सीताको जन्मभूमि जनकपुरधाम र भगवान रामको जन्मभूमि अयोध्यालाई सीधा रेल सेवाले जोड्ने तयारी अघि बढेको छ।
नेपाल र भारतका यी दुई प्रमुख धार्मिक सहरबीच रेल सेवा सञ्चालन भए तीर्थयात्रीलाई आवतजावतमा सहज हुने मात्र होइन, जनकपुरको धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।
यसैको तयारी स्वरूप बिहीबार जनकपुरसम्म १७ डिब्बाको ठूलो रेल सञ्चालन गर्न सकिने वा नसकिने विषयमा प्रारम्भिक प्राविधिक परीक्षण गरिएको छ।
रेल विभागका महानिर्देशक परिवेशराज पराजुलीका अनुसार अहिले रेलमार्गको क्षमता, प्राविधिक अवस्था र आवश्यक सुधारका विषयमा परीक्षण भइरहेको छ। सेवा सञ्चालनको मिति भने निश्चित भइसकेको छैन।
'रेल्वे ट्रयाकको क्षमता कस्तो छ र कहाँ सुधार गर्नुपर्ने अवस्था छ भन्ने जाँच्न इन्सपेक्सन ट्रेन चलाएर परीक्षण गरिएको हो,' बिहीबार साँझ पराजुलीले सेतोपाटीसँग भने, 'अहिले हामी योजना र तयारीकै चरणमा छौं। सेवा सञ्चालन हुने मिति भने तय भएको छैन।'
बिहीबार काठमाडौंमा प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भएको भेटमा पनि यो विषय उठेको थियो।
मिश्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए। उनले बिहीबारै प्रस्तावित सेवाका लागि रेलको परीक्षण गरिएको पनि बताएका थिए।
जनकपुर–अयोध्या रेल सञ्चालनका लागि नेपालतर्फको रेलमार्गमा लामो दूरीको ठूलो रेल चलाउन सकिने अवस्था छ कि छैन भन्ने परीक्षणको मुख्य उद्देश्य हो।
अहिले जयनगर–जनकपुर–भंगहा खण्डमा पाँच डिब्बाको रेल नियमित यात्रुवाहक सेवाका रूपमा सञ्चालन भइरहेको छ। प्रस्तावित जनकपुर–अयोध्या सेवाका लागि भने १७ डिब्बासम्मको रेल ल्याउने तयारी रहेको महानिर्देशक पराजुलीले जानकारी दिए।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाका अनुसार करिब एक महिनाअघि सम्बन्धित अधिकारी, सुरक्षाकर्मी, भन्सार र रेल्वेका पदाधिकारीले रेलमार्गको स्थलगत निरीक्षण गरेका थिए।
त्यति बेला लिकको अवस्था हेरिएको थियो। बिहीबार भने रेल नै चलाएर प्राविधिक अवस्था जाँचिएको हो।
'जनकपुरदेखि जयनगरसम्म पहिलेदेखि नै यात्रुवाहक रेल सञ्चालनमा छ। भारततर्फको रेलमार्गमा पनि रेल चलिरहेका छन्,' झाले भने, 'जनकपुरबाट अयोध्याका लागि ठूलो ट्रेन सञ्चालन गर्दा यहाँको खण्ड उपयुक्त हुन्छ कि हुँदैन भनेर १७ वटा कम्पार्टमेन्ट भएको रेलको परीक्षण गरिएको हो।'
यात्रु नराखी प्राविधिक, प्रशासनिक र सुरक्षा अधिकारीको उपस्थितिमा गरिएको यस्तो परीक्षणलाई रेल्वेको भाषामा 'ड्राइ रन' भनिन्छ। यस क्रममा रेलको आवागमन, लिकको अवस्था र सञ्चालनसँग सम्बन्धित प्राविधिक पक्ष जाँचिन्छ।
रेल विभागका महानिर्देशक पराजुलीका अनुसार जनकपुरदेखि अयोध्यासम्म रेलमार्गको दूरी करिब ६ सय किलोमिटर छ।
नेपालतर्फ जयनगरदेखि महोत्तरीको भंगहासम्म ५२ किलोमिटर रेलमार्ग छ। यसमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर र कुर्थादेखि भंगहासम्म थप १७ किलोमिटर खण्ड पर्छ। जनकपुरधाम कुर्था खण्डमा अवस्थित छ।
नेपालको रेलमार्गबाट भारत प्रवेश गरेपछि भारतीय रेल सञ्जाल हुँदै अयोध्या पुग्न सकिन्छ। त्यसैले यो सेवा सञ्चालनका लागि नेपालतर्फको रेलमार्गको प्राविधिक अवस्था मात्र होइन, भारततर्फको लामो दूरीको रेल सञ्चालन र व्यवस्थापन पनि महत्त्वपूर्ण हुनेछ।
अहिले प्रस्तावित सेवामा भारतीय रेल नै प्रयोग गर्ने प्रारम्भिक तयारी छ। नेपालतर्फको रेलमार्ग र सञ्चालनसँग सम्बन्धित जिम्मेवारी नेपाली पक्षले लिने तथा भारतीय रेल र भारततर्फको व्यवस्थापन भारतीय पक्षले गर्ने पराजुलीले बताए।
प्राविधिक परीक्षण सफल हुँदैमा तत्काल नियमित रेल सेवा सुरू हुने भने होइन। त्यसका लागि दुवै देशबीच आवश्यक सञ्चालन व्यवस्था मिलाउनुपर्ने हुन्छ।
धार्मिक पर्यटनमा नयाँ अवसर
जनकपुर र अयोध्या रामायणसँग जोडिएका दुई महत्त्वपूर्ण धार्मिक सहर हुन्।
हिन्दू धार्मिक मान्यता अनुसार जनकपुरलाई सीताको जन्मभूमि र अयोध्यालाई रामको जन्मभूमिका रूपमा लिइन्छ। यी दुई सहरको धार्मिक र सांस्कृतिक सम्बन्ध सदियौंदेखि रहँदै आएको छ।
अहिले यही ऐतिहासिक र धार्मिक सम्बन्धलाई सीधा रेल सेवामार्फत जोड्ने प्रयास भइरहेको हो।
प्रस्तावित सेवा सञ्चालन भए जनकपुर आउने भारतीय तीर्थयात्रीले अयोध्यासम्म र अयोध्या पुग्ने नेपाली तीर्थयात्रीले जनकपुरसम्म रेलबाट यात्रा गर्न सक्नेछन्।
विशेषगरी समूहमा धार्मिक यात्रा गर्नेहरूका लागि यस्तो सेवा उपयोगी हुन सक्छ। यसले दुई सहरलाई समेटेर धार्मिक यात्रा गर्ने पर्यटकका लागि पनि सहज विकल्प उपलब्ध गराउनेछ।
यसको सम्भावित लाभ जनकपुरको पर्यटन क्षेत्रमा देखिन सक्छ।
जनकपुरको जानकी मन्दिर, विवाह मण्डप, राममन्दिर लगायत धार्मिक स्थलमा आउने पर्यटकको संख्या बढे होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय बजार र अन्य सेवामूलक व्यवसायमा माग बढ्न सक्छ।
यसबाट जनकपुर मात्र नभई आसपासका धार्मिक तथा पर्यटकीय गन्तव्यले समेत लाभ लिन सक्ने सम्भावना छ।
पर्यटनमा कति लाभ हुन्छ भन्ने रेल सेवाको नियमितता, भाडादर, यात्रा समय, यात्रुको सहज आवागमन र स्थानीय पर्यटन पूर्वाधारमा समेत निर्भर हुनेछ।
नौ दशक पुरानो रेलमार्गमा नयाँ सम्भावना
जनकपुरको रेल इतिहास झन्डै नौ दशक पुरानो छ।
सन् १९३७ अर्थात् विक्रम संवत् १९९४ मा भारतको जयनगरदेखि जनकपुरसम्म रेल सेवा सुरू भएको थियो। तत्कालीन समयमा महोत्तरी क्षेत्रका जंगलबाट काठ ओसार्न यो रेलमार्ग निर्माण गरिएको थियो। पछि रेलमार्ग बिजुलपुरासम्म विस्तार भएको थियो।
लामो समयसम्म जनकपुर र आसपासका बासिन्दाका लागि भारतसँग आवतजावत तथा सामान ओसारपसार गर्ने प्रमुख माध्यम बनेको यो रेलमार्ग बाढीबाट पुल क्षतिग्रस्त भएपछि खुम्चिँदै गएको थियो।
त्यसपछि पुरानो न्यारोगेज रेलमार्गलाई ब्रोडगेजमा रूपान्तरण गर्ने काम अघि बढ्यो।
जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग विस्तार आयोजनाअन्तर्गत स्तरोन्नति गरिएको जयनगर–कुर्था खण्डमा २०७८ चैत २० देखि पुनः रेल सेवा सञ्चालन भएको थियो। त्यसपछि २०८० असार ३१ गते कुर्थादेखि भंगहासम्मको थप १७ किलोमिटर खण्डमा यात्रुवाहक रेल सेवा सुरू गरिएको थियो।
नेपाल रेल्वे कम्पनीका अनुसार अहिले जयनगरदेखि भंगहासम्मको ५२ किलोमिटर खण्डमा रेल सञ्चालन भइरहेको छ।
यही पुरानो रेलमार्गलाई आधार बनाएर अहिले जनकपुर–अयोध्या रेल सम्पर्क विस्तार गर्ने तयारी भइरहेको हो।
कुनै बेला सीमावर्ती क्षेत्रका बासिन्दाको आवतजावत र सामान ढुवानीका लागि निर्माण गरिएको जनकपुरको रेलमार्ग अब नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक गन्तव्यलाई जोड्ने माध्यम बन्न सक्ने देखिएको छ।
यसका लागि बिहीबार गरिएको प्रारम्भिक प्राविधिक परीक्षणपछि थप तयारी र दुवै देशबीच सञ्चालनसम्बन्धी आवश्यक व्यवस्था पूरा हुन बाँकी छ।
***