तेस्रो पटक अमेरिकाको मेरिल्यान्ड राज्यको चुनावी मैदानमा नेपाली मूलका अमेरिकी सांसद डा. ह्यारी भण्डारी उत्रिएका छन्।
सन् २०१८ मा पहिलोपटक निर्वाचित भएका उनी अहिले तेस्रो कार्यकालका लागि पुनर्निर्वाचन लडिरहेका हुन्।
२०१८ मा उनी मेरिल्यान्डको 'हाउस अफ डेलिगेट्स'मा निर्वाचित भएका थिए।
उनका अनुसार अमेरिकाभरि कानुन निर्माता अर्थात् सांसदका रूपमा निर्वाचित हुने उनी पहिलो नेपाली मूलका हुन्।
त्यतिबेला १२ वर्षदेखि रिपब्लिकन पार्टीले जित्दै आएको सिट डेमोक्रेटिक पार्टीका तर्फबाट आफूले जितेको उनले बताए।
लगातार दुई कार्यकाल काम गरिसकेका उनी यो पटक तेस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
'म निर्वाचित भएको क्षेत्रमा करिब ८० प्रतिशत मतदाता स्थानीय छन्। र म यहाँबाट निर्वाचित हुने पहिलो अल्पसंख्यक समुदायको व्यक्ति हुँ,' उनले भने।
डा. भण्डारीका अनुसार उनको निर्वाचन क्षेत्रमा नेपाली मतदाताको संख्या थोरै छ। अहिले दुई सयभन्दा कम रहेको उनको भनाइ छ।
यो पटक पनि जित हात पार्नेमा उनी विश्वस्त छन्।
डा. भण्डारीले यसअघि पनि सबैभन्दा धेरै मत ल्याएर चुनाव जितेको बताएका छन्।
'आफूले गर्न सक्ने कर्म गर्ने हो। मैले आफ्नो कर्म गरेको छु। परिणाम त मेरो हातमा छैन, तर म जनतासँग विश्वस्त छु,' उनले भने।
आफू निर्वाचित भएपछि डा. भण्डारी अहिलेसम्म आफैंले प्रस्ताव गरेका २९ वटा विधेयक पारित भएको बताए।
आफूले प्रस्ताव गरेर पारित भएका कतिपय विधेयक अमेरिकामै नौलो प्रकृतिका भएको उनको दाबी छ।
'चलचित्र हेर्न जाँदा श्रवणसम्बन्धी समस्या भएका व्यक्तिले पनि संवाद बुझ्न सकून् भनेर चलचित्रमा क्याप्सन देखाउने व्यवस्थासम्बन्धी विधेयक पनि मेरै प्रस्तावमा पारित भएको थियो,' उनले भने।
हवाई राज्यपछि यस्तो विधेयक पारित गर्ने मेरिल्यान्ड दोस्रो राज्य भएको उनको भनाइ छ।
त्यस्तै, यौन अपराधमा संलग्न हाइस्कुलका विद्यार्थीलाई नियमित विद्यालयको सट्टा अनलाइनबाट पढ्न पाउने व्यवस्था गर्ने विधेयक पनि आफूले पारित गराएको उनले बताए।
हाल उनी मेरिल्यान्डको हाउस अफ डेलिगेट्सअन्तर्गत ल्यान्ड युज एन्ड जोनिङ कमिटीका सभापति छन्।
यसअघि सात वर्ष इकोनोमिक म्याटर्स कमिटीमा रहेर काम गरेका थिए।
अहिले उनी सभापति रहेको ल्यान्ड युज एन्ड जोनिङ कमिटीले राज्यमा कहाँ आवास निर्माण गर्ने, जग्गाको उपयोग कसरी गर्ने, घर तथा अपार्टमेन्टलाई कसरी सर्वसाधारणको पहुँचमा पुर्याउनेजस्ता विषय हेर्छ।
भण्डारीका अनुसार मेरिल्यान्डमा आम्दानी राम्रो भए पनि आवास महँगो हुँदै गएको छ।
महँगो आवासका कारण मानिसलाई आफ्नो आम्दानीअनुसार बसोबास गर्न कठिन भइरहेको छ।
'मान्छेले बस्नै पाएन, भाडा तिर्न सकेन भने राम्रो विद्यालयमा बच्चा पढाउन पनि सक्दैन। मानसिक स्वास्थ्यको समस्या पनि त्यहीँबाट सुरू हुन सक्छ,' उनी भन्छन्।
यसलाई सम्बोधन गर्न उनले सार्वजनिक यातायातको पहुँच भएका रेल स्टेसन आसपास आवास निर्माणलाई प्रोत्साहन गर्ने ट्रान्जिट ओरिएन्टेड डेभलपमेन्ट सम्बन्धी विधेयक पारित गराउन भूमिका खेलेका छन्।
त्यस्तै, गरिबीको जोखिममा रहेका क्षेत्रमा लगानी आकर्षित गर्न अवसर क्षेत्र निर्माण र कर छुटजस्ता व्यवस्थामा पनि काम गरेका छन्।
'संसद्मा विधेयक ल्याउनु र पारित गराउनु सहज काम होइन। विधेयकका विषयमा अध्ययन, अनुसन्धान गर्नुपर्छ। विज्ञ, सम्बन्धित पक्ष र विभिन्न समूहका कुरा सुन्नुपर्छ। ठूला कम्पनीहरूको पक्षमा काम गर्ने लबिइस्टहरूसँग पनि छलफल र वार्ता गर्नुपर्छ,' उनले भने।
विधेयकको विषयवस्तु बुझ्न र संसद्मा उठेका प्रश्नको जवाफ दिन निरन्तर अध्ययन गर्नुपर्ने उनी बताउँछन्।
'संसद्मा हरेक दिन नेपालमा एसएलसी (एसइई सरह) को परीक्षा दिएजस्तै लाग्छ। रातभरि पढ्नुपर्ने बेलाको जस्तै तयारी गर्नुपर्छ,' उनले आफ्नो अनुभव सुनाए।
सांसद भएपछि अझ चुनौतीका चाङ थपिँदै गएको उनको भनाइ छ।
'चुनाव जित्नु एउटा कुरा हो, संसद्भित्र नेतृत्वदायी भूमिकामा पुगेर प्रभावकारी काम गर्नु अर्को कुरा हो, निकै चुनौती छ,' उनले थपे।
डा. भन्डारीले आफ्नो ८ वर्षे कार्यकालमा १५० मिलियन डलर बजेट आफ्नो निर्वाचन क्षेत्रमा लगेको बताएका छन्।
विद्यालय निर्माणका लागि ठूलो मात्रामा बजेट प्रयोग गरेको उनले बताए।
आफू अध्यापन गराइरहेकाले शिक्षा क्षेत्रका आवश्यकता नजिकबाट बुझ्न पाएको र शिक्षामा लगानी बढाएको उनी बताउँछन्।
'कक्षाकोठामा विद्यार्थीलाई पढाउँछु। संसद्मा पनि काम गर्छु। यसले मलाई शिक्षा क्षेत्रको नीति निर्माण गर्दा फरक दृष्टिकोण दिएको छ,' उनले भने।
उनी अहिले त्यहाँ कलेजमा अंग्रेजी विषय पढाउँछन्। संसद् चल्ने समयमा अध्यापनबाट बिदा लिएर संसद्को काममा जान्छन्।
'यहाँ सांसद भएपछि अर्को काम गर्न नपाइने भन्ने हुँदैन। संसद्का सहकर्मीहरूमा चिकित्सक, इन्जिनियर, प्राध्यापक र विभिन्न पेसामा संलग्न छन्। म पनि अध्यापन र संसदीय जिम्मेवारी सँगसँगै अघि बढाइरहेको हुँ,' उनले थपे।
डा. भण्डारीले आफ्नो संसदीय काममा नेपाली संस्कृति संरक्षणलाई पनि प्राथमिकता दिएका छन्।
उनकै पहलमा मेरिल्यान्डमा दसैंलाई सांस्कृतिक पर्वका रूपमा सरकारी मान्यता दिने कानुन पारित भएको छ। यसका लागि आफूलाई पाँच वर्ष लागेको उनले बताए।
'मैले आफैं विधेयक लेखेर संसद्मा प्रस्तुत गरेको थिएँ। त्यसपछि पारित भएको विधेयकअनुसार अक्टोबर ५ लाई दसैं डेका रूपमा सरकारी घोषणा गर्ने व्यवस्था गरिएको छ,' उनले भने, 'मेरै पहलमा अमेरिकामै पहिलोपटक दसैं डेका रूपमा सरकारी प्रोक्लेमेसन जारी गर्नुपर्ने व्यवस्था भएको हो।'
संस्कृत र पूर्वीय दर्शनमा रूचि राख्ने उनी अहिले पनि भागवद् गीता पढ्छन्। वेदप्रति पनि आफ्नो विशेष लगाव रहेको उनले सुनाए।
'दसैंलाई मान्यता दिलाउनु नेपाली समुदायको चाडलाई मात्र सम्मान गर्नु होइन, सांस्कृतिक विविधतालाई स्वीकार गर्नु पनि हो,' डा. भण्डारीले भने।
भण्डारीले आफ्नो संसदीय जिम्मेवारीसँगै नेपाली समुदायका अप्ठ्यारा र समस्यामा पनि सहयोग गर्दै आएका छन्।
अमेरिकामा मृत्यु भएका नेपालीको अन्तिम संस्कार तथा शव नेपाल पठाउन समेत सहयोग गर्ने गरेका छन्।
त्यहाँ नेपाली समुदायका समस्या र आवश्यकतासँग जोडिइरहनु आफ्नो जिम्मेवारीको एउटा महत्त्वपूर्ण पाटो भएको उनको भनाइ छ।
'मैले राजनीतिलाई पद प्राप्त गर्ने माध्यमका रूपमा मात्र हेरेको छैन। मेरो विचारमा नेतृत्व भनेको अरूको आवाज सुन्ने, पीडा बुझ्ने र समस्या समाधानका लागि जिम्मेवारीपूर्वक काम गर्ने विषय हो,' अगाडि उनले भने, 'चुनाव जित्नु व्यक्तिगत उपलब्धि भए पनि त्यसको अर्थ आफ्नो जन्मभूमिसँग जोडिएको छ। म अहिले अमेरिकामा भए पनि मेरो मन नेपालबाट एक इन्च पनि टाढा भएको छैन।'
भण्डारीको अमेरिका यात्रा भने नेपालको एउटा गाउँबाट सुरू भएको हो।
उनी पर्वत जिल्लाको थापाथाना गाउँस्थित खनालडाँडामा जन्मिएका हुन्। स्कुल पोखरामा पढे। त्यसपछि उच्च अध्ययनका लागि काठमाडौं छिरे। सन् २००५ अक्टोबरमा उनी अमेरिका पुगेका हुन्।
अमेरिका जानुअघि उनी नेपालमै शिक्षण पेसामा थिए।
२३ वर्षको उमेरमै हाईस्कुलको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको उनी सम्झन्छन्।
'२४ वर्षको उमेरमा काठमाडौंमा मास्टर तहका विद्यार्थीलाई अंग्रेजी र दर्शनशास्त्र पढाउँथेँ,' उनी भन्छन्।
शिक्षणसँगै साहित्यमा पनि उनको रुचि थियो।
गरिमा, मधुपर्कलगायतका साहित्यिक पत्रिकामा लेख र कविता प्रकाशित गर्थे। विभिन्न पत्रिकामा पनि लेख लेख्ने गरेको उनी सम्झन्छन्।
नेपालमा रहँदा नै शिक्षाप्रतिको लगाव र भविष्य निर्माण गर्ने सपना बोकेका उनी अवसरको खोजीमा अमेरिका पुगे।
त्यहाँ पनि अध्यापनलाई निरन्तरता दिए। पछि समुदायमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरे।
भण्डारीको अमेरिकी राजनीतिक यात्रा एकैपटक चुनाव लडेर सुरू भएको होइन। त्यसका लागि उनले लामो समय पार्टी संगठन, स्थानीय समुदाय र चुनावी अभियानमा काम गरेका थिए।
अमेरिका पुगेपछि सुरूमा उनले अध्यापनलाई निरन्तरता दिए।
सार्वजनिक शिक्षामा काम गर्दा समुदायका समस्या बुझ्ने अवसर पाए।
त्यसपछि स्थानीय गतिविधिमा सक्रिय हुँदै राजनीतितर्फ आकर्षित भएका हुन्।
सन् २००८ र २०१२ मा बाराक ओबामाको चुनावी अभियानमा सक्रिय भएर लागे। त्यसक्रममा उनले ओबामाको पक्षमा हजारौँ घरमा पुगेर मत मागेको सुनाए।
'मैले बाराक ओबामाका लागि दशौँ हजार घरमा पुगेर ढोका ढकढक्याएको छु,' उनले भने।
त्यसपछि मेरिल्यान्डको डेमोक्रेटिक पार्टीको केन्द्रीय समितिमा रहेर काम गरे।
अमेरिकाभरिका डेमोक्रेटिक पार्टीका युवाहरूको संगठन यङ डेमोक्रेट्स अफ अमेरिकाको राष्ट्रिय महासचिवसमेत भए।
उक्त संगठनको राष्ट्रिय सम्मेलनमा प्रतिस्पर्धा गरेर निर्वाचित भएको उनले बताए।
एसियाली अमेरिकीहरूको ककस निर्माणमा पनि उनी सक्रिय भए।
स्थानीयस्तरमा होमओनर एसोसिएसनको अध्यक्ष भएर काम गरे। घर किनेपछि बसोबास गरेको समुदायको विकास र त्यहाँका समस्याप्रति चासो बढेको उनी बताउँछन्।
पार्क, स्थानीय पूर्वाधार र समुदायका आवश्यकतासम्बन्धी काममा स्वयंसेवकका रूपमा समेत संलग्न भए।
स्थानीय तहमा काम गर्दागर्दै समुदायको समस्या बुझ्ने र त्यसको समाधानका लागि नीतिगत तहमा पुग्नुपर्ने महसुस भएपछि चुनाव लड्ने निर्णय गरेको उनले सुनाए।
त्यसअघि उनी मेरिल्यान्डको प्रतिनिधिसभा र सिनेटको एसियाली अमेरिकी तथा प्रशान्त क्षेत्रका सांसदहरूको समुह (ककस)को अध्यक्षसमेत भएका थिए।
उक्त ककसमा ३० वटा एसियाली मुलुकका निर्वाचित प्रतिनिधिहरू सहभागी रहेको उनले बताए।