सन् २०१४ मा जर्मनी पुगेका जितेन्द्र कसौधन अहिले म्युनिखमा बस्छन्। उनी त्यहाँको एक सेक्युरिटी कम्पनीमा सिनियर डेटा एन्ड एआई इन्जिनियरका रूपमा कार्यरत छन्।
कम्पनीको व्यवसाय विस्तार र प्रभावकारी सञ्चालनका लागि आवश्यक तथ्यांक विश्लेषण गर्नु उनको मुख्य जिम्मेवारी हो।
'हाम्रो काम भनेको व्यवसायलाई अझै विस्तार गर्न के–कस्ता तथ्यांक आवश्यक छन्, त्यसको विश्लेषण गरेर बिजनेसलाई सहयोग पुर्याउनु हो,' उनले भने।
कम्पनीको बिजनेस इन्टेलिजेन्स टिममा पाँच जना सदस्य छन्। उनी पोल्यान्ड, युक्रेन र जर्मनीका सहकर्मीसँग मिलेर काम गरिरहेका छन्। उनी टिमका सबभन्दा वरिष्ठ सदस्य हुन्।
जितेन्द्रको ड्युटी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुन्छ। घरबाट कार्यालय पुग्न उनी ट्राम चढ्छन्। ट्राममा करिब ४५ मिनेट यात्रा गरेपछि कार्यालय पुगिन्छ।
यो कम्पनीमा उनी दुई वर्षदेखि काम गरिरहेका छन्।
'यहाँको काम गर्ने वातावरण रमाइलो छ। कार्यसंस्कृति पनि राम्रो छ,' उनले भने।
अहिले जर्मनीमा उनी श्रीमती र बच्चासँग बस्छन्। बेला बेला नेपाल आउँछन् पनि।
जितेन्द्रको पुर्ख्यौली घर लुम्बिनीको खुङ्गाई हो। उनका बुबाको व्यापार बुटवलमा भएकाले परिवार त्यहीँ बस्थ्यो। उनी चार दाजुभाइ तथा दिदीबहिनीमध्येका एक हुन्।
उनले गाउँकै निजी स्कुलबाट एसएलसी (एसइई सरह) उत्तीर्ण गरे। त्यसपछि काठमाडौंको किस्ट कलेजमा विज्ञान विषय पढे। प्लस–टू पढ्दा उनी ठूलोबुबाको छोरासँग बस्थे।
जागिरको बाध्यता नभएकाले जितेन्द्र आफ्नो सम्पूर्ण समय पढाइमा लगाउँथे।

प्लस–टूपछि उनी कुपन्डोलस्थित एड्भान्स इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ पढ्न थाले। इन्जिनियरिङ कोर्स चार वर्षको थियो। पढाइको अन्तिमतिर उनले जागिरको अवसर पाए।
'अन्तिम वर्षमा एउटा इन्स्टिच्युटमा काम गरेँ। त्यहाँ ६ महिना काम गरेपछि अर्को सफ्टवेयर बनाउने कम्पनीमा गएँ,' उनले सुनाए।
सो कम्पनीमा दुई वर्ष काम गरेपछि उनी स्नातकोत्तर पढ्न जर्मनी पुगे। त्यहाँ टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा मास्टर्स इन इन्फर्मेटिक्स पढ्न थाले।
जर्मनीमा नेपालमा जस्तो सहज थिएन। उनले पढाइसँगै एउटा सफ्टवेयर कम्पनीमा पार्टटाइम काम गरे। कामबाट आफ्नो खानपान र बसोबासको खर्च जुटाउँथे।
दुई वर्षमा स्नातकोत्तर पूरा गरेपछि उनी पूर्ण समय एक सफ्टवेयर कम्पनीमा काम गर्न थाले। त्यहाँ उनले चार वर्ष काम गरे।
त्यसपछि उनको यात्रा स्वरोजगार बन्नेतर्फ मोडियो। सन् २०२० तिर उनले रोजगारी खोज्न सहयोग गर्ने कम्पनी खोले। त्यही बेला कोभिड महामारी फैलियो। व्यवसायले सोचे अनुसार गति लिन सकेन।
एक वर्षसम्म प्रयास गर्दा पनि कम्पनी अघि बढाउन नसकेपछि बन्द गर्नुपरेको उनी बताउँछन्। आफ्नै व्यवसाय गर्ने प्रयास सफल नभएपछि उनी फेरि जागिरमा फर्किए।
'हेल्थटेक कम्पनीमा डेटा इन्जिनियरकै काम पाएको थिएँ। त्यहाँ पनि मैले बिजनेस इन्टेलिजेन्स सम्बन्धी नै काम गर्नुपर्थ्यो,' जितेन्द्रले भने।
त्यहाँ चार वर्ष काम गरेपछि जितेन्द्र अहिले कार्यरत सेक्युरिटी कम्पनीमा आबद्ध भएका हुन्।
'जागिर र आफ्नै व्यवसाय सञ्चालन दुवैको अनुभव भएको छ। भविष्यमा फेरि आफ्नै कम्पनी खोल्ने योजनामा छु,' उनले भने।
***