हो, म अविवाहित छु, यो कुरा स्वीकार गर्न मलाई कुनै अप्ठ्यारो छैन।
न त यसलाई लुकाउनुपर्ने आवश्यकता छ, न त यसको प्रमाण बोकेर हिँड्नुपर्ने बाध्यता नै, तर अचम्म लाग्छ समाजलाई भने मेरो अविवाहित हुनुमा मभन्दा बढी चिन्ता छ।
मलाई कहिलेकाहीँ लाग्छ, म अविवाहित होइन, कुनै राष्ट्रिय समस्या हुँ। जहाँ गए पनि मेरो वैवाहिक अवस्थामाथि छलफल हुन्छ। कसैलाई मेरो पढाइको चिन्ता छैन, कसैलाई मेरो करियर कहाँ पुग्यो भन्ने चासो छैन, कसैलाई मेरो सपना के हो भन्ने फुर्सद छैन तर एउटै प्रश्न ..
'अनि बिहे कहिले गर्ने ?'
म मुस्कुराउँछु।
'अहिले सोचेकै छैन।'
त्यसपछि अर्को प्रश्न आउँछ
'किन ?'
यो 'किन' चाहिँ मलाई कहिलेकाहीँ निकै गह्रौँ लाग्छ। मानौँ बिहे नगर्नु कुनै अपराध हो र त्यसको कारण देखाउन मैले अदालतमा बयान दिनुपर्छ। समाजमा मानिसको उमेर बढ्दै जाँदा उसको उपलब्धि पनि बढ्नुपर्ने मानिन्छ। तर हाम्रो समाजमा एउटा निश्चित उमेरपछि मानिसको उपलब्धि होइन, वैवाहिक स्थिति गन्न थालिन्छ।
'उमेर कति भयो ?'
'२५'
'ए… बिहे गरिसक्यौ ?'
यति सुनेपछि लाग्छ, मेरो जन्मदिनदेखि उमेर बढेको होइन, बिहेको म्याद सकिँदै गएको रहेछ। दसैं आउँछ, गाउँ फर्किने समय हुन्छ, सहरको व्यस्त जीवनबाट केही दिन छुटकारा लिएर पुरानो घरको आँगन, बाल्यकालका साथी, आफन्त, छिमेकी, आमाको हातको खाना, बुबाको आशीर्वाद र गाउँको त्यो परिचित वातावरणमा पुग्दा मन आफै हलुका हुन्छ, तर अविवाहित भएर गाउँ फर्किने मानिसका लागि दसैंको अर्को एउटा पाटो पनि हुन्छ, त्यो हो वर्षभरि आफूलाई नदेखेका आफन्तबाट एकैपटक आउने विवाह सम्बन्धी प्रश्नहरूको वर्षा, मानौँ दसैं मेरो लागि वार्षिक वैवाहिक अन्तर्वार्ता हो।
टीका लगाउन बस्यो 'अनि बिहे कहिले ?', जमरा लगाइदिएपछि 'अब त अर्को साल बुहारी लिएर आउनुपर्छ', खाना खान बस्यो 'केटी हेरेको छैनस्?', छिमेकीको घर गयो 'तिम्रो उमेर त भयो नि', साथी भेटियो 'हाम्रो ब्याचमा अब तँ मात्र बाँकी छस्', अनि कसैले अलि गम्भीर भएर 'अहिले नगरे पछि गाह्रो हुन्छ' भनेर जीवनकै सबैभन्दा महत्वपूर्ण निर्णयलाई एउटा सामान्य समयसीमा भित्र पूरा गर्नुपर्ने काम जस्तो सम्झाउँछ, म मुस्कुराउँछु।
कतिपय प्रश्नको उत्तर दिन्छु, कतिपय प्रश्नलाई हाँसेर टार्छु, तर मनभित्र कहिलेकाहीँ एउटा प्रश्न आफै उठ्छ—के साँच्चै मेरो विवाहको चिन्ता यति धेरै गर्नुपर्ने विषय हो, के मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि मैले कहिले बिहे गरेँ भन्ने हो, के मैले अहिले विवाह नगरेकै कारण मेरो पढाइ, मेरो काम, मेरो सपना, मेरो संघर्ष र मेरो भविष्य सबै अर्थहीन हुन्छन्, अनि सबैभन्दा रमाइलो कुरा के भने यी प्रश्नहरू सोध्ने मानिसहरू मध्ये कतिपयले आफ्नै जीवनमा विवाहपछि आएका समस्या, जिम्मेवारी र सम्झौताको पीडा भोगिरहेका हुन्छन्, तर उनीहरूलाई लाग्छ कि मेरो जीवनमा विवाह नामको एउटा अध्याय थपिएपछि मात्र सबै ठीक हुनेछ। विवाह जीवनको सुन्दर सम्बन्ध अवश्य हो, तर त्यो कुनै औषधि होइन जसले जीवनका सबै समस्या समाधान गर्छ, न त अविवाहित हुनु कुनै रोग हो जसको उपचारका लागि समाजले हतार गर्नुपर्छ।
कहिलेकाहीँ त यस्तो लाग्छ, दसैंमा टीका लगाउन होइन, बिहेको प्रस्ताव स्वीकार गर्न गाउँ गएको हुँ।
मामा घर गयो, त्यही प्रश्न,
फुपूको घर गयो, त्यही प्रश्न,
छिमेकीको घर गयो, त्यही प्रश्न,
सबैको जिब्रोमा एउटै प्रश्न हुन्छ छ 'अनि बिहे चाहिँ कहिले?'
कसैले भन्छ 'अब ढिला नगर है।'
कसैले भन्छ 'उमेर बढ्दै गयो है।'
अर्कोले भन्छ 'अहिले नगरे पछि गाह्रो हुन्छ।'
म सोचिरहन्छु बिहे हो कि सरकारी जागिर? आवेदन दिने अन्तिम मिति कहिले हो? हाम्रो समाजमा विवाहलाई जीवनको एउटा स्वाभाविक चरणभन्दा पनि सामाजिक उपलब्धिजस्तो हेर्ने चलन छ। स्कुल गयौँ ठीक, कलेज पढ्यौ धेरै ठीक, जागिर गर्यौ राम्रो, कमायौ झन् राम्रो तर यति सबै गरिसकेपछि पनि यदि बिहे गरेनौ भने समाजको मूल्याङ्कनमा एउटा ठूलो 'तर' बाँकी रहन्छ।
अझ पुरुष अविवाहित छ भने समाजका अनुमानहरू झन् रोचक हुन्छन्।
'केटीको चक्करमा होला।'
'कसैलाई मन पराएको होला।'
'घरमा कुरा नमिलेको होला।'
'कमाइ राम्रो छैन होला।'
'स्वभाव अलि अजीब होला।
म आफैँलाई थाहा नभएको कारण उनीहरूलाई थाहा हुन्छ।
मलाई थाहा नभएको प्रेमकथा उनीहरूले बनाइसकेका हुन्छन्।
अहिलेको समय फरक छ गाउँको चौतारोमा मात्र होइन, साथीभाइको सामाजिक सञ्जाल आतंक फेसबुकको स्क्रिनबाट पनि मानिसको निजी जीवनमाथि टिप्पणी हुन थालेको छ।
साथीको विवाह भयो भने खुशी भएर बधाई दिँदै गर्दा कमेन्टमै 'अब तिम्रो पालो', 'अर्को पोस्ट तिम्रो हुनुपर्छ', 'अन्तिम ब्याचलर' जस्ता मजाक सुरु हुन्छन्।
कतिपय यस्ता कुरा रमाइला लाग्छन्, तर एउटै विषयमा बारम्बार हुने मजाकले व्यक्तिको निजी जीवनलाई मनोरञ्जनको विषय बनाइदिन सक्छ। अविवाहित हुनु कमजोरी होइन, प्रेमसम्बन्धमा नहुनु असफलता होइन र विवाह नगर्नु सामाजिक रूपमा अधुरो हुनु पनि होइन।
त्यसैले साथीभाइले मजाक गर्नै नहुने होइन, तर मित्रताको नाममा कसैको व्यक्तिगत निर्णयलाई सार्वजनिक चर्चाको विषय बनाउनु हुँदैन।
विवाह फेसबुकको कमेन्ट, साथीको मेन्सन वा समाजको दबाबले होइन, आफ्नै इच्छा, सही समय र सही समझदारीले तय गर्ने जीवनको निर्णय हो।
अन्त्यमा ! हो, म अविवाहित छु, तर म अधुरो छैन। मेरो जीवनको मूल्य मेरो वैवाहिक अवस्थाले निर्धारण गर्दैन। मसँग सपना छन्, मसँग संघर्ष छन्।
मसँग परिवार छ, मसँग साथीहरू छन्। मसँग आफ्नै कथा छ र अर्को सबैभन्दा ठूलो कुरा मसँग आफ्नो जीवन आफ्नै तरिकाले बाँच्ने अधिकार छ। त्यसैले प्रिय समाज, दसैंमा गाउँ आउँदा मलाई टीका लगाइदिनुहोस्, आशीर्वाद दिनुहोस्, सँगै बसेर खाना खानुहोस्, पुराना कुरा सम्झेर हाँस्नुहोस्। तर कृपया—टीकासँगै बिहेको प्रश्न नसोधिदिनुस्।
साथी हो भने सामाजिक सञ्जालमा मेन्सन गरेर केटी खोजिदिनु भन्दा मेरो दुःखमा साथ दिनुहोस्।
आफन्त हो भने 'कहिले बिहे?' भन्दा 'जीवन कस्तो चल्दैछ?' भनेर सोध्नुहोस्।
किनकि बिहेको मिति तपाईंको प्रश्नले होइन, मेरो जीवनले तय गर्नेछ।
अनि जब त्यो दिन आउँछ सायद म आफै सबैभन्दा पहिले फेसबुकमा पोस्ट गर्नेछु 'हो, अब म अविवाहित छैन।'
तर अहिलेका लागि हो, म अविवाहित छु। यसमा मलाई कुनै लाज छैन।