आँगन, बारीका डिल र कान्लाभरि मखमली, सयपत्री र गोदावरी झपक्क फूलेका थिए। गैरी खेत, धने बिरौटो, डाँडा खेतमा धानका बाला लहलह झुलेका थिए।
बारीको माथिल्लो गरामा लरक्क लर्किएका कोदाका बालाहरूले खेतको तल्लो गरामा झुलेका धानका बालालाई जिस्क्याइरहे झैँ लाग्थे।
कतै मास, मस्याम, बोडी, फिलुङ्गे त कतै बेलिचन्डाका फूलहरू फुलेर बारीलाई आफ्नै रङ र सुगन्धले मनमोहक पारेका थिए। मानौं प्रकृतिले धर्तीको क्यानभासमा शारदीय सौन्दर्यको अनुपम चित्र कोरेको थियो।
वारिपारिका डाँडाकाँडा र नीलो आकाश छ्याङ्ग खुलेका थिए। चराहरूको चिरबिर, मन्द बतास र शरद् ऋतुको मीठो स्पर्शले मनलाई प्रकृतिसँगै समाहित हुने निम्तो दिइरहेका थिए। तर खै, बाहिरको आकाश जति स्वच्छ र उज्यालो थियो, मेरो मनको आकाश भने त्यति नै धुमिल र उदास थियो।
अतीतका स्मृतिहरू आकाशमा मडारिएका बादलझैँ मनको क्षितिजभरि फिजारिइरहेका थिए। जिन्दगीको त्यो मोडदेखि यो घडीसम्म आइपुग्दा भोगेका तीतामीठा अनुभूतिहरू चलचित्रको रिलझैँ मस्तिष्कमा घुमिरहेका थिए।
न आफ्ना दौँतरी, न पहिला झैं मेलापातको रौनक, न पधेर्नी गफ , न चौतारोमा बटुवा।
जताततै सुनसान आफ्नै जन्मभूमि पनि बिरानो र निरश लागिरहेको थियो। अझ गाउँघरमा छाएको डोजरे विकासेले त भूगोल नै अर्कै भएको जस्तो लाग्थ्यो। जीवन भोगाइको केही दशकमै हरेक कुरामा आएको आमूल परिवर्तन देखेर चित खाएकी थिएँ।
आफ्ना दौतरी, अग्रज, अनुज सबैमा अनुमान लगाई नसक्नु परिवर्तन देखिन्थ्यो। आफूले छोड्दा टुकुटुकु हिँड्ने भाइबहिनी छोराछोरी डोर्याएर हिँड्ने भएका थिए। साथी संगीलाई बुढ्यौलीको पोयोले छोएको थियो। अधिकांश बुढापाकाहरू ओछ्यान परेका थिए भने कतिपय स्वर्गवासी भैसकेका थिए।
हिजो मात्र शेर बहादुर काकाको घर गएकी थिएँ। काका हरिसिद्धेबाट आउँदै हुँनुहुदो रहेछ। कुनै बेलाको शेर जस्तो मान्छे हिँड्डुल गर्न लठ्ठीको सहारा चाहिन थालेछ।
जीर्ण काया, थरथर काँपेका हात, शरीरबाट निख्रिँदै गएको शिकार, झोलिएको छाला र तिखा हड्डी टिठलाग्दो देखिनु भएको थियो।
काकालाई त्यो हालतमा देख्दा अनायासै सुदूर अतीतका स्मृतिहरूमा हराउन पुगेँ।
उहाँ साइनोले काका, माध्यमिक विद्यालयको प्रधानाध्यापक, मेरो गुरू समेत हुनुहुन्थ्यो।
फलामे ढोका मानिने प्रवेशिका परीक्षा चलिरहेको थियो। म लगायत उहाँको छोरा दिल बहादुर, मैया, बिमला लहरै थियौं।
काका आएर उनीहरूलाई चिट दिएर नआत्तिई परीक्षा लेख्न सुझाएर जानुहुन्थ्यो। म पनि आशालु आँखाले काकालाई हेर्थें तर मलाई देखेको नदेख्यै गर्नुहुन्थ्यो।
हुन त उनीहरूको आर्थिक हैसियत मेरो भन्दा उपल्लो थियो। कोही शिक्षकका छोराछोरी थिए, कोही सम्पन्न बाबुआमाका सन्तान।
अरू कुरामा त काकाले मलाई माया नै गर्नुहुन्थ्यो।
मेरो अनुपस्थितिमा पनि मेरो गुणगान नै गाउँनुहुन्छ भन्थे सुन्नेले। सिक्ने सिकाउने मामिलामा भने म सधैं उपेक्षित महसुस गर्थें।
म जान्ने बुझ्ने भएको या आफ्ना सन्तानलाई उछिनेको सायद मन पर्दैनथ्यो होला। अथवा अरू दक्ष भए आफ्नो वजन घट्छ भन्ने लागेको हुँदो हो। त्यसैले म एसएलसी अनुत्तीर्ण भएकैमा खुसी हुनु हुँदो हो उहाँ।
बलेको आगो ताप्ने समाजमा पाखुरीमा बल र समाजमा इज्जत रहुन्जेल निर्धाको हात थाम्न को अघि सर्छ र! सबैले आ–आफ्नो ब्रह्मले अह्राएको कर्म गर्ने त हुन् नि। सबल मस्तिष्क र बलिया पाखुरी हुँदासम्म दश नङ्ग्रा खियाइएला जिन्दगीले किनारा भेट्ला नि भन्दै मनलाई सम्झाउँथें।
काका गाउँभरिको टाठोबाठो मान्छे कसैका साँध सिमाना, धारोकुलो उपभोगको विषयमा विवाद सुल्झाउन होस् या विवाह, भोज, मर्दापर्दा उहाँको उपस्थिति र मध्यस्थता अनिवार्य हुन्थ्यो।
कतिले त पक्षपाती छ, स्तर हेरी व्यवहार गर्छ समेत भन्थे तर कुनै आशाले हो या त्रासले मानिसहरू मुखिन्जेल उहाँको भजन नै गाउँथे। मलाई पनि उहाँको म प्रतिको व्यवहार माया नभएर दया लाग्न थालेको थियो। त्यसैले उहाँलाई इग्नोर हान्दिन थालेकी थिएँ।
समय दौडिरह्यो। म पनि सुखी जीवनको इन्द्रेणी सपना संगालेर कर्ममा तल्लीन रहेँ।
भाग्यले साथ र कर्मले हात थामिदिए। नेपाल सरकारको परराष्ट्र सेवामा नाम निकाल्न सफल भएँ।
जागिरको सिलसिला र उमेरसँगै अध्ययन, अनुभव, संगत र ज्ञानको क्षितिज फराकिलो हुँदै गयो। समयको बसिलाले ताछ्दै लग्यो म खारिँदै गएँ।
काका प्रतिको मेरो दृष्टिकोण पनि बदलिँदै गयो।
हैसियत अनुसार थोरबहुत आग्रह पूर्वाग्रह राखे पनि विद्यालय, गाउँ, समाजको सेवामा काकाले पुर्याउनुभएको योगदान बुझ्दै गएपछि उहाँप्रति सकारात्मक धारणा बुनिँदै गयो।
यद्यपि म काकालाई भेट्दा अनायसै नोस्टाल्जिक भएँ।
माइली छोरी होइन? भन्दा पो झसङ्ग भएँ।
'हजुर काका!' भन्दै ढोग गरें। लामो समयको अन्तरालमा भेट्न पाएकोमा खुसी झुसी भएर आँखामा अटाउन हम्मेहम्मे भयो।
'गाथमा आराम छ नि काका?'
'कसरी बित्दैछन् दिनहरू ?' मैले सोधें।
'काल पर्खिदैछु नानी ! के आराम भन्नू उठ्दै ऐँया बस्दै ऐँया।' मैले अनुहार जुधाएर हेरें कचेरा भरिएका रसिला आँखा, टिठलाग्दो अनुहार।
गोजीबाट नेप्किन झिकेर कचेरा पुछिदिएँ।
यसबेलासम्म बुहारीले मरिच हालेको कालो चिया ल्याइदिइसकेकी थिइन्। हामी चियाको चुस्की सँगै गफिन थाल्यौं।
'अवकाशपछि पो पहिलोपटक आफू वरिपरिको संसार देखिँदोरहेछ छोरी! स्वार्थ पूर्ति हुने सम्भावना देखेर झुम्मिनेहरू विस्तारै पातलिँदै जाँदारहेछन्। हिजो धनुस्टंकार गर्नेहरू आज देख्नुपर्ला भनेर तर्किदारहेछन्। बल्ल स्वार्थी संसारको चाला बुझ्दैछु।'
एकछिन घोरिनु भयो र मलाई हेर्दै भन्नुभयो, 'बालख र युवावस्था अभाव र गरिबीमै बिते पनि जीवन सार्थक र सफल बनाइस् नानी। राम्रो जागिर पास गरिस्। सहर बजारमा घर जग्गा जोडिस् भन्ने सुन्छु। जति नै सम्पत्ति केही होइन भने पनि सुको नभै माखो मर्दोरहेनछ। बेलामा बुद्धि नपुर्याउनाले उपदानमा बसें, भनेको बेला सिटामोल खाने खर्च हुँदैन। बुढ्यौलीसँगै नानाथरी रोगले गुँड लगाउन थाले। दिलेलाई हुर्काएँ, बढाएँ, पढाएँ लफङ्गो निस्कियो। उसकै परिवार पाल्न धौधौ छ।'
फेरि मौन रहनुभयो र भावुक हुँदै भन्नुभयो; 'उमेरमा के भनियो, के- के गरियो हेक्का पनि रहँदो रहेनछ। गरी बिराएको र भनी बिझाएको भए माफ गरिदे है' भन्नुभयो।
'केको माफी काका? हजुरले बाटो देखाइदिनुभयो र त हिँड्न सजिलो भयो' भनें।
उहाँले यसो भनिरहँदा मनमनै सोचें, 'दिनेको स्मृतिमा अरूलाई दिएको चोट सधैँ रहिरहँदैन, तर चोट पाउने मानिसको मनमा त्यो वर्षौँसम्म बाँचिरहन सक्छ। त्यसैले भनिएको होला अचानोको चोट खुकुरीलाई के थाहा भनेर।'
अनि लाग्यो जवानीमा मानिस पद, प्रतिष्ठा, पैसा थुपार्ने लालसाले महमा माखो लुट्पुटिए झैं हुन्छन्। जीवनको उत्तरार्धमा जवानीका कोलाहल शान्त हुँदै जाँदा विगतका आफ्ना कर्महरूले मस्तिष्कको ढोका ढकढक्याउँदै लैजाँदा रहेछन्।
शरीरबाट ऊर्जाको ह्रास र जागिरबाट अवकाश भएपछि मान्छे वास्तवमै गल्छ भन्ने कुराको ज्वलन्त उदाहरण काका स्वयं सामुन्ने हुनुहुन्थ्यो।
सम्झिएँ, आफू जलेर अरूको बाटो उज्यालो पार्ने मैनबत्तीलाई। आफूले अक्षर चिनाएका, ज्ञानको ज्योति बाँडेका विद्यार्थीहरू डाक्टर, इन्जिनियर, प्रशासक, वकिल, न्यायाधीश त कोही मन्त्री र सचिवसम्म पुगे। तिनै विद्यार्थीहरूलाई सफलताको शिखरसम्म पुर्याउने, दुनियाँलाई दृष्टि दिने पवित्र पेशा अँगालेको एउटा शिक्षकको यस्तो दयनीय अवस्था देख्दा मन भक्कानियो। लाग्यो, अरूको भविष्य कोर्ने हातका आफ्नै वर्तमानका रेखाहरू कति निरीह हुँदा रहेछन्! अनायासै आँखाको डिलमा थामिएका आँसुका बाँध फुट्न खोजे।
गहभरी आँसु रोक्दै केही रकम गोजीमा हालिदिएँ। लिन मान्नुभएको थिएन। मेरो काकाप्रतिको माया, श्रद्धा र गुरू दक्षिणा सम्झिनुस् भनेपछि नकार्न सक्नुभएन।
भ्याएसम्म गाउँ घुमेर सबै मान्यजनलाई भेट्नुछ भनेर त्यहाँबाट बिदा भएँ।
मन मस्तिष्कमा शेर बहादुर काकासँगको बिगत नै बल्झिरह्यो।
मान्छेले आगतभन्दा विगत धेरै भोगेपछि आफ्ना क्रियाकलापको पुनरावलोकन गर्दारहेछन्, यही नै ठूलो कुरा लाग्यो। आखिर मनै त हो कहाँ एकनास हुन्छ र!
समयले मानिसलाई बुढो बनाउँछ भन्ने त सबैलाई थाहा छ, तर समयले उसको सोच बदल्छ बदल्दैन भन्ने सवाल महत्त्वपूर्ण हो भन्छन्।
काकासँगको भेटले मेरा बालापनका अनगिन्ती पलहरू ताजा भएर आए।
एकपटक मैले कखरा सिकेको स्कुल पुग्न मन लाग्यो।
उत्तरे धारो हुँदै पँधेराटारतिर लागेँ। तिरतिरे नराखेर किन उत्तरे नाम राखे होलान् जस्तो पहिल्यैदेखि लाग्थ्यो। अहिले त झन् पानीको बहाव सानो भएछ। शिक्षा दिवस, बाल दिवस, प्रजातान्त्र दिवस जस्ता पढाइ नहुने दिनमा गाईबाख्रा हेर्नुपर्थ्यो। बाआमा काममा गएपछि बाख्राको टाट्नोमा एक बिटो सिमाली हालिदिएर उत्तरे धारोमा गाग्री थाप्यो, भरिन घन्टै लाग्ने।
अनि भागेर स्कुल गएको, अतिरिक्त क्रियाकलापमा प्रथम भएर पुरस्कार सहित गाग्री बोकेर आएको याद आयो।
बेलुका घरमा दिनभरिका वृत्तान्त सुनाउँदा कम्ता गर्व हुन्नथ्यो। स्कुल जाने समयसम्म दिन नसकेको पश्चातापले आमाका आँखा रसाउँथे।
पँधेरा टार भनिए पनि भिरालो ठाडो उकालो थियो उबेला।
सिरानमा स्वास्थ्य चौकी, अलि मुन्तिर एकजोडी वरपिपलका बोट।
स्कुल छुट्टी हुनासाथ दगुर्दै आएर काँचैकचिलै वर खाएको। अंगेरी खाँदा कसको जिब्रो कालो? भन्दै होडबाजी गरेको, काँडाको पर्वाह नगरी ऐँसेलु टिपेको, भालुबाँसको पट्यास ओछ्याएर सिलिली खेलेको। लिङ्गे पिङ्ग र चर्खे पिङ्ग खेलेको सम्झना ताजा भयो।
भिरालो प्यारो पँधेरा टार खाँदबारी बाह्रबिषे जाने बाटो माझैबाट खनिएकाले समथर जस्तै भएको थियो।
एकछिन उभिएँ। कट्टेल डाँडा, देउराली, धुपुसेरा, बाह्रबिषे, स्वाची, गोरुजुरे हुँदै सभापोखरीसम्मै मन र मस्तिष्कको यात्रामा निस्किएँ।
बाटैमा अभिमान सिंह दाजुको घर थियो। भेटेर जान मन लाग्यो।
उहाँलाई सम्झने बित्तिकै टाँकी, बडहर, काभ्रोको डाले घाँस झारेको, दूध दुहिदिएको,आफ्नो घरको काम छोडेर, पस्किएको भात सेलाएर, उहाँले लाए अह्राएका काम गरिदिएका क्षणहरू ताजा भएर आए।
स्कुल जाँदाआउँदा धारोबाट पानीको गाग्री ल्याइदिन, पच्चिसा लिन आउनेहरूलाई ढुकुटीबाट धान झिकिदिन, अँगेनाको खोले गाईको थलोसम्म पुर्याउन लगाउनु हुन्थ्यो।
धेरैपटक विद्यालय पोशाकमा धानको खार र खोलेभाँडोको मसो दलिएपछि म उहाँको घरको बाटो नै हिँड्न छोडेकी थिएँ।
उहाँको व्यक्तित्व टेली शृङ्खलाका शोषक काजी साहेबको जस्तै थियो।
अभिमानसिंह दाजु आलुबारी खन्दै हुनुहुन्थ्यो ।
नजिकै गएर शिर झुकाएँ।
'माइली पो आइछ' भन्नुभयो।
मैले जम्लाहात गर्दै ङिच्च दाँत देखाएँ।
घर आउनुभयो र मलाई पनि बस्ने इशारा गर्दै पिँढीमा बस्नुभयो। हिँडाइमा पहिलेको जस्तो फूर्ति थिएन। तर बोलीमा भने जवानीकै रवाफ थियो। समयको छिनोले अनुहारमा धेरै वक्र रेखा थपेका थिए। शरीरको चौडाइ र पेटको गोलाई बढेको पाएँ। मेरूदण्डको झुकावसँगै उचाइ पनि अलि घटेछ।
'आराम हुनुहुन्छ नि दाजु ?' भनें।
'यी यत्रो फरुवा उचालेको छु, अझै पनि निम्ठो मानु चामलको भातलाई साथी चाहिँदैन सन्चै छस् रे, बिरामी देखिस् र?' भन्दै अट्टहास गर्नुभयो।
कपाल पाकेर टाउको सेतै भएछ। नाक डाँडीमा चस्मा चढेछ तर अहङ्कार भनें ज्यूँका त्यू।
'तन बुढिए पनि मन त तरूनै होला नि दाजु ?' भनें।
'संसार कहाँबाट कहाँ पुगिसक्यो। प्रविधि फेरियो, मानिस फेरिए, काम गर्ने तौरतरिका फेरियो। हजुर त सम्पन्न मान्छे ट्याक्टर छैन?' मैले पनि मौकामा चौका हानें।
'काम गर्ने केटो घर गएकाले खनी टोपलेको मात्र हुँ, म नोकर चाकर राख्न नसक्ने मान्छे हुँ र? छोराछोरी अमेरिका, युरोप छन्। मलाई के नपुग्दो छ र ?' गर्वका साथ भन्नुभयो।
'नपुग्दो छैन झन् बुढेसकालमा आफ्ना सन्तान वरिपरि भए कति आनन्द हुन्थ्यो। पढेलेखेका प्रतिभा र पाखुरी पलायन भएको देखेर दुख लाग्छ हौ, दाजु मलाई त,' भनें।
'दुई चार वटा कुरा इन्टरनेटमा पढ्दैमा दुई चार पैसा कमाउँदैमा खुब विद्धान र दार्शनिक पो भइछस् त माइली' भन्नुभयो।
'त्यस्तो होइन ! यथार्थ कुरा हो नि दाजु' भनें।
'अभी दाजुले सहरमा रहेका धेरै गाउँले दाजुभाइ दिदीबहिनीको बारेमा सोध्नुभयो। मैले मेहनत, संघर्ष, उन्नति र प्रगतिले गाउँ जिल्लाको सान बढाएको कुरा सुनाएँ।
'त्यो फलानो ! मेरो सारेर पास भएको ... त्यो नाथे! पढाइमा कस्तो लद्धु थियो भनें नि .... त्यो मूलाले प्रगति गरेर के नै ख्याँस्छ र ...' लंगौटीको जुम्रो टाउकोमा पुग्दा बढी सकसकाउँछ भन्छन्' जस्ता घटिया उखान सुनाउँनु भयो ।
'फलानो त्यही चिलानाको छोरा होइन र ..? हलानाले म र मेरो परिवारलाई भेट्न त .....' जस्ता कुरा गर्नुभयो।
आफूलाई सर्वश्रेष्ठ ठान्नेहरू प्रायः अरूको श्रेष्ठता पचाउन सक्दैनन् भन्थे हो रहेछ जस्तो लाग्यो।
विचार नमिल्ने ठाउँमा विवाद गरेर बस्नु उचित लागेन। जहाँ आत्मीयता मागेर लिनुपर्छ त्यहाँबाट टाढा हुनु नै उत्तम लाग्यो।
'हो हो, दाजु त पहिले देखिकै शैक्षिक, आर्थिक, सामाजिक, राजनैतिक हरतरहले सम्पन्न। साँच्चै प्रा. वि .कै शिक्षकबाट अवकाश हुनुभयो कि, मा.बि मा नाम निकाल्नु भयो हौ दाजु?' मैले सोधें।
'प्रा. वि. फस कलास भएँ नि। त्यो पाजी हेडसर मा.वि.थडकलास त थियो। तलब उस्तै हो क्यारे तेस्को र मेरो' भन्नुभयो।
यो उमेरसम्म पनि नघटेको अहंकार र बौद्धिक दरिद्रताको पराकाष्ठा देखेर करूणा जागेर आयो।
'बधाई छ दाजु। सधैं यस्तै देख्न सुन्न पाइयोस्' भनेर बिदा हुने अनुमति मागें।
'किन हतार गरेकी ? बस न एकछिन' भनेर पाखुरामा समाउँदै भित्र लैजानु भयो।
बैठक कोठामा लगेर विद्यालयबाट बिदाइ हुँँदाका केही थान तस्वीरहरू, दराजमा राखिएका खेलकुदका केही थान पदक र अवकाशको प्रमाणपत्र उहाँका उपलब्धिका साक्षी देखाउनु भयो।
यी सब प्रदर्शन गर्दैगर्दाको उहाँको अनुहार पढ्दा जीवनमा धेरै कमाएँँ, म जस्तो संसारमा कोही छैन र हुनै सक्दैन भनिरहेको भाव झल्किन्थ्यो।
मेरो मनले भने यावत क्रियाकलाप हेर्दै गर्दा प्रमाणपत्रमा उहाँको नामसँगै उहाँको कारण कसैको मनमा पलाएको आत्मीयताको प्रमाण छ कि भनेर नियालिरह्यो।
ज्ञानी हुनु र आफूलाई ज्ञानी ठान्नुबीच आकाश–जमिनको फरक हुँदोरहेछ। जान्नेले संसारबाट सिकिरहँदा रहेछन्। आफूलाई जान्ने ठान्नेहरू संसारको आलोचना गरेरै जीवन बिताउँदा रहेछन्।
मनमा कुरा खेलाउँदै स्कुल पुगें। जन ज्योति माध्यमिक विद्यालय धुपू , मेरो चेतनालाई फराकिलो बनाइदिने पवित्र स्थल।
हामीले पढ्दा जस्तो एल आकारको ठूलो भवन थिएन। आर सि सि भवन बनिएका थिए तर पहिले झैं सुन्दर र आत्मीय लागेनन्।
विद्यालयको शैक्षिक उन्नयनमा अमूल्य योगदान पुर्याउनुहुने प्रधानाध्यापक स्व. डिल्ली प्रसाद श्रेष्ठ सरलाई सश्रद्धा मनमनै नमन गरें।
विद्यालय वरिपरि एक फन्को लगाएँ। गोठगाउँ मयम, माथ्लोधुपु , हरेला ,ज्यामिरे,खाँदबारी , पाँठा ....आँखा अघाउन्जेल दृश्यपान गरें।
विगतलाई मायाले सुम्सुम्याउँदै पुनः उही बाटो घर फर्किएँ।
नेपालबारीको दोकान नजिकै लक्ष्मी भाउजू भेटिनुभयो। एकअर्कालाई भेटेकाले दुबैजना रमायौं। गन्द्रमा साहिँलाका मलामीलाई खाजा खुवाएर फर्किनु भएको रहेछ। जीवन अरूकै घरमा काम गरेर बिताउनु भएका साहिँला काका दिनभरि आफ्नै घर छाउँदाछाउँदै बेलुका रगत बान्ता गरेर एकाध घण्टामै बिते रे। अविवाहित ऊ सहयोगी, सोझो र सरल मिजासका थिए।
गाउँनै उल्टिएर सभा खोलाको बगरभरी मलामी भए रे।
धेरै जना भाइ भतिजाहरू किरियापुत्री बस्न तँछाडमछाड भयो रे। असल कर्म गर्नेको सहज मरण र लोकप्रियता सम्झिँदै भारी मन लिएर भाउजू र म छुट्टियौं।
ठूलाबारीका काँचा अम्बा, इन्द्र दाइका बारीका बखडा चोरेर खाएको सम्झिँदै लखरलखर झरें।
पँधेराटारको वरपिपल चौतारीमा सुस्ताउन मन लाग्यो।
कुनै समय गाउँका बच्चा, युवा, बूढापाकाको हाँसो, गफ र सुखदुःखले गुन्जिने त्यो चौतारी सुनसान थियो।
खै किनकिन वरपिपल केवल रूख मात्र लागेनन्। समयका मौन साक्षी लागेँ।
एकपछि अर्को गर्दै गाउँका पुराना अनुहारहरू अस्ताउँदै गए। युवाहरू परदेशिए, कतिका घरमा ताला लागे, आँगनमा दुबो उम्रियो।
मानिसहरू जवानीको उन्माद लिएर आए। बुढ्यौलीको पश्चाताप बोक्दै बिलाए।
तर वरपिपल जस्ताको तस्तै खडा थिए, मानिसको अहङ्कार भन्दा पुराना र आयुभन्दा दीर्घजिवी।
प्रेम, समर्पण, समय, उमेर र कठिन परिस्थितिका बाबजुद पनि टिकिरहने नाता त वरपिपलमा पो देखेँ।
न जाने कति पुस्ताका साक्षी बनेर उभिएका ती दुई वृक्षले एकअर्काको अस्तित्वलाई सम्मान र सहारा दिँदै समयसँगै जीवन काटिरहेका थिए। तिनका हाँगाहरूमा सहअस्तित्व, जरामा सम्बन्ध र मौनतामा पनि आत्मीयता देखेँ।
मलाई लाग्यो—मानिसको जीवन कति क्षणभंगुर रहेछ। केही वर्षको आयु, मुठीभर स्वार्थ, अहङ्कार र आफूलाई नै सर्वश्रेष्ठ ठान्ने भ्रम बोक्दै मानिस संसारबाट बिदा हुन्छ। तर यी वरपिपलले दुई–तीन पुस्तालाई छहारी दिएर पनि आफ्नो अस्तित्वमा कुनै दम्भ राखेका छैनन्।
स्मृतिपटमा शेर बहादुर काका,अभिमानसिह दाजु, गन्द्रमा साहिँलो आउँदैजाँदै गरे।
जवानीमा दम्भ भए पनि शेर बहादुर काकामा आएको चेतना र परिवर्तन स्तुत्य थियो। वास्तवमै काकाको स्वरमा श्रद्धा, शब्दहरूमा नम्रता र अभिव्यक्तिमा उल्लेखनीय विद्वता थियो।
विद्वानको शिरमा विनम्रताको मुकुट हुन्छ, विद्वत्ताले मानिसलाई विनम्र बनाउँछ भन्ने भनाइ सोह्रैआना सही लाग्यो।
अभिमान सिंह दाजुको बडप्पन र बिना पिठै ओडालिने शैली, गन्द्रमा साहिँलाको मीठो मुस्कान, निर्दोष अनुहार र सहज मरण स्मरण गर्दै उत्तरे धारो पुगें। अँजुली थापेर पानी पिएँ। आहा! उही पुरानो स्वाद।
एक अँजुलीले तिर्खा मेटिएन। फेरि थापेँ दोस्रो, तेस्रोपटक पिएपछि छातीभित्रको प्यास झन् चर्किंदै गयो। त्यो सानो लेउ लागेको ढुङ्गो जहाँ करिब दश घरका लुगा धोइन्थे।
खरानी हालेर पकाएका मैझारे लुगा मुङ्ग्राले कुट्दै धोइन्थ्यो। धाराले बालापनका दिन मात्र फर्काएन, पँधेराका ती दौँतरी र बिर्सनै नसकिने सम्झनाहरूले मुटु पनि चर्काइदियो।
तर ती दिनहरू फेरि फर्काउन सकेन। पानी भर्न आउने ती मान्छेहरू कहाँ पुगे? पालो कुर्दै ठट्टा गर्ने ती ओठहरू कुन बाटो लागे? कुनै बेला भरिभराउ हुने यो पँधेरो किन एक्लै टोलाइरहेको छ?
अँजुलीमा अटाएको पानीले घाँटी त भिजायो, तर मनको प्यास उस्तै रह्यो।
नानाथरी विचार आए, गए।
शेरबहादुर काका आत्मसमालोचना गरेरै महान बने, अभिमान सिंह अहंकारको उचाइ नाप्दानाप्दै मानवतामै गिरे।
समयले सबै कुरा सिकाउँदो रहेछ, र सिकेर सच्चिनेहरू नै मन मुटुमा बसिरहँदा रहेछन्।
पछाडि फर्केर धारोलाई हेरेँ, तिरतिरे धारो झरिरहेको थियो।
धाराले कहिल्यै आफ्नो महत्त्वको विज्ञापन र निरन्तरताको बखान गरेन। वरपिपलले कहिल्यै छहारीको मूल्य मागेनन्। प्रकृतिका यी मौन पाठशालाबाट मान्छेले कहिले सिक्ने होला?