हामीले एकदुई कक्षामा पढ्दा पढाइ सुरु हुनुअघि गुरुले हाजिरी पुस्तिका पल्टाएर विद्यार्थीको क्रम संख्या (रोल नम्बर) भन्दै जाँदा पालैपालो उठेर विद्यार्थीले ‘उपस्थितस्मि’ भन्नुपर्थ्यो। हाजिरी गराउँदा ‘एस सर’ भन्ने चलन पछि मात्र आयो।
हाम्रो पालामा नमिल्दा र जटिल खालका पाठ्यक्रमहरू देखिन्थे। पढाइका लागि विद्यालयमा विषयहरूको कुनै निश्चितता थिएन। हामीले पढ्ने गरेको विद्यालय संस्कृत विद्यालय भएकोले मलाई दुई कक्षामै ‘लघुकौमुदी’ र ‘अमरकोश’ पढ्न लगाइएको थियो। केही पाठहरू कण्ठस्थ पार्ने कोसिस गरिरहेको थिएँ।
‘छोराले संस्कृत पढ्न थाल्यो’ भनेर पिताजी खुसी देखिनुहुन्थ्यो र पढ्नुपर्छ पनि भन्नुहुन्थ्यो। सानै उमेरमा र तल्लो कक्षामा संस्कृत विषयहरू पढ्नुपर्दा मलाई निकै गाह्रो भएको थियो। संस्कृत पढ्ने विद्यार्थी म मात्र भएकोले संस्कृत छोडेर अरू विषयहरू पढ्न थालियो।
२०३१/३२ सालतिर हामीले दुई कक्षामै ‘इजी इङ्लिस’ र ‘माई इङ्लिस’ गरेर दुईवटा अंग्रेजी विषय पढ्नुपर्थ्यो। नयाँ शिक्षा लागू भएपछि भने पाठ्यक्रममा चार कक्षादेखि मात्र अंग्रेजी विषय समावेश भयो। हुन त हामी दुई कक्षामा पढ्ने समयमा बेलुकी एकजना छिमेकीले ‘के-ए = क, के-एच-ए = ख’ गरेर ‘त्र’ सम्म कण्ठ पार्न लगाउनुहुन्थ्यो।
त्यतिबेला गाउँमा प्रायजसो विद्यार्थीले टुकीको उज्यालोको भरमा पढ्नुपर्दथ्यो, धन्न हाम्रो घरमा लालटिनको व्यवस्था भएकोले पढ्न सजिलो भयो। टुकीको उज्यालोको सहारामा पढ्दा निधारमाथितिरको कपाल आगोले जल्दथ्यो, च्वार्र... आवाजसँगै। त्यसबखत विद्यालयमा रमाइला नानी पुस्तक पनि पढ्दथ्यौँ। जसमा एउटा बालगीत यस्तो थियो-
बस बस रे बसुन्धरा बहिनी
घिउ खाने डाडु
पञ्चरत्ने बाजा
घुमाउने टपरी
झिनियाको खाजा
खेलीखेली बसिजाऊँ।
त्यतिबेला हाम्रो विद्यालयको नाम ‘श्री संस्कृत माध्यमिक विद्यालय’ भनिए तापनि निमावि तहसम्म मात्र पढाइ हुन्थ्यो, विद्यार्थीको संख्या ज्यादै न्यून थियो। सो विद्यालयको नाम फेरिएर पछि ‘त्रिपुरेश्वरी निम्नमाध्यमिक विद्यालय’ भयो।
२०३६ सालसम्म त्यसै निमाविमा सात कक्षासम्म पढेर मावि तह अध्ययनका लागि हामी प्यूठानको भिङ्ग्रीस्थित अमर माविमा जानुपर्ने अवस्था आयो। हाम्रो गाउँबाट अमर माविसम्म जान दश किमिको दूरी पार गर्नुपर्थ्यो। विद्यालयमा आउजाउ गर्न दैनिक पाँच घन्टा बित्दथ्यो। बर्खामा माडी नदीमा उर्लिएको भेल पार गरेर वारपार पनि गरियो, अहिले सम्झिँदा अचम्म नै लाग्छ—कसरी त्यत्रो भेल वारपार गरियो भनेर।
२०२४/२५ सालमा तत्कालीन प्यूठानको खुंग्रीस्थित हाम्रो घरमा औलो उन्मूलन कार्यालय रहेको थियो। दिउँसो कर्मचारीहरू क्यारम बोर्ड खेलेर दिन बिताउँदथे, कार्यालयमा खासै काम भएको देखिँदैनथ्यो। सुकिलामुकिला देखिने र कपालमा चमेली तेल लगाएका कर्मचारीहरू क्यारम बोर्ड खेल्दै गरेको हामीहरूले उत्सुकताका साथ हेरिरहन्थ्यौँ।
सो कार्यालयपछि अलि पर बाटोमाथिको एक घरमा सरेपछि सो कार्यालय रहेको हाम्रो घरको कोठामा पिताजीले पसल गर्न थाल्नुभयो। पसल थाल्नुअघि उहाँले रोल्पाको खुमेलको विद्यालयमा पढाउने काम गर्नुहुन्थ्यो। त्यसअघि बोज्याङ गाउँमा पढाउने काम पनि गर्नुभएको थियो।
हाम्रो घरबाट सरेर गएको औलो उन्मूलन कार्यालय रहेको घरतिर त्यतिबेलाका हामी भुराभुरीहरू डुल्दै जाँदा कार्यालयको पेटीवरपर चारकुने तर लाम्चो आकारका सिसाका टुक्राहरू भेटाउँदथ्यौँ र हातमा लिएर के होला भनेर साथीहरूबीच एकअर्कालाई प्रश्न गर्दथ्यौँ। औलो रोग पहिचानको काममा रक्त परीक्षणका लागि प्रयोग गरिने ती सिसाका चारकुने टुक्रा यत्रतत्र फालिएका हुन्थे।
लुंग्री नदीतिर झर्ने खहरे खोला वा खोल्साखाल्सीहरूमा अरू सिसी वा बोतलका फुटेका टुक्राहरू फालिन्थे। बर्खाको खहरे खोलामा बग्ने पानीले ती सिसाका टुक्राहरू बगाएर लुंग्री नदीसम्म पुर्याउँदथ्यो। फुटेका सिसाका टुक्राटाक्रीलाई खतरनाक वस्तु सम्झेर मान्छेहरू टेक्न र छुन डराउँदथे। औलो उन्मूलन कार्यालय त्यहाँबाट उठेपछि त्यस घरमा चकचके-रोल्पा सडक आयोजनाको कार्यालय बस्यो, जहाँ २०३५ सालमा पहिलोपटक जिप पुगेको थियो।
२०३९ सालमा एसएलसी परीक्षा दिएपछि नागरिकता प्रमाणपत्र लिन तत्कालीन जिल्ला कार्यालय, रोल्पा गएपछि त्यहाँका कर्मचारीहरूको हाउभाउ देख्दा सोच्थेँ—म पनि कर्मचारी हुन पाए त महिनामहिनामा तलब बुझिन्थ्यो र आफूखुसी खर्च गर्न पाइन्थ्यो। हामी त एसएलसी परीक्षा उत्तीर्ण भएपछि केवल शिक्षक बन्ने सपना मात्र बुनेका थियौँ।
त्यतिबेला एसएलसी परीक्षा दिएर बसेकालाई पनि ‘शिक्षकको जागिर खान आऊ’ भन्ने अवस्था थियो। हामीले एसएलसी परीक्षा दिएको केही वर्षअघिसम्म शिक्षक जागिर खानका लागि नागरिकता प्रमाणपत्रको आवश्यकता पर्दैनथ्यो भन्ने कुरा मैले पुराना शिक्षकहरूबाट जानकारी पाएको थिएँ।
हाम्रो रोल्पामा नब्बे प्रतिशतको हाराहारीमा प्यूठानी शिक्षकहरू देखिन्थे, टाँसिएर रहेको प्यूठान-रोल्पाबीच शिक्षाको अवस्था वा स्तर ज्यादै नै फरक थियो। रोल्पामा पढाउने प्यूठानी शिक्षकहरूले दसैँमा विद्यालय बिदा भएपछि रोल्पाबाट खसी-बोका डोर्याउँदै अनि सिमीको दाल, अचार बनाउने भाँगो र अन्य वस्तुहरू रुकस्याक (स्थानीय बोलीचालीमा रुपसाइड) झोलामा बोकेर घरतिर लागेका देखिन्थे।
त्यतिबेलाका शिक्षकहरू अहिलेका जस्ता खाइलाग्दा, हट्टाकट्टा देखिँदैनथिए, दुब्लापातला र ज्यानमा केही नपुगेनपुगेजस्ता देखिन्थे। त्यतिबेला बनारसमा गएर मेट्रिक पासको प्रमाणपत्र लिएर शिक्षक जागिर खानेहरू पनि नभएका होइनन्। किनकि नेपालबाट एसएलसी पास गर्नु भनेको फलामको चिउरा चपाउनु सरह थियो। तृतीय श्रेणीमा एसएलसी परीक्षा पास गर्नु भनेको अहिलेको प्रथम श्रेणीमा उत्तीर्ण भएजस्तो मानिन्थ्यो।
प्यूठानको भिङ्ग्रीस्थित अमर माविमा पढ्न जाने रोल्पाको खुंग्रीका हामी पाँच जनामध्ये २०३९ सालको एसएलसी परीक्षामा चार जना उत्तीर्ण भएका थियौँ। त्यसमा तीन जना द्वितीय श्रेणीमा र एकजना तृतीय श्रेणीमा। एसएलसीमा उत्तीर्ण भएका हामी चारैजना तत्कालै सरकारी जागिरमा प्रवेश गर्यौँ। निजामती सेवामा एकजना, संस्थान सेवामा एकजना, प्रहरी सेवामा एकजना र सैनिक सेवामा एकजना आबद्ध भयौँ।
एसएसलसी परीक्षामा ब्याक लागेर अर्को वर्ष परीक्षा दिने परीक्षार्थीलाई ‘एक्ज्याम्टेड’ भनिन्थ्यो भने टेस्ट पास गरेर एसएलसी परीक्षा दिने परीक्षार्थीलाई ‘रेगुलर’ भनिन्थ्यो। एक्ज्याम्टेडलाई भन्दा रेगुलरलाई अलिक बढी मान्यता दिइन्थ्यो। एकजना गुरुले ‘एक्ज्याम्टेड’ लाई ‘झाम्टे’ भनेर व्यङ्ग्य गर्नुहुन्थ्यो।
कलेजमा पहिलो हाजिरी
मैले एकैदिन कलेजमा पहिलो हाजिरी र अफिसमा पहिलो हाजिरी गरेको २०८३ असोज ९ गतेका दिन ठीक त्रिचालीस वर्ष हुन्छ। २०४० असोज ९ गते उच्च शिक्षाका लागि प्राविणता प्रमाणपत्र तहको पहिलो वर्षको बिहानी कक्षाको अध्ययन सुरु गरेको ललितपुरको लगनखेलस्थित नमूना मच्छिन्द्र क्याम्पसमा हो। सो कलेज निजीस्तरमा सञ्चालित भएकोले विद्यार्थीको हाजिरी अनिवार्य थियो।
जीवनमा पहिलोपटक कलेजमा हाजिरी जनाएँ—‘एस सर’ भन्दै। कक्षा बिहान साढे छदेखि नौ बजेसम्म हुन्थ्यो। सरकारी कलेजहरूमा विद्यार्थीको हाजिरीको व्यवस्था हुँदैन भन्ने मैले त्यतिबेलै सुनेको थिएँ। विद्यालयहरूमा विद्यार्थीको हाजिरी व्यवस्थालाई अनिवार्य ठानिन्छ, जुन सकारात्मक पक्ष पनि हो। हाजिरी व्यवस्था नहुँदो हो त विद्यार्थीहरूमा अझ लापरबाही हुने भएकोले हाजिर गराउनु जरुरी पनि हो।
अफिसमा पहिलो हाजिरी
कलेजमा साढे नौ बजे कक्षा सकिएपछि २०४० असोज ९ गतेकै दिन पुतलीसडकस्थित एक अफिसमा दश बजे पुगेर जागिरको पहिलो हाजिरी जनाएँ। त्यतिबेला सवारी जाम खासै नहुने हुँदा लगनखेलबाट पुतलीसडक पुग्न धेरै समय लाग्दैनथ्यो।
हालको लगनखेल बसपार्कछेउमा रहेको एउटा चिया पसलमा पसलेले प्लेटमा चार पिस पाउरोटी, त्यसमाथि चिनी छर्किएर त्यसैमाथि दूध खन्याएर पाउरोटीमाथि चम्चा गाडेर दिन्थे र हतारहतार खाएर अफिस पुग्दथेँ। यस्तो कामचलाउ खाना खान छोडेर केही समय पुतलीसडकमा रहेका सम्झना होटल र झापाली होटलमध्ये कहिले कुनमा त कहिले कुनमा महिनाबारी बिहानको छाक मात्र खानका लागि एक सय असी रुपैयाँ तिर्ने गर्थेँ।
त्यतिबेला म लगनखेल-रत्नपार्क-लगनखेल आउजाउ गर्दा नीलो रङमा रहेका साझा बस नै रोज्दथेँ। चल्न त अरू मिनीबसहरू पनि चल्दथे, थोत्रामोत्रा। त्यो बखत लगनखेलदेखि रत्नपार्कको साझा बसको भाडा साठी पैसा थियो भने पाटनढोका-रत्नपार्क बस भाडा पैँतिस पैसा थियो। कन्डक्टरले यात्रुहरूसँग भाडा माग्दा हत्केलामा सिक्काहरू झिरिपझिरिप पारेर संकेत गर्दथे।
एक-दुई-पाँचका नोटहरू एकसरो दोब्र्याएर कन्डक्टरले औँलाको कापमा अड्काएका हुन्थे। कसैले दश-बीसको नोट दिएमा कन्डक्टरले औँलाको कापबाट एक-दुई र हत्केलामा समाइएको पच्चीस-पचासका सिक्का मिलाएर फिर्ता गर्दथे।
२०४०/४१ सालतिर सय-पचासको नोट बोक्ने मान्छे हुनेखानेमा गनिन्थे। त्यतिबेला हाम्रो तलब २८० रुपैयाँ थियो। काठमाडौँबाट दाङसम्मको साझा बसको भाडा एक सय पाँच र वीरगन्जको पैँसठ्ठी रुपैयाँ थियो।
मेरो पहिलो महिनाको तलब भृकुटीमण्डपको रमाइलो मेलामा सकिएको थियो, त्यहाँ सञ्चालित खेलहरूबाट केही जितिएला भन्ने आशैआशमा। गोजी रित्तिएपछि अर्को दिन एकजना स्टाफसँग सापटी मागेर आउने महिना कटाएको थिएँ।
कक्षाकोठामा छाता बिर्सिँदा
एकदिन बिहान आफूले अध्ययन गर्ने गरेको लगनखेलस्थित नमूना मच्छिन्द्र क्याम्पस जाँदा पानी परिरहेकोले छाता ओढेर गएँ। छाता कक्षाकोठामा छिर्दा कक्षा सुरु नभएकोले ब्ल्याक बोर्डको छेउमा रहेको किलामा झुण्ड्याएको थिएँ। कक्षा सकिने बेलामा पानी बन्द भइसकेर घाम लागेकोले मेरो ध्यान छातातिर गएन।
नौ बजे कलेज छुट्टी भएपछि म चढेको साझा बस जावलाखेल पुगिसकेको थियो। झल्याँस्स छाता सम्झिएँ र बसबाट ओर्लिएर छाता लिनका लागि कलेज फर्किन अर्को साइडतिर बस कुरेँ। रत्नपार्कबाट आएको बस चढेर लगनखेल पुगेर कलेजमा आफ्नो कक्षामा गएर हेर्दा झुण्ड्याएको किलामा छाता नदेखेपछि म एकछिन खिन्न भएँ।
तत्कालै म पुनः साझा बस चढेर पुतलीसडकस्थित आफ्नो कार्यालयमा विलम्ब पुगेँ र सहकर्मीहरूलाई आफ्नो यथार्थ कुरा सुनाएँ। जीवनमा मैले सामान्य र फोल्डिङ गरी आधा दर्जन छाता छोडेको/हराएको/बिर्सिएको छु।