नेपालमा साझेदारी व्यवसाय गर्ने प्रवृत्ति बढ्दै गएको छ। नयाँ उद्यमी, लगानीकर्ता र व्यवसाय विस्तार गर्न चाहने व्यक्तिहरूको संख्या पनि बढिरहेको छ।
तर विडम्बना के छ भने, धेरै साझेदारी व्यवसाय सुरू त हुन्छन्, तर तीमध्ये धेरै लामो समयसम्म टिक्न सक्दैनन्। कतिपय व्यवसाय बजारको प्रतिस्पर्धाले होइन, आफ्नै साझेदारबीचको अविश्वास, आर्थिक अस्पष्टता, अधिकारको विवाद र व्यक्तिगत स्वार्थका कारण धराशायी हुन्छन्।
आखिर नेपालमा साझेदारी व्यवसाय किन सफल हुँदैनन् र तिनलाई कसरी सफल बनाउन सकिन्छ?
यो प्रश्न प्रायः आइरहन्छ।
यहाँ साझेदारी एक त लामो समय टिक्दैन। अर्को, आफन्त वा साथीभाइसँग गरिएको साझेदारीले सम्बन्ध पनि बिगार्छ।
नेपालको व्यावसायिक क्षेत्रमा एउटा रोचक प्रवृत्ति देखिन्छ। दुई वा दुईभन्दा बढी व्यक्तिहरू मिलेर व्यवसाय सुरू गर्छन्। कसैले पुँजी लगानी गर्छन्, कसैले बजारको जिम्मेवारी लिन्छन्, कसैले व्यवस्थापन गर्छन् र कसैले आफ्नो सम्बन्ध तथा अनुभव प्रयोग गर्छन्।
सुरूआतमा सबैको उत्साह उच्च हुन्छ। ठूलो व्यवसाय बनाउने, बजार विस्तार गर्ने र राम्रो नाफा कमाउने सपना देखिन्छ। तर केही समयपछि सामान्य आर्थिक कारोबारदेखि दैनिक व्यवस्थापनसम्मका विषयमा विवाद सुरू हुन थाल्छन्।
अन्ततः व्यवसायभन्दा ठूलो विषय साझेदारबीचको सम्बन्ध बन्न पुग्छ र कतिपय अवस्थामा व्यवसाय नै बन्द हुन्छ।
यो समस्या साना व्यवसायमा मात्र सीमित छैन। आयात–निर्यात, उत्पादन, निर्माण, होटल, शिक्षा, स्वास्थ्य, वितरण, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा समेत साझेदारी व्यवस्थापनका चुनौती देखिन्छन्।
यसले एउटा गम्भीर प्रश्न उठाउँछ— के नेपाली व्यवसायीहरूमा साझेदारी गर्ने क्षमता छैन, कि हामीले साझेदारी व्यवसाय सञ्चालन गर्ने सही संस्कार र प्रणाली विकास गर्न सकेका छैनौं?
वास्तवमा साझेदारी व्यवसाय असफल हुनुको कारण साझेदारीको अवधारणा गलत हुनु होइन। यसको मुख्य कारण साझेदारीलाई संस्थागत व्यवस्थापनभन्दा व्यक्तिगत सम्बन्धको आधारमा सञ्चालन गर्ने प्रवृत्ति हो।
विश्वासभन्दा व्यक्तिगत सम्बन्धलाई प्राथमिकता दिने प्रवृत्ति
नेपालमा धेरै साझेदारी व्यवसाय साथीभाइ, आफन्त, नातेदार वा चिनजानका व्यक्तिहरूबीच सुरू हुन्छन्। एकअर्कालाई लामो समयदेखि चिनेको र बुझेको आधारमा व्यवसाय सुरू गरिन्छ।
तर व्यक्तिगत सम्बन्ध र व्यावसायिक सम्बन्ध फरक विषय हुन् भन्ने कुरा धेरैले बुझ्न सक्दैनन्। व्यक्तिगत सम्बन्धमा विश्वास महत्त्वपूर्ण हुन्छ भने व्यावसायिक सम्बन्धमा विश्वाससँगै नियम, पारदर्शिता र जबाफदेहिता पनि उत्तिकै आवश्यक हुन्छ।
साथी भएकाले कसैलाई आर्थिक विवरण माग्न अप्ठ्यारो मान्ने, आफन्त भएको कारणले जिम्मेवारी पूरा नगरे पनि प्रश्न नगर्ने र पुरानो सम्बन्ध बिग्रने डरले व्यावसायिक कमजोरीलाई बेवास्ता गर्ने प्रवृत्ति देखिन्छ।
यही व्यवहार पछि ठूलो समस्याको कारण बन्न जान्छ। साझेदारीमा विश्वास आवश्यक छ, तर विश्वासको नाममा हिसाबकिताब र जिम्मेवारीबाट उन्मुक्ति दिनु हुँदैन।
व्यावसायिक सम्बन्धमा स्पष्टता हुनु भनेको अविश्वास गर्नु होइन, सम्बन्धलाई सुरक्षित बनाउनु हो।
लगानी र योगदानको मूल्यांकनमा अस्पष्टता
साझेदारी व्यवसायमा सबैभन्दा धेरै विवाद उत्पन्न हुने विषय लगानी र योगदान हो। कसैले पैसा लगानी गरेको हुन्छ, कसैले बजार व्यवस्थापन गरेको हुन्छ, कसैले समय दिएको हुन्छ र कसैले आफ्नो व्यावसायिक सम्बन्ध प्रयोग गरेको हुन्छ।
तर व्यवसाय सुरू गर्दा यी सबै योगदानको वास्तविक मूल्यांकन गरिएको हुँदैन।
उदाहरणका लागि, दुई व्यक्तिले ५०/५० प्रतिशत साझेदारीमा व्यवसाय सुरू गर्छन्। पहिलो व्यक्तिले पुँजी लगानी गर्छ भने दोस्रोले दैनिक व्यवसाय सञ्चालन गर्ने जिम्मेवारी लिन्छ। केही समयपछि पहिलो व्यक्तिले आफूले पैसा लगानी गरेको कारण बढी अधिकार खोज्न थाल्छ भने दोस्रोले आफूले दिनरात काम गरेको कारण बढी लाभ खोज्न थाल्छ।
यहीँबाट विवाद सुरू हुन्छ।
यसको समाधान व्यवसाय सुरू गर्नुअघि नै लगानी, स्वामित्व, श्रम, व्यवस्थापन र अन्य योगदानको स्पष्ट मूल्यांकन गर्नु हो। समान साझेदारीको अर्थ सबैले समान रकम लगानी गर्नु होइन। तर जसले जस्तो योगदान गर्छ, त्यसको मूल्य र जिम्मेवारी स्पष्ट हुनुपर्छ।
जिम्मेवारीभन्दा स्वामित्वमा बढी रूचि
नेपालमा साझेदारी व्यवसायको अर्को कमजोरी के हो भने धेरै साझेदार आफूलाई मालिकका रूपमा हेर्छन्, तर जिम्मेवार व्यवस्थापकका रूपमा प्रस्तुत हुन चाहँदैनन्। सबैलाई कम्पनीको निर्णयमा सहभागी हुन मन पर्छ, तर दैनिक कामको जिम्मेवारी लिन सबै तयार हुँदैनन्।
बिक्री कसले गर्ने, खरिद कसले गर्ने, आर्थिक व्यवस्थापन कसले गर्ने र कर्मचारीको अनुगमन कसले गर्ने भन्ने कुरा स्पष्ट हुँदैन।
यसले गर्दा एउटै काममा धेरै व्यक्तिको हस्तक्षेप हुन्छ भने कतिपय महत्त्वपूर्ण काम कसैले गर्दैन।
साझेदारी व्यवसायमा स्वामित्व र व्यवस्थापन फरक विषय हुन्। प्रत्येक साझेदारले कम्पनीको स्वामित्वमा हिस्सा राख्न सक्छ, तर दैनिक व्यवस्थापनका लागि स्पष्ट जिम्मेवारी र अधिकार तोकिनुपर्छ।
कसैले वित्तीय व्यवस्थापन, कसैले बजार विस्तार, कसैले उत्पादन र कसैले प्रशासनिक नेतृत्व गर्न सक्छ। तर प्रत्येक जिम्मेवारीसँग मापन गर्न सकिने लक्ष्य र जवाफदेहिता जोडिनुपर्छ।
वित्तीय पारदर्शिताको अभाव
साझेदारी व्यवसाय असफल हुनुको सबैभन्दा संवेदनशील कारण आर्थिक पारदर्शिताको अभाव हो। कम्पनीको पैसा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने, व्यक्तिगत कारोबार र कम्पनीको कारोबार मिसाउने, नगद कारोबारको अभिलेख नराख्ने, वास्तविक बिक्री लुकाउने र खर्चको प्रमाण नराख्ने जस्ता कमजोरीले साझेदारबीच शंका उत्पन्न गर्छन्।
कतिपय अवस्थामा व्यवसाय नाफामा भए पनि साझेदारलाई वास्तविक नाफा कति भयो भन्ने जानकारी हुँदैन। कसैले धेरै रकम निकालेको हुन्छ, कसैले व्यक्तिगत खर्च कम्पनीमा देखाएको हुन्छ र कसैले कम्पनीको रकम आफ्नै अन्य व्यवसायमा प्रयोग गरेको हुन्छ।
यसको समाधान संस्थागत वित्तीय प्रणाली निर्माण गर्नु हो। प्रत्येक कम्पनीको छुट्टै बैंक खाता, व्यवस्थित लेखा प्रणाली, नियमित आर्थिक प्रतिवेदन र आवश्यकताअनुसार स्वतन्त्र लेखापरीक्षण हुनुपर्छ।
प्रत्येक साझेदारले मासिक रूपमा बिक्री, खरिद, खर्च, ऋण, मौज्दात र नगद प्रवाहको विवरण प्राप्त गर्नुपर्छ। कम्पनीको पैसा कुनै एक साझेदारको व्यक्तिगत सम्पत्ति होइन भन्ने मान्यता सबैले आत्मसात् गर्नुपर्छ।
निर्णय प्रक्रियामा अहंकार र हस्तक्षेप
साझेदारी व्यवसायमा फरक विचार हुनु स्वाभाविक हो। तर नेपालमा कतिपय व्यवसायमा निर्णय प्रक्रियालाई व्यावसायिक विषयभन्दा व्यक्तिगत प्रतिष्ठाको विषय बनाउने प्रवृत्ति देखिन्छ। कसले भनेको कुरा लागू हुने, कसको निर्णय अन्तिम हुने र कसको प्रभाव बढी हुने भन्ने प्रतिस्पर्धा सुरू हुन्छ।
कहिलेकाहीँ कम्पनीको हितमा भएको निर्णय पनि व्यक्तिगत अहंकारका कारण रोकिएको हुन्छ। यसका लागि निर्णय प्रक्रियाको स्पष्ट संरचना आवश्यक छ। दैनिक कारोबारसम्बन्धी निर्णय सम्बन्धित विभागका जिम्मेवार व्यक्तिले गर्न पाउनुपर्छ।
ठूला लगानी, ऋण, नयाँ शाखा र व्यवसाय विस्तार सम्बन्धी निर्णय साझेदारहरूको बैठकबाट हुनुपर्छ। कम्पनीको स्वामित्व परिवर्तन, मर्जर वा विघटनजस्ता रणनीतिक विषयमा कानुन र कम्पनीको नियमावलीअनुसार विशेष स्वीकृति आवश्यक हुनुपर्छ।
हरेक निर्णय सबैले गर्न खोज्नु व्यवस्थापन होइन। सही व्यक्तिलाई सही अधिकार दिनु नै प्रभावकारी व्यवस्थापन हो।
तत्काल नाफा खोज्ने सोच र दीर्घकालीन दृष्टिकोणको कमी
नेपालमा धेरै व्यवसायीको प्राथमिकता छोटो समयमा नाफा कमाउने हुन्छ। कम्पनी स्थापना भएको केही समयमै नाफा वितरणको दबाब सुरू हुन्छ। तर व्यवसायको प्रारम्भिक अवस्थामा बजार निर्माण, ब्रान्ड विकास, जनशक्ति व्यवस्थापन, प्रविधि र वितरण सञ्जालमा लगानी गर्नुपर्ने हुन्छ।
यदि प्रत्येक वर्ष प्राप्त हुने नाफा सबै साझेदारले व्यक्तिगत रूपमा वितरण गर्ने हो भने कम्पनीको विकासका लागि आवश्यक पुँजी अभाव हुन सक्छ। साझेदारी व्यवसायमा नाफा कमाउनु मात्र सफलता होइन।
कम्पनीको मूल्य, बजार हिस्सा, ब्रान्ड र संस्थागत क्षमता बढाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यसैले नाफाको निश्चित हिस्सा व्यवसायमा पुनः लगानी गर्ने, आपत्कालीन कोष बनाउने र दीर्घकालीन विस्तारको योजना बनाउने संस्कार विकास गर्नुपर्छ।
स्वार्थको द्वन्द्व र समानान्तर व्यवसाय
नेपालमा कतिपय साझेदार एउटै कम्पनीमा जोडिएर पनि व्यक्तिगत रूपमा समान प्रकृतिको व्यवसाय सञ्चालन गरिरहेका हुन्छन्। कम्पनीको ग्राहक, आपूर्तिकर्ता, बजार सूचना र व्यावसायिक अवसर व्यक्तिगत व्यवसायमा प्रयोग गर्ने प्रवृत्तिले साझेदारी कमजोर बनाउँछ।
एउटै क्षेत्रमा प्रतिस्पर्धी व्यवसाय सञ्चालन गर्ने, कम्पनीको सामान वा सेवा आफ्नै अर्को कम्पनीमार्फत कारोबार गर्ने र कम्पनीको अवसर व्यक्तिगत लाभका लागि प्रयोग गर्ने विषयमा स्पष्ट नीति हुनुपर्छ।
साझेदारले अन्य व्यवसाय गर्न पाउने वा नपाउने विषय कानुनी व्यवस्था र सम्झौताले निर्धारण गर्न सक्छ। तर कम्पनीसँग प्रत्यक्ष स्वार्थको द्वन्द्व हुने गतिविधि पारदर्शी रूपमा खुलासा र व्यवस्थापन गर्नुपर्छ।
विवाद समाधानको पूर्वतयारी नहुनु
व्यवसाय सुरू गर्दा सबै साझेदारको सम्बन्ध राम्रो हुन्छ। त्यसैले कसैले पनि साझेदारी टुट्ने सम्भावनाबारे छलफल गर्न चाहँदैन।
तर व्यवसायमा कुनै साझेदार बाहिरिन चाह्यो भने के गर्ने? उसको सेयर वा हिस्सा कसरी मूल्यांकन गर्ने? नयाँ साझेदार ल्याउन सकिन्छ कि सकिँदैन? मृत्यु वा असक्षमताको अवस्थामा कम्पनी कसरी चलाउने?
यस्ता प्रश्नको उत्तर पहिल्यै तयार हुँदैन।
फलस्वरूप सामान्य विवादसमेत ठूलो कानुनी झमेलामा परिणत हुन्छ। साझेदारी सम्झौतामा प्रवेश, बहिर्गमन, स्वामित्व हस्तान्तरण, विवाद समाधान, मध्यस्थता र कम्पनी विघटनका स्पष्ट प्रावधान हुनुपर्छ। साझेदारीको सफलताको एउटा महत्त्वपूर्ण मापदण्ड भनेको साझेदारहरू सँगै रहँदा मात्र होइन, छुट्टिने अवस्था आए पनि कम्पनी र सम्बन्धलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न सक्नु हो।
संस्थागत व्यवस्थापनभन्दा व्यक्तिकेन्द्रित व्यवसाय
नेपालमा धेरै व्यवसाय एउटा व्यक्तिको सम्बन्ध, निर्णय र सक्रियतामा निर्भर हुन्छन्। त्यो व्यक्ति उपस्थित हुँदा व्यवसाय राम्रोसँग चल्छ, तर ऊ अनुपस्थित हुँदा निर्णय प्रक्रिया नै रोकिन्छ। साझेदारी व्यवसायमा यस्तो अवस्था झन् जटिल हुन्छ।
एक जना साझेदारले सबै जानकारी आफूसँग राख्ने र अन्य साझेदारलाई आवश्यक सूचनासमेत नदिने अवस्था सिर्जना हुन सक्छ। व्यवसाय व्यक्तिमा होइन, प्रणालीमा आधारित हुनुपर्छ।
कम्पनीको लिखित कार्यप्रणाली, कर्मचारीको स्पष्ट जिम्मेवारी, व्यवस्थित अभिलेख, आन्तरिक नियन्त्रण, डिजिटल लेखा प्रणाली र उत्तराधिकारी नेतृत्वको विकास गर्नुपर्छ। कुनै एक साझेदारको अनुपस्थितिले कम्पनीको काम रोकिनु हुँदैन।
साझेदारी व्यवसाय कसरी सफल बनाउन सकिन्छ?
नेपालमा साझेदारी व्यवसाय सफल बनाउन समस्या पहिचान गर्नु मात्र पर्याप्त हुँदैन। त्यसका लागि व्यावहारिक सुधार र संस्थागत संस्कार विकास गर्न आवश्यक छ।
व्यवसाय सुरू गर्नुअघि साझेदार छनोटमा विशेष ध्यान दिने
साझेदार छनोट गर्दा ऊ आफन्त वा साथी हो कि होइन भन्नेभन्दा पनि उसको इमानदारी, व्यावसायिक अनुभव, आर्थिक क्षमता, निर्णय क्षमता, जिम्मेवारीबोध र दीर्घकालीन सोचलाई प्राथमिकता दिनुपर्छ।
सबैभन्दा ठूलो पुँजी भएको व्यक्ति नै सबैभन्दा राम्रो साझेदार हुन्छ भन्ने छैन। आफ्नो जिम्मेवारी पूरा गर्ने, पारदर्शी रहने र कम्पनीको हितलाई प्राथमिकता दिने व्यक्ति राम्रो साझेदार हुन सक्छ।
लिखित साझेदारी सम्झौता अनिवार्य गर्ने
व्यवसाय सुरू गर्नुअघि कानुनी रूपमा उपयुक्त सम्झौता तयार गर्नुपर्छ। त्यसमा लगानी, स्वामित्व, जिम्मेवारी, अधिकार, नाफा, घाटा, थप पूँजी, निर्णय प्रक्रिया, विवाद समाधान र बहिर्गमन नीतिसमेत समावेश हुनुपर्छ। सम्झौता अविश्वासको दस्तावेज होइन, भविष्यका सम्भावित विवाद रोक्ने सुरक्षा प्रणाली हो।
स्वामित्व र व्यवस्थापन अलग राख्ने
कम्पनीमा सेयर वा स्वामित्व भएका सबै व्यक्तिले दैनिक व्यवस्थापन गर्नैपर्छ भन्ने छैन। कम्पनीलाई आवश्यकताअनुसार व्यावसायिक व्यवस्थापक नियुक्त गर्न सकिन्छ। साझेदारहरूले सञ्चालक वा लगानीकर्ताको भूमिकामा रहेर रणनीतिक निर्णय र अनुगमन गर्न सक्छन्।
यसले व्यक्तिगत हस्तक्षेप घटाउँछ र व्यवस्थापनलाई व्यावसायिक बनाउँछ।
प्रत्येक साझेदारको स्पष्ट कार्यसम्पादन लक्ष्य निर्धारण गर्ने
साझेदारले पद प्राप्त गर्नु मात्र पर्याप्त हुँदैन। उसले आफ्नो जिम्मेवारीअनुसार नतिजा पनि दिनुपर्छ।
उदाहरणका लागि बिक्री प्रमुखलाई निश्चित बिक्री लक्ष्य, वित्तीय प्रमुखलाई आर्थिक अनुशासन र सञ्चालन प्रमुखलाई उत्पादन तथा सेवा दक्षताको जिम्मेवारी दिन सकिन्छ। प्रत्येक तीन वा छ महिनामा कार्यसम्पादन समीक्षा गर्नुपर्छ।
वित्तीय प्रणालीलाई पूर्ण रूपमा पारदर्शी बनाउने
कम्पनीको सबै आर्थिक कारोबार आधिकारिक बैंकिङ तथा लेखा प्रणालीबाट हुनुपर्छ। साझेदारहरूलाई नियमित वित्तीय विवरण उपलब्ध गराउनुपर्छ।
ठूलो कारोबारमा दोहोरो स्वीकृति र आवश्यक आन्तरिक नियन्त्रण व्यवस्था लागू गर्नुपर्छ। आर्थिक पारदर्शिताले शंका घटाउँछ र व्यावसायिक निर्णयलाई तथ्यमा आधारित बनाउँछ।
नियमित साझेदार बैठक सञ्चालन गर्ने
साझेदारहरूबीच महिनामा कम्तीमा एक पटक औपचारिक बैठक हुनुपर्छ। बैठकमा बिक्री, खरिद, खर्च, नाफा, ऋण, कर्मचारी, बजार र आगामी योजनाको समीक्षा हुनुपर्छ।
बैठकमा भएका निर्णय लिखित रूपमा राख्नुपर्छ र कार्यान्वयनको जिम्मेवारी तोक्नुपर्छ।
नाफा वितरणभन्दा कम्पनीको विकासलाई प्राथमिकता दिने
व्यवसायको प्रारम्भिक र विस्तारको चरणमा नाफाको निश्चित हिस्सा पुनः लगानी गर्नुपर्छ। बजार विस्तार, प्रविधि, जनशक्ति, ब्रान्ड र नयाँ उत्पादनमा लगानी गर्नुपर्छ।
साझेदारहरूले व्यक्तिगत आम्दानी र कम्पनीको दीर्घकालीन विकासबीच सन्तुलन कायम गर्नुपर्छ।
विवाद समाधानको संस्थागत प्रणाली बनाउने
साझेदारबीच मतभेद भएमा प्रत्यक्ष छलफल, औपचारिक बैठक र आवश्यकताअनुसार निष्पक्ष मध्यस्थताको व्यवस्था हुनुपर्छ।
व्यक्तिगत सम्बन्धलाई विवादको हतियार बनाउनु हुँदैन। प्रत्येक विवादमा प्रमाण, सम्झौता र कम्पनीको हितलाई आधार बनाउनुपर्छ।
प्रविधि र व्यावसायिक लेखा प्रणाली अपनाउने
आजको व्यवसायमा डिजिटल लेखा, स्टक व्यवस्थापन, बिक्री विवरण, ग्राहक व्यवस्थापन र अनलाइन रिपोर्टिङ अत्यन्त उपयोगी छन्। साझेदारहरूलाई आवश्यक वित्तीय तथा व्यावसायिक सूचना एउटै प्रणालीबाट उपलब्ध गराउन सकिन्छ।
यसले सूचना लुकाउने सम्भावना घटाउनुका साथै निर्णय प्रक्रियालाई छिटो बनाउँछ।
सम्मानजनक बहिर्गमन र उत्तराधिकार नीति बनाउने
साझेदारले व्यवसाय छोड्न चाहेको अवस्थामा उसको लगानी र स्वामित्वको मूल्यांकन कसरी गर्ने भन्ने विषय पहिले नै निर्धारण हुनुपर्छ।
त्यस्तै, नयाँ साझेदार भित्र्याउने मापदण्ड र उत्तराधिकारी नेतृत्वको विकास पनि आवश्यक छ। साझेदारी कुनै एक व्यक्तिको जीवनकालमा मात्र सीमित हुनु हुँदैन।
नेपालमा साझेदारी व्यवसाय प्रवर्द्धन गर्न राज्यको भूमिका आवश्यक
साझेदारी व्यवसाय सफल बनाउन व्यवसायीको जिम्मेवारी प्रमुख भए पनि राज्यको नीतिगत भूमिका पनि महत्त्वपूर्ण छ। नेपालमा साना तथा मझौला उद्यमहरूलाई पुँजी, प्रविधि, बजार र व्यवस्थापनसम्बन्धी ज्ञानको आवश्यकता छ।
दुई वा बढी व्यवसायीले संयुक्त लगानी गरेर उद्योग स्थापना गर्न चाहेमा उनीहरूलाई सहज वित्तीय पहुँच, व्यवसाय दर्ता, कर प्रशासन र कानुनी प्रक्रियामा सहजीकरण गर्नुपर्छ।
सरकार तथा निजी क्षेत्रले संयुक्त रूपमा निम्न काम गर्न सक्छन्:
- संयुक्त लगानीमा आधारित साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने।
- उद्यमीका लागि साझेदारी व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने।
- व्यावसायिक मध्यस्थता तथा वैकल्पिक विवाद समाधान प्रणालीलाई प्रभावकारी बनाउने।
- बैंक तथा वित्तीय संस्थाबाट पारदर्शी संयुक्त लगानी परियोजनालाई वित्तीय पहुँच सहज बनाउने।
- व्यावसायिक लेखा, कर र कानुनी परामर्शमा सहुलियतपूर्ण पहुँच उपलब्ध गराउने।
- युवा उद्यमी र अनुभवी व्यवसायीबीच सहकार्यका अवसर विकास गर्ने।
- उद्योग वाणिज्य संघ तथा व्यावसायिक संस्थामार्फत साझेदारी सफलताका अभ्यास आदानप्रदान गर्ने।
नेपालमा ठूलो उद्योग निर्माण गर्न सधैँ एउटै व्यक्तिले ठूलो पूँजी जुटाउनुपर्छ भन्ने छैन। विभिन्न व्यक्तिको पुँजी, सीप, प्रविधि र बजार पहुँचलाई एकीकृत गर्न सकेमा धेरै नयाँ उद्योग स्थापना गर्न सकिन्छ।
विशेषगरी उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, पर्यटन, निर्माण सामग्री, सूचना प्रविधि, आयात प्रतिस्थापन र निर्यातमूलक क्षेत्रमा संयुक्त लगानीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
साझेदारीलाई सम्बन्धबाट संस्थागत प्रणालीमा रूपान्तरण गरौं
नेपालमा साझेदारी व्यवसाय सफल नहुनुको मुख्य कारण पूँजीको अभाव मात्र होइन। विश्वासको कमजोरी, वित्तीय अपारदर्शिता, जिम्मेवारीको अस्पष्टता, व्यक्तिगत स्वार्थ, कमजोर निर्णय प्रक्रिया र दीर्घकालीन सोचको अभाव यसका प्रमुख चुनौती हुन्।
हामीले साझेदारीलाई साथीभाइ मिलेर पैसा लगानी गर्ने माध्यमका रूपमा मात्र बुझ्नु हुँदैन। यो फरक क्षमता, पुँजी, अनुभव र सोच भएका व्यक्तिहरूलाई एउटै व्यावसायिक उद्देश्यमा जोड्ने संस्थागत प्रणाली हो।
नेपाली व्यवसायीहरूले तीन वटा सोचमा परिवर्तन ल्याउन आवश्यक छ।
पहिलो, साथी वा आफन्त भएकै आधारमा साझेदारी होइन, क्षमता, इमानदारी र जिम्मेवारीको आधारमा साझेदार छनोट गर्ने।
दोस्रो, मौखिक समझदारी र व्यक्तिगत विश्वासमा मात्र होइन, लिखित सम्झौता, पारदर्शी लेखा र संस्थागत व्यवस्थापनमा आधारित व्यवसाय सञ्चालन गर्ने।
तेस्रो, व्यक्तिगत नाफा र पदको प्रतिस्पर्धाभन्दा कम्पनीको दीर्घकालीन मूल्य, बजार विस्तार र सामूहिक सफलतालाई प्राथमिकता दिने।
हाम्रो व्यावसायिक संस्कारमा एउटा परिवर्तन आवश्यक छ— साझेदार भनेको आफ्नो हिस्साको नाफा खोज्ने व्यक्ति मात्र होइन, कम्पनीको भविष्य निर्माण गर्ने सहयात्री पनि हो।
नेपालमा पुँजीको अभावभन्दा पनि उपलब्ध पुँजी एकीकृत गर्ने, व्यावसायिक क्षमता जोड्ने र दीर्घकालीन संस्थाहरू निर्माण गर्ने संस्कारको विकास बढी आवश्यक छ।
हामीले साझेदारीलाई विश्वास, पारदर्शिता, जवाफदेहिता र साझा उद्देश्यको आधारमा सञ्चालन गर्न सक्यौं भने यसले केही कम्पनीको सफलता मात्र होइन, नेपालको समग्र औद्योगिक तथा आर्थिक विकासमा समेत योगदान पुर्याउन सक्छ।
सफल साझेदारीको सूत्र सरल छ— विश्वासले सम्बन्ध जोड्छ, सम्झौताले अधिकार सुरक्षित गर्छ, जिम्मेवारीले व्यवसाय चलाउँछ, पारदर्शिताले सम्बन्ध टिकाउँछ र साझा दृष्टिकोणले कम्पनीलाई भविष्यतर्फ अघि बढाउँछ।