प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबाट नेपालले २ खर्ब ४० अर्ब रूपैयाँको आर्थिक सहायता र केही विकास सहायता प्राप्त गरे पनि यो भ्रमणको सबभन्दा ठूलो विरोधाभास सीमा विवादमा देखिएको छ।
काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा 'ग्रेटर नेपाल' को नक्सा राखेका बालेनले प्रधानमन्त्री बनेपछि पनि कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादमा बेलायतको समेत चासो हुनुपर्ने कुरा संसदमै बोलेका थिए।
यसबारे भारत सरकारलाई औपचारिक कूटनीतिक नोट पठाइएको जानकारी दिँदै उनले सीमा विवाद सल्टाउन चीन र बेलायतसँग कुरा गरिरहेको बताएका थिए।
'यसबारे भारत र चीनसँग मात्र होइन, बेलायत सरकारसँग पनि हामीले कुरा गरेका छौं,' संसदमा कालापानी, लिपुलेकबारे सांसदहरूले सोधेका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री शाहले भनेका थिए, 'उहाँहरूले ब्रिटिस इन्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेकाले यसबारे बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक र कूटनीतिक माध्यमबाट समाधान हुने जानकारी गराउन चाहन्छौं।'
तर विडम्बना!
सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि दुवै नेताले आफ्नो सार्वजनिक सम्बोधनमा सीमा विवादको विषय उठाएनन्।
मोदीले त उठाएनन् उठाएनन्, बालेन पनि यसबारे मौन रहे!
दुई देशले जारी गरेको २४ बुँदे संयुक्त प्रेस विज्ञप्तिमा पनि यो विषय एक बुँदामै सीमित छ। त्यसमा समाधान हुन बाँकी सीमा विवादमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको छ।
यो पनि नयाँ सहमति होइन।
सन् २०१४ मै नेपाल र भारतले कालापानी र सुस्ताको सीमा विवाद समाधान गर्ने जिम्मेवारी परराष्ट्र सचिवहरूलाई दिएका थिए। बाह्र वर्षपछि बालेन र मोदीले त्यही जिम्मेवारी दोहोर्याएका छन्।
अझ सन् २०१४ को संयुक्त वक्तव्यमा त कालापानी र सुस्ताको नामै उल्लेख थियो। यसपटकको विज्ञप्तिमा विवादित भूभागहरूको नाम समेत परेको छैन। विवाद समाधान गर्ने नयाँ कार्ययोजना वा समयसीमा पनि तोकिएको छैन।
बालेनको यसअघिको अडान र भारत भ्रमणको परिणामबीच सबभन्दा ठूलो विरोधाभास यहीँ देखिन्छ।
सीमा विवाद मात्र होइन, तीन दशकदेखि अड्किएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा पनि नयाँ सहमति भएको छैन।
सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण क्रममा तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) टुंग्याउने सहमति भएको थियो। त्यो काम तीन वर्षभन्दा बढी समय बित्दा पनि पूरा भएको छैन।
यसपटक बालेन र मोदीले पनि डिपिआर शीघ्र टुंग्याएर आयोजना कार्यान्वयन अघि बढाउन निर्देशन दिएका छन्। तर मुख्य विवाद समाधान गर्ने नयाँ आधार सार्वजनिक भएको छैन।
अर्कातर्फ भ्रमणअघि नेपालले तयार पारेको आर्थिक सहायता, व्यापार, हवाई प्रवेशमार्ग र पूर्वाधार विकाससम्बन्धी प्रस्तावसूचीका कतिपय माग पनि अधुरै छन्।
नेपालले दुई अर्ब अमेरिकी डलर आर्थिक सहायता मागेको थियो। भारतले करिब १ अर्ब ६२ करोड डलर बराबरको सहायता घोषणा गरेको छ। नेपालले मागेको तुलनामा अनुदानको हिस्सा कम र ऋण बढी छ।
बुटवल–पोखरा द्रूतमार्ग र वाणिज्य सन्धि पुनरवलोकनजस्ता महत्त्वपूर्ण प्रस्ताव संयुक्त विज्ञप्तिमा परेका छैनन्। थप हवाई प्रवेशमार्गको माग पनि आंशिक रूपमा मात्र सम्बोधन भएको छ।
यद्यपि थप बन्दरगाह सुविधा, रेल सम्पर्क, शिक्षा, ऊर्जा र पेट्रोलियम पूर्वाधारमा केही महत्त्वपूर्ण सहमति भएका छन्।
अब हामी प्रधानमन्त्री बालेनको दुईदिने भारत भ्रमणमा के भयो, के भएन; यसबारे विस्तारमा चर्चा गरौं।

संसदमा बेलायतको कुरा, दिल्लीमा सीमाबारे मौन
काठमाडौंको मेयर हुँदा बालेनले कालापानी, लिपुलेक समेटिएको 'ग्रेटर नेपाल' को नक्सा आफ्नो कार्यकक्षमा राख्दा उनको कदमको निकै चर्चा भएको थियो। प्रधानमन्त्री बनेपछि पनि सीमा विवादबारे उनले संसदमा दिएको अभिव्यक्तिले चर्चा र विवाद निम्त्यायो।
प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जबाफ दिँदै बालेनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको बताएका थिए।
'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ,' उनले भनेका थिए।
उनको यो अभिव्यक्तिको विरोध भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण जारी गरेको थियो।
मन्त्रालयका अनुसार प्रधानमन्त्रीले भनेको विषय एकअर्काको सार्वभौम भूभागमाथि राज्यले गरेको दाबीभन्दा पनि सीमावर्ती क्षेत्रमा एकअर्काको जमिन प्रयोग तथा दसगजा अतिक्रमणसँग सम्बन्धित थियो।
यति मात्र होइन, बालेनले संसदमा बोल्दै कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवादबारे भारतलाई कूटनीतिक नोट पठाइएको र यसमा बेलायतको पनि चासो हुनुपर्ने अभिव्यक्ति दिएका थिए।
बालेनको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री कार्यालयका केही व्यक्तिले बेलायती दूतावाससँग सीमा विवादको ऐतिहासिक पृष्ठभूमि र बेलायतसँग रहेका पुराना नक्सा तथा दस्तावेजबारे चासो राखेको कुरा चर्चामा आएको थियो।
यसरी प्रधानमन्त्री बालेनले संसदमा उल्लेख गरेको भारतसँगको कूटनीतिक नोट आदानप्रदान र बेलायतसँगको संवाद भारत भ्रमण क्रममा कहाँ पुग्यो भन्ने सोमबारको संयुक्त विज्ञप्तिबाट खुल्दैन।
भारतसँगको द्विपक्षीय वार्तामा बालेनले सीमा विवादबारे के प्रस्ताव राखे र मोदीले के जबाफ दिए भन्ने विस्तृत विवरण पनि सार्वजनिक भएको छैन। तर दुवै प्रधानमन्त्रीका सार्वजनिक सम्बोधन र संयुक्त विज्ञप्तिबाट यस विषयमा कुनै पनि नयाँ प्रगति भएको देखिँदैन।
नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। त्यसमध्ये कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद सबभन्दा संवेदनशील छ। सन् १८१६ को सुगौली सन्धि अनुसार काली नदीभन्दा पूर्वको भूभाग आफ्नो भएको नेपालको दाबी छ। नेपालले लिम्पियाधुराबाट निस्कने नदीलाई काली नदीको मूल धारा मान्दै आएको छ। भारतले भने नेपालको यो दाबी स्वीकार गरेको छैन।
सन् २०१९ नोभेम्बरमा भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा देखाएपछि नेपालले विरोध जनाएको थियो। त्यसको अर्को वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ती भूभाग समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्यो। संसदले संविधान संशोधनमार्फत त्यसलाई संविधानको अनुसूचीमा समावेश गर्यो।
भारतले भने नेपालको नयाँ नक्सा स्वीकार गरेको छैन।
लामो समयदेखि थाती यो विवाद सुल्झाउने जिम्मा सन् २०१४ अगस्टमा भएको मोदीको नेपाल भ्रमण क्रममा परराष्ट्र सचिवहरूलाई दिइएको थियो। त्यस बेला दुई देशको संयुक्त वक्तव्यमा कालापानी र सुस्ताको नाम स्पष्ट उल्लेख गर्दै सीमा कार्यसमूहको प्राविधिक सहयोगमा बाँकी विवाद समाधान गर्ने भनिएको थियो।
तर त्यसयता बाह्र वर्ष बितिसक्दा पनि विवाद समाधान भएको छैन।
यसबीच सन् २०२३ जुनमा प्रचण्डको भारत भ्रमण क्रममा पनि सीमा विवादको विषय सार्वजनिक रूपमा उठेको थियो। प्रचण्डले संयुक्त पत्रकार सम्मेलनमा मोदीसँग सीमा विवादबारे छलफल भएको बताएका थिए। मोदीले पनि सीमा विवाद लगायत दुई देशबीचका सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।
त्यति बेला जारी द्विपक्षीय विज्ञप्तिमा भने सीमा विवाद समाधानसम्बन्धी नयाँ सहमति उल्लेख थिएन। तर दुवै प्रधानमन्त्रीले सार्वजनिक सम्बोधनमै यो विषय उठाएका थिए।
यसपटक उल्टो भएको छ।
बालेन र मोदीले सार्वजनिक सम्बोधनमा सीमा विवादको कुरा गरेनन्। संयुक्त विज्ञप्तिमा भने सीमा स्तम्भहरूको मर्मतसम्भारमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी सीमा विवादमा काम गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको छ।
यो निर्देशन पनि सन् २०१४ कै निरन्तरता हो।
यसरी १२ वर्षअघि नाम किटेर समाधान गर्न भनिएको विवाद अहिले नाम समेत उल्लेख नगरी पुरानै संयन्त्रको जिम्मामा आएको छ।

पञ्चेश्वरमा तीन महिनाको प्रतिबद्धता तीन वर्षपछि पनि अधुरै
नेपाल–भारत सम्बन्धमा लामो समयदेखि अड्किएको अर्को महत्त्वपूर्ण विषय हो पञ्चेश्वर बहुउद्देश्यीय आयोजना।
सन् १९९६ फेब्रूअरी १२ मा दुई देशबीच भएको महाकाली सन्धिको प्रमुख आयोजना पञ्चेश्वर हो। महाकाली नदीमा ठूलो बाँध निर्माण गरेर विद्युत उत्पादन, सिँचाइ र बाढी नियन्त्रणबाट दुवै देशले लाभ लिने यसको उद्देश्य छ। तर सन्धि भएको तीन दशक बितिसक्दा पनि विस्तृत परियोजना प्रतिवेदन टुंगिएको छैन।
आयोजना अघि बढ्न नसक्नुको मुख्य कारण पानीको उपयोग र त्यसबाट प्राप्त हुने लाभको बाँडफाँटसम्बन्धी विवाद हो।
विशेषगरी भारतले अहिले उपयोग गरिरहेको पानीको हिसाब कसरी गर्ने, सिँचाइ र बाढी नियन्त्रणबाट प्राप्त हुने लाभ कसरी गणना गर्ने र आयोजनाको लागत कुन अनुपातमा बेहोर्ने भन्ने विषयमा मतभेद छ।
सन् २०१४ मा मोदीको नेपाल भ्रमण क्रममा पञ्चेश्वर विकास प्राधिकरण स्थापना गरी एक वर्षभित्र डिपिआर टुंग्याएर आयोजना कार्यान्वयन अघि बढाउने प्रतिबद्धता गरिएको थियो।
त्यो पूरा भएन।
सन् २०२३ जुनमा प्रचण्डको भारत भ्रमण क्रममा तीन महिनाभित्र डिपिआर अन्तिम रूप दिने सहमति भयो।
त्यो पनि पूरा भएन।
यसपटक बालेन र मोदीले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई डिपिआर शीघ्र टुंग्याएर कार्यान्वयन अघि बढाउन निर्देशन दिएका छन्। तर मुख्य विवाद समाधान भएको छैन। डिपिआर टुंग्याउने नयाँ समयसीमा पनि तोकिएको छैन।
यसरी सन् २०१४ मा एक वर्षभित्र आयोजना अघि बढाउने र सन् २०२३ मा तीन महिनाभित्र डिपिआर टुंग्याउने प्रतिबद्धता पूरा नभएको अवस्थामा बालेनको भ्रमणबाट पनि नयाँ समयसीमा सहितको सहमति आएको छैन।
दुई अर्ब डलर माग्दा १ अर्ब ६२ करोडको घोषणा
सीमा विवाद र पञ्चेश्वरजस्ता पुराना मुद्दामा प्रगति नभए पनि प्रधानमन्त्री बालेनको भारत भ्रमणमा आर्थिक सहायता तथा पूर्वाधार विकासका केही नयाँ सहमति भएका छन्।
भ्रमणअघि नेपालले तयार गरेको प्रस्ताव सूचीमा २ अर्ब अमेरिकी डलर आर्थिक सहायता प्रमुख प्राथमिकता थियो। अर्थ मन्त्रालय स्रोतका अनुसार नेपालले १ अर्ब डलर अनुदान र १ अर्ब डलर सहुलियतपूर्ण ऋण मागेको थियो।
अनुदानमध्ये ५० करोड डलर बुटवल–पोखरा द्रुतमार्ग निर्माण र बाँकी ५० करोड डलर बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा खर्च गर्ने प्रस्ताव थियो।
ऋण भने जलविद्युत आयोजना र विद्युत प्रसारण लाइन निर्माणमा उपयोग गर्ने योजना थियो।
तर नेपालको प्रस्तावमा केही रकम घटाउँदै भारतले २ खर्ब ४० अर्ब रूपैयाँ बराबरको आर्थिक सहायता घोषणा गरेको छ। यो करिब १ अर्ब ६२ करोड अमेरिकी डलर बराबर हो।
यसमध्ये अनुदान ५६ अर्ब रूपैयाँ छ भने ऋण १ खर्ब ८४ अर्ब रूपैयाँ छ।
नेपालले अनुदान र ऋण बराबर अनुपातमा मागेको थियो। तर भारतले घोषणा गरेको कुल सहायता रकममा अनुदानको हिस्सा करिब २३ प्रतिशत र ऋणको हिस्सा ७७ प्रतिशत छ।
यसरी नेपालले मागेकोभन्दा कुल सहायता रकम कम मात्र होइन, अनुदान पनि निकै कम छ भने ऋणको रकम मागभन्दा बढी छ।
यद्यपि नेपालले राखेको एउटा महत्त्वपूर्ण प्रस्ताव भारतले स्वीकार गरेको छ। नेपालले ऊर्जा क्षेत्रका आयोजनाका लागि अमेरिकी डलरको सट्टा भारतीय रूपैयाँमा ऋण मागेको थियो। त्यसै अनुसार भारतले भारतीय रूपैयाँमा आधारित ऋण सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
नेपाली र भारतीय रूपैयाँबीच स्थिर विनिमय दर भएकाले यसले डलरमा ऋण लिँदा हुने विनिमय जोखिम घट्नेछ। तर ऋणको ब्याजदर, भुक्तानी अवधि र खरिदसम्बन्धी सर्त खुलाइएको छैन। कुन आयोजनामा कति रकम खर्च गर्ने भन्ने पनि टुंगिएको छैन।
संयुक्त वक्तव्यमा विपदपछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाहरूका लागि अनुदान सहायता र ऊर्जा क्षेत्रका आयोजनाहरूका लागि ऋण सुविधा उपलब्ध गराउने भनिएको छ। आयोजना र सहायता उपलब्ध गराउने प्रक्रियालाई आपसी परामर्शबाट अन्तिम रूप दिइने वक्तव्यमा उल्लेख छ।
भारतले नयाँ पूर्वाधार आयोजनाका लागि अनुदान उपलब्ध गराउने घोषणा गरे पनि त्यसमा बुटवल–पोखरा द्रुतमार्ग पर्छ कि पर्दैन भन्ने स्पष्ट छैन।

वाणिज्य र लगानी सम्झौता पुनरवलोकन गर्ने प्रतिबद्धता
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नेपालले अघि सारेको एउटा महत्त्वपूर्ण प्रस्ताव थियो, दुई देशबीचको वाणिज्य सन्धि पुनरवलोकन।
नेपालले चिया, प्लाइउड लगायत वस्तु भारतीय बजारमा निर्यात गर्दा देखिने गैरभन्सार अवरोध, प्रयोगशाला परीक्षण र गुणस्तर प्रमाणीकरणका समस्या समाधान गर्न सन्धि पुनरवलोकनको प्रस्ताव गरेको थियो।
सोमबार जारी २४ बुँदे संयुक्त प्रेस विज्ञप्तिमा यो विषय उल्लेख छैन। तर दुवै देशले सार्वजनिक गरेको 'विकसित भारत र समुन्नत नेपाल' संयुक्त भिजन पेपरमा भने व्यापार र लगानीसम्बन्धी सम्झौताहरू पुनरवलोकन गर्ने प्रतिबद्धता जनाइएको छ।
भिजन पेपरमा दुई देशबीच व्यापक आर्थिक साझेदारीका लागि व्यापार तथा लगानीसम्बन्धी विद्यमान संरचना र सम्झौताहरू पुनरवलोकन गर्ने भनिएको छ।
त्यस्तै, सीमावर्ती क्षेत्रमा निर्यातमुखी उद्योगका लागि विशेष आर्थिक क्षेत्र तथा औद्योगिक पार्क स्थापना गर्ने र नेपालका प्राथमिकताप्राप्त क्षेत्रमा भारतीय लगानी प्रोत्साहन गर्ने सहमति पनि भएको छ।
हवाई प्रवेशमार्गमा आंशिक सहमति
नेपालले लामो समयदेखि भारतसँग माग्दै आएको अर्को महत्त्वपूर्ण विषय हो, पश्चिमबाट थप अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्ग।
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसके पनि पश्चिमबाट आउने अन्तर्राष्ट्रिय उडानका लागि सहज प्रवेशमार्ग उपलब्ध छैन। नेपालले विशेषगरी महेन्द्रनगर र नेपालगन्जबाट थप प्रवेशमार्ग माग्दै आएको छ।
यसपटक भारतले विद्यमान बी–३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जनाएको छ।
यो हवाई सम्पर्क सुधार गर्ने दिशामा प्रगति हो।
तर यसलाई नेपालले मागेका सबै अन्तर्राष्ट्रिय उडानका लागि पश्चिमबाट नयाँ प्रवेशमार्ग पाएको अर्थमा बुझ्न मिल्दैन। यसको कार्यान्वयन प्रक्रिया पनि प्राविधिक परामर्शबाट टुंग्याउन बाँकी छ।
नेपालले भैरहवा–कुशीनगर, पोखरा–वाराणसी, नेपालगन्ज–दिल्ली लगायत भारतका प्रमुख सहरबाट भैरहवा र पोखरासम्म सिधा हवाई सेवा सञ्चालनको प्रस्ताव पनि गरेको थियो। तर यस्ता क्षेत्रीय उडानबारे कुनै घोषणा भएको छैन।
यसको सट्टा भिजन पेपरमा 'हवाई पहुँच तथा सम्पर्क सञ्जाल सुदृढ बनाउन नयाँ पारवहन मार्ग र हवाई मार्गहरू खोल्ने' सम्म भनिएको छ।
नयाँ भिजन पेपर बन्यो, ८ वर्ष पुरानो इपिजी प्रतिवेदनबारे मौन
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा नेपाल र भारतले द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिने भन्दै 'विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्परिकल्पना' शीर्षकको संयुक्त दृष्टिकोणपत्र (भिजन पेपर) सार्वजनिक गरेका छन्।
दुवै देशबीच आर्थिक सहकार्य, व्यापार, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन लगायत १० क्षेत्रमा आगामी दिनमा सहकार्य गर्ने मार्गचित्र प्रस्तुत गरिएको छ।
तर द्विपक्षीय सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने भन्दै नयाँ भिजन पेपर जारी गरेका दुवै देशले त्यही उद्देश्यका लागि आठ वर्षअघि तयार पारेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदनबारे केही बोलेका छैनन्।
यो प्रतिवेदन सन् २०१८ जुलाईमै तयार भएको थियो। तर भारतले अहिलेसम्म औपचारिक रूपमा बुझेको छैन। नेपाल र भारतले सन् २०१६ मा चार–चार जना सदस्य रहने गरी आठ सदस्यीय इपिजी गठन गरेका थिए।
यसको मुख्य उद्देश्य सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित दुई देशबीचका पुराना सन्धि–सम्झौता पुनरवलोकन गर्ने र बदलिएको परिस्थिति अनुसार सम्बन्ध अघि बढाउने सुझाव दिनु थियो।
नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा र भारतका तर्फबाट भगतसिंह कोश्यारीले समूहको नेतृत्व गरेका थिए।
दुई वर्षसम्म छलफल गरेर इपिजीले साझा प्रतिवेदन तयार गर्यो। तर भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझ्न समय नदिएपछि औपचारिक हस्तान्तरण हुन सकेन।
यसबीच नेपालले पटकपटक प्रतिवेदन बुझ्न भारतलाई आग्रह गरेको छ। तर आठ वर्षसम्म पनि प्रतिवेदनको भविष्य टुंगिएको छैन।
अझ रोचक कुरा, बालेन र मोदीले सोमबार जारी गरेको नयाँ भिजन पेपरमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौताहरू आपसी सहमतिका आधारमा पुनरवलोकन गर्न सकिने उल्लेख छ।
भिजन पेपरको प्रारम्भिक भागमा दुई देशबीचको साझेदारी वर्तमान राजनीतिक, आर्थिक तथा प्राविधिक वास्तविकता अनुकूल हुनुपर्ने र त्यसका लागि अद्यावधिक कानुनी आधार आवश्यक रहेको उल्लेख गरिएको छ।
त्यस्तै सीमा, जलस्रोत, ऊर्जा तथा व्यापारसम्बन्धी बाँकी विवाद आपसी छलफल र संवादबाट समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
तर यिनै विषयको अध्ययन र पुनरवलोकनका लागि दुवै देशले गठन गरेको इपिजी र त्यसको प्रतिवेदनलाई कसरी अघि बढाउने भन्ने भिजन पेपरमा उल्लेख छैन।
नयाँ भिजन पेपर कार्यान्वयनको अनुगमन गर्न नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा उच्चस्तरीय अनुगमन समूह सक्रिय बनाउने सहमति भएको छ। यो समूहले कम्तिमा प्रत्येक छ महिनामा बैठक बसेर कार्यान्वयनको प्रगति समीक्षा गर्नेछ। त्यसको प्रतिवेदन परराष्ट्रमन्त्रीहरू सहभागी हुने नेपाल–भारत संयुक्त आयोगमा पेस गरिनेछ।
इपिजीको पुरानो प्रतिवेदन बुझ्ने वा त्यसका सुझावबारे निर्णय गर्ने कुनै प्रक्रिया भने तोकिएको छैन।
यसरी नेपाल र भारतले भविष्यको साझेदारीका लागि नयाँ मार्गचित्र सार्वजनिक गरेका छन्। सन् १९५० को सन्धिसमेत पुनरवलोकन गर्न सकिने प्रतिबद्धता जनाएका छन्। तर त्यही सन्धि पुनरवलोकनका लागि आठ वर्षअघि तयार भएको साझा प्रतिवेदनको भविष्य अनिश्चित नै छ।
-ink-1795410289.jpeg)
बन्दरगाह, रेल र आइआइटीमा प्रगति
नेपालले मागेका सबै प्रस्ताव अधुरै रहेका भने होइनन्।
तेस्रो मुलुक व्यापारका लागि थप दुईवटा भारतीय बन्दरगाह प्रयोग गर्ने प्रस्तावमा प्रगति भएको छ।
भारतले गुजरातस्थित कान्डलाको दीनदयाल बन्दरगाह नेपालको पारवहन व्यापारका लागि उपलब्ध गराउने घोषणा गरेको छ। गुजरातको बन्दरगाहबाट पश्चिम एसियाली मुलुकसँगको व्यापारमा सहजता आउने अपेक्षा गरिएको छ।
ओडिसाको पारादीप बन्दरगाह पनि आवश्यक पूर्वाधार तयार भएपछि उपलब्ध गराइने भएको छ। यो गहिरो पानी भएको बन्दरगाह हो। यहाँ ठूला पानीजहाज आउन सक्ने भएकाले नेपालले अन्तर्राष्ट्रिय ढुवानीका थप विकल्प प्राप्त गर्न सक्छ।
अहिले नेपालले कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ।
शिक्षाका क्षेत्रमा पनि एउटा महत्त्वपूर्ण सहमति भएको छ।
भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आइआइटी) को विदेशी क्याम्पस स्थापना गर्न सहमति जनाएको संयुक्त वक्तव्यमा उल्लेख छ। यसले नेपालको शिक्षा क्षेत्रमा प्रभाव विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै रोजगारी सिर्जनालाई पनि प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
नेपालले आफ्नो प्रस्तावसूचीमा आइआइटी सहित आइआइएमको पनि प्रस्ताव गरेको थियो। त्यसबारे भने वक्तव्यमा उल्लेख छैन।
क्रिकेट विकासका लागि नेपालले मागेको प्राविधिक सहयोग पनि कुनै निश्चित कार्यक्रममा परिणत भएको छैन। दुई देशले अपनाएको 'विकसित भारत र समुन्नत नेपाल' नामक संयुक्त दृष्टिकोणमा खेलकुदमा नयाँ सहकार्यको सम्भावना समेटिएको मात्र उल्लेख छ।
रेलमार्गमा भने अयोध्या–जनकपुर रेल सेवा उद्घाटन भएको छ। दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा फहराउँदै रेल सेवा उद्घाटन गरेका हुन्।
नयाँ रेल सेवालाई 'सरयू–कमला एक्सप्रेस' नाम दिइएको छ। यसले रामको जन्मभूमि मानिने भारतको अयोध्या र सीताको जन्मभूमि मानिने नेपालको जनकपुरधामलाई सिधा रेलमार्फत जोड्नेछ।
भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि अयोध्यासम्मको दुरी करिब ६०४ किलोमिटर छ। रेलले जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज र गोरखपुर लगायतका सहर हुँदै यात्रा गर्नेछ।
यो रेल सातामा एक पटक जनकपुरबाट अयोध्या र एक पटक अयोध्याबाट जनकपुर आउनेछ। नियमित व्यावसायिक सेवा नोभेम्बर २८ देखि सुरू गर्ने तालिका छ।
दुवै देशले नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने घोषणा गरेका छन्।
दुवै नेताले प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे (स्थलगत मार्ग निर्धारण सर्वेक्षण) अन्तिम रूप दिइएको घोषणा पनि गरे। साथै, नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि दुवै पक्षले सहकार्य गर्ने घोषणा पनि भएको छ।
यी दुवै रेलमार्ग लामो समयदेखि थाती रहँदै आएका थिए।
सन् २०१८ अप्रिल ७ मा तत्कालीन प्रधानमन्त्री ओलीको भारत भ्रमण क्रममा दुई देशले रक्सौलबाट काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति सार्वजनिक गरेका थिए। यसका लागि भारतले सर्वेक्षणमा सहयोग गर्ने र विस्तृत अध्ययनपछि परियोजना अघि बढाउने भनिएको थियो।
पेट्रोलियम र जलविद्युतमा के भयो?
प्रधानमन्त्री बालेनको भ्रमणमा ऊर्जा र पेट्रोलियम पूर्वाधारका क्षेत्रमा पनि केही घोषणा भएका छन्।
दुवै प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत आयोजनाको शिलान्यास गरेका छन्।
करिब ६० करोड अमेरिकी डलर लागत अनुमान गरिएको यो आयोजना भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत निगम (एसजेभिएन) अन्तर्गतको कम्पनीले निर्माण गर्नेछ।
संखुवासभा र भोजपुर जिल्लामा पर्ने यो आयोजना निर्माणका लागि नेपाल सरकारको लगानी बोर्ड र एसजेभिएन लोअर अरूण पावर डेभलपमेन्ट कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण क्रममा उक्त सम्झौता भएको हो।
त्यति बेला सम्झौता भएको यो आयोजना तीन वर्षपछि शिलान्यास भए पनि अरूण नदीसँगै जोडिएका अन्य ठूला जलविद्युत आयोजनामा रहेका विवाद यो भ्रमणबाट सम्बोधन भएका छैनन्।
त्यस्तै, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको छ। यो दुई वर्षअघि नै सञ्चालनमा आएको हो। झापामा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको शिलान्यास पनि गरिएको छ।
सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण छिट्टै सुरू गर्नुपर्नेमा पनि दुवै देशले जोड दिएका छन्।
नेपालले मोतिहारी–सर्लाही ग्यास पाइपलाइन निर्माणको प्रस्ताव गरेको थियो। तर संयुक्त विज्ञप्तिमा ग्यास पाइपलाइन निर्माणमा सहकार्यको सम्भावना खोज्ने मात्र उल्लेख छ।
भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणा पनि गरिएको छ। स्वास्थ्य, आयुर्वेद, प्रशासनिक तालिम, अन्तरिक्ष प्रविधि, दिगो सहरी विकास, पशुपालन, मत्स्य विकास तथा प्रहरीसम्बन्धी शैक्षिक र अनुसन्धान सहकार्यका आठ समझदारीपत्र आदानप्रदान भएका छन्।
यसरी प्रधानमन्त्री बालेनको पहिलो भारत भ्रमणमा आर्थिक सहायता, सम्पर्क सञ्जाल, शिक्षा, ऊर्जा तथा पूर्वाधार विकासका क्षेत्रमा केही नयाँ सहमति भएका छन्। तर संयुक्त विज्ञप्तिमा समेटिएका सबै कुरा नयाँ प्रतिबद्धता होइनन्। कतिपय यसअघि नै सहमति भएका आयोजनाको उद्घाटन, शिलान्यास वा कार्यान्वयन अघि बढाउने विषय हुन्।
अझ नेपाल–भारत सम्बन्धमा लामो समयदेखि थाती रहेका दुई प्रमुख मुद्दा सीमा विवाद र पञ्चेश्वरमा पुरानै प्रतिबद्धता दोहोरिएको छ।
सन् २०१४ मा परराष्ट्र सचिवहरूलाई जिम्मेवारी दिइएको सीमा विवाद १२ वर्षपछि पनि उनीहरूकै जिम्मामा छ।
सन् २०२३ मा तीन महिनाभित्र टुंग्याउने भनिएको पञ्चेश्वरको डिपिआर अझै टुंगिएको छैन।
***
यो पनि पढ्नुहोस्:
