडा अध्यक्षको हो। पदको उचाइभन्दा नागरिकसँगको निकटता र कामको प्रभावले नेतृत्वको मूल्य निर्धारण गर्छ।
सबै वडा अध्यक्षज्यूहरूलाई मेरो हार्दिक नमस्कार!