प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा नेपाल र भारतले आगामी दिनमा द्विपक्षीय सहकार्य विस्तार गर्न १० वटा प्रमुख क्षेत्र समेटिएको संयुक्त दृष्टिपत्र (भिजन पेपर) सार्वजनिक गरेका छन्।
सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको वार्तापछि 'विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्परिकल्पना' शीर्षकको संयुक्त दृष्टिपत्र सार्वजनिक गरिएको हो।
यसमा आर्थिक तथा विकास साझेदारी, भौतिक र डिजिटल सम्पर्क, ऊर्जा तथा जलस्रोत, सुशासन, प्रविधि, शिक्षा, खेलकुद, संस्कृति तथा पर्यटन, स्वास्थ्य र कृषिलाई सहकार्यका १० प्रमुख क्षेत्रका रूपमा समेटिएको छ।
दुई देशबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान सम्झौताहरू आपसी सहमतिमा पुनरवलोकन गर्न सकिने उल्लेख छ। सीमा, जलस्रोत, ऊर्जा र व्यापारसँग सम्बन्धित समाधान हुन बाँकी विषय आपसी संवादबाट टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
दृष्टिपत्रमा व्यापार तथा लगानीसम्बन्धी सम्झौता पुनरवलोकन, नयाँ पारवहन तथा हवाई मार्ग खोल्ने, पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्ने, नेपाली भाषाका लागि एआई मोडल विकास गर्ने र नेपालमा आइआइटी क्याम्पस स्थापना गर्ने लगायतका योजना छन्।
नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, भारतको सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क बनाउने र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नयाँ संस्था स्थापना गर्ने विषय पनि समेटिएका छन्।
यी योजना कार्यान्वयनको अनुगमन गर्न नेपालका परराष्ट्र सचिव र भारतीय राजदूत नेतृत्वको उच्चस्तरीय अनुगमन समूहलाई सक्रिय बनाइनेछ। उक्त समूहले कम्तिमा प्रत्येक छ महिनामा बैठक बसेर प्रगति समीक्षा गर्नेछ।
संयुक्त दृष्टिपत्रको पूर्ण नेपाली अनुवाद यस्तो छ :
विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्परिकल्पना
भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सन् २०२६ नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गर्नुभयो। दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा सौहार्दपूर्ण, सार्थक तथा भविष्यमुखी वार्ता गर्नुभयो र द्विपक्षीय सम्बन्धको समग्र समीक्षा गर्नुभयो।
दुवै नेताले भारत र नेपालबीचको प्राचीन सभ्यतागत सम्बन्ध बहुआयामिक साझेदारीका रूपमा विकास भएको स्वीकार गर्नुभयो। यो साझेदारीलाई आपसी सम्मान र लाभका सिद्धान्तको पालनाका साथै दुई देशका जनताबीचको गहिरो सम्बन्धले सुदृढ बनाएको छ।
नेपालले सन् २०२६ अगस्टमा रसुवा–त्रिशूली नदी क्षेत्र तथा अन्य स्थानमा आएको बाढी र गेग्रान बहावपछि भारतले तत्काल उपलब्ध गराएको मानवीय सहायता तथा खोज र उद्धार सहयोगको प्रशंसा गर्यो। दुवै नेताले नेपालको पुनर्निर्माण प्रयासमा थप सहयोग उपलब्ध गराउने विषयमा निरन्तर संलग्न रहने सहमति गर्नुभयो।
दुवै नेताले द्विपक्षीय साझेदारीले वर्तमान राजनीतिक, आर्थिक र प्राविधिक वास्तविकतालाई प्रतिबिम्बित गर्नुपर्ने तथा अद्यावधिक र भविष्यमुखी कानुनी संरचनामा आधारित हुनुपर्नेमा सहमति जनाउनुभयो। यसअन्तर्गत सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौताहरू आपसी सहमतिका आधारमा पुनरवलोकन गर्न सकिनेछ।
जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमासँग सम्बन्धित विषयसहित समाधान हुन बाँकी सबै मुद्दाहरू आपसी छलफल र संवादमार्फत समाधान गरिनेछ।
भारत–नेपाल सम्बन्धलाई दुवै देशका जनताका लागि ठोस लाभ प्रदान गर्ने आधुनिक तथा परिणाममुखी साझेदारीमा रूपान्तरण गर्न दुवै नेताले यो 'संयुक्त दृष्टिकोण' अपनाउनुभएको छ।
यो दृष्टिकोण विशेषगरी भारत र नेपालका युवासहित दुवै देशका जनताको आकांक्षामा केन्द्रित छ। यसले निम्न १० स्तम्भमा आधारित रहेर भविष्यको द्विपक्षीय साझेदारीका लागि मार्गचित्र प्रदान गर्नेछ।
१. व्यापक आर्थिक तथा विकास साझेदारी
भारतको राष्ट्रिय दृष्टिकोण 'विकसित भारत २०४७' र नेपालको राष्ट्रिय आकांक्षा 'समुन्नत नेपाल' बीच धेरै पूरक पक्ष छन्। तिनको उपयोग गरी दुई देशबीचको व्यापक आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सकिनेछ।
यसअन्तर्गत निम्न कार्यहरू समावेश हुनेछन् :
१. दुई देशबीच थप व्यापक आर्थिक साझेदारीलाई सहजीकरण गर्न व्यापार तथा लगानीसम्बन्धी विद्यमान संरचना र सम्झौताहरू पुनरवलोकन गर्ने।
२. पहुँच सुधार गर्न र सम्पर्क सञ्जाल सुदृढ बनाउन नयाँ पारवहन सम्पर्क मार्ग तथा हवाई मार्गहरू खोल्ने।
३. उत्पादनमूलक तथा अन्य प्रशोधन उद्योगहरूको आपूर्ति शृंखलासँग सम्बन्ध विस्तार गर्न नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्यातमुखी उत्पादनका लागि सीमापार विशेष आर्थिक क्षेत्र तथा औद्योगिक पार्कहरू स्थापना गर्न सहकार्य गर्ने। साथै सूचना प्रविधि पार्कहरूको विकासमा पनि सहकार्य गर्ने।
४. लगानीकर्ताको विश्वास बढाउने र व्यवसाय सञ्चालनलाई सहज बनाउने व्यवस्थाहरू कार्यान्वयन गर्नेसहित नेपालका प्राथमिकताप्राप्त क्षेत्रमा भारतीय लगानी प्रोत्साहन गर्ने।
५. भारतले नेपाललाई १५ हजार करोड भारतीय रूपैयाँ (२४ हजार करोड नेपाली रूपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउने। यसमा नेपालमा विपदपछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाहरूका लागि ३ हजार ५ सय करोड भारतीय रूपैयाँ (५ हजार ६ सय करोड नेपाली रूपैयाँ) अनुदान सहायता समावेश हुनेछ।
त्यस्तै, ऊर्जा क्षेत्रका आयोजनाहरूका लागि ११ हजार ५ सय करोड भारतीय रूपैयाँ (१८ हजार ४ सय करोड नेपाली रूपैयाँ) बराबरको भारतीय रूपैयाँमा आधारित ऋण सुविधा उपलब्ध गराइनेछ।
विकास सहायता उपलब्ध गराउने विशिष्ट आयोजना तथा त्यसका प्रक्रियाहरूलाई आपसी परामर्शबाट अन्तिम रूप दिइनेछ।
२. भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल
सम्पर्क सञ्जाल आर्थिक सहकार्यलाई गहिरो बनाउने र जनस्तरको सम्बन्ध सुदृढ गर्ने प्रमुख माध्यम हो।
यस क्षेत्रमा भएको उल्लेखनीय प्रगतिलाई स्वीकार गर्दै दुवै नेताले भारतको अयोध्या र नेपालको जनकपुरबीच सीधा एक्सप्रेस रेल सेवाको शुभारम्भ तथा भारतको धार्चुला र नेपालको दार्चुलाबीच महाकाली नदीमाथि सवारीसाधन सञ्चालनयोग्य पुलको उद्घाटनको स्वागत गर्नुभयो।
उहाँहरूले निम्न कार्यहरूमा थप सहमति जनाउनुभयो :
१. नेपालको भैरहवा र भारतको सुनौलीमा निर्माणाधीन एकीकृत जाँच चौकीहरू तथा भारतको बनबासा र नेपालको दोधारा–चाँदनीमा नयाँ एकीकृत जाँच चौकीहरूको निर्माण कार्य तीव्र बनाउने।
२. जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्गका बाँकी अन्तिम खण्डहरूको काम शीघ्र सम्पन्न गर्ने।
३. रक्सौल–काठमाडौं रेल सम्पर्कको अन्तिम मार्ग निर्धारण सर्वेक्षण (एफएलएस) सम्पन्न भएको स्वागत गर्दै दुवै देशबीच एकअर्काको रेल सञ्जालसँग मिलेर सञ्चालन हुन सक्ने रेल सञ्जाल विकास गर्ने उद्देश्यले नेपालको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा सहकार्य गर्ने। यसमा बर्दिबास–निजगढ खण्ड र वीरगन्ज–निजगढ रेल सम्पर्कलाई प्राथमिकता दिइनेछ।
४. नयाँ सवारीसाधन सञ्चालनयोग्य पुल र व्यापारिक नाकाहरूको विकासमार्फत नेपाल र भारतबीच सडक सम्पर्क थप विस्तार गर्ने।
५. भारतको सिलिगुडी र नेपालको झापालाई जोड्ने नयाँ पाइपलाइन निर्माणसहित सीमापार पेट्रोलियम आपूर्ति पूर्वाधार विस्तार गर्ने। साथै भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणको सम्भावना खोज्ने।
६. भारतको एकीकृत भुक्तानी प्रणाली (युपिआई) र नेपालको राष्ट्रिय भुक्तानी प्रणालीबीच स्थापित सम्पर्कलाई आधार बनाउँदै सीमापार खुद्रा भुक्तानी प्रणालीको कार्यान्वयन तीव्र बनाउने।
७. भारतको 'पिएम गति शक्ति' जस्ता माध्यममार्फत एकीकृत पूर्वाधार योजना तथा सम्पर्क सञ्जाल विकासमा सहकार्य गर्ने। नेपालले आफ्नो भौगोलिक तथा विकास प्राथमिकता अनुसार यस्तो प्रणाली अपनाउने विषयमा विचार गर्न सक्नेछ।
८. नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमा खुला, सुरक्षित तथा सुव्यवस्थित राख्ने र सीमापार अपराध तथा गैरकानुनी गतिविधिविरूद्धको सहकार्य सुदृढ गर्ने।
३. ऊर्जा, जलस्रोत तथा जलवायु परिवर्तनका असर सामना गर्ने क्षमता
ऊर्जा, जलस्रोत तथा जलवायु परिवर्तनका असर सामना गर्ने क्षमताका क्षेत्रमा भारत र नेपालबीच सहकार्य विस्तार गर्ने अपार सम्भावना रहेको स्वीकार गर्दै दुवै पक्षले संस्थागत सहकार्य सुदृढ गर्ने, आपसी लाभमा आधारित साझेदारी प्रवर्द्धन गर्ने तथा दिगो, उत्थानशील र समावेशी विकासका लागि संयुक्त प्रयास अघि बढाउने सहमति गरे।
यसका लागि :
१. ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिपत्र अनुसार भारतले नेपालको जलविद्युत तथा विद्युत प्रसारण पूर्वाधारमा थप लगानी प्रोत्साहन गर्नेछ। नेपालले यस्ता लगानीका लागि अनुकूल तथा आपसी लाभमा आधारित संरचनासहित आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउनेछ।
दुवै देशका सम्बन्धित निकायहरूले आपसी लाभ र बजारको मागका आधारमा विद्युत व्यापार थप बढाउने सम्भावना खोज्ने छन्।
२. जलस्रोतको आपसी लाभका लागि उपयोग गर्न तथा बाढीबाट हुने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न पञ्चेश्वर, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनासहित सञ्चालनमा रहेका तथा प्रस्तावित जलविद्युत र बहुउद्देश्यीय आयोजनाहरूको कार्यान्वयनसम्बन्धी काम तीव्र बनाउने।
३. जनजीवन, जीविकोपार्जन तथा पूर्वाधारको संरक्षणका लागि विपद जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली तथा विपदपछिको पुनर्स्थापनामा सक्रिय साझेदारी गर्ने।
४. जल तथा मौसमसम्बन्धी तथ्यांक, हिमतालको अनुगमन तथा पूर्वसूचनासम्बन्धी जानकारी वास्तविक समयमा दुवैतर्फ आदानप्रदान गर्ने प्रणालीलाई संस्थागत बनाउने। दुवै देशका सम्बन्धित निकायहरूबीच संयुक्त मानवीय सहायता तथा विपद राहत अभ्यास, क्षमता अभिवृद्धि, तालिम तथा मानवीय सहयोगमार्फत सहकार्य विस्तार गर्ने।
५. अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, विपद प्रतिरोधी पूर्वाधारका लागि गठबन्धन, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा अन्तर्राष्ट्रिय ठूला बिराला प्रजाति संरक्षण गठबन्धन लगायत बहुपक्षीय संस्थाहरूमा सहकार्य विस्तार गर्ने।
६. सौर्य ऊर्जादेखि भूमिगत स्रोतसम्मका अतिरिक्त ऊर्जा स्रोत विकासमा सहकार्य गर्ने। यसमा नेपालमा हरित हाइड्रोजनसम्बन्धी पाइलट आयोजना पनि समावेश हुनेछ।
७. वातावरणसम्बन्धी नीति निर्माण, नियमन, मापदण्ड, वन, जोखिम नक्सांकन तथा जलवायु अनुकूल कृषि लगायतका क्षेत्रमा नेपाली युवा पेसाकर्मी, सरकारी अधिकारी तथा विज्ञहरूको तालिममा भारतले सहजीकरण गर्ने।
८. जलाशय तथा अन्य जलस्रोतको पुनर्जीवन र भूमिगत पानी प्रदूषण नियन्त्रणमा भारतले आफ्नो विशेषज्ञता आदानप्रदान गर्ने।
४. सुशासन
सुशासनसम्बन्धी नेपालको प्राथमिकता र भारतले अपनाएको दृष्टिकोणबीच धेरै समानता छन्। विशेषगरी डिजिटल प्रविधिको प्रयोग तथा नागरिक र सरकारबीचको अन्तरक्रियालाई थप पारदर्शी, सहज र प्रभावकारी बनाउने विषयमा दुवै देशका दृष्टिकोण मिल्दाजुल्दा छन्।
यसका लागि :
१. डिजिटल सार्वभौमिकता र तथ्यांक संरक्षणसम्बन्धी विश्वव्यापी रूपमा मान्य सिद्धान्त अनुसार 'डिजिटल नेपाल फ्रेमवर्क' कार्यान्वयनमा सहयोग गर्न डिजिटल पहिचान, भुक्तानी तथा विद्युतीय सुशासनका लागि आवश्यक डिजिटल सार्वजनिक पूर्वाधारसम्बन्धी प्राविधिक विशेषज्ञता र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने।
२. नेसनल सेन्टर फर गुड गभर्नेन्समार्फत नेपाली निजामती कर्मचारीहरूलाई भारतमा तालिमको व्यवस्था गर्ने।
३. राष्ट्रिय तथा प्रादेशिक तहका व्यवस्थापिकाहरूबीच अनुभव र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने।
४. भारतका सम्बन्धित निकायहरूसँग भ्रमण आदानप्रदान तथा तालिम कार्यक्रममार्फत स्थानीय शासनसम्बन्धी सहकार्य सुदृढ गर्ने।
५. प्रविधि, अन्तरिक्ष तथा नवप्रवर्तन
प्रविधिको प्रयोग र विस्तारलाई प्रोत्साहन गर्न, नेपाललाई प्रविधिको केन्द्र बनाउने नेपालको उद्देश्य तथा यस क्षेत्रमा भारतको क्षमतालाई ध्यानमा राख्दै भारत–नेपाल साझेदारीले निम्न पहलहरू अघि बढाउनेछ :
१. भारत–नेपाल स्टार्टअप साझेदारी सञ्जाल (इन–स्पान) विस्तार गर्ने। यसअन्तर्गत नेपाली स्टार्टअपहरूलाई भारतमा तालिम तथा मार्गदर्शन उपलब्ध गराउने, काठमाडौंमा स्टार्टअप उत्कृष्टता केन्द्र तथा पोखरामा डिजिटल नोम्याड्स तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने।
२. निजी लगानीलाई सहजीकरण गर्नेसहित नेपालमा डिजिटल पार्क तथा डाटा सेन्टरहरूको विकास गर्ने।
३. 'भाषिणी' सँगको सहकार्य लगायत माध्यमबाट नेपाली भाषाका लागि 'लार्ज ल्याङ्ग्वेज मोडल' विकास गर्नेसहित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने।
४. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपालका सम्बन्धित निकायहरूको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) तथा इन–स्पेससँगको सहकार्यमार्फत भूउपग्रह विकास, पृथ्वी अवलोकन, विपद व्यवस्थापनका लागि रिमोट सेन्सिङ तथा क्षमता अभिवृद्धि लगायत अन्तरिक्षसम्बन्धी क्षेत्रमा सहकार्य सुदृढ गर्ने।
५. फाइभजी, सिक्सजी तथा अन्य आगामी पुस्ताका दूरसञ्चार सञ्जालजस्ता उदीयमान प्रविधिमा सहकार्य विस्तार गर्ने।
६. शिक्षा तथा सीप विकास
सीप विकास र क्षमता अभिवृद्धिको महत्त्वलाई स्वीकार गर्दै दुवै देशले तालिम, मानव संशाधन विकास तथा शैक्षिक आदानप्रदानका क्षेत्रमा बलियो सहकार्यका लागि काम गर्नेछन्।
यसअन्तर्गत निम्न पहलहरू समावेश हुनेछन् :
१. आइआइटीबाट सुरू गरेर भारतका प्रतिष्ठित उच्च शैक्षिक संस्थाहरूका शाखा तथा क्याम्पस नेपालमा खोल्ने सम्भावना खोज्ने।
२. हाल सफलतापूर्वक सञ्चालन भइरहेका छात्रवृत्ति कार्यक्रमलाई आधार बनाउँदै नेपाली विद्यार्थीहरूका लागि कानुन, प्रविधि तथा एआईजस्ता नयाँ विषयमा छात्रवृत्ति र तालिमका अवसर थप गर्ने।
३. शैक्षिक तथा तालिम संस्थाहरूबीचको सहकार्य सुदृढ गर्नुका साथै प्राध्यापक तथा विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन गर्ने र संस्थागत बनाउने।
४. उत्पादन, सेवा तथा उद्यमशीलतासँग सम्बन्धित क्षेत्रमा नेपाली युवालाई सीप तथा तालिम प्रदान गर्न भारतको सहयोगमा व्यावसायिक तालिम संस्था स्थापना गर्ने।
७. खेलकुद
नेपालले खेलकुदको विकास र सम्बन्धित पूर्वाधार विस्तारमा दिएको जोडलाई सुदृढ गर्न भारत र नेपालले निम्न प्रमुख पहलहरूमा सहकार्य गर्नेछन् :
१. भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण तथा कोचिङ प्रतिष्ठान स्थापना गर्न सहयोग गर्नेछ। साथै राष्ट्रिय तथा प्रादेशिक तहमा क्रिकेट पूर्वाधारको विकासमा पनि सहयोग गर्नेछ।
२. नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीहरूलाई भारतका राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानहरूमा तालिम लिने अवसर उपलब्ध गराइनेछ।
३. ब्याडमिन्टन, टेनिस, सुटिङ तथा एथलेटिक्सजस्ता अन्य खेलकुदमा पनि यस्तै अवसरको सम्भावना खोजिनेछ। यसमा आधुनिक बहुखेलकुद केन्द्रहरूको विकास पनि समावेश हुनेछ।
४. संयुक्त पर्वतारोहण अभियान सञ्चालन गर्नेसहित पर्वतीय खेलकुदमा सहकार्यको सम्भावना खोजिनेछ।
५. क्रिकेट, फुटबल लगायत खेलमा भारत र नेपालका खेलाडीलाई एकअर्काको देशका खेल लिगहरूमा सहभागी गराउने सम्भावना खोज्न दुवै देशका सम्बन्धित खेलकुद निकाय तथा संस्थाहरूलाई प्रोत्साहन गरिनेछ।
८. संस्कृति तथा पर्यटन
सांस्कृतिक सम्बन्ध दुवै देशबीचको द्विपक्षीय सम्बन्धका सबभन्दा महत्त्वपूर्ण आधारहरूमध्ये एक रहँदै आएको छ।
यस जीवन्त सम्बन्धलाई थप समृद्ध बनाउन :
१. भारत र नेपालले धार्मिक पर्यटन सर्किट तथा नयाँ पर्यटकीय गन्तव्य विकास गर्न साझेदारी गर्नेछन्। यसअन्तर्गत जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर तथा काठमाडौं (पशुपतिनाथ)–वाराणसीलाई जोडेर क्रमशः रामायण, बौद्ध तथा शिव–शक्ति पर्यटन सर्किट विकास गरिनेछ। यसका लागि भगिनी सहरसम्बन्धी सम्झौताहरू पनि गरिने छन्।
२. नेपाल र भारतमा पालैपालो वार्षिक युवा सांस्कृतिक महोत्सव आयोजना गर्ने सहमति भएको छ। साथै चलचित्र निर्माण, नाटक तथा ललितकलाका कलाकारहरूका लागि तालिम तथा आदानप्रदान कार्यक्रम विस्तार गरिनेछ।
३. लुम्बिनी बौद्ध विश्वविद्यालयमा नालन्दा केन्द्र स्थापना गरेर नालन्दा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीचको सहकार्य सुदृढ गरिनेछ।
४. पर्यटन तथा आतिथ्य क्षेत्रमा संलग्न युवा उद्यमीहरूबीच सहकार्यलाई सहजीकरण गर्ने र दुईतर्फी पर्यटन प्रवर्द्धनका लागि सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरू तथा सामग्री सिर्जनाकर्ताहरूको परिचयात्मक भ्रमणलाई प्रोत्साहन गर्ने।
९. स्वास्थ्य
नेपाल सरकारले देशभर आधारभूत स्वास्थ्य सेवाको एकीकृत मोडलमा दिएको जोड र भारतले अपनाएको दृष्टिकोणबीच धेरै पूरक पक्ष छन्।
विद्यमान पूरक क्षमतालाई ध्यानमा राख्दै तथा यस क्षेत्रमा बलियो सहकार्य विकास गर्न दुवै पक्षले निम्न कार्यहरू गर्नेछन् :
१. नेपाल सरकारको आवश्यकताअनुसार स्वास्थ्य चौकी, प्रसूति केन्द्र तथा अस्पतालहरू निर्माण गर्न उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना (एचआइसिडिपी) को ढाँचाअन्तर्गत परियोजनाहरूलाई निरन्तरता दिएर स्वास्थ्य पूर्वाधार सुदृढ गर्ने।
२. नेपालको राष्ट्रिय चिकित्सा प्रयोगशालाको स्तरोन्नतिमा सहकार्य गर्ने।
३. गुणस्तरीय औषधि सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले भारत–नेपाल जनऔषधि केन्द्रहरू स्थापना गर्ने।
४. नेपालको स्वास्थ्य क्षेत्रका पेसाकर्मीहरूको क्षमता अभिवृद्धिका लागि भारतीय प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम (आइटेक) अन्तर्गत स्वास्थ्यसम्बन्धी विभिन्न क्षेत्रमा आवश्यकता अनुसार विशेष तालिम कार्यक्रम आयोजना गर्ने।
५. दुवै देशका प्रमुख चिकित्सा संस्थाहरूबीच सम्बन्ध सुदृढ गर्ने तथा विद्यार्थी र प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गर्ने।
६. भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसिएमआर) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) बीचको अनुसन्धान सहकार्य सुदृढ गर्ने। साथै भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सिडिएससिओ) र नेपालको औषधि व्यवस्था विभागबीचको सहकार्य सुदृढ गर्ने।
१०. कृषि
भारत र नेपालबीच कृषि क्षेत्रमा अनुभव आदानप्रदान, तालिम तथा सहकार्यसम्बन्धी रूपरेखा दस्तावेजहरू निर्माण लगायत व्यापक सम्बन्ध रहँदै आएको छ। यस क्षेत्रमा भविष्यमुखी सहकार्य थप विस्तार गर्न दुवै पक्षले निम्न कार्यहरू गर्नेछन् :
१. नेपाली कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्न भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने।
२. भारतीय कृषि अनुसन्धान परिषद (आइसिएआर) र नेपाल कृषि अनुसन्धान परिषद (नार्क) बीचको सन् २०२६–२०३० कार्ययोजनाको कार्यान्वयन तीव्र बनाउने।
३. कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रमा सरकारी अधिकारी, किसान तथा अन्य कृषि पेसाकर्मीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यकता अनुसार विशेष तालिम कार्यक्रम आयोजना गर्ने।
४. नेपालमा भारतीय कृषि अनुसन्धान परिषदको उत्कृष्टता केन्द्र स्थापना गर्ने, प्रमुख कृषि विश्वविद्यालयहरूबीच सम्बन्ध विकास गर्ने तथा कृषि र पशुपालन क्षेत्रमा नेपाली अधिकारी, किसान तथा उद्यमीहरूका लागि आवश्यकता अनुसार तालिम आयोजना गर्ने।
कार्यान्वयन प्रक्रिया
दुवै प्रधानमन्त्रीले नेपालका परराष्ट्र सचिव र भारतीय राजदूतको नेतृत्वमा रहने उच्चस्तरीय अनुगमन समूहलाई सक्रिय बनाउने निर्णय गर्नुभएको छ। उक्त अनुगमन समूहले कम्तिमा प्रत्येक छ महिनामा बैठक गर्नेछ।
यसले प्रस्तावित आयोजना, अवधारणा तथा पहलहरूको शीघ्र कार्यान्वयन सुनिश्चित गर्न र आवश्यक स्वीकृति तथा अनुमतिहरू प्राप्त गर्न सहजीकरण गर्नेछ।
दुवै नेताले उच्चस्तरीय अनुगमन समूहले आफ्नो प्रतिवेदन नेपाल–भारत संयुक्त आयोगमा पेस गर्ने सहमति गर्नुभएको छ। उक्त आयोगको सहअध्यक्षता दुवै देशका परराष्ट्रमन्त्रीहरूले गर्नेछन्।
दुवै नेताले नेपाल–भारत संयुक्त आयोगको अर्को बैठक सन् २०२७ मा आयोजना गर्ने निर्णय गर्नुभएको छ।
दुवै प्रधानमन्त्रीले यो संयुक्त दृष्टिपत्रले दुई मित्रराष्ट्रबीच आकांक्षापूर्ण, आधुनिक तथा आपसी लाभमा आधारित साझेदारीका लागि मार्गचित्र प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँहरूले यो साझा दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्न भारत र नेपालका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
***