एक जना मित्र सामाजिक संस्थामा काम गर्न पुगेछन त्यो बेला उनको उमेर २० वर्ष जति थियो होला। त्यहाँ काम गरिरहेका एक जना वयस्कले 'बाबुको उमेर कच्चा छ, सामाजिक संस्थामा काम गर्ने, बरालिने उमेर होइन यहाँ त हामी जस्ता पाकेकाहरू आउने हो' भन्नुु भएछ।
साँच्चिकै उमेर, बैंशमा गर्ने काम सेवा क्षेत्र होइन प्रतिस्पर्धात्मक तथा चुनौतीपुर्ण हुनुपर्छ। मार्केटिङ जस्तो टार्गेट राखेर काममा जुटनुपर्छ। नतिजा देखाएर बोनस खानुपर्छ। यो सही फन्डा रहेछ तर सबैलाई मन नपर्न सक्छ तर सत्य हो।
-समय
त्यस्तो ठाउँमा दिनुस् जो भविष्यमा काम लागोस्।
सबै समय माग्छन श्रीमती, सन्तान, अभिभावक मालिक, समाज, साथीभाइ कसलाई मात्र समय दिने बाँच्नका लागि जागिर गर्न पर्यो यसर्थ जागिरलाई समय दिनुु बान्छनीय भयो। बाँकी श्रीमती, सन्तान, आफ्नै भए अभिभावक कर्तव्य भित्र परे कसो कसो समय मिलाउन कठिन नै छ। सबै जसोको नै समय चुनौती नै छ समय मिलाउनु पनि कला नै हो जो कोहीमा त्यो कौशल हुँदैन। सायद तिनैलाई आज दुनियाँले स्मार्ट भनेको होला।
जो भेट्यो समय नै छैन भेट्न फलानो काम गर्न भन्दछन् तर तिनै मानिस आफूलाई अनर्थ नचाहिने कुरामा अल्झाइरहेका हुन्छन् सायद नजानेर होला बिचरा यसैले समय जानौं, चिनौं, बुुझौं।
समय, नदी र ग्राहकले कसैलाई पर्खँदैन। भनिन्छ नदी त आजकल डाइभर्ट गरेर बस्ती बस्तीमा लगेका छन्। बाँकी रह्यो ग्राहक जो कसैका छैनन् किनकी आज प्रतिस्पर्धा चर्को छ जहाँ सस्तो त्यही जान्छन समय बलवान छ मालिकलाई फकिर फकिरलाई मालिक बनाउने समयको सही इस्तिमालले नै हो।
अमेरिकन लेखक रोय बनेटको अनुसार रिस, राग, चिन्ता, पश्चतापमा समय नखर्च, यो जीवन दुखित बन्नेका लागि छोटो छ।
पुनरावलोकन सिंहले झैं पछाडि फर्केर घुरेर हेर्ने पनि भनिन्छ जुन गयो त गयो सुधार्न सकिन्न तै पनि मानिस घन्टौं घोत्लिन्छन्, धिकार्छन, दुत्कार्छन्।
श्रीमतीलाई समय नदिए जीवन चल्दैन, जागिर-नोकरीलाई समय नदिए पैसा आउँदैन सन्तानलाई समय नदिए बुढेसकाल बिग्रन्छ, सन्तान सुख मिल्दैन बाँकी यस्तो हो।
उमेर कट्दै जाँदा मुख्यत शरीरले समय माग्छ त्यो बिर्सन हुँदैन। शरीरलाई दिएको समयले अस्पताल, डाक्टर, ल्याब आदिको खर्च अवश्य जोगिन्छ अरू कुरामा समय दिन नसके केही हानि त अवश्य होला त शरीरलाई समय नदिए धेरै नै हानि हुन्छ। यसकारण हामी शरीरको देखभाल गरौं।
समय कहाँ दिने, कहाँ नदिने कुनै नियम नभए पनि कानुनको यो डन्डा बिर्सँदा सर्वस्व हुन्छ जबकि सुतेर बस्नेलाई कानुनले सहयोग गर्न सक्दैन।
शरीरको कुरा गर्दा समय दिने कुरा बारम्बार चिकित्सकबाट आउँछ ढिलो भयो अलिक अघि जँचाउन आएको भए औषधिबाट निको हुन्थ्यो अब ढिला भयो शल्यचिकित्सा नै गर्नुपर्छ।
आफ्नो काममा मात्र लागिरहने, अरूको नसुन्ने, नदेख्ने, नहेर्ने मानिस सफल नै हुन्छन् जो आजको युग बुझेका स्मार्ट मानिस हुन् जसलाई सहज हुन्छ बाँच्न अन्यथा हर पाइला पहलमा अड्चन आउँछ।
कसै-कसैमा समाजसेवाको लत हुन्छ, हुटहुटी हुन्छ। तब परिवार, घर, पेशा बिर्सन्छन्, लागिरहन्छन्। तर अन्ततः समाजले उनीहरूलाई बिर्सन्छ नै। समाजले कसले के गरे, के-के गरे भनेर हेरेर साध्य हुँदैन। फाइदा लिने र अघि बढ्ने व्याख्या गर्छ।
समाज आजकल प्रयोगवादी सिद्धान्तमा गएको छ। यसैले पनि समय त्यसलाई दिऔँ, जुन फिर्ता आउँछ। अनर्थ फिर्ता नआउने साथी, मित्र, सङ्गी, आफन्त, इष्ट सबैबाट जोगियौँ। सबै सुखका हुन्, दुःखमा कोही काम लाग्दैनन्।
यत्रतत्र सबै समय माग्छन्, पाए दङ्ग हुन्छन्, नपाए रूष्ट हुन्छन्। हुन दिनुस्। आखिरमा परेका बेला काम लाग्ने त्यही पैसा हो। यसो गर पैसा, उसो गर पैसा। न आदर्श आउँछ सघाउन, न त मूल्य, मान्यता, नैतिकता। यो सबै वाहियात हो। आदर्श छाँटेर के गर्ने? आखिर समय बेचेर आएको पैसाको अर्थ हुन्छ। यसैले समयको सदुपयोग गरौँ।
शरीर, श्रीमती, पेशा, इलम र विज्ञतालाई समय दिऔँ, उत्कृष्ट बनाऔँ। अन्य कुरा कुनै बेला समय बढी भएमा गरे भयो। प्राथमिकता शरीर, श्रीमती, पेशा र इलमलाई दिऔँ, जीवन सफल बनाऔँ। अन्य कुरा तपसिलमा राखौँ।
२४ घण्टाको समयमा आठ घण्टा सुत्नमा दिनुस्, त्यो शरीरलाई भयो। बाँकी आठ घण्टा जागिर, काम, पेशा, इलम र उद्यमलाई दिऔँ। बाँकी रहेको समय जीवन सुखमय बनाउन घरपरिवार, अर्धाङ्गिनी र सन्तानलाई दिऔँ। अनि मात्र सोचौँ—घर, छिमेक, टोल, आफन्त, चिनजान सबै स्वार्थकै हुन्।
‘छैनन् गेडी, सबै मेरी; छैनन् गेडी, सबै टेढी’ भन्दछन्। सत्य वचन नै हो। यसकारण पेशा, इलम, कामधन्दा एक नम्बरमा हो, जुन शरीरपछि आउँछ। घरपरिवार, श्रीमती, सन्तान खुसी राख्न दाम चाहिन्छ, त्यो काम, पेशा, इलमले आउँछ।
अन्त्यमा, त्यो एउटा समय—जुन औषत नेपाली आयु करिब ७३ वर्ष छ। उक्त ७३ वर्ष पूरा आयु रहेमा २३ वर्षसम्म त पढ्नै पर्यो। त्यसपछि जागिर, पेशामा लाग्न पर्यो। त्यसपछि घरपरिवार जमाउने काम हुन्छ, जुन ३० भित्रमा हुन्छ। त्यसपछिको समय कामधन्दा, पेशा, व्यवसाय नै हो।
६० वर्षसम्म सक्रिय उमेर हो, त्यसपछि कम सक्रिय रहन्छ। यदि उमेरमा शरीरको जतन हरेक अवस्थामा गर्यौँ भने तसर्थ ३० वर्षपछिको समयलाई अधिकतम क्याल्कुलेटरजस्तै गुणेर खर्च गरौँ। त्यसपछि जीवनको उत्तरार्धमा आफैले आफैलाई सराप्न, धिक्कार्न पर्दैन।
जीवन तपाईंको, निर्णय तपाईंको, समय तपाईंको।