मैले पुज्ने देउतासँग एउटा वरदान मागेँ
हृदयभरि भावना
मस्तिष्कभरि चेतना
कलमभरि शब्द दियो।
हावाको स्पर्शले-
घामको किरणले-
पानीको छालले-
सबैलाई छुने बराबर हो
मलाई यसको तरङ्गमा भिज्ने अवसर जुरायो।
मैले हाँस्ने कारण बन्यो
मैले सम्झने क्षण बन्यो
यहाँसम्म कि
मेरो चुल्होमा याद पकायो।
आफूलाई देख्ने उज्यालो पाएँ
दुनियाँलाई देख्ने अँध्यारो पाएँ
जीवनले नयाँ लय पायो
मुटुले नौलो सङ्गीत पायो।
जहाँ मेरो प्रतिबिम्ब लहलह
झुलिरहेथ्यो।
मेरो चोखो मनले मागेको मैले सबैथोक पाएँ
देउताले मलाई कहिल्यै निराश बनाएन,
आफ्नै ठानेर सारा चिज दियो-
सुन्दरता दियो-
सुगन्ध दियो-
केवल मेरो बाल्यकाल दिन सकेन।
मैले पुज्ने देउतासँग एउटा वरदान मागेँ
यस पटक,
हृदयभरि सम्झना
मस्तिष्कभरि कल्पना
कलमभरि अर्थ दियो।