भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले हामीलाई फेरि एउटा कठोर प्रश्न छाडेर गएको छ – प्रकृतिले दिएको चेतावनीलाई हामीले कति गम्भीरतापूर्वक लिन्छौँ?
त्यो बिहान भोटेकोशीमा आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, सडक, पुललगायतका संरचनामा ठूलो क्षति पुर्यायो।
बाढीपछि खोज, उद्धार, राहत, शव व्यवस्थापन र पुनःस्थापनाका काममा राज्यका विभिन्न संयन्त्र परिचालित भए। तर विपत्तिपछि गरिने उद्धार र राहतभन्दा अझ महत्त्वपूर्ण कुरा विपत्तिअघि गरिने सावधानी हो। भोटेकोशीको पीडा अझै सेलाएको छैन। नदी तटीय क्षेत्रमा बस्ने, यात्रा गर्ने वा जोखिमयुक्त सडक प्रयोग गर्ने नागरिकका लागि त्यो घटना एउटा ताजा पाठ हो। तर प्रश्न छ, हामीले त्यसबाट के सिक्यौँ?
फेरि मौसमले जोखिमको संकेत दिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी असोज ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना औँल्याएको छ।
कोशी, मधेस, बागमती र सुदूरपश्चिमका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्न सक्ने भन्दै सतर्कता र पूर्वतयारीका लागि आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत अत्यन्त जरूरी नभई टाढाको र रातको यात्रा नगर्न आग्रह गरेको छ। अब फेरि उही प्रश्न हाम्रो सामु छ - हामी समयमै चेतावनीलाई गम्भीरतापूर्वक लिएर सुरक्षित हुन्छौँ कि विपत्ति भोगेपछि मात्र सिक्छौँ?
पूर्वसूचना कुनै औपचारिकता होइन। यो विपत्तिभन्दा अगाडि राज्यले नागरिकलाई दिएको अतिरिक्त समय हो। त्यही समयले मानिसलाई घरबाट सुरक्षित स्थानमा सार्न सक्छ, यात्रालाई केही घण्टा रोक्न सक्छ, चालकलाई गाडी नचलाउने निर्णय गर्न सक्छ र परिवारलाई सम्भावित जोखिमबाट जोगाउन सक्छ। तर हामीकहाँ एउटा विचित्र प्रवृत्ति छ। सूचना आउँछ, केहीबेर चर्चा हुन्छ र फेरि जीवन सामान्य ढङ्गले चल्न थाल्छ।
'पानी त हरेक वर्ष पर्छ', 'बाटो बन्द त हुँदैन होला', 'अलि ढिलो भए पनि पुगिहालिन्छ', 'मलाई त केही हुँदैन' - यिनै सामान्य लाग्ने सोचहरू कहिलेकाहीँ असामान्य परिणामको कारण बन्छन्।
हामी जोखिमलाई तब मात्र गम्भीर ठान्छौँ, जब जोखिम घटना बनिसकेको हुन्छ। भोटेकोशीमा बाढी आएपछि हामीले विपत्तिको भयावहता देख्यौँ। तर त्यसभन्दा अगाडि नदीको अवस्था, मौसमको परिवर्तन र जोखिमका संकेतहरूलाई कति गम्भीरतापूर्वक लिइयो? यो प्रश्नको उत्तर खोज्नु भविष्यका लागि बढी महत्त्वपूर्ण छ। विपद् व्यवस्थापनको सबैभन्दा प्रभावकारी उपाय उद्धार होइन, पूर्वसावधानी हो।
बाढी आएको ठाउँमा उद्धारकर्मी पुग्नैपर्छ। पहिरोमा पुरिएका मानिसको खोजी गर्नैपर्छ। सडक अवरूद्ध भएपछि खुलाउनैपर्छ। तर उद्धारकर्मीलाई जोखिममा राखेर नागरिकले अनावश्यक यात्रा गर्नु, चेतावनी हुँदाहुँदै जोखिमयुक्त क्षेत्रमा पुग्नु र त्यसपछि उद्धारको अपेक्षा गर्नु जिम्मेवार व्यवहार कदापि हुन सक्दैन। यसमा राज्य र नागरिक दुवैको भूमिका छ। राज्यले सही समयमा सही सूचना दिनुपर्छ। जोखिम क्षेत्र पहिचान गर्नुपर्छ। सडक र पुलको अवस्था अनुगमन गर्नुपर्छ। ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्छ। जोखिमयुक्त बस्तीमा समयमै सूचना पुर्याउनुपर्छ। आवश्यक परे आवागमन रोक्नुपर्छ र उद्धार संयन्त्र तयारी अवस्थामा राख्नुपर्छ।
तर नागरिकले पनि सूचना सुन्ने मात्र होइन, त्यसअनुसार समयमै निर्णय गर्ने संस्कार विकास गर्नुपर्छ। विशेषगरी सडक यात्राको सन्दर्भमा यो विषय अझ गम्भीर हुन्छ। वर्षायाममा पहाडी सडकको अवस्था केही मिनेटमै बदलिन सक्छ। माथिबाट ढुंगा खस्न सक्छ, पहिरो आउन सक्छ, सडक भासिन सक्छ वा खोलाको बहाव अचानक बढ्न सक्छ। केहीबेर अघिसम्म सामान्य देखिएको बाटो क्षणभरमै जोखिमपूर्ण बन्न सक्छ। रातिको समयमा यस्तो जोखिम अझ बढ्छ, किनकि चालकले अगाडिको सडक, पहिरो, ढुंगा वा पानीको वास्तविक अवस्था समयमै पहिचान गर्न नसक्न सक्छ।
त्यसैले वर्षाको समयमा ‘यात्रा गर्न सकिन्छ कि सकिँदैन ?’ भन्दा पहिले ‘यात्रा गर्नु आवश्यक छ कि छैन ?’ भन्ने प्रश्न गर्नुपर्छ।
अत्यावश्यक काम होइन भने केही समय यात्रा रोक्नु कमजोरी होइन। गन्तव्यमा केही घण्टा ढिलो पुग्नु असफलता होइन। काम अर्को दिन गर्न सकिन्छ। भेटघाट स्थगित गर्न सकिन्छ। कार्यक्रम सार्न सकिन्छ। तर जीवन गुमेपछि कुनै कार्यक्रम, व्यापार, भेटघाट वा गन्तव्यको अर्थ रहँदैन।
हामीले विगतका दुर्घटनाहरूबाट पनि यही पाठ सिक्नुपर्ने हो। झ्याप्ले खोला, सिमलताल, सिद्धबाबा, मुगु तथा देशका विभिन्न सडक र नदीमा भएका दुर्घटनाहरू हाम्रा सामूहिक स्मृतिमा छन्। ती घटनाहरूको पीडा केही समयपछि समाचारको शीर्षकबाट हराउन सक्छ; तर परिवारले गुमाएको मानिस कहिल्यै फर्किँदैन।
त्यसैले दुर्घटनालाई अरूको कथा भनेर हेर्ने प्रवृत्ति बदल्नुपर्छ।
'उसलाई परेको हो, मलाई पर्दैन' भन्ने सोचले जोखिम घटाउँदैन।
अहिलेसम्म केही भएको छैन भन्ने तर्कले भविष्य सुरक्षित हुँदैन। बरू हामीले सोध्नुपर्छ – 'यदि केही भयो भने?' सुरक्षित समाजको संस्कार यही प्रश्नबाट सुरू हुन्छ। चालकले मौसम र सडकको अवस्था हेरेर गति तथा यात्रा तय गर्नुपर्छ। यात्रुले पनि चालकलाई जोखिम मोलेर छिटो चलाउन दबाब दिनु हुँदैन। यातायात व्यवसायीले समयमै गन्तव्य पुर्याउने नाममा चालकलाई जोखिम लिन बाध्य पार्नु हुँदैन। अभिभावकले पनि आफ्ना परिवारका सदस्यलाई जोखिमयुक्त समयमा यात्रा नगर्न सम्झाउनुपर्छ।
अझ महत्त्वपूर्ण कुरा, प्रहरीले बाटो रोकेको अवस्थामा त्यसलाई व्यक्तिगत असुविधाका रूपमा होइन, सम्भावित जोखिमको संकेतका रूपमा बुझ्नुपर्छ।
सुरक्षा निकायको उद्देश्य नागरिकलाई अनावश्यक रोक्नु होइन; सम्भावित जोखिम र मानवीय क्षति रोक्नु हो। बाढी, पहिरो वा सडकको जोखिम देखेर आवागमन रोक्नु नागरिकको स्वतन्त्रता खोस्नु होइन, जीवनको अधिकार जोगाउनु हो।
हामीले विपत्तिपछि एउटा अर्को प्रवृत्ति पनि देख्छौँ - दोष खोज्ने।
घटना भएपछि राज्यलाई प्रश्न गरिन्छ। सडक किन यस्तो भयो? सूचना किन आएन? उद्धार किन ढिलो भयो? पूर्वतयारी किन भएन? यी प्रश्न राज्यलाई सोधिनुपर्छ। जवाफदेहिता आवश्यक छ। तर नागरिकले पनि आफैलाई एउटा प्रश्न सोध्नुपर्छ - 'मलाई समयमै सूचना दिइएको थियो भने मैले त्यसलाई कति गम्भीरतापूर्वक लिएँ?' राज्यको जिम्मेवारी र नागरिकको जिम्मेवारी एकअर्काका विकल्प होइनन्। दुवै सँगसँगै पूरा हुँदा मात्र विपद्को मानवीय क्षति घटाउन सकिन्छ।
अहिले फेरि असोज ११ गतेसम्मको सम्भावित खराब मौसम हाम्रो सामु छ। यसको अर्थ डराएर घरभित्र बस्नु होइन। यसको अर्थ जोखिम बुझेर निर्णय गर्नु हो। मौसमको अवस्था हेर्ने, आधिकारिक सूचना पछ्याउने, सडकको अवस्था बुझ्ने, आवश्यक नभए यात्रा स्थगित गर्ने र जोखिम देखिएमा फर्किने विवेक अपनाउने समय हो।
प्रकृतिसँग प्रतिस्पर्धा गर्न सकिँदैन। बाढीलाई हतारले रोक्न सकिँदैन। पहिरोलाई चालकको अनुभवले रोक्न सकिँदैन। तर आफूलाई जोखिममा जानबाट रोक्न सकिन्छ। हामीले यही सानो निर्णय गर्न सिक्नुपर्छ। एकपटक यात्रा रोकौँला। केही घण्टा ढिलो पुगौँला। एउटा कार्यक्रम छुट्ला। केही आर्थिक नोक्सानी होला। तर जीवन सुरक्षित रह्यो भने अवसर फेरि आउँछ। दुर्घटनामा गुमेको जीवन भने फर्किँदैन।
त्यसैले पूर्वसूचनालाई औपचारिकता नठानौँ। प्रहरीको आग्रहलाई रोकतोक नठानौँ। मौसमको चेतावनीलाई समाचारको शीर्षकमा सीमित नराखौँ। चेतावनी भनेको विपत्ति आउँदैछ भन्ने घोषणा मात्र होइन; विपत्ति आउनुअघि आफूलाई जोगाउने अवसर पनि हो।
हामीले अरूको पीडाबाट सिक्न सक्यौँ भने मात्र विगतका दुर्घटनाहरूको पीडाले अर्थ पाउँछ। किनकि दुर्घटना यस्तो परीक्षा होइन, जसमा असफल भएपछि अर्को पटक राम्रो गर्न सकिन्छ। यो त यस्तो घटना हो, जहाँ दोस्रो मौका नआउन पनि सक्छ। त्यसैले अब हाम्रो संस्कार बदलिनुपर्छ।
विपत्ति आएपछि उद्धार खोज्ने होइन, विपत्ति आउनुअघि जोखिम चिन्ने। दुर्घटना भएपछि पाठ सिक्ने होइन, दुर्घटना हुनुअघि सावधानी अपनाउने। चेतावनीलाई बेवास्ता गर्ने होइन, चेतावनीलाई जीवनरक्षाको अवसरका रूपमा बुझ्ने।
अन्ततः प्रश्न फेरि उही हो- चेतावनी सुन्ने कि विपत्ति भोगेर सिक्ने? उत्तर हाम्रो व्यवहारले दिनुपर्छ। किनकि दुर्घटना आफैंले भोगेर सिक्ने विषय होइन; अरूको पीडाबाट चेतेर, समयमै निर्णय गरेर र सावधानी अपनाएर जोगिने विषय हो।
(लेखक जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रहरी वरिष्ठ नायव निरीक्षक हुन्।)