प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाउने सहमति भएको छ। तर यो सहमतिले ३६ अर्ब रूपैयाँ लगानीमा बनेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने सुनिश्चितता गरेको छैन।
त्यसका लागि नेपाल र भारतबीच टुंगिन बाँकी एउटा महत्त्वपूर्ण प्राविधिक विषय छ— हवाई रूटको उचाइ।
भारतले कति उचाइबाट जहाजलाई नेपाली आकाशमा प्रवेश गर्न अनुमति दिन्छ भन्ने कुराले यो सहमतिबाट भैरहवा विमानस्थलले कति लाभ लिन सक्छ भन्ने निर्धारण गर्नेछ।
हवाई रूटको उचाइ भैरहवा विमानस्थलको आवश्यकता अनुसार भएन भने दुईतर्फी हवाई मार्ग प्राप्त गरेर पनि नेपालले अपेक्षित लाभ लिन नसक्ने उड्डयन क्षेत्रका जानकारहरू बताउँछन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे चार वर्ष बितिसक्दा पनि यहाँ अन्तर्राष्ट्रिय उडानले नियमितता पाउन सकेको छैन। गत चैत ११ गतेयता त यहाँ एउटा पनि अन्तर्राष्ट्रिय जहाज आएको छैन।
विमानस्थल नियमित सञ्चालन हुन नसक्नुका प्रमुख कारणमध्ये एउटा भारतबाट सिधै भैरहवा प्रवेश गर्ने हवाई मार्ग नहुनुलाई मानिँदै आएको छ।
नेपालले लामो समयदेखि माग गर्दै आएका थप हवाई रूटमध्ये एक काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग (बी ३४५) दुईतर्फी बनाउन भारत सहमत भएपछि विमानस्थल नियमित सञ्चालन हुने आशा फेरि जागेको छ। यसबाट क्षेत्रीय पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने अपेक्षा पनि गरिएको छ।
तर राजनीतिक तथा कूटनीतिक तहमा भएको यो सहमति कार्यान्वयन गर्न दुवै देशका प्राविधिक टोलीबीच वार्ता हुन बाँकी छ। अहिले प्रधानमन्त्री स्तरमा भएको सहमतिले यो हवाई रूट सञ्चालनको प्राविधिक पक्ष टुंगो लगाएको छैन।
हाल एकतर्फी सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमत भए पनि प्राविधिक विषय टुंगो लगाउन बाँकी रहेको संयुक्त वक्तव्यमै उल्लेख छ।
संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा प्रस्ट भनिएको छ, 'यससम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरू सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।'
वक्तव्यमा भनिए अनुसार अब हुने प्राविधिक परामर्श वा वार्तामा नेपालका लागि सबभन्दा महत्त्वपूर्ण विषय हुनेछ— भारतीय आकाशबाट भैरहवा प्रवेश गर्ने जहाजलाई कम उचाइमा उड्न पाउने अनुमति।
किन महत्त्वपूर्ण छ हवाई रूटको उचाइ?
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतीय सीमाबाट करिब पाँच किलोमिटर मात्र टाढा छ। त्यसैले यो विमानस्थलमा अवतरण गर्ने अन्तर्राष्ट्रिय जहाजले भारतीय आकाशबाटै आफ्नो उचाइ घटाउँदै अवतरणको तयारी गर्न पाए सहज हुन्छ।
उड्डयन क्षेत्रका जानकारहरूका अनुसार भैरहवा विमानस्थलका लागि करिब ६ हजार ५०० फिट उचाइको हवाई रूट सहज हुन्छ। अहिले एकतर्फी रहेको बी ३४५ हवाई मार्गको न्यूनतम उचाइ १० हजार फिट र अधिकतम उचाइ ४१ हजार फिट छ।
भारतले १२–१४ हजार फिट वा त्योभन्दा बढी उचाइमा मात्र नेपाल प्रवेश गर्न अनुमति दियो भने जहाजले भैरहवा अवतरण गर्नुअघि आवश्यक उचाइमा झर्न नेपाली आकाशभित्र थप दुरी तय गर्नुपर्ने हुन सक्छ।
अर्थात्, यो सहमति अनुसार सिधै भैरहवा प्रवेश गर्न पाउने भए पनि जहाजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नेपाली आकाशमा थप चक्कर लगाउनुपर्ने हुन सक्छ।
त्यसो हुँदा छोटो हवाई मार्गबाट हुने समय र इन्धन बचतको लाभ पनि घट्न सक्छ।
भारतीय क्षेत्रमा रहेका सैनिक संरचना तथा अन्य सुरक्षा संवेदनशीलताका कारण हवाई मार्ग र उडानको उचाइ निर्धारण गर्दा भारतले सुरक्षा पक्षलाई प्राथमिकतामा राख्ने गरेको छ। नेपालका लागि अबको चुनौती भारतसँग भएको दुईतर्फी हवाई रूटको सहमति कार्यान्वयन गराउनु मात्र होइन, भैरहवा विमानस्थलको भौगोलिक अवस्थाअनुकूल हुने गरी हवाई रूटको उचाइ निर्धारण गराउनु पनि हो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाह भने दुईतर्फी हवाई रूट कार्यान्वयनमा आए भैरहवा आउने जहाजको उडान समय १५ देखि २० मिनेटसम्म कम हुने बताउँछन्।
अहिले पश्चिमबाट भैरहवा आउने जहाजले सिधै नेपाली आकाशमा प्रवेश गर्न पाउँदैनन्। उनीहरूले वीरगन्जको पश्चिमी क्षेत्र हुँदै सिमराबाट नेपाली आकाशमा प्रवेश गर्नुपर्छ। त्यसपछि भरतपुर हुँदै फेरि पश्चिमतर्फ मोडिएर भैरहवा आउनुपर्छ।
दुईतर्फी हवाई रूट कार्यान्वयनमा आए यसरी घुमेर आउनुपर्ने बाध्यता हट्नेछ।
'करिब १४५ नटिकल माइलको रूटको कुरा हो। अहिले उल्टो घुमेर आउनुपर्ने भएकाले १५ देखि २० मिनेटसम्म बढी समय लागिरहेको छ। सिधै जहाज आउन पाउने भएपछि त्यो समय बचत हुन्छ। यसले वायुसेवा कम्पनीको सञ्चालन खर्च घटाउँछ र भैरहवा उडानलाई आकर्षित गर्न सक्छ,' शाहले सेतोपाटीसँग भने।
भारतले बढी उचाइमा नेपाल प्रवेश गर्न अनुमति दिए पनि जहाज अवतरण गर्न धेरै अतिरिक्त समय नलाग्ने उनको बुझाइ छ।
'कम उचाइमा नभई माथिल्लो उचाइमा सहमति दिए पनि जहाजलाई अवतरणका लागि एक-दुई मिनेट समय बढी पर्न जान्छ। त्योभन्दा धेरै समय लाग्दैन,' उनले सेतोपाटीसँग भने।
प्राविधिक वार्तामा के–के टुंगिन बाँकी छ?
हवाई रूटको उचाइ मात्र होइन, अहिले एकतर्फी रहेको हवाई मार्गलाई दुईतर्फी बनाउँदा त्यसमा उड्ने जहाजको सुरक्षित व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि टुंग्याउन बाँकी छ।
हाल बी ३४५ हवाई मार्गमा काठमाडौं हुँदै भैरहवा र लखनउतर्फ जाने जहाजका लागि निश्चित उडान प्रक्रिया छ। यसलाई दुईतर्फी बनाउँदा नेपालबाट बाहिरिने र भारतबाट नेपाल प्रवेश गर्ने जहाजलाई एउटै हवाई मार्गमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने प्रक्रिया निर्धारण गर्नुपर्ने हुन्छ।
निमित्त महाप्रबन्धक शाहका अनुसार यस विषयमा यसअघि पनि दुवै देशका प्राविधिक टोलीबीच छलफल भएको थियो। प्रधानमन्त्रीको भारत भ्रमणअघि भएका छलफलमा केही प्राविधिक विषयमा प्रगति भएको उनको भनाइ छ।
अब जाने र आउने जहाजलाई कसरी छुट्ट्याउने, कुन उचाइमा सीमा पार गर्न दिने र जहाजले कुन–कुन स्थानमा आफ्नो अवस्थाबारे जानकारी (रिपोर्टिङ) दिनुपर्ने भन्ने विषय टुंग्याउन बाँकी छ।
'एकतर्फी रूटलाई दुईतर्फी बनाउँदा जाने र आउने जहाजलाई कसरी छुट्टयाउने भन्ने मुख्य प्राविधिक विषय हुन्छ। कुन लेभलबाट जहाजलाई बोर्डर इन्ट्री गर्न दिने भन्ने कुरा पनि टुंग्याउनुपर्छ। भारतसँगको अर्को प्राविधिक बैठकमा यी विषय टुंगिन सके पाँच–छ महिनाभित्रै कार्यान्वयनको प्रक्रिया अघि बढ्छ,' शाहले भने।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि हवाई रूटसँग जोडिएको अर्को महत्त्वपूर्ण विषय हो— इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) को उपयोग।
हिउँदमा बाक्लो कुहिरो लागेका बेला पनि जहाजलाई सुरक्षित अवतरण गर्न सघाउने यो प्रविधि भैरहवा विमानस्थलमा जडान गरिएको छ।
यो प्रविधिको प्रभावकारी उपयोग गर्न भने जहाजले अवतरणका लागि निर्धारित मार्ग अनुसार प्रवेश गर्न पाउनुपर्छ।
भैरहवा विमानस्थलमा जडित आइएलएसको संकेत भारतीय हवाई क्षेत्रसम्म पुग्ने भएकाले भारतको आकाश प्रयोग गरेर अवतरणको प्रारम्भिक प्रक्रिया पूरा गर्ने व्यवस्था आवश्यक हुन्छ।
अहिले भारतबाट सिधै भैरहवा प्रवेश गर्ने नियमित हवाई मार्ग नहुँदा आइएलएसको पूर्ण उपयोगमा व्यावहारिक कठिनाइ छ।
दुईतर्फी हवाई मार्ग कार्यान्वयनमा आएपछि भारतीय आकाशबाटै अवतरणको निर्धारित मार्ग प्रयोग गर्न सकिने र कम 'भिजिबिलिटी' भएका बेला पनि जहाजको उडान तथा अवतरण सहज हुने अपेक्षा गरिएको छ।
हवाई रूट पाएर मात्र चल्छ विमानस्थल?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसक्नुमा हवाई रूट एउटा प्रमुख समस्या भए पनि यो मात्र समस्या होइन।
हवाई रूटको समस्या समाधान भएपछि पनि विमानस्थल सञ्चालनका लागि अर्को महत्त्वपूर्ण प्रश्न बाँकी रहनेछ— भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले पर्याप्त यात्रु पाउँछन् कि पाउँदैनन्?
विमानस्थलका निमित्त महाप्रबन्धक शाह यात्रु व्यवस्थापन र निजी क्षेत्रको व्यावसायिक सक्रियतालाई पनि हवाई रूटजत्तिकै महत्त्वपूर्ण ठान्छन्।
उनका अनुसार विमानस्थल सञ्चालनमा आएको साढे चार वर्षमा यहाँ १ हजार २२२ वटा निर्धारित तथा चार्टर अन्तर्राष्ट्रिय उडान भएका छन्।
ती उडानबाट ६९ हजार ३७७ जना यात्रुले सेवा लिएका छन्। तीमध्ये ३१ हजार ९३२ जना विदेशबाट भैरहवा ओर्लिएका थिए भने ३७ हजार ४४५ जना यहाँबाट विदेश गएका थिए।
यस अवधिमा कतार, कुवेत, थाइल्यान्ड लगायत विभिन्न गन्तव्यबाट वायुसेवा कम्पनीहरूले उडान गरेका थिए। तर पर्याप्त यात्रु नपाउँदा ती उडानले निरन्तरता पाउन सकेनन्।
पछिल्लो पटक २०८२ चैत ११ गते थाई एयर एसियाको जहाज बैंककबाट जम्मा १४ जना यात्रु लिएर भैरहवा ओर्लिएको थियो। फर्कने बेला भने उक्त जहाज १०६ जना यात्रु लिएर उडेको थियो।
त्यसयता यहाँ अन्तर्राष्ट्रिय उडान भएको छैन।
शाहका अनुसार कुनै पनि विमानस्थलका आफ्नै यात्रु हुँदैनन्। विभिन्न ठाउँबाट यात्रु संकलन गरेर वायुसेवा कम्पनीलाई उपलब्ध गराउने काम पर्यटन व्यवसायी, ट्राभल तथा टुर्स कम्पनी र स्थानीय निजी क्षेत्रको हो।
'भैरहवामा यात्रु छैनन् भन्ने भाष्य बनाइएको छ। यात्रु कुनै जिल्ला वा सहरका मात्रै हुँदैनन्। जहाँबाट उडान हुन्छ, त्यहाँसम्म यात्रु आउन सक्छन्। तर त्यसका लागि यात्रु संकलन गर्ने संयन्त्र बनाउनुपर्छ,' शाहले भने, 'पहिले यहाँ उडान गरेका वायुसेवाका जहाजमा पर्याप्त यात्रु भएनन्। त्यसैले निरन्तरता पाउन सकेनन्। अब यस क्षेत्रका पर्यटन व्यवसायीहरूले यात्रु खोज्न सहयोग गर्नुपर्छ।'
श्रम स्वीकृति, भिसा सेन्टर र स्वास्थ्य परीक्षणको सुविधा नहुँदा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्ने तर्कसँग पनि शाह सहमत छैनन्।
उनका अनुसार यस्ता सेवा नभएको पोखरामा समेत अन्तर्राष्ट्रिय उडान भइरहेको छ। त्यसैले तत्कालको मुख्य आवश्यकता वायुसेवा कम्पनीसँग व्यावसायिक सहकार्य र यात्रु व्यवस्थापन हो।
जहाज नआए पनि वार्षिक आठ करोडभन्दा बढी खर्च
राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ माघ १ गते शिलान्यास गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते औपचारिक रूपमा उद्घाटन भएको थियो।
पाँच सय बिघा जग्गा अधिग्रहण गरी निर्माण गरिएको यो विमानस्थलमा सरकारले करिब ३६ अर्ब रूपैयाँ खर्च गरेको छ।
त्यसमध्ये जग्गा अधिग्रहण र मुआब्जामा मात्रै २२ अर्ब रूपैयाँ खर्च भएको थियो। बाँकी रकम धावनमार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर, राडार तथा अन्य आवश्यक पूर्वाधार र उपकरणमा लगानी गरिएको थियो।
एसियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण लिएर निर्माण गरिएको यो विमानस्थल नियमित सञ्चालनमा आउन नसके पनि सरकारले ऋणको ब्याज तिरिरहनुपरेको छ।
अन्तर्राष्ट्रिय जहाज नआए पनि विमानस्थल सञ्चालनका लागि एक सयभन्दा बढी कर्मचारी कार्यरत छन्। उनीहरूको तलब, भत्ता, विद्युत, खानेपानी, उपकरणको मर्मतसम्भार तथा प्रशासनिक खर्चमा वार्षिक आठ करोड रूपैयाँभन्दा बढी खर्च हुने गरेको छ।
अन्तर्राष्ट्रिय स्तरको टर्मिनल भवन, धावनमार्गका बत्ती, राडार, सञ्चार उपकरण, एक्स-रे मेसिन, यात्रुका सामान ओसार्ने प्रणाली र आगो नियन्त्रण गर्ने उपकरण चौबीसै घन्टा तयारी अवस्थामा राख्नुपर्छ।
जहाज आए पनि नआए पनि यी पूर्वाधार र उपकरण सञ्चालनयोग्य अवस्थामा राख्न ठूलो रकम खर्च भइरहेको छ।
विमानस्थल नियमित सञ्चालनमा नआउँदा जोखिममा परेको सरकारको लगानी मात्र होइन। अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर होटल, पर्यटन तथा यातायात क्षेत्रमा लगानी गरेका निजी व्यवसायीले पनि अपेक्षित प्रतिफल पाउन सकेका छैनन्।
भारतसँग भएको दुईतर्फी हवाई रूटको सहमतिले उनीहरूमा पनि नयाँ आशा जगाएको छ।
यो सहमतिलाई भैरहवा विमानस्थल नियमित सञ्चालनको उपलब्धिमा बदल्न भने नेपालले अब दुई तहमा काम गर्नुपर्नेछ।
पहिलो, भारतसँग प्राविधिक वार्ता गरेर भैरहवा विमानस्थलका लागि उपयोगी हुने गरी हवाई प्रवेश मार्ग प्राप्त गर्ने।
दोस्रो, त्यो मार्ग प्रयोग गरेर भैरहवा आउने वायुसेवा कम्पनीले पर्याप्त यात्रु पाउने व्यावसायिक वातावरण तयार गर्ने।
भारतसँग भएको सहमतिले यीमध्ये पहिलो काम गर्ने बाटो खोलेको छ। दुवै काम पूरा नभएसम्म भने ३६ अर्ब रूपैयाँ लगानीमा बनेको विमानस्थल नियमित सञ्चालनमा आउने सुनिश्चितता छैन।
***