शरद ऋतुको आगमनसँगै प्रकृतिको मुहारमा एउटा बेग्लै चमक देखिन्थ्यो।
आकाश नीलो रङको फराकिलो क्यानभासझैँ खुल्थ्यो, हावामा शीतलता घुल्थ्यो र गाउँका पाखापखेराले कुनै अदृश्य उत्सवको स्वागतमा आफूलाई सजाउन थाल्थे।
दसैंको आगमनसँगै सुरू हुने उल्लास तिहारसम्म आइपुग्दा झन् रंगीन बन्थ्यो। लाग्थ्यो, ऋतु मात्र फेरिएको छैन, सिङ्गो गाउँ नै खुसीको नयाँ रङमा रङ्गिएको छ। अहिले ती दिनहरू सम्झनामा मात्र बाँकी छन्। समयको लामो यात्रामा गाउँ त उहीँ छ तर गाउँभित्रको त्यो पुरानो रौनक कतै टाढा छुटिसकेको छ।
गाउँका पाखा, पखेरा, कान्ला र घरका डिलहरू सयपत्री, गोदावरी र मखमली फूलले ढकमक्क ढाकिएका हुन्थे।
लाग्थ्यो, प्रकृतिले आफ्ना सबैभन्दा सुन्दर रङहरू गाउँकै आँगनमा पोखिदिएकी छ। बिहानको पहिलो घाम फूलका पत्रपत्रमा स्पर्श गर्न आइपुग्दा शीतका थोपा मोतीझैँ टल्किन्थे। घामको न्यानो स्पर्शले लजाएका फूलहरू मुस्कुराएझैँ देखिन्थे। खेतका गह्रामा धानका बाला हावासँगै बिस्तारै झुल्थे।
पाक्न लागेका धानका सुनौला बाला आफ्नै समृद्धिको कथा सुनाइरहेझैँ लाग्थे। कतै धानको सुगन्ध, कतै फूलको बास्ना र कतै चुलोबाट निस्किएको धुवाँ मिसिएर गाउँको हावालाई नै आत्मीय बनाउँथ्यो। साँच्चै, त्यतिबेला गाउँ एउटा बस्ती मात्र थिएन, प्रकृतिले प्रेमपूर्वक सजाएको एउटा जीवन्त उत्सव थियो।
घरआँगनको सरसफाइ र लिपपोत सुरू हुन्थ्यो। चिटिक्क पारिएका दलान, आँगनमा बनाइएका रङ्गीचङ्गी मण्डप र ढोकामाथि झुन्ड्याइएका फूलका मालाले हरेक घरलाई उत्सवको घर बनाउँथे। आमा, ठूलीआमाहरू भान्सामा सेलरोटी, अनरसा र विभिन्न परिकार बनाउन व्यस्त हुनुहुन्थ्यो।
चुलोको आगोमा पाकिरहेको सेलरोटीको बास्ना घरको चौघेरो नाघेर छिमेकसम्म पुग्थ्यो। कतै चामल भिजाइँदै हुन्थ्यो, कतै पिठो मुछिँदै हुन्थ्यो, कतै दिदीबहिनीहरू फूलका माला उन्दै हुन्थे। घरको व्यस्ततामा पनि कस्तो आत्मीय आनन्द थियो! कामको थकानभन्दा चाडपर्वको उमङ्ग ठूलो हुन्थ्यो। सानो घरभित्र पनि खुसी अटाउन कुनै ठाउँ साँघुरो हुँदैनथ्यो।
तिहार आउनु भनेको केटाकेटीका लागि त झन् छुट्टै संसारको ढोका खुल्नु थियो। साँझ पर्न नपाउँदै गाउँको चौतारोमा चहलपहल सुरू हुन्थ्यो। कसैले मादल बोकेर ल्याउँथे, कसैले मजिरा, कसैले बाँसुरी। दिनभरि घरको काममा सघाएका केटाकेटीहरू साँझ परेपछि देउसी–भैलोको तयारीमा जुट्थे। मादलको पहिलो तालसँगै चौतारोको निस्तब्धता भङ्ग हुन्थ्यो। मजिराको झङ्कारले गाउँका साँघुरा गल्लीहरू पनि गुञ्जायमान बन्थे। कसैले भाका हाल्थ्यो, कसैले स्वर थप्थ्यो, कसैले नाचेर माहोल तताउँथ्यो। ती गीतमा सुरको शुद्धता कति थियो भन्ने कसैले हिसाब राख्दैनथ्यो तर तिनमा मनको मिठास भने भरपूर हुन्थ्यो। त्यो मादलको तालमा केवल संगीत थिएन, गाउँको सामूहिक खुसी धड्किरहेको हुन्थ्यो।
देउसी खेल्न निस्किएको टोली घरघर पुग्थ्यो। आँगनमा बलेका माटाका पाला, ढोकामा झुन्डिएका फूलका माला र घरधनीको आत्मीय स्वागतले रातलाई झन् उज्यालो बनाउँथ्यो। देउसीको भाकासँगै उठ्ने स्वर, बीचबीचमा सुनिने हाँसो र दक्षिणा थाप्दाको उत्साहले गाउँका हरेक घरलाई एउटै परिवारमा बाँधिदिन्थ्यो। कसैले सेलरोटी दिन्थे, कसैले फलफूल, कसैले दक्षिणा तर त्यो बेला पाउने वस्तुभन्दा। आफ्नोपनको न्यानो अनुभूति ठुलो कुरा थियो। एउटा घरको आँगनमा गुञ्जिएको गीत अर्को घरसम्म पुग्दा गाउँभरि खुसीको लहर फैलिन्थ्यो। घरका ढोका मात्र खुल्दैनथे, मानिसका मनका ढोकाहरू पनि एकअर्काका लागि खुल्थे।
लक्ष्मीपूजाको साँझ त गाउँ साँच्चै स्वर्गको कुनै सानो टुक्राजस्तो देखिन्थ्यो। घरका झ्याल, ढोका र दलानमा बलेका दियाहरूले अँध्यारोलाई बिस्तारै पन्छाउँदै जान्थे। आँगनदेखि मूलढोकासम्म बनाइएका रङ्गोली र चामलका पाइलाहरूले लक्ष्मीलाई घरभित्र निम्त्याइरहेझैँ लाग्थ्यो। डाँडापारिका घरमा बलिरहेका बत्तीहरू हेर्दा लाग्थ्यो, धर्तीले आकाशका ताराहरू आफूसँगै सापटी लिएर सजिएकी छ। टाढाटाढासम्म छरिएका ती उज्यालाहरूले गाउँलाई एउटै मालामा उनेझैँ देखिन्थ्यो। त्यस्तो रातमा गाउँको अँध्यारो पनि कति सुन्दर हुन्थ्यो!
भाइटीका त झन् दिदीबहिनी र दाजुभाइको आत्मीयताको सबैभन्दा सुन्दर पर्व, दिदीबहिनीहरू बिहानैदेखि पूजाको तयारीमा जुट्थे। तेलको घेरा, ओखर, फूलमाला, सप्तरङ्गी टीका र मखमलीको सुगन्धले घरको वातावरण नै पवित्र र उल्लासमय हुन्थ्यो। दाजुभाइहरू दिदीबहिनीको हातबाट टीका लगाउन आतुर हुन्थे। निधारमा सप्तरङ्गी टीका, गलामा फूलको माला र हातमा सगुन थाप्दा सम्बन्धका अदृश्य धागाहरू अझ कसिला हुन्थे। वर्षभरि टाढा रहेका दाजुभाइहरू पनि यही दिन दिदीबहिनीको आँगनमा आइपुग्थे। पुराना गुनासा हाँसोमा हराउँथे, बाल्यकालका सम्झनाहरू फेरि ताजा हुन्थे। त्यो दिन टीका निधारमा मात्र लाग्दैनथ्यो, मनमनमा पनि लाग्थ्यो।
समयसँगै जीवनका बाटाहरू फेरिए। अवसरको खोजीमा गाउँ छोडेर सहर पस्नेहरूको लर्को लाग्यो। कोही पढाइका लागि, कोही रोजगारीका लागि, कोही परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर गाउँबाट निस्किए। सुरूमा केही वर्षपछि फर्किने वाचा गरेका धेरैका पाइला फेरि गाउतिर फर्किन सकेनन्। सहरको भीड, कामको चाप र जिम्मेवारीका घेराहरूले उनीहरूलाई आफ्नै चाडपर्वबाट टाढा पुर्याउँदै लगे। कसैको कार्यालयमा बिदा मिलेन, कसैलाई घरसम्म पुग्ने समय भएन, कसैको आर्थिक अवस्थाले यात्रा धान्न सकेन। यसरी तिहार आउँदै गयो तर गाउँ फर्किने दिन भने परपर सर्दै गयो।
उता खाडीको तातो बालुवामा बिर्खे र हर्केहरू आफ्नो जवानी पसिनासँग साटिरहेका छन्। दसैँमा घर फर्किने आशा राखेका उनीहरू तिहारसम्म आइपुग्दा पनि फर्किन सकेका छैनन्। कसैको ऋण चुक्ता भएको छैन, कसैको साहुको हिसाब मिलेको छैन, कसैको कमाइले घरको आवश्यकता नै धानिरहेको छैन। गाउँमा आमाले आँगनको डिलमा सयपत्री रोपेर छोरो आउने बाटो हेरिरहेकी छन्। बूढा बाबु साँझपख मूलढोकामा बसेर परदेशबाट आउने फोनको प्रतीक्षा गरिरहेका छन्। श्रीमतीले देउसीको आवाज सुन्दा एकछिन टोलाउछिन्। कतै यसपालि आफ्नै घरको आँगनमा पनि त्यो पुरानो हाँसो फर्केला कि! तर मोबाइलमा सुनिने आवाजले मात्रै आँगन भरिँदैन, पर्दामा देखिएको अनुहारले मात्रै निधारको टीका पूर्ण हुँदैन। परदेशमा रहेका ती हातहरूले पनि सायद यही बेला घरको आँगन, आमाको अनुहार र मखमलीको माला सम्झिरहेका होलान्।
कुनै बेला देउसी खेल्न सबैभन्दा अगाडि दौडिने हर्केको घरमा आज देउसीको टोली पुग्दा ढोका खोल्ने मान्छे नै कहाँ छ र?
मादलको तालमा कम्मर मर्काएर नाच्ने बिर्खेको आँगनमा आज नमिठो सन्नाटा मात्र छ!
उनीहरूका लागि तिहार अहिले पात्रोमा आउने एउटा चाड मात्र होइन, फर्किन नपाएको घरको सम्झना र अधुरो रहरको अर्को नाम बनेको छ। गाउँका पाखामा फूलहरू अझै फुल्छन् तर ती फूलको माला लगाउन प्रतीक्षा गरिरहेका आँखा भने हरेक वर्ष केही बढी ओभाना र केही बढी थाकेका देखिन्छन्।
गाउँ छोडेर सहर पसेपछि फेरिएको अर्को पक्ष अझ सूक्ष्म र पीडादायी छ। दाजुभाइ र दिदीबहिनीबीचको पहिलेको जस्तो आत्मीय भेटघाट र सामीप्य हराउँदै गएको छ। कुनै बेला एउटै आँगनमा हुर्किएका, एउटै चुलोको न्यानो तापेका, एउटै आमाको काखमा झगडा र मेलमिलाप गरेका दाजुभाइ–दिदीबहिनीहरू आज फरकफरक सहर र देशमा छरिएका छन्। बाल्यकालमा सँगै खेलेका गोरेटाहरू सम्झनामा मात्र बाँकी छन्। एउटै थालबाट खाना खोसेर खाने, सानो कुरामा झगडा गर्ने र केही बेरमै फेरि अँगालो हाल्ने ती दिनहरू अब तस्वीर र कथामा सीमित भएका छन्।
कुनै बेला भाइटीकाको दिन दिदीबहिनीको आँगनमा दाजुभाइको प्रतीक्षा हुन्थ्यो। आज कतिपय आँगनमा टीकाको थाली तयार हुन्छ, मखमलीको माला पनि उन्निएको हुन्छ तर आउने पाइला हुँदैनन्। कतै दिदीले भाइको बाटो हेर्दै साँझ पार्छिन्, कतै भाइले दिदीको निधारमा टीका लगाउन नपाएको पीडा मनमै राख्छ। कतै एउटै सहरमा रहेका दाजुभाइ र दिदीबहिनीले पनि समय मिलाउन नसकेर फोनमै पर्व टुङ्ग्याउँछन्। सम्बन्धहरू टुटेका नहोलान्, माया पनि हराएको नहोला तर सँगै बसेर माया साट्ने त्यो पुरानो अवसर भने जीवनको व्यस्तताले खोस्दै लगेको छ। लाग्छ, तिहारको थालीमा सबै कुरा सजिएको छ तर प्रतीक्षा गरिएको एउटा अनुहारको अभाव छ।
आज गाउँको तस्बिर पनि बदलिएको छ। कुनै बेला मानिसको हाँसोले भरिने बस्ती अहिले पातलिएको छ। घरहरू उस्तै छन्, आँगन उस्तै छन्, पाखामा सयपत्री र मखमली पनि फुल्न छोडेका छैनन् तर ती फूल हेरेर रमाउने आँखाहरू कम भएका छन्। कतिपय घरका ढोकामा ताल्चा झुन्डिएका छन् । कुनै बेला साँझपख धुवाँ उड्ने चुलाहरू चिसिएका छन्। आँगनमा केटाकेटीको कोलाहल छैन, चौतारोमा मादलको ताल सुनिँदैन। गोरेटाहरूमा झार उम्रिन थालेको छ। घरका छानामाथि उम्रिएका झार र भित्तामा चढेका लहराले त्यहाँ मानिसको चहलपहल घटेको कथा सुनाइरहेका छन्। गाउँका आँगनमा तिहार आइपुग्छ तर तिहारलाई उत्सव बनाउने धेरै मानिसहरू गाउँमा हुँदैनन्।
अहिले तिहार आउँछ। घरमा बत्ती बल्छन्, फूलका माला सजिन्छन्, मीठा परिकार पाक्छन्, शुभकामनाका सन्देशहरू ओइरिन्छन् तर मनले उही पुरानो चौतारो खोजिरहन्छ जहाँ मादलको तालमा बाल्यकाल नाच्थ्यो, जहाँ देउसीको भाकासँगै गाउँको आत्मा गुञ्जिन्थ्यो र जहाँ सानो दक्षिणाले पनि संसारकै ठूलो खुसी दिन्थ्यो। त्यो पुरानो भाइटीका सम्झिँदा एउटै आँगनमा बसेका दाजुभाइ र दिदीबहिनीका अनुहार आँखाअगाडि आउँछन्। अहिले आआफ्नै संसारमा छरिएका ती अनुहारहरूलाई सम्झेर मन कताकता भारी हुन्छ। सायद हामीले गाउँ मात्र छोडेका छैनौँ, गाउँसँगै बाँडेका ती आत्मीय क्षणहरू पनि कतै बाटोमै छुटाएका छौँ।
समयले मानिसलाई आआफ्नै बाटोमा पुर्यायो। कसैलाई परदेशको बालुवामा, कसैलाई सहरको भीडमा, कसैलाई आफ्नै जिम्मेवारीका अग्ला पर्खालभित्र। तर गाउँका ती दिनहरू अझै मनको कुनै कुनामा जीवित छन्। सयपत्रीको सुगन्धले पुराना दिनहरू बोलाउँछ, मादलको सम्झनाले चौतारो ब्युँताउँछ, भाइटीकाको सप्तरङ्गी रङले छुटेका सम्बन्धहरू सम्झाउँछ र सुनसान आँगनले प्रतीक्षामा बसेका आमाबाबुका अनुहार देखाउँछ।
फर्केर जान नसकिए पनि सम्झनाले गाउँ छोड्न मानेको छैन किनकि गाउँ भनेको घरहरूको थुप्रो मात्र होइन, त्यहाँ सँगै बाँचेका दिनहरू, हाँसोहरू, सम्बन्धहरू र आत्मीयताहरूको नाम हो।
केही तिहारहरू पात्रोबाट बितेर जान्छन् तर मनबाट कहिल्यै बित्दैनन्। ती तिहारहरू आज पनि कतै बलिरहेका छन्।
हाम्रो मानस्पटलमा, हाम्रा गाउँका पुराना आँगनमा र समयले छुटाएर लगेका ती प्रिय अनुहारहरूको प्रतीक्षामा।
यसरी नै, हरेक वर्ष तिहार आउँछ तर हाम्रो एउटा तिहार अझै गाउँकै आँगनमा छुटिरहेको छ।