हिमालमा जमेको हिउँ पग्लिँदै जाँदा हिमतालको आकार बढिरहेको छ। हिमतालको आकार जति ठूलो हुँदै जान्छ, त्यसमा जम्मा हुने पानीको परिमाण पनि उति नै बढ्दै जान्छ।
यस्तोमा कुनै दिन हिमालबाट ठूलो ढुंगा वा हिउँको ढिस्को खसेर त्यही तालमा पर्यो भने के हुन्छ?
त्यसले निम्त्याउने विपद हिमाली क्षेत्रमै सीमित नरहन सक्छ। हिमताल फुटेर एकैपटक निस्कने ठूलो परिमाणको पानीले तलका बस्ती, खेतीयोग्य जमिन, सडक, पुल र जलविद्युत आयोजनामा क्षति पुर्याउन सक्छ।
जलवायु परिवर्तनका कारण बढ्दै गएको यही जोखिम कम गर्न नेपालले महत्त्वाकांक्षी आयोजना अघि बढाएको छ।
आयोजनाअन्तर्गत नेपालका चार जोखिमपूर्ण हिमतालको पानी नियन्त्रित रूपमा बाहिर निकालेर तिनको सतह एकदेखि तीन मिटरसम्म घटाउने योजना छ।
यसबाट ३ लाख ८५ हजारभन्दा बढी मानिस प्रत्यक्ष र तल्लो तटीय क्षेत्रका करिब २० लाख मानिस अप्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ।
सरकार र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले बुधबार काठमाडौंमा 'जिएलओएफ सञ्जीवनी' नाम दिइएको उक्त आयोजनाको प्रारम्भिक कार्यशाला आयोजना गरेका हुन्।
सन् २०३३ सम्म सञ्चालन हुने आयोजनाको कुल लागत ४ करोड ९९ लाख ४० हजार अमेरिकी डलर छ।
युएनडिपीका अनुसार आयोजनाका लागि अन्तर्राष्ट्रिय हरित जलवायु कोष (जिसिएफ) ले ३ करोड ६१ लाख ६० हजार डलर अनुदान उपलब्ध गराउनेछ। यो कुल लागतको करिब ७२ प्रतिशत हो।
नेपाल सरकारले १ करोड १३ लाख २० हजार डलर र युएनडिपीले २१ लाख ४० हजार डलर योगदान गर्नेछन्। बाँकी ३ लाख २० हजार डलर निजी क्षेत्रका साझेदारबाट जुटाइनेछ।
जलवायु परिवर्तनका असर सामना गर्न विकासशील देशहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने हरित जलवायु कोषले गत वर्ष जुलाईमै यो आयोजना स्वीकृत गरेको थियो।
आयोजनाअन्तर्गत पानीको सतह घटाउन लागिएका चार हिमताल हुन्– मनाङको दोना (थुलागी), संखुवासभाको तल्लो बरूण र सोलुखुम्बुका लुम्दिङ छो तथा होङ्गु–२।
दोना, तल्लो बरूण र लुम्दिङ छोको पानीको सतह तीन–तीन मिटर घटाउने प्रारम्भिक योजना छ। होङ्गु–२ को भने एक मिटर घटाइनेछ।
यी चारवटा हिमताल नै किन छानिए त?
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता डा. राजन भट्टराईका अनुसार नेपालमा पहिचान भएका २१ जोखिमपूर्ण हिमतालमध्ये यी चारवटा तल्लो तटीय क्षेत्रमा बढी जोखिम निम्त्याउन सक्ने ताल हुन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र युएनडिपीले सन् २०२० मा सार्वजनिक गरेको अध्ययनले कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा ४७ वटा सम्भावित जोखिमपूर्ण हिमताल पहिचान गरेको थियो। तीमध्ये २१ वटा नेपालमा, २५ वटा चीनको तिब्बतमा र एउटा भारतमा पर्छन्।
नेपालमा रहेका २१ मध्ये च्छो रोल्पा र इम्जा हिमतालको पानी यसअघि नै घटाइसकिएको छ। बाँकी १९ मध्ये तल्लो तटीय क्षेत्रमा हिमताल फुट्दा सबभन्दा बढी जोखिम हुन सक्ने आधारमा चारवटा छानिएको भट्टराईले बताए।
'१९ वटा हिमतालमध्ये कुन ताल फुट्दा डाउनस्ट्रिममा सबभन्दा बढी जोखिम हुन्छ भनेर छुट्टै जोखिमको वर्गीकरण गरिएको थियो,' उनले भने, 'त्यही वर्गीकरणमा सबभन्दा माथि परेका चारवटा अहिले छनोटमा परेका हुन्।'
यी हिमतालको पानी तीन मिटर वा एक मिटर मात्र घटाउँदा के फरक पर्छ? त्यति अग्लो ठाउँमा पुगेर हिमतालको पानी कसरी घटाइन्छ?
त्यो बुझ्न सबभन्दा पहिला हिमताल कसरी बन्छ र कसरी फुट्छ भन्ने बुझ्नुपर्छ।
हिमालमा वर्षौंदेखि जमेर बसेको र बिस्तारै बग्ने बरफको विशाल पिण्डलाई हिमनदी भनिन्छ। तापक्रम वृद्धिसँगै हिमनदी पग्लिँदै र खुम्चिँदै जाँदा त्यसबाट निस्केको पानी कतिपय ठाउँमा जम्मा भएर ताल बन्छ।
हिमनदीले बगाएर ल्याएका ढुंगा, माटो र गेग्रान थुप्रिएर कतिपय हिमतालको एक छेउमा प्राकृतिक बाँध बनेको हुन्छ। त्यसैको आडमा करोडौं घनमिटर पानी अडिएको हुन्छ।
मानिसले बनाउने बाँध र यस्तो प्राकृतिक बाँधमा ठूलो भिन्नता छ।
मानिसले बाँध बनाउँदा त्यसले कति पानी थेग्न सक्छ भन्ने हिसाब गर्छ। त्यही अनुसार निर्माण सामग्री प्रयोग गर्छ। पानी धेरै भए बाहिर निकाल्ने संरचना पनि बनाउँछ। तर हिमतालको प्राकृतिक बाँधमा त्यस्तो व्यवस्था नहुन सक्छ। कतिपय प्राकृतिक बाँधभित्र बरफसमेत जमेको हुन्छ। त्यो बरफ पग्लिँदै जाँदा बाँध कमजोर हुन सक्छ।
अर्को जोखिम हो, हिमताल वरिपरिका पहाडबाट पहिरो वा हिमपहिरो खस्नु।
पानीले भरिएको भाँडोमा ठूलो ढुंगा हाल्दा जसरी पानी छचल्किएर बाहिर निस्कन्छ, हिमतालमा पनि त्यस्तै हुन सक्छ।
त्यसरी उत्पन्न हुने ठूलो छालले प्राकृतिक बाँध नाघेर पानी बाहिर जान सक्छ। पानीको बहावले बाँध काट्दै गएपछि त्यो फुट्न सक्छ। त्यसपछि ठूलो परिमाणको पानी एकैपटक तल्लो क्षेत्रमा बग्छ।
यसलाई अंग्रेजीमा 'ग्लेसियल लेक आउटबर्स्ट फ्लड' अर्थात् छोटकरीमा 'जिएलओएफ' भनिन्छ।
त्यसरी बग्ने पानीले बाटोमा भेटिएका ढुंगा, माटो र गेग्रान पनि बगाउँदै लैजान्छ। यसले बाढीलाई झन् विनाशकारी बनाउँछ।
एउटा गिलासमा मुखसम्म पानी भरिएको छ भने त्यसलाई थोरै हल्लाउँदा पनि पानी पोखिन्छ। त्यही गिलासको पानी केही घटाइदिने हो भने हल्लाउँदा पानी बाहिर पोखिने सम्भावना कम हुन्छ। हिमतालको पानी घटाउनुको एउटा उद्देश्य यही हो।
पानीको सतह घटाएपछि प्राकृतिक बाँधको माथिल्लो भाग र पानीको सतहबीचको दुरी बढ्छ। हिमतालमा पहिरो खसेर ठूलो छाल उत्पन्न भइहाले पनि त्यसले बाँध नाघ्ने सम्भावना कम हुन्छ।
पानी घटाउँदा बाँधमा पर्ने पानीको दबाब पनि कम हुन्छ। बाँध फुटिहाले पनि बाहिर निस्कने पानीको परिमाण र बाढीको तीव्रता कम हुन सक्छ।
तीन मिटर सुन्दा थोरै लाग्न सक्छ। तर एक वर्गकिलोमिटर क्षेत्रफल भएको हिमतालको पानी तीन मिटर घटाउन कति पानी बाहिर निकाल्नुपर्छ, हिसाब गरौं।
तालको क्षेत्रफल खासै परिवर्तन नहुने मान्ने हो भने करिब ३० लाख घनमिटर अर्थात् तीन अर्ब लिटर पानी बाहिर निकाल्नुपर्छ।
यो भनेको दुई मिटर गहिराइ भएका ओलम्पिक आकारका एक हजार दुई सय स्विमिङ पुलमा अटाउने पानी बराबर हो।
यसपालि चारवटा हिमतालबाट वास्तविक रूपमा कति पानी निकाल्नुपर्छ भन्ने यकिन गर्न तिनको क्षेत्रफल, गहिराइ र पिँधको बनावटको विस्तृत अध्ययन गर्नुपर्छ।
डा. भट्टराईका अनुसार अहिले सार्वजनिक गरिएको एकदेखि तीन मिटरसम्म पानी घटाउने योजना प्रारम्भिक हो। चारवटै हिमतालको विस्तृत अध्ययन र इन्जिनियरिङ डिजाइनपछि मात्रै कति पानी घटाउने भन्ने अन्तिम टुंगो लाग्नेछ।
'अहिले हामीले पुरानो अध्ययनका आधारमा अनुदान सुरक्षित गर्न प्रारम्भिक डिजाइन र लागत अनुमान पठाएका थियौं,' उनले भने, 'आठ–दस वर्षमा हिमताल र त्यसको वरिपरिको अवस्थामा आएको परिवर्तनलाई पनि समेटेर फेरि विस्तृत अध्ययन गर्नुपर्छ।'
कसरी घटाइन्छ हिमतालको पानी?
हिमतालको पानी बाहिर निकाल्न भन्दैमा यसको प्राकृतिक बाँध जथाभाबी खन्न वा भत्काउन मिल्दैन। त्यसो गर्दा विपद रोक्न खोज्दाखोज्दै अर्को विपद निम्तिन सक्छ। यसका लागि सबभन्दा पहिला हिमतालको विस्तृत अध्ययन गरिन्छ।
ताल कति गहिरो छ? त्यसमा कति पानी जम्मा भएको छ? प्राकृतिक बाँध केबाट बनेको छ? बाँधभित्र बरफ जमेको छ कि छैन? वरिपरिका पहाडबाट पहिरो खस्ने सम्भावना कति छ?
यी सबै प्रश्नको जबाफ खोजेपछि सुरक्षित रूपमा पानी बाहिर निकाल्ने संरचनाको डिजाइन तयार गरिन्छ।
भट्टराईका अनुसार पानी बाहिर निकाल्न प्राकृतिक बाँधको एक छेउमा पानीको बहाव नियन्त्रण गर्ने ढोकासहितको संरचना बनाइनेछ। त्यसबाट पानी निकालेर सानो नहरजस्तो निकास मार्ग हुँदै तलतिर पठाइनेछ।
'हामीले साइडमा गेटसहितको सानो संरचना बनाउँछौं। त्यहाँबाट पानी निकास गरेर सानो नहरजस्तो बनाएर तल डाउनस्ट्रिममा झार्ने हो,' उनले भने।
हरित जलवायु कोषबाट स्वीकृत आयोजनाको मूल प्रस्तावमा थुलागी, लुम्दिङ छो र तल्लो बरूण हिमतालको पानी घटाउन चार चरणमा काम गर्ने उल्लेख छ।
पहिलो चरणमा अस्थायी बाँध बनाइनेछ। दोस्रो चरणमा निर्माण अवधिभर पानी बगिरहन वैकल्पिक नहर बनाइनेछ।
त्यसपछि पानीको बहाव नियन्त्रण गर्ने ढोकासहित स्थायी नहर बनाइनेछ। अन्तिम चरणमा अस्थायी बाँध हटाएर स्थायी नहरबाट नियन्त्रित रूपमा पानी बग्न दिइनेछ।
होङ्गु–२ हिमतालमा भने वैकल्पिक नहर आवश्यक नपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ। त्यहाँ स्थायी निकास मार्ग बनाएर पानीको सतह घटाउने प्रस्ताव छ।
भट्टराईका अनुसार संरचना निर्माण गर्दा स्थानीय ढुंगाको प्रयोगलाई प्राथमिकता दिइनेछ। आवश्यकता अनुसार ग्याबियन जाली, सिमेन्ट र अन्य निर्माण सामग्री पनि प्रयोग हुन सक्छन्। पानीको बहाव नियन्त्रण गर्ने ढोका भने स्टिलको बनाइनेछ।
यस्तो संरचना बनाउने क्रममा सबभन्दा संवेदनशील काम प्राकृतिक बाँधमा हस्तक्षेप गर्नु हो।
'विस्तृत अध्ययन नगरी मोरेनलाई छुनु एकदमै खतरनाक हुन्छ,' भट्टराईले भने, 'स्क्यानिङ गरेर मोरेनका पत्र–पत्रमा के छ भनेर हेरेपछि मात्रै काम गर्नुपर्छ।'
मोरेन भनेको हिमनदीले बगाएर ल्याएका ढुंगा, माटो र गेग्रान थुप्रिएर बनेको प्राकृतिक बाँध हो। यस्तो बाँधको भित्री बनावट कमजोर हुन सक्छ। त्यसैले त्यसको अवस्था नबुझी खन्ने वा काट्ने काम गर्दा बाँध नै अस्थिर हुन सक्छ।
पानी निकाल्ने क्रममा दुर्घटनाको सम्भावना शून्य हुन्छ भनेर भन्न नसकिने भट्टराई बताउँछन्। अन्य देशमा पनि मोरेन बाँधमा काम गर्दा दुर्घटना भएका उदाहरण छन्।
'कुनै पनि सम्भावनालाई शून्य भन्न सकिँदैन। अन्य देशमा मोरेनमा काम गर्दा दुर्घटना भएका छन्,' उनले भने, 'त्यस्तो नहोस् भनेर आवश्यक सुरक्षा उपाय अपनाउन विस्तृत अध्ययनमा बढी समय लाग्ने भएको हो।'
चार–पाँच हजार मिटर उचाइमा यस्तो संरचना बनाउनु आफैमा चुनौतीपूर्ण काम हो।
त्यहाँ अक्सिजन कम हुन्छ। अत्यधिक चिसो हुन्छ। सडक सुविधा नहुँदा निर्माण सामग्री र उपकरण ओसार्न कठिन हुन्छ। वर्षभरि निर्माणको काम गर्न सकिने अवस्था पनि हुँदैन।
केही हिमतालसम्म पुग्ने बाटोसमेत छैन। त्यसैले पैदलमार्ग बनाउनुपर्ने वा हेलिकप्टरबाट सामग्री ओसार्नुपर्ने हुन सक्छ।
'कतिपय तालमा जाने बाटो नै छैन। पैदलमार्ग बनाउनुपर्ने हुन्छ। आवश्यक परे हेलिकप्टरबाट पनि सामग्री लैजानुपर्ने हुन्छ,' भट्टराईले भने, 'कुन ठाउँमा कुन विधि उपयुक्त हुन्छ भन्ने विस्तृत अध्ययनपछि टुंगो लाग्छ।'
निर्माणको काम पनि वर्षभरि गर्न सकिने छैन। भट्टराईका अनुसार मौसम अनुकूल हुने वर्षको दुईवटा छोटो अवधिमा मात्रै काम गर्न सकिने अवस्था छ। चैत–वैशाख र असोज–कात्तिकमा गरी वर्षमा करिब तीनदेखि चार महिना काम गर्न सकिने अनुमान छ।
अर्को कुरा, हिमनदीबाट पग्लिएको पानी तालमा निरन्तर आइरहने हुँदा एकपटक पानी घटाएर मात्र पुग्दैन। तालको सतह फेरि अनियन्त्रित रूपमा बढ्न नदिन निकास संरचनाले दीर्घकालसम्म काम गर्नुपर्छ।
चारवटै हिमतालमा एकैपटक काम गर्ने योजना छ। तर विस्तृत अध्ययन, डिजाइन र निर्माणको जटिलता अनुसार कामको गति फरक हुन सक्छ।
यो आयोजना सन् २०३३ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अहिले भने आयोजना कार्यान्वयनको तयारीकै चरणमा छ। आयोजनाको कार्यालय स्थापना हुँदैछ। विस्तृत अध्ययन र डिजाइनपछि मात्रै फिल्डमा संरचना निर्माणको काम अघि बढ्नेछ।
यसको मुख्य कार्यान्वयन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गर्नेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, चुरे तथा जलाधार संरक्षणसम्बन्धी निकाय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायत निकाय पनि आयोजनामा जोडिनेछन्।
नेपालसँग यसअघि पनि हिमताल घटाएको अनुभव
नेपालले यसअघि दुईवटा जोखिमपूर्ण हिमतालको पानी घटाइसकेको छ।
सन् २००० मा दोलखाको च्छो रोल्पा हिमतालको पानीको सतह करिब तीन मिटर घटाइएको थियो।
त्यसको १६ वर्षपछि सन् २०१६ मा समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथि रहेको सोलुखुम्बुको इम्जा हिमतालको पानी ३.४ मिटर घटाइएको थियो।
युएनडिपीको सहयोगमा जल तथा मौसम विज्ञान विभागले नेपाली सेनासमेत परिचालन गरेर इम्जा हिमतालको पानी निकाल्ने कृत्रिम नहर बनाएको थियो।
तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीको सूचना दिन स्वचालित साइरनसमेत जडान गरिएको थियो।
भट्टराईका अनुसार च्छो रोल्पाको पानी घटाएको २६ वर्ष र इम्जाको पानी घटाएको १० वर्ष बितिसकेको छ। अहिलेसम्म ती तालमा बनाइएका निकास संरचनाका कारण बाँधमा समस्या देखिएको छैन।
'च्छो रोल्पा र इम्जामा पानी घटाएपछि अहिलेसम्म बाँधमा कुनै समस्या आएको छैन,' उनले भने, 'त्यसैले यसपालि पनि पानीको सतह घटाएर गेटसहितको निकास संरचना बनाउँदा ताललाई अझ सुरक्षित बनाउन सकिन्छ भन्ने हाम्रो धारणा हो।'
तर पानीको सतह घटाएपछि पनि हिमतालको नियमित अनुगमन आवश्यक हुने उनी बताउँछन्।
यसका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ छ। काठमाडौंमा बसेर मात्रै हिमतालको अवस्था निरन्तर निगरानी गर्न सम्भव हुँदैन।
यसपालिको आयोजनाले नेपालका तिनै दुई अनुभवलाई थप चार हिमतालमा विस्तार गर्न खोजेको हो।
तर सबै हिमतालको पानी तीन मिटर घटाउँदैमा जोखिम पर्याप्त मात्रामा कम हुन्छ भन्ने छैन। सबै हिमतालको आकार, गहिराइ, प्राकृतिक बाँधको बनावट र भौगोलिक अवस्था एउटै हुँदैन। एउटा हिमतालको पानी तीन मिटर घटाउँदा जति जोखिम कम हुन्छ, अर्को हिमतालमा पनि त्यति नै हुन्छ भन्ने छैन।
त्यसैले हिमतालको पानी घटाउनु जोखिम न्यूनीकरणको उपाय हो, जोखिम पूर्ण रूपमा अन्त्य गर्ने उपाय होइन।
इसिमोड र युएनडिपीको सन् २०२० को संयुक्त अध्ययनले कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा ४७ वटा सम्भावित जोखिमपूर्ण हिमताल पहिचान गरेको थियो। तीमध्ये २१ वटा नेपालमा, २५ वटा चीनको तिब्बतमा र एउटा भारतमा पर्छन्।
यसको अर्थ नेपाललाई हिमताल फुटेर आउने बाढीबाट जोगाउन नेपालको भूभागभित्र रहेका हिमतालको व्यवस्थापन गरेर मात्र पुग्दैन।
यही जोखिमलाई ध्यानमा राख्दै यसपालिको आयोजनामा हिमतालको पानी घटाउनेबाहेक पूर्वसूचना प्रणाली विस्तार, तटबन्ध निर्माण र नदी किनारको संरक्षण गर्ने कार्यक्रम पनि समेटिएका छन्।
***