तिहारको दिन। बिहान सबेरै निद्रा खुल्यो। सधैँ बिहान ६ बजे ब्युँझिने म आज ३ बजे नै उठिसकेको थिएँ। फेरि सुत्ने प्रयास गरेँ, तर निद्राले साथ दिएन। कैयौँ पटक कान थापेर सुनेँ, कतै कुखुरा बासेको आवाज आउँछ कि भनेर। तर कुखुरा अझै बासेको थिएन।
बाहिर अँध्यारो उस्तै थियो। मनमा भने उज्यालो भइसकेको थियो। त्यो उज्यालो तिहारको थियो, घरको थियो, परिवारको थियो।
किन आज यति चाँडै निद्रा खुल्यो होला? मनमा अनेकौँ प्रश्न खेलिरहेका थिए। एक्कासि सम्झिएँ–आज त तिहार हो!
त्यसपछि मन एकाएक परदेशको यो अपरिचित कोठाबाट उडेर आफ्नै घरको आँगनमा पुग्यो। आमाले बिहानै दैलो लिपेर सफा गरेको दृश्य आँखैअगाडि आयो। बहिनीले दैलोमा ओखर फोडेको आवाज कानमा गुन्जियो।
घरका सबै सदस्य उठेर आ–आफ्नो काममा जुटेको कल्पना गरेँ। कोही खाना पकाउने तयारीमा, कोही गाईगोरु, बाख्रा र भैँसीका लागि घाँसपात र आहाराको जोहोमा। बहिनीहरू र भतिजीहरू तिहारको रमझममा व्यस्त। घरभरि छुट्टै चहलपहल, छुट्टै उत्साह र छुट्टै खुसी।
म पनि मनमनै त्यही चहलपहलमा मिसिएँ। लाग्यो, म पनि घरमै छु। आमाको वरिपरि छु। बहिनीहरूसँगै छु। दाजुभाइ र भतिजाभतिजीको हाँसोमा रमाइरहेको छु। तर त्यो त मनले बनाएको एउटा सुन्दर दृश्य मात्रै थियो। वास्तविकता त म परदेशको एउटा कोठामा एक्लै थिएँ।
मन तिहारमै डुबिरहेको थियो। बाहिर गाडी गुडेको आवाज आयो। फेरि मोबाइल हेरेँ, बिहानको ६ बजिसकेको रहेछ। मोबाइलको वाइफाइ खोलेँ। श्रीमतीको म्यासेज आएको रहेछ–‘गुड मर्निङ बुढो।’ हतारहतार जवाफ फर्काएँ। त्यसलगत्तै भिडिओ कल आयो।
म अझै ओछ्यानमै थिएँ। उनले घरमा काम धेरै भएको सुनाइन्। भाँडा माझ्नुपर्ने, खाना पकाउनुपर्ने, टीकाको तयारी गर्नुपर्ने–माइतीमा पनि कामको चटारो उस्तै थियो। उनको व्यस्तता सुन्दा घरमा तिहार सुरु भइसकेको महसुस भयो। म भने फोनको अर्को छेउबाट त्यो चहलपहल महसुस गरिरहेको थिएँ।
नित्यकर्म सकेर कोठाबाहिर निस्किएँ। मनले बाहिर पनि तिहारको कुनै झल्को खोजिरहेको थियो। कतै फूलमाला, कतै मिठाई, कतै दाजुभाइ–दिदीबहिनीको भेटघाट, कतै चाडपर्वको रौनक देखिन्छ कि भन्ने लागेको थियो। तर केही भेटिएन। सबै कुरा आफ्नै गतिमा चलिरहेका थिए। सडक, बजार, मान्छे र आवाज सबै अपरिचित। यहाँको संसार आफ्नै थियो, मेरो मन भने आफ्नै घरमा अडिएको थियो।
मन भुलाउने बहानामा मर्निङवाक निस्किएँ। मसँगै जाने मन क्रिकेट मैदानमा आज गएन। म पुञ्चा बजारतिर लागेँ। तीन किलोमिटरभन्दा बढी हिँडेँ। बजारमा मान्छेहरू आफ्नै काममा व्यस्त थिए। पसल खुलिरहेका थिए, गाडी चलिरहेका थिए, मानिसहरू ओहोरदोहोर गरिरहेका थिए। बजारको आफ्नै चहलपहल थियो। म पनि त्यही भीडको एउटा यात्री थिएँ। तर त्यो भीडमा मैले चिनेको कोही थिएन।
सबैलाई हेर्दै हिँडेँ। कतै मन अडिन्छ कि, कतै चाडपर्वको कुनै अनुभूति भेटिन्छ कि! तर मनले खोजेको कुरा बजारमा कहाँ पाइन्थ्यो र? अन्ततः फर्किएँ। आज करिब दुई घण्टा हिँडिएछ। कोठामा पुग्दा शरीर पसिनाले लुथ्रुक्क भिजेको थियो। शरीर मात्रै होइन, मन पनि भित्रभित्रै भिजिरहेको थियो।
नुहाएँ, ब्रस गरेँ, नङ काटेँ। नयाँ कपडा निकालेर लगाएँ। घडीमा ११ बजिसकेको थियो। किन नयाँ कपडा लगाएँ, आफैँलाई थाहा थिएन। सायद मनको कुनै कुनाले अझै पनि म घरमै छु र आज टीका थाप्दै छु भन्ने कल्पना गरिरहेको थियो। आफूलाई तयार पारेँ र घरबाट आउने फोनको प्रतीक्षामा बस्न थालेँ।
कहिले मोबाइल खोल्थेँ, कहिले म्यासेन्जर हेर्थेँ। फेरि बन्द गर्थेँ। केही बेरपछि पुनः खोल्थेँ। घरबाट फोन कहिले आउला? टीका सुरु भयो कि भएन होला? सबैजना तयार भए कि भएनन् होला? आमाले के गर्दै हुनुहुन्छ होला? बहिनीहरू कति व्यस्त होलान्? यस्तै प्रश्नले मन भरिएको थियो।
एक्कासि मोबाइलको घण्टी बज्यो। मन एकाएक फुरुङ्ग भयो। ठूली बहिनीको फोन रहेछ। हतारहतार रिसिभ गरेँ।
तर ‘हेलो’ भन्नुअघि नै आँसु झर्न थाले।
सायद त्यो आँसु सामान्य थिएन। बिहानदेखि मनभित्र थुप्रिएका सम्झना, घरको आँगन, आमाको अनुहार, दाजुभाइको साथ, बहिनीहरूको माया र छुटेको तिहार सबै एकैपटक आँखाबाट पोखिन थाले। लाग्यो, मनभित्र कुनै बाँध फुट्यो र आँसुको बाढी बग्न थाल्यो।
फोनको स्क्रिनमा घर देखियो। टीका सुरु भइसकेको रहेछ। जेठो दाइ, माइलो दाइ, साइँलो दाइ पालैपालो देखिए। त्यसपछि मेरो नजर एउटा खाली ठाउँमा पुग्यो। त्यो खाली ठाउँ मेरो थियो। म बस्ने ठाउँ। मेरो पालोको प्रतीक्षामा रहेको त्यो ठाउँ आज खाली थियो। त्यहीँ छेउमा कान्छो भाइ देखियो। बहिनीहरू, भतिजाभतिजीहरू सबै आफ्नै रमझममा थिए।
तर मेरो आँखाले पटक-पटक त्यही खाली ठाउँ खोजिरहेको थियो।
त्यो खाली ठाउँ केवल एउटा बस्ने ठाउँ थिएन। त्यो मेरो अनुपस्थिति थियो। मेरो घरमा, मेरो परिवारको तिहारमा छुटेको एउटा सदस्यको उपस्थिति थियो। म त्यहाँ नभए पनि मेरो ठाउँ भने खाली राखिएको जस्तो लाग्यो।
आँसु रोक्न खोजेँ। रुमालले पुछेँ। तर बोल्न सकिनँ। मुखबाट शब्द निस्किएनन्। कसैलाई केही भन्न सकिनँ। भान्जीलाई नाम लिएर बोलाएँ, तर उनी आफ्नै सुरमा थिइन्। दाइ, भाइ, बहिनी, भतिजाभतिजी सबैलाई हात हल्लाएर अभिवादन गरेँ। आवाज भने घाँटीमै अड्कियो।
ठूली बहिनीले भनिन्, ‘दाइ, टीका सुरु भएको छ, पछि बोलम्ला है।’
मैले फेरि हात हल्लाएँ। तर बोल्न सकिनँ।
त्यो भिडिओ कल जम्मा दुई मिनेटको थियो। तर ती दुई मिनेटले मलाई सिंगो तिहारको अनुभूति गराए। स्क्रिनमा देखिएको परिवार आफ्नै छेउमा भएजस्तो लाग्यो। त्यो सप्तरङ्गी टीका मेरै निधारमा सजिएको हो कि जस्तो भयो। सयपत्री र मखमलीको माला मेरै गलामा परेको हो कि जस्तो लाग्यो। घरमा तयार भएका परिकार मेरै लागि बनाइएका हुन् भन्ने अनुभूति भयो।
त्यो क्षण मैले बुझेँ–परिवारसँगै हुनु भनेको एउटै घरमा बस्नु मात्रै होइन रहेछ। एकअर्काको खुसीमा जोडिनु, एकअर्काको अभाव महसुस गर्नु र टाढा हुँदा पनि सम्झनामा सँगै रहनु रहेछ।
मलाई थाहा थियो, घरमा पनि मेरो आँसु देखेर नराम्रो लाग्ला। त्यसैले आफूलाई सम्हाल्ने प्रयास गरेँ। तर त्यो दुई मिनेटको फोनले दिएको खुसी र पीडा दुवै शब्दमा व्यक्त गर्न कठिन थियो। लाग्यो, म परिवारसँगै छु र परिवार मसँगै छ। दूरीले शरीर छुट्याए पनि आत्मीयता छुट्याउन सकेको छैन।
फोन राखेपछि मनमा एउटा विचार आयो–यो पललाई शब्दमा कैद गर्नुपर्छ। आँसु पुछ्दै हतारहतार ल्यापटप खोलेँ। बिहान निद्रा खुलेदेखि मनमा खेलेका सबै कुरा लेख्न थालेँ। तर शब्दहरू पनि सजिलै निस्किएनन्। औँलाले किबोर्डमा टाइप गर्न खोज्थे, मन फेरि घर पुग्थ्यो। शरीर नै थकित भएजस्तो, हातले काम नगरेजस्तो। बल्लबल्ल लेख्न थालेँ।
तिहारको अघिल्लो दिनसम्म मलाई त्यति धेरै पीडा महसुस भएको थिएन। फेसबुकमा कहिले भैँलीका कुरा, कहिले नाचगान, कहिले खानेकुराका तस्बिर र भिडिओ पोस्ट गरिरहेको थिएँ। घरमा फोन पनि भइरहेकै थियो। सबैसँग कुराकानी भइरहेकै थियो। तर तिहार आउन अझै बाँकी छ जस्तो लागिरहेको थियो। आज भने तिहार आइपुगेर बित्नै लागेको अनुभूति भयो।
त्यसैबीच फेरि फोन आयो। यसपटक श्रीमतीको रहेछ। फोन उठाएँ। उनले सोधिन्, ‘के गर्दै हुनुहुन्छ?’
मैले उनको प्रश्नको जवाफ नदिई उल्टै सोधेँ, ‘टीका सकियो?’
उनले फेरि सोधिन्, ‘रुँदै हुनुहुन्छ क्या हो, रुन्चे?’
सायद मेरो अनुहारले सबै कुरा बताइसकेको थियो। उनले भनिन्, ‘कति सानो मन हो यार, रुँदै हुनुहुन्थ्यो नि, मैले थाहा पाइहालेँ।’
मैले आफूलाई सम्हाल्दै सोधेँ, ‘खाना खायौ त?’
उनलाई खाना खाएर फोन गर्न भनेँ र फोन राखेँ। कहिलेकाहीँ आफ्नो पीडा स्वीकार गर्नुभन्दा अर्को व्यक्तिको हालखबर सोध्नु सजिलो हुँदो रहेछ।
त्यस दिन एउटा कुरा गहिरोसँग महसुस भयो–सबै दिन विशेष हुँदैनन्, सबै चाडपर्व पनि सबैका लागि उस्तै हुँदैनन्। कुनै दिन सामान्य लाग्छ, तर त्यही दिन परिवारबाट टाढा हुँदा जीवनकै सबैभन्दा भारी दिन बनिदिन्छ।
मैले आमालाई पनि भनेको छु, श्रीमतीलाई पनि भनेको छु–घुम्नबाहेक अब म परदेश जाने रहर राख्दिनँ। जान पनि नपरोस्। कुनै समय श्रीमती जापानमा विद्यार्थी भिसामा जाने तयारीमा थिइन्। त्यतिबेला हाम्रो विवाह भएको थिएन, प्रेम सम्बन्धमा थियौँ। मैले उनलाई रोक्दै भनेको थिएँ, ‘बरु मजदुरी गरेर खाउँला, तर विदेश जान मन छैन, तिमी पनि नजाऊ।’
त्यसको अर्थ परदेशमा बसेर संघर्ष गर्नेहरूप्रति मेरो कुनै असहमति होइन। बरु अहिले आएर उनीहरूको पीडा झन् नजिकबाट बुझ्न थालेको छु।
म भारतको पश्चिम बंगाल आएको जम्मा डेढ महिना भएको छ। म अहिले अमार्क एसिया-प्यासिफिकको सहजीकरण तथा ओरेकको सहयोगमा भारतको नित्यानन्द जनवाणी सामुदायिक रेडियोमा कार्यरत छु। त्यो पनि एउटा वर्षका लागि ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यले।
पश्चिम बंगालको यो बसाइँ मेरो स्थायी गन्तव्य होइन। म यहाँबाट केही सिकेर, अनुभव बटुलेर आफ्नै ठाउँ र आफ्नै क्षेत्रमा फर्केर उपयोग गर्न चाहन्छु। यहाँ आएको उद्देश्य धनसम्पत्ति जोड्नु होइन, आफ्नो ज्ञान र सीपको दायरा फराकिलो बनाउनु हो।
तर डेढ महिनामै एउटा चाडपर्वले यति धेरै भावुक बनायो भने वर्षौँदेखि परिवारबाट टाढा बसेका लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीको अवस्था कस्तो होला? खाडी मुलुकका तातो मरुभूमिमा पसिना बगाइरहेका नेपालीले दशैँ–तिहारमा घर सम्झँदा मन कसरी सम्हाल्दा हुन्?
बिदा नपाएर परदेशमै चाडपर्व मनाउन बाध्य भएकाहरूले परिवारको खुसी भिडिओ कलमा हेर्दा कस्तो महसुस गर्दा हुन्? घर फर्किने दिन गनेर बसेका कतिपय नेपाली भिसा नपाउँदा, नाकामा पुगेर रोकिनुपर्दा, कमाएको पैसा लुटिँदा कस्तो पीडा हुँदो हो? वर्षौँपछि घर जाने आशामा बसेका आँखाले आफ्ना छोराछोरी, आमाबुबा र जीवनसाथीलाई सम्झँदा कति आँसु झर्दा हुन्?
हामीले परदेशमा रहेका नेपालीलाई उनीहरूले कमाएको पैसाबाट मात्रै नाप्नु हुँदैन। उनीहरूले घर पठाउने रेमिट्यान्ससँगै छुटेका जन्मदिन, छुटेका चाडपर्व, छुटेका पारिवारिक भेटघाट र मनभित्र लुकाएका हजारौँ पीडा पनि हुन्छन्। उनीहरूले परिवारका लागि खुसी किन्न देश छोडेका हुन्छन्, तर कहिलेकाहीँ त्यही खुसीको सबैभन्दा सुन्दर क्षणमा परिवारसँगै हुन पाउँदैनन्।
आर्थिक अवस्था कमजोर हुँदा हातमुख जोड्नकै लागि घर छोड्नु बाध्यता हुन सक्छ। सबैले आफ्नै देशमा चाहेजस्तो रोजगारी पाउँछन् भन्ने पनि छैन। तर देश छोड्नुपर्ने बाध्यता कम गर्ने वातावरण बनाउनु राज्यको जिम्मेवारी हो। रोजगारी, सीप, उद्यम र उत्पादनका अवसर आफ्नै गाउँठाउँमा विस्तार गर्न सकियो भने धेरै परिवार छुट्टिनुपर्ने अवस्था कम हुन सक्छ।
सबैलाई विदेश जानबाट रोक्न सकिँदैन। तर आफ्नै देशमा गरिखाने अवसर सिर्जना गर्न सकिन्छ। परदेशमा रहेका नेपालीलाई चाडपर्वमा घर फर्किन सहज हुने वातावरण बनाउन सकिन्छ। श्रमिकको बिदा, यात्रा र परिवारसँग भेटघाटका विषयलाई पनि महत्त्व दिन सकिन्छ। किनकि चाडपर्व केवल पात्रोमा आउने एउटा मिति होइन। यो परिवार भेटिने, सम्बन्ध नवीकरण हुने, आशीर्वाद साटिने र मनहरू जोडिने समय हो।
धनसम्पत्तिले किन्न नसकिने खुसी कहिलेकाहीँ एउटा अँगालो, एउटा टीका, एउटा माला र परिवारसँगै बसेर खाएको एक छाक खानामा भेटिन्छ। तिहारको उज्यालो घरमा बालिने दियोमा मात्रै हुँदैन, परिवारका सदस्य एकै ठाउँमा हुँदा आँखामा देखिने चमकमा पनि हुन्छ।
यसपटक मेरो निधारमा सप्तरङ्गी टीका थिएन। गलामा सयपत्री र मखमलीको माला थिएन। दिदीबहिनीको हातबाट ओखर फुटाएर टीका थाप्ने अवसर पनि थिएन। तर दुई मिनेटको भिडिओ कलले मलाई परिवारको माया, घरको आत्मीयता र तिहारको वास्तविक अर्थ बुझायो।
सायद त्यो दुई मिनेटको कल मेरो यस वर्षको सबैभन्दा ठूलो उपहार थियो।
आज म परदेशको एउटा कोठामा बसेर आफ्नै घरको तिहार सम्झिरहेको छु। घरमा दियो बलिरहेको होला, देउसी–भैलोको सम्झना ताजा भइरहेको होला, भान्सामा परिकार पाकिरहेका होलान्। परिवारका सदस्यहरू हाँसिरहेका होलान्। मेरो खाली ठाउँमा कसैले मलाई सम्झिरहेको होला।
मेरो एउटै कामना छ–तिहारमा कुनै नेपालीले परिवारको टीका भिडिओ कलमा हेरेर आँसु झार्न नपरोस्। रोजगारी र अवसरको खोजीमा घर छोड्नुपर्ने बाध्यता कम होस्। परदेशमा रहेका नेपालीले पनि चाडपर्वमा आफ्नै घर, आफ्नै गाउँ र आफ्नै माटो टेक्न पाऊन्।
किनकि तिहारको असली उज्यालो दियोमा मात्रै होइन, परिवारसँगै हुँदा अनुहारमा देखिने खुसीमा हुन्छ। सबै नेपालीले आफ्नै घरआँगनमा, आफ्नै परिवारसँग बसेर चाडपर्व मनाउन पाउने दिन आओस्। यही नै मेरो तिहारको कामना हो।
(लेखक रेडियो राप्ती एफएम सल्यानका समाचार प्रमुख तथा नेपाल पत्रकार महासंघ सल्यानका सचिव हुन्।)