जब अन्तर्राष्ट्रिय प्रतिवेदन र वृत्तचित्रहरूले दुर्गम मुगुका बर्थिङ सेन्टर (प्रसूति गृह) हरूको सफलताको कथा सुनाउँछन्, त्यहाँ प्रायः नयाँ भवन, विदेशी दातृ निकायको सहयोग र आधुनिक उपकरणहरूको मात्र चर्चा हुन्छ।
तर हिमाली चिसो रात, द्वन्द्वको त्रास र अप्ठ्यारा गोरेटोहरू छिचोल्दै ती रित्ता भित्ताहरूमा प्राण भर्ने सरकारी नर्सहरूको नाम भने इतिहासका पानाबाट प्रायः हराउने गर्छ।
मेरी आमा सरोजा घिमिरे बुढाथापा त्यही बिर्सिएको इतिहासकी एक जीवित साक्षी र आधारस्तम्भ हुनुहुन्छ।
उहाँले नेपालको सार्वजनिक स्वास्थ्य सेवामा ३६ वर्ष ४ महिना काम गर्नुभयो—जसको मुख्य कालखण्ड दुर्गम मुगुका आमा र नवजात शिशुहरूको जीवन बचाउन समर्पित रह्यो। त्यो त्यागको निशान आज पनि उहाँको शरीरमा स्पष्ट देखिन्छ।
मुगुका विकट बस्तीहरू खत्याड र सोरुका उकाली–ओराली र ढुङ्गे बाटाहरूमा अनगिन्ती पटक फिल्ड भिजिट गर्दा उहाँका पैतालामा परेका ठेला र गाँठाहरू आज पनि उस्तै छन्—जुन हजारौँ माइल हिँडेर दुर्गमका आमाहरूलाई बचाएको मौन प्रमाण हुन्।
विसं. २०४३ सालमा अनमी पदबाट स्थायी सरकारी सेवा सुरु गर्नुभएकी उहाँले बर्दिया र जुम्ला हुँदै दशकौँसम्म मुगुमा सेवा गर्नुभयो। सशस्त्र द्वन्द्वको चरम उत्कर्षका बेला दुर्गमका स्वास्थ्यकर्मीहरू हरपल जोखिममा हुन्थे।
एकपटक तत्कालीन माओवादी लडाकुहरूले आफ्ना बिरामी सदस्यहरूको उपचारका लागि मेरी आमालाई एक हप्तासम्म आफूसँगै लिएर गएका थिए। त्यो कठिन नियन्त्रणमा रहँदा पनि उहाँले धैर्य गुमाउनुभएन; एक सच्चा स्वास्थ्यकर्मीको धर्म निभाउँदै बिरामीहरूको उपचार गर्नुभयो र सकुशल आफ्नो कार्यक्षेत्रमा फर्किनुभयो।
विसं. २०६४ सालमा जिल्ला अस्पताल मुगुमा कार्यरत रहँदा उहाँले काठमाडौँको परोपकार प्रसूति गृहबाट दक्ष प्रसूतिकर्मी (एसबिए) तालिम लिनुभयो र त्यो जीवनरक्षक सीप दुर्गम मुगुमा फर्काउनुभयो। पछि गाम्था जस्ता दुर्गम गाउँमा बर्थिङ सेन्टरहरू विस्तार हुँदा भौतिक संरचनाले मात्र स्थानीयको विश्वास जित्न सम्भव थिएन। बर्थिङ सेन्टर सफल हुन रातको २ बजे जटिल प्रसूति व्यथा लागेकी आमालाई सम्हाल्ने दक्ष हात चाहिन्थ्यो।
विसं. २०७१ सालमा जिल्ला स्वास्थ्य कार्यालय मुगुमा छैटौँ तहको सिअनमी अधिकृतका रूपमा कार्यरत रहँदा उहाँले स्वास्थ्य मन्त्रालयबाटै कार्यालय समयबाहेक स्थानीय साझेदार संस्था हिरेन्डेकसँग मिलेर काम गर्ने औपचारिक स्वीकृति लिनुभयो।
अँध्यारो रातमा, अक्सर डाक्टरको अनुपस्थितिमै उहाँले डराएका आमाहरूलाई सुरक्षित प्रसूति गराउनुभयो र घरमै सुत्केरी हुने परम्परा रहेको समाजलाई बर्थिङ सेन्टरप्रति विश्वस्त बनाउनुभयो।
उहाँको करुणा अस्पतालको प्रसूति कक्षमा मात्र सीमित रहेन। एकपटक अस्पतालमा सुत्केरी भइसकेपछि आमाको दुःखद निधन भयो र नवजात शिशुका बाबुले बच्चालाई अस्पतालमै छोडेर हिँडे।
मेरी आमाले त्यो अबोध शिशुलाई बेवारिसे हुन दिनुभएन। उहाँले १२ दिनसम्म अस्पतालमै आफ्नै काखमा राखेर त्यो शिशुको स्याहारसुसार गर्नुभयो, न्यानो दिनुभयो र ज्यान जोगाएर सुरक्षित भविष्यका लागि एसओएस बालग्रामको जिम्मा लगाउनुभयो।
जिम्मा लगाएर पनि उहाँको ममता कहिल्यै कम भएन। वर्षौंसम्म उहाँ त्यो बालकलाई भेट्न गइरहनुभयो, विद्यालय बिदामा आफ्नै घर ल्याएर आफ्ना सन्तानसरह माया दिनुभयो। आज पनि जैविक बाबुले स्वीकार गर्न नमानेपछि मेरी आमाले त्यो बालकलाई कानुनी पहिचान र भविष्य दिन आफ्नै नामबाट नेपाली नागरिकता दिलाउने तयारी गरिरहनुभएको छ।
अरूको जीवन बचाउने यो असीम समर्पणको मूल्य हाम्रो परिवारले चुकाउनुपर्यो। हुर्कँदै गर्दा चाडपर्वमा आमाबुबा घर आउनुभएको हामीलाई कमै मात्र याद छ। देशभर दसैँको रमाइलो चलिरहँदा स्वास्थ्य चौकी खाली नहोस् भनेर आमा र बुबा मुगुमै बस्नुहुन्थ्यो। त्यही दसैँको समयमा, कर्तव्य पालनाकै सिलसिलामा मुगुको अस्पताल क्वार्टरभित्रै मेरा बुबाको दुःखद निधन भयो।
त्यति ठूलो व्यक्तिगत शोक सहेर पनि आमाले सेवा छोड्नुभएन। उहाँको एउटै सपना थियो—मुगुमा निर्माणाधीन नयाँ अस्पताल भवन सञ्चालनमा आएको हेर्ने र ३६ वर्षभन्दा लामो गौरवपूर्ण सेवापछि सम्मानजनक बिदाइ लिने।
तर सेवाको उत्तरार्धमा उहाँले राज्यबाट गहिरो उपेक्षा र अन्याय भोग्नुपर्यो।
देश संघीय संरचनामा गएपछि सुरु भएको कर्मचारी समायोजनको प्रशासनिक अन्योलले वर्षौँ दुर्गममा खटिएका इमानदार कर्मचारीहरूलाई मर्कामा पार्यो। नयाँ फारम र प्राविधिक प्रक्रियाबारे अनभिज्ञ मेरी आमालाई—५६ वर्षको उमेरमा, मुगुमा झन्डै तीन दशक बिताइसकेपछि अचानक जुम्लाको हिमा गाउँपालिकामा सरुवा गरियो।
जीवनको त्यो मोडमा उहाँको वरिष्ठता र साढे तीन दशकको अनुभवको सम्मान हुनुपर्ने थियो। तर स्थानीय कार्यालय नेतृत्वको नजिकका एक कनिष्ठ कर्मचारीलाई काखी च्याप्दै मेरी आमालाई सिअनमी निरीक्षक (छैटौँ तह) को हैसियतले पाउनुपर्ने जिम्मेवारीबाट वञ्चित गरियो।
दुर्गमको स्वास्थ्य सेवाका लागि आफ्नो जवानी, शरीर र परिवार सुम्पिएकी एक वरिष्ठ नर्सले त्यो अपमान सहन नसकेर नयाँ अस्पताल भवन उद्घाटन हुनुअघि नै र अनिवार्य अवकाशको २ वर्ष बाँकी छँदै उहाँले २०७९ चैतमा भारी मनले राजीनामा दिनुपर्यो।
आज मुगुको मातृ स्वास्थ्य सफलताका कथा लेखिएका दातृ निकायका बुलेटिन र वृत्तचित्रहरूमा मेरी आमाको नाम कतै भेटिँदैन। न नयाँ अस्पतालको भित्तामा उहाँको नाम छ, न त ३६ वर्ष ४ महिनाका अनिँदा रातहरूको कुनै औपचारिक कदर नै भयो।
तर मुगुको स्वास्थ्य सेवाको वास्तविक इतिहास दातृ निकायका प्रतिवेदनमा होइन, खत्याड र सोरुका बाटामा खिएका मेरी आमाका पैतालाका ठेलाहरूमा लेखिएको छ; रातभर जाग्राम बसेर उहाँले बचाएका हजारौँ आमाहरूको मुस्कानमा जीवित छ र आज उहाँलाई 'आमा' भनेर बोलाउने त्यो बालकको भविष्यमा सधैँ अमर रहनेछ।