जब कुसे औंसी बुवाको मुख हेर्ने दिन नजिकै आउँछ। तब तब बा तपाईंको माया स्नेहको एकदम धेरै याद आउँछ, जीवनको यो अवस्था (मोड) सम्म आइपुग्दा म आफूलाई आफ्नो अतितलाई फर्केर हेर्ने गर्छु र मलाई मेरो मनले बारम्बार त्यही एउटै प्रश्न सोधिरहन्छ 'बा, के मैले हजुरलाई एक छोराको हैसियतले पर्याप्त रूपमा बुझ्न सकेँ होला र? के मैले त्यो मौनताभित्र लुकेका माया, नबोलिएको चिन्ता र आँखामा लुकेका ती अधुरा, अपुरा सपनाहरू पूरा गर्ने सकेँ होला र?
यी सबै प्रश्नहरू मेरो मनमा बिझिरहन्छ, सायद मैले आफ्नै हतारपन, जिद्धीपन र आफ्नै व्यस्ततामा या भनौं म मेरो आफ्नै संसारमा हराएर तपाईंलाई बुझ्न ढिला गरिरहेँ।
साँच्चिकै भन्न पर्दा बा तपाईंसँग मेरा धेरै कुराहरू अधुरो नै रहेको आज मलाई महसुस हुन्छ।
हामी सधैं एउटै घरमा भएर पनि नभए जस्तो भएका थियौ, तपाईं बिहानको झिसमिसेमा उठेर आफ्नो जिम्मेवारीको बोझ बोकेर निस्किनुहुन्थ्यो तर म भने आफ्नै संसारमा व्यस्त थिए, जब हजुर साँझ आफ्ना जिम्मेवारीहरू सकेर घर फकिर्नु हुन्थ्यो, म हरेक कुराहरूलाई अझै समय बाँकी छ। भन्दै सारी रहन्थें, यस्ता यस्तै कुराहरूले हामी बीचका संवादहरूलाई मौन बनाउँदै लगे र हामी नबोले पनि एक अर्कालाई बुझ्यौ होला भन्ने भ्रममा भइरहेँ म।
मलाई अझै याद छ, जब म तपाईंसँग कुनै पनि हालतमा काम गर्न सक्दिनँ भनेर घर फर्किएको थिएँ सायद त्यो मेरो जिन्दगीको सबभन्दा ठूलो गल्ती थियो, त्यो समयमा हजुरले मलाई त्यही बस्नलाई न रोक्न खोज्नु भयो, न कर गर्नु भयो, केही नभनी मौनतामै आफ्ना सारा दु:ख लुकाएर बस्नु भयो।
आज बुझ्दै छु, त्यो मौनताभित्र कति ठूलो पीडा लुकेको थियो होला भनेर। त्यो दिन हजुरले मलाई रोकेर हैन, जान दिएर आफू भित्रको अथाह माया देखाउनु भएको थियो, आज आएर मलाई महसुस हुँदैछ। अन्तिम समयमा हजुरसँग कुरा गर्न पनि पाइनँ मैले, जब हजुरको चिता जल्दै गर्दा दन्किरहेको आगो भन्दा मेरो भित्र मन धेरै जल्दै थियो, हावामा उडिरहेको खरानीसँगै हजुरको माया, स्नेह, साथहरू पनि खरानी झैं उडिरहेका थिए, रोइरहेको मलाई देखेर तपाईंको उही आत्मविश्वासी अनि शान्त अनुहार लिएर मलाई हेर्दै मलाई केही भन्दै हुनुहुन्छ देखिस्! मैले भनेको पूरा भयो कि भएन? तपाईं सधैं भन्नुहुन्थ्यो मलाई कसैको सहारा चाहिँदैन, जे गर्छु आफै गर्छु, त्यो वाक्यभित्र तपाईंको स्वाभिमान, संघर्ष र आत्मबल थियो, तर त्यही आत्मबलभित्र एउटा न्यानो सपना पनि थियो हामी सबै सन्तानहरू एकै ठाउँमा, एकै छाना मुनि, एकअर्काको साथमा बसेको देख्ने सपना, सायद आज त्यही सपना पूरा भएको दिन थियो तर कस्तो बिडम्बना यो सपना साकार भएको दृष्य हजुरले देख्न पाउनु भएन, यो सपना पूरा हुनलाई तपाईंले आफ्नो जीवन खर्चिनु पर्यो।
हजुरले आफ्नो चाहना कहिले अगाडि ल्याउनु भएन, निराशा र थकानलाई मुस्कानले टारिदिनु हुन्थ्यो, पीडाहरूलाई मनभित्रै दबाउनु भयो, हामीलाई बलियो बनाउन तपाईं आफै विस्तारै थाक्दै जानु भयो।
तपाईं मेरो जीवनको आधार हुनुहुन्थ्यो—म लड्दा थाम्ने हात, म डराउँदा ढाडस दिने आवाज, म हराउँदा बाटो देखाउने छाया। तपाईं हुनुहुँदा जिन्दगी जति गाह्रो भए पनि 'सकिन्छ' भन्ने विश्वास थियो, तर आज त्यो विश्वास खोज्दा मन अलिकति खाली लाग्छ।
जिन्दगीले धेरै कठिन मोडहरू देखायो, र हरेक अप्ठ्यारो क्षणमा मनले एउटै कुरा भनिरह्यो—बा हुनुहुन्थ्यो भने।
आजकल कसैले बाको कुरा गर्यो भने मन भारी हुन्छ। बाटोमा ढाका टोपी, कमिज–सुरूवाल लगाएर कसैलाई हिँडेको देखेँ भने क्षणभरलाई उही तपाईं जस्तो लाग्छ।
मनले बोलाउन खोज्छ—बा, तर आवाज घाँटीमै अड्किन्छ।
मेरो बिहेको दिन म तपाईंलाई सबैभन्दा धेरै मिस गरेँ। तपाईं हुनुहुन्थ्यो भने सायद म नडराई मण्डपमा बसेको हुन्थेँ, तपाईंको उपस्थितिमै मेरो सबै डर हराउने थियो, तर त्यो दिन तपाईं फोटोमा मात्र हुनुहुन्थ्यो, मेरो मनमा मात्र।
तपाईंले मलाई आधा बाटोमै छोडेर जानुभयो, तर तपाईंको स्थान कहिल्यै खाली हुनेछैन।
कसैले त्यो ठाउँ लिन सक्दैन। म आज पनि तपाईंको आवाज सम्झिन्छु, आज पनि तपाईंले भनेको त्यो कुरा मेरो मनमा बजिरहन्छ—'हजुरबा होइन, बा भन।'
हो बा, तपाईं हजुरबा होइन, तपाईं मेरो पहिचान, मेरो गर्व, मेरो हिम्मत—मेरो बा नै हुनुहुन्छ।