अहिले बैंकहरूमा पैसा प्रशस्त छ। ब्याजदर कम भएकाले ऋण लिन पहिलेभन्दा सस्तो भएको छ। विदेशबाट आउने रेमिटेन्स पनि बढिरहेको छ। सेयर बजारमा सूचीकृत केही कम्पनीले नाफा बढेको विवरण सार्वजनिक गरिरहेका छन्।
सामान्यतया यी सबैलाई सेयर बजारका लागि सकारात्मक संकेत मानिन्छ। बैंकमा पैसा भएपछि लगानीको सम्भावना बढ्छ। ब्याजदर घट्दा सेयर बजारमा लगानी गर्ने आकर्षण बढ्न सक्छ। कम्पनीको नाफा बढ्दा सेयरको मूल्य बढ्ने आधार तयार हुन्छ।
तर तिहारअघि सेयर बजारमा यसको उत्साहजनक प्रभाव देखिएन। बरू अन्तिम साता नेप्से परिसूचक घट्यो, कारोबार पनि सुस्तायो।
अर्थतन्त्रका धेरै सूचक अनुकूल देखिँदा पनि सेयर बजार किन उत्साहित हुन सकेन? आउँदा दिनमा सेयर बजारले गति समात्ला कि फेरि सुस्ताउला?
सबभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने, अहिले बजार बढ्न सक्ने केही बलिया आधार छन्। तर तिनले बजारलाई तत्कालै माथि लैजान्छन् भन्ने निश्चित छैन।
बैंकमा पैसा उपलब्ध हुनु एउटा कुरा हो, त्यो पैसा लगानीमा परिचालन हुनु अर्को। त्यस्तै, ब्याजदर घट्नु र कम्पनीहरूको व्यवसाय तथा नाफा बढ्नु पनि फरक कुरा हुन्।
अहिले बैंकिङ क्षेत्रमा देखिएको मुख्य चुनौती यही हो।
नेपाल राष्ट्र बैंकको आर्थिक विवरण अनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप बढिरहेको छ। तर त्यस अनुसार निजी क्षेत्रमा कर्जा विस्तार हुन सकेको छैन।
यसले अर्थतन्त्रको एउटा महत्त्वपूर्ण अवस्था देखाउँछ। बैंकसँग ऋण दिन पैसा छ, तर व्यवसायीहरू त्यसै अनुसार ऋण लिएर नयाँ लगानी गरिरहेका छैनन्।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२६ को नेपालको आर्थिक समीक्षामा पनि यही चुनौती औंल्याएको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै निजी क्षेत्रमा कर्जा विस्तार कमजोर रहनुको एउटा कारण घरेलु माग सुस्त हुनु रहेको उसको विश्लेषण छ।
व्यवसायीहरूले नयाँ उद्योग खोल्ने, पुरानो व्यवसाय विस्तार गर्ने वा उत्पादन बढाउने अवसर देखिरहेका छैनन् भने सस्तो ब्याजदरले मात्रै लगानी बढाउँदैन।
यही अवस्थाको अर्को पक्ष सेयर बजारका लागि सकारात्मक हुन सक्छ।
बैंकमा निक्षेप राख्दा पाइने ब्याज कम भएपछि बचतकर्ताले बढी प्रतिफल दिने विकल्प खोज्न सक्छन्। त्यसको केही हिस्सा सेयर बजारमा आउन सक्छ। सस्तो ब्याजदरमा ऋण उपलब्ध हुँदा सेयरमा लगानी गर्ने क्षमता पनि बढ्न सक्छ।
त्यसैले बैंकिङ प्रणालीमा भएको पैसा र कम ब्याजदरले सेयर बजारमा खरिद चाप बढाउन सहयोग गर्न सक्छ। तर कम्पनीहरूको वास्तविक व्यवसाय र नाफामा सुधार नभए यस्तो वृद्धिको दिगोपन कमजोर हुन सक्छ।
आगामी दिनमा सेयर बजारको दिशा बुझ्न विभिन्न समूहका सूचीकृत कम्पनीहरूको अवस्था हेर्नुपर्छ।
जस्तै, अहिले वाणिज्य बैंकहरूसँग पर्याप्त निक्षेप भए पनि कर्जा विस्तार सुस्त छ। कर्जाको माग कमजोर हुँदा बैंकहरूले उपलब्ध स्रोतबाट पर्याप्त आम्दानी गर्न सक्दैनन्। अर्कोतर्फ, खराब कर्जा र त्यसबापत गर्नुपर्ने नोक्सानी व्यवस्थाले पनि नाफामा दबाब पार्न सक्छ।
तर आर्थिक गतिविधि विस्तार भयो, कर्जाको माग बढ्यो र पुराना ऋणको असुलीमा सुधार आयो भने बैंकहरूको नाफा बढ्न सक्छ। त्यसले बैंकिङ समूहका सेयरलाई सकारात्मक प्रभाव पार्न सक्छ।
जलविद्युत समूहको अवस्था केही फरक छ।
सञ्चालनमा रहेका आयोजनाले विद्युत बिक्रीबाट नियमित आम्दानी गर्न सक्छन्। ब्याजदर घट्दा ऋण लिएर आयोजना निर्माण गरेका कम्पनीको खर्च पनि कम हुन सक्छ।
तर सबै जलविद्युत कम्पनीको अवस्था समान छैन। कुनै कम्पनीले नियमित विद्युत उत्पादन गरिरहेको छ भने कुनै अझै निर्माणाधीन छ। केही कम्पनीमाथि ठूलो ऋणको भार छ।
त्यसैले जलविद्युत समूहको भविष्य मूल्यांकन गर्दा आयोजनाको उत्पादन, बिक्री, ऋणको अवस्था र नियमित नाफा हेर्नुपर्छ।
बीमा कम्पनीका लागि पनि कम ब्याजदरको प्रभाव मिश्रित हुन सक्छ।
बैंक निक्षेप तथा निश्चित आम्दानी दिने साधनबाट प्राप्त हुने प्रतिफल घट्न सक्छ। अर्कोतर्फ, आर्थिक गतिविधि बढ्दा बीमाको व्यवसाय विस्तार हुन सक्छ। त्यसैले बीमा कम्पनीहरूको नाफा बीमाशुल्क आम्दानी, दाबी भुक्तानी र लगानी प्रतिफलमा निर्भर गर्छ।
विकास बैंक र वित्त कम्पनीमा पनि कर्जाको गुणस्तर र नाफाको अवस्था महत्त्वपूर्ण छ। यी समूहका कतिपय कम्पनीको सेयर मूल्यमा लगानीकर्ताको अपेक्षा र सीमित कारोबारयोग्य सेयरको आपूर्तिले ठूलो उतारचढाव ल्याउन सक्छ।
उत्पादनमूलक कम्पनी, होटल तथा पर्यटन र व्यापारसँग सम्बन्धित कम्पनीको अवस्था भने बजारमा वस्तु तथा सेवाको मागसँग जोडिएको हुन्छ। आर्थिक गतिविधि र उपभोक्ताको खर्च बढे तिनको बिक्री तथा नाफामा सुधार आउन सक्छ।
यसले एउटा कुरा स्पष्ट पार्छ— समग्र बजार बढे पनि सबै समूह र कम्पनीका सेयर एउटै अनुपातमा बढ्ने आधार छैन।
सेयर बजारको दीर्घकालीन आधार कम्पनीहरूको व्यवसाय र भविष्यको कमाइ हो। तर कम्पनीले नाफा बढाएको विवरण सार्वजनिक गर्दैमा त्यसको सेयर मूल्य बढ्छ भन्ने हुँदैन।
कम्पनीको नाफा कसरी बढेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
उत्पादन र बिक्री बढाएर, सञ्चालन खर्च घटाएर वा नियमित व्यवसाय विस्तार गरेर नाफा बढ्नु सकारात्मक संकेत हो। तर सम्पत्ति बिक्री वा एक पटक प्राप्त हुने असाधारण आम्दानीबाट नाफा बढेको छ भने त्यस्तो वृद्धि टिकाउ नहुन सक्छ।
त्यस्तै, सेयरको मूल्य कति छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
एउटा कम्पनी राम्रो हुन सक्छ। उसको नाफा बढिरहेको हुन सक्छ। तर यसको अर्थ जुनसुकै मूल्यमा उसको सेयर किन्नु लाभदायक हुन्छ भन्ने होइन।
मानौं, कुनै कम्पनीको प्रतिसेयर आम्दानी २० रूपैयाँ छ र उसको सेयर ६०० रूपैयाँमा कारोबार भइरहेको छ। यस्तो अवस्थामा लगानीकर्ताले एक रूपैयाँ वार्षिक आम्दानीका लागि ३० रूपैयाँ मूल्य तिरिरहेका छन्।
कम्पनीको भविष्यको आम्दानी उल्लेखनीय रूपमा बढ्ने अपेक्षा छ भने त्यो मूल्य उचित हुन सक्छ। तर अपेक्षा अनुसार आम्दानी बढेन भने नाफामा रहेको कम्पनीको सेयर मूल्य पनि घट्न सक्छ।
त्यसैले कम्पनीको नाफा मात्र होइन, त्यसको गुणस्तर, भविष्यको सम्भावना र सेयरको मूल्यांकन पनि हेर्नुपर्छ।
अब बजार कता जान सक्छ?
अहिले अर्थतन्त्रका सूचक हेर्दा सेयर बजार बढ्ने सम्भावनालाई समर्थन गर्ने आधारहरू छन्— बैंकमा प्रशस्त पैसा छ। ब्याजदर कम छ। रेमिटेन्स बढिरहेको छ।
यी अवस्थाले बजारमा लगानी बढाउन सहयोग गर्न सक्छन्। तर बजारको दिशामा धेरै कुरामा निर्भर हुन्छ।
बैंकमा रहेको पैसा सेयर बजारमा कति आउँछ र त्यसले खरिद चाप कति बढाउँछ? आर्थिक गतिविधि र कर्जा विस्तारमा सुधार आउँछ कि आउँदैन? त्यसले कम्पनीहरूको व्यवसाय र नाफालाई कति बलियो बनाउँछ? अहिलेका सेयर मूल्यले कम्पनीहरूको भविष्यको कमाइलाई कति यथार्थपरक रूपमा प्रतिबिम्बित गरेका छन्?
यी अवस्था अनुकूल भए बजारले दिगो गति समात्ने सम्भावना बढ्छ। तर बैंकमा रहेको पैसाका कारण मात्र सेयरको माग बढ्यो, कम्पनीहरूको कमाइमा सुधार आएन र मूल्यांकन महँगो हुँदै गयो भने त्यस्तो वृद्धि टिकाउ नहुन सक्छ।
अल्पकालमा भने बजारको दिशा लगानीकर्ताको मनोविज्ञान, नीतिगत अपेक्षा, सेयरको माग र आपूर्ति तथा नाफा सुरक्षित गर्ने प्रवृत्तिले पनि निर्धारण गर्छ। त्यसैले केही दिनको कारोबारका आधारमा मात्रै बजारको दीर्घकालीन दिशा अनुमान गर्न सकिँदैन।
अब बजार खुल्दा नेप्से परिसूचक बढ्यो वा घट्यो भन्नेभन्दा पनि कारोबारको प्रकृति हेर्नु महत्त्वपूर्ण हुन्छ।
कारोबार रकम बढेको छ कि छैन, धेरै कम्पनीमा खरिद चाप फैलिएको छ कि केही कम्पनीको मूल्य मात्र बढेको छ र लगानीकर्ताको सहभागिता कस्तो छ भन्ने कुराले बजारको तत्कालीन प्रवृत्तिबारे संकेत दिन्छ।
***