वैशाख १२ गते काठमाडौं उपत्यकाका नदी किनारमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरा भत्काउँदा सरकारले १५ दिनभित्र उनीहरूको वैकल्पिक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
सात महिना बितिसक्दा पनि विस्थापित परिवारहरूले स्थायी आवास पाउनु त परै जाओस्, अहिले आश्रय लिइरहेको होल्डिङ सेन्टरबाट समेत निकालिने चेतावनी खेप्नुपरेको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ। प्रशासनले बुधबार लिखित सूचना जारी गर्दै सेन्टर खाली गर्न भनेको हो।
भूमि समस्या समाधान समितिको मंसिर ९ गतेको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले यस्तो सूचना जारी गरेको हो। प्रशासनको यो कदमपछि विस्थापित परिवारहरू आक्रोशित र त्रसित बनेका छन्।
बोडेको होल्डिङ सेन्टरमा बसिरहेका अभियन्ता दलमर्दन कामीका अनुसार प्रशासनको टोली उनीहरूसँग कुनै छलफल नगरी एकतर्फी रूपमा सूचना टाँसेर फर्किएको थियो।
मंसिर २ गतेसम्म यो होल्डिङ सेन्टरमा २३ परिवार बसिरहेका थिए। प्रशासनले मौखिक रूपमा सेन्टर छाड्न दबाब दिँदै आएको थियो। दिनहुँको दबाब थेग्न नसकेर चार परिवार बाहिरिएपछि अहिले यहाँ १९ परिवारका ५९ जना छन्।
बुधबार सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मासहित प्रशासनको टोली होल्डिङ सेन्टर पुग्दा त्यहाँ आश्रय लिइरहेका परिवारले जग्गाको लालपुर्जा नपाएसम्म सेन्टर नछाड्ने अडान राखेको कामी बताउँछन्।
'हामी यहाँबाट कहीँ जाँदैनौं। जतिखेर लालपुर्जा दिनुहुन्छ, हामी त्यतिखेरै छाड्छौं,' सहायक प्रमुख जिल्ला अधिकारीसमक्ष राखेको आफ्नो भनाइ उद्धृत गर्दै कामीले भने, 'होइन भने एक जना बराबर सातवटा गोली ल्याएर हामीलाई यहीँ मारिदिनुस्, तर यसै हामी होल्डिङ सेन्टर छाड्दैनौं।'
प्रशासनले दिएको समयसीमा सकिएपछि शुक्रबारदेखि खाना नखुवाउने भनेर पनि दबाब दिइएको छ। नियमित खाना खुवाउँदै आएको शान्तिसेवा गृहले भने यसबारे अहिलेसम्म आफूहरूलाई केही नभनेको कामी बताउँछन्।
यसबारे हामीले शान्तिसेवा गृहसँग पनि सोधेका छौं।
शान्तिसेवा गृहका एक कर्मचारीका अनुसार बोडेको होल्डिङ सेन्टरमा बसिरहेकाहरू त्यहाँबाट जाने भएकाले अब खाना नखुवाउन प्रधानमन्त्री कार्यालयले भनिसकेको छ।
'पहिला पनि उहाँहरूकै समन्वयमा खाना खुवाइएको थियो। अब नखुवाउनु भनेपछि जबरजस्ती जान मिल्दैन। भोलिदेखि बोडेको होल्डिङ सेन्टरमा खाना खुवाउँदैनौं,' ती कर्मचारीले भने।
होल्डिङ सेन्टरमा बसिरहेका परिवार भने शान्तिसेवा गृहले खाना खुवाउन नछाड्नेमा ढुक्क छन्। उनीहरूलाई तत्काल खानाको चिन्ता छैन।
दलमर्दन कामीको नाम भने सरकारले भूमिहीन नठहरिएका व्यक्तिहरूको सूचीमा सार्वजनिक गरेको छ। त्यसका बाबजुद न्यायका लागि पहल गर्न नछाड्ने उनको अडान छ।
भूमि समस्या समाधान समितिले गरेको छानबिनमा बोडेको होल्डिङ सेन्टरमा बसिरहेका १९ मध्ये ७ परिवारको नाममा जग्गा रहेको देखिएको छ। तीमध्ये एक दलमर्दन कामी हुन्।
जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा आफ्नो वास्तविक अवस्था नबुझी भूमिहीन नठहराइएको उनको आरोप छ।
'जग्गा भेटिएको सूचीमा मेरो नाम परे पनि अहिले मसँग एक टुक्रा जमिन छैन,' उनले भने, '२०५२ सालदेखि मुटुको समस्या झेलिरहेको छु। नेपालमा उपचार सम्भव नभएपछि भारतको दिल्लीमा अपरेसन गरेको थिएँ।'
उनले थपे, 'मोरङमा मेरो अंशमा परेको १३ धुर जग्गा पाँच–छ वर्षअघि नै बेचेर साहुको ऋण तिरेँ। अझै १३ लाख रूपैयाँ ऋण बाँकी छ। त्यो मुटुको अपरेसन र उपचार गर्दाखेरि खर्च भएको हो।'
महँगो उपचारका कारण आफूसँग भएको जग्गाजमिन बेचेर सुकुम्बासी हुनुपरेको उनी बताउँछन्।
सरकारले आफ्नो वर्तमान अवस्थाको मूल्यांकन नै नगरी भूमिहीन नठहरिएका व्यक्तिहरूको सूचीमा नाम सार्वजनिक गरेको उनको गुनासो छ।
'पहिला थियो कि थिएन भन्नेभन्दा पनि अहिले कतै एक टुक्रा जग्गाजमिन छैन। अहिले जाने ठाउँ कतै छैन। त्यसैले हामी यो ठाउँ छाड्दैनौं,' उनले भने।
बोडेकै होल्डिङ सेन्टरमा आश्रय लिइरहेकी बबिता मगरलाई पनि इलाममा उनका ससुरा खम्बसिंह बुढाथोकीको नाममा जग्गा भेटिएको भन्दै भूमिहीन ठहर गरिएको छैन।
'हामीलाई कहिल्यै जानकारी नभएको ठाउँमा जग्गाजमिन छ भनेर दिएनन्,' उनले भनिन्, 'हामी कहिल्यै नपुगेको, नदेखेको ठाउँमा ससुराको नाममा जग्गा छ भनेका छन्। ससुरासँग हाम्रो सम्पर्क नभएको नै वर्षौं भइसक्यो।'
उनका अनुसार उनी सानै छँदा काठमाडौं आएकी थिइन्। यतै विवाह गरिन्, छोराछोरी यतै हुर्काइन्। अहिलेसम्म श्रीमानको गाउँसमेत गएकी छैनन्।
दलमर्दन र बबितासहित सात परिवारलाई भूमिहीन नठहराइएको सूचना जारी गरिएको छ। विगतमा जग्गाजमिन भए पनि अहिले केही नभएकाहरूलाई जबरजस्ती होल्डिङ सेन्टरबाट निकाल्न नमिल्ने बबिताको भनाइ छ।
'हामी यसै सुकुम्बासी भएका होइनौं। कतै जग्गाजमिन भेटियो भनेर यसै निकाल्न पाइँदैन। हामी पनि यही देशका नागरिक हौं। हामीले बाँच्न पाउनुपर्छ,' बबिताले भनिन्।
समितिले बाँकी १२ परिवारलाई भने भूमिहीन ठहर गरेको छ।
भूमिहीन ठहर भएका राजेश माझीलाई आफ्नो गृहजिल्ला मोरङको उर्लाबारी नगरपालिका–४ मा गएर जग्गा लिन सूचनामार्फत भनिएको छ।
राजेशले भने जग्गाको लालपुर्जा उपलब्ध गराएपछि मात्र आफू गाउँ फर्किने बताएका छन्।
'यता होल्डिङ सेन्टरबाट निकालेर त्यहाँ गएर बस्न कसरी सम्भव छ? तत्काल जमिन पाइँदैन। तीन–चार जनाको परिवार लिएर कहाँ जानु?' उनले आक्रोश व्यक्त गर्दै भने, 'लालपुर्जा ल्याएर दिओस्, त्यसपछि हामी यो ठाउँ छाड्छौं। नत्र जाँदैनौं।'
रोग, ऋण र गरिबीका कारण जग्गाजमिन गुमाएका नागरिकको आवासको जिम्मेवारी राज्यले लिनुपर्ने उनी बताउँछन्। सरकारले त्यो जिम्मेवारी पूरा गर्नुको साटो दिनहुँ दबाब दिएर आफूहरूलाई होल्डिङ सेन्टरबाट निस्किन बाध्य पारिरहेको उनको गुनासो छ।
बोडेकै होल्डिङ सेन्टरमा बसिरहेकी सन्जु जिम्बाले पनि सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नू भनी सूचना जारी गरेकै भरमा आफूले सेन्टर नछाड्ने अडान लिएकी छन्।
यति लामो समय होल्डिङ सेन्टरमा राखेपछि जग्गाको लालपुर्जा उपलब्ध गराएको भए जसोतसो चित्त बुझाएर जान सकिने उनको भनाइ छ।
'सुकुम्बासीका घरटहरा भत्काउँदा १५ दिनमा व्यवस्थापन गर्ने भाषण दिइएको थियो। तर आठ महिना हुँदासम्म यसै पन्छाउन मात्र दबाब दिइरहेको छ,' उनले भनिन्, 'ओत लाग्ने छत भत्काइदियो। अहिले बिचल्ली बनाउँदैछ।'
प्रशासनले बुधबार बोडेको होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन ठहर भएका र नभएका दुवैथरी परिवारलाई सेन्टर छाड्न सूचना जारी गरेपछि विस्थापित परिवारहरू सरकारप्रति थप आक्रोशित भएका छन्।
कतिपयले भूमिहीन नठहरिएकाहरूलाई मात्र होल्डिङ सेन्टर छाड्न भनिएको भन्दै सामाजिक सञ्जालमा लेखिरहेका छन्। तर प्रशासनले भूमिहीन ठहर भएका र नभएका दुवैलाई सेन्टर छाड्न भनेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए।
उनका अनुसार भूमिहीन ठहर भएकाहरूलाई व्यवस्थापन खर्चबापत २५ हजार र एक महिनाको घरभाडाबापत १५ हजार रूपैयाँ लिएर सेन्टर छाड्न भनिएको हो। भूमिहीन नठहरिएकाहरूलाई भने कुनै पनि सुविधा नलिई सेन्टर छाड्न भनिएको छ।
प्रशासनको उक्त अल्टिमेटमविरूद्ध भक्तपुरको बोडे र खरिपाटी तथा काठमाडौंको इचंगुनारायणस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीका प्रतिनिधिहरूले बुधबार प्रमुख जिल्ला अधिकारीलाई छबुँदे मागसहित ध्यानाकर्षणपत्र पठाएका छन्।
बोडेको होल्डिङ सेन्टरमा सूचना टाँसिएपछि त्यहाँ सुरक्षाका लागि खटिएका प्रहरीमार्फत जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र पठाइएको त्यही सेन्टरमा बसिरहेका झवरलाल उराँवले बताए। झवरलाललाई भने समितिले भूमिहीन ठहर गरेको छ।
ध्यानाकर्षणपत्रमा २३ देखि ५५ वर्षसम्म नदी किनारमा बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्थाबिनै २४ घन्टे सूचना दिएर घरबारविहीन बनाइएको उल्लेख छ। सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने भनी गरेको वाचा सात महिना बितिसक्दा पनि पूरा नभएको उनीहरूले जनाएका छन्।
बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा बिरामीहरू कष्टकर जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै उनीहरूले होल्डिङ सेन्टर खाली गर्ने सूचना तत्काल फिर्ता लिन माग गरेका छन्।
वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नभएसम्म होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउने काम बन्द गर्नुपर्ने उनीहरूको माग छ।
'जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन तथा सुकुम्बासी नठहराउने निर्णय पुनरवलोकन गरी पीडित परिवारसँग प्रत्यक्ष संवाद तथा निष्पक्ष स्थलगत छानबिन गर्नुपर्ने माग पनि राखेका छौं,' झवरलालले भने, '१५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता अनुसार सम्मानजनक भूस्वामित्वसहित आवास उपलब्ध गराउन, भत्काइएका घरटहरा, नष्ट भएको सम्पत्ति तथा जीविकोपार्जनमा पुगेको क्षतिको निष्पक्ष मूल्यांकन गर्न माग गरेका छौं।'
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खड्का भने भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ (क) र ५२ (ख) बमोजिम छानबिन गरी कानुनी प्रक्रिया अनुसार नै सूचना जारी गरिएको बताउँछन्।
उनका अनुसार तीन पुस्ताभित्र जग्गाजमिन रहेको देखिए वा २०६६ माघ २८ गतेपछि जग्गा कारोबार गरेको पाइए कानुनी रूपमा भूमिहीन मानिँदैन। यही मापदण्डका कारण बोडेका सात परिवार भूमिहीनको सूचीबाट बाहिरिएको उनको भनाइ छ।
'जग्गाको कारोबार भएको वा तीन पुस्ताभित्र जग्गाजमिन देखिएका सात परिवार भूमिहीनमा पर्नुभएन। त्यसैले उहाँहरूले थप सेवासुविधा पाउनुहुन्न र सेन्टर छाड्नुपर्छ,' प्रमुख जिल्ला अधिकारी खड्काले भने।
बाँकी १२ परिवारका हकमा भने जग्गा रहेको नदेखिएकाले उनीहरूलाई भूमिहीनको निस्सा दिइने उनले जानकारी दिए।
उनीहरूको स्थायी ठेगाना रहेको जिल्लाको भूमि समस्या समाधान समितिमार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको खड्काले बताए।
'उहाँहरूलाई तत्कालका लागि नेपाल सरकारले तोकेको एक महिनाको घरभाडास्वरूप १५ हजार रूपैयाँ बुझेर सेन्टर छाड्न भनेका छौं,' खड्काले भने, 'व्यवस्थापनका लागि दिइने २५ हजार रूपैयाँ धेरैले लिइसक्नुभएको छ। नलिएकालाई दिएर पठाउँछौं।'
यसअघि मंसिर २ गते एक साताभित्र सेन्टर छाड्न मौखिक निर्देशन दिइएपछि बोडे र खरिपाटीका दुवै होल्डिङ सेन्टरबाट गरी ७ परिवार बाहिरिएका थिए।
अहिले लिखित रूपमा जारी गरिएको सूचना भने बोडेको होल्डिङ सेन्टरको हकमा मात्र लागू हुन्छ।
भक्तपुरकै खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेको अर्को होल्डिङ सेन्टरमा पनि आश्रय लिइरहेका परिवारको विवरण संकलन भइरहेको छ। त्यहाँ पनि केही दिनमा सेन्टर खाली गर्ने सूचना जारी गरिने प्रमुख जिल्ला अधिकारी खड्काले बताए।
***