हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
शान्ता घिमिरे मरासिनीले बुटवल हाटबजारमा चिया खाजा पसल चलाउन थालेको १४ वर्ष भयो।
उनी २०५१ सालमा अर्घाखाँचीको छत्रदेवबाट बुटवल झरेकी हुन्। हाटबजारभन्दा अघि शान्ताले विभिन्न स्थानमा चिया र मिठाइ चलाएकी थिइन्।
हामीले उनलाई सोध्यौं —
पहिले आफ्नोबारे भन्नुस् न—तपाईँ कहाँ बस्नुहुन्छ, परिवारमा को को हुनुहुन्छ?
घरमा श्रीमान मुक्तिराम मरासिनी, छोरा, छोरी र बुहारी छन्। घर कालिका नगर हो।
तपाईंको काम, कमाइ र घर खर्च अहिले कसरी चलिरहेको छ?
काम त यही चिया पसल हो। यसैबाट भएको आम्दानीले घर खर्च चलिरहेको छ।
व्यापार कस्तो छ?
कोभिडपछि खस्किएको व्यापार अहिले पनि उठ्न सकेको छैन। यही सटरको भाडा १७ हजार रूपैयाँ तिर्नुपर्छ। छोराछोरीले आफ्नो खर्च आफै चलाउन सक्ने भएकाले हामीलाई सहज भएको छ।
छोराछोरीले के गर्छन्?
सानो सानो काम गरेका छन्। छोरा रमेश र बुहारी एलिनाले स्कुलमा पढाउँछन्। छोरी उर्मिलाले कन्सल्टेन्सीमा काम गर्छिन्।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
अहिलेलाई त्यस्तो चिन्ताको विषय केही छैन। परिवारमा अहिले पाँच जना छौं। पाँचै जना दिनभरि आ–आफ्नो काममा व्यस्त हुन्छौं। साँझ भेट हुन्छ, खानपिन गर्यो, सुत्यो। अहिलेलाई राम्रै छ।
तपाईंको परिवारका तन्नेरीहरू नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्?
छोराबुहारीले एक पटक विदेश जानुपर्छ कि भनेका छन्। अहिलेसम्म यहीँ पढेर स्कुलमा काम गरेका छन्। हामीले विदेश जानु पर्दैन भनेका छौं। होइन, एक पटक गएर कमाएर आउँछौं भनेका छन्। हेरौं, के गर्छन्। छोरीले अझै केही भनेकी छैनन्।
अहिलेका युवाहरू किन विदेश जान चाहन्छन् होला?
नेपालमा जति खर्च गरेर पढ्छन्, त्यो मेहनत र खर्च अनुसार जागिर पाइँदैन। जागिर पाइहाले पनि तलब धेरै हुँदैन। ऋण गरेर पढेकाहरूलाई जागिरको तलबले ऋण तिर्न र परिवार पाल्न नै पुग्दैन। विदेशमा पढाइ अनुसार जागिर पनि पाइन्छ। तलब पनि धेरै हुन्छ। विदेशको थोरै पैसा पनि नेपालमा ल्याउँदा धेरै हुन्छ।
दुई–चार वर्ष विदेशमा दुःख गरे नेपाल आएर सुख हुन्छ भनेर होला, युवाहरू विदेश जान चाहने।
पोहोर साल जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
त्यति बेला केही सोच्ने समय नै भएन। एक्कासि युवाहरू सडकमा उत्रिँदै छन् अरे भन्ने अघिल्लो दिन सुनेका थियौं। बालेनले युवाहरूलाई सडकमा आउन आह्वान गरेका छन् अरे भनेको सुनेका थियौं। भोलिपल्ट बिहान एक्कासि युवाहरू सडकमा उत्रिए।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
धेरै जनालाई त सामाजिक सञ्जालमा आउने गलत कुराहरूले सडकमा उतारेजस्तो लाग्छ। लौ, सरकारले अब फेसबुक चलाउन नदिने रे। फेसबुक चलाए पनि पैसा तिर्नुपर्छ रे भन्ने हल्ला चलेको थियो।
सरकारले त नेपालमा पनि सामाजिक सञ्जाल दर्ता गर्नुपर्छ भनेको थियो। अहिले पनि सामाजिक सञ्जाललाई नियमन गर्नुपर्छ भन्ने कुरा चलेको छ। उति बेला पनि सरकारले गर्न खोजेको राम्रै रहेछ। सरकारले केही काम गरेन, देश विकास भएन भनियो।
यही बुटवललाई हेरौं न, दस वर्षपहिले कस्तो थियो, अहिले कस्तो छ। विकास भन्ने चिज एकै पटक हुने पनि होइन, बिस्तारै हुने हो। भइरहेको थियो।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
आन्दोलनमा राम्रो त केही पनि भएको जस्तो लागेन। जे भयो, सबै बेठीक भयो। आन्दोलनपछि चुनाव भयो, एउटा पार्टीको सरकार बन्यो। उसको लागि राम्रै भयो होला, तर देशको लागि के राम्रो भयो र? त्यो आन्दोलनले देशलाई धेरै पछाडि धकेल्यो भन्ने लाग्छ।
हाम्रो चिया पसल बुटवल उपमहानगरपालिका कार्यालयअगाडि छ। आँखैअगाडि उपमहानगरपालिकाको नयाँ भवन जलाए। अदालत र वकिलको अफिस पनि जलाए। आन्दोलन हुँदै छ रे भनेपछि बिहानैदेखि प्रहरी खटिएका थिए, तर त्यस्तो हुलहुज्जत आएपछि प्रहरी पनि हात उठाएर फर्किए।
आन्दोलनमा युवाहरू मरे। जो मरे पनि नेपाली युवाहरू नै मरेका हुन्।
अर्को कुरा, आन्दोलनहरूमा प्रहरीले गोली चलाउनुपरे पनि घुँडामुनि हान्नुपर्ने भन्छन्। आन्दोलनकारीको टाउकोमा गोली लागेको छ। जेनजीको नाममा जे–जे भयो, सबै गलत भयो भन्ने लाग्छ मलाई त।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
देशमा केही परिवर्तन होला भनेर जनताले जिताएर पठाएका हुन्, तर केही परिवर्तन आएजस्तो लाग्दैन। व्यापार व्यवसायमा पहिले जस्तो मन्दी थियो, अहिले पनि उस्तै छ। युवाहरू विदेश जान छोडेका छैनन्। हामीजस्तो सानो सानो व्यवसाय गर्नेहरूलाई आइतबारको बिदाले झन् असर गरेको छ। सरकारी कार्यालयको कामका लागि अहिले दुई दिन पर्खिनुपर्छ।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ?
खोइ, अझै त राम्रो हुन्छ कि हुँदैन, केही भन्न सक्ने अवस्था छैन। हुन त दिन बित्दै जाँदा परिवर्तन त आफैँ भइहाल्छ। अहिले जस्तो पहिले कहाँ थियो र!
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिलेजस्तै हो भन्ने लाग्छ?
मेरो परिवारमा पनि राम्रो होला नि। छोराछोरी, बुहारी सबैले मेहनत गरिरहेका छन्। हामी पनि आफ्नो सीप र पेसाअनुसार काम गरिरहेका छौं।
म विवाह गरेर बुटवल झरेको २०५१ सालमा हो। त्यति बेला अमरपथमा सानो चिया पसल चलाएका थियौं। भाडामा बस्थ्यौं।
छोराछोरी जन्मिए, उनीहरूलाई हुर्काउने, पढाउने गर्यौं। कालिका नगरमा सानो–सानो घर बनाएका छौं। भोलि पनि राम्रै होला भनेर आशा छ।
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्तबुझ्दो काम गर्न सकेको छैन?
सरकारी कार्यालयमा अलिअलि सुधार भएको छ भनेको सुनिन्छ। म त अहिले सरकारी कार्यालयमा जाने काम परेको छैन। अरूले कुरा गरेको सुन्दा सरकारी कार्यालय सुध्रिएका छन् भन्छन्।
यी काम सरकारले राम्रै गरेको छ। अरू विकासका काम भने अगाडि बढ्न सकेका छैनन्।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के–के हुन्?
अहिलेको सरकार बनेको नै सुशासनको नारा दिएर हो। सरकारले सबैभन्दा पहिले भ्रष्टाचार रोक्नुपर्छ। आफूले पनि घुस नखाने र अरूलाई पनि खान नदिने गर्नुपर्छ। भ्रष्टाचार रोकिएपछि धेरै काम आफैँ राम्रो हुँदै जान्छन्।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
समयले सबैलाई परिवर्तन गरिहाल्छ नि। हिजो जस्तो आज र आज जस्तो भोलि त कोही पनि रहँदैन। पुराना पार्टी र नेताहरूको पनि त्यही हो। सुध्रिँदै जान्छन्।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
पार्टीको बारेमा त भन्न सकिन्न। पहिले पनि धेरै पार्टीप्रति आशा लागेको थियो। जनताको आशा पूरा हुन सकेन। अहिले पनि यही पार्टीले राम्रो गर्छ भनेर आशा गर्न सकिँदैन।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को–को हुन्?
नेताहरूको बारेमा कुरा नगरौं। मलाई राजनीतिप्रति बोल्न पनि त्यति मन लाग्दैन। जो नेता आए पनि पहिले आफ्नै दुनो सोझ्याउने हुन्। आफ्नो भाँडो भरिएपछि त्यसपछि जनताको पालो आउँछ।
नाम नभने पनि तपाईंको मनले आशा गरेका नेताहरूलाई के भन्न चाहनुहुन्छ?
जनतालाई नढाँटीकन देशको विकास गर्नुस् भन्न चाहन्छु।
***
सेतोपाटी शृंखला 'हामी आममान्छे' का अन्य स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्