सरकारले सिफारिस गरेका तीनवटा अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्। मन्त्रिपरिषदको सिफारिसमा पठाइएका अध्यादेशहरू राष्ट्रपति कार्यालयले अध्ययन गरिरहेको जनाएको छ।
सरकारले कात्तिक २७ गते दुईवटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको थियो। तीमध्ये प्रेस काउन्सिल नेपाल ऐन २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश हुन्।
त्यसैगरी मंसिर ४ गते सरकारले जेनजी आन्दोलन क्रममा भएका घटनाको छानबिन, क्षतिपूर्ति तथा परिपूरणका लागि आयोग गठन गर्ने उद्देश्यले अर्को अध्यादेश सिफारिस गरेको थियो। यी तीनवटै अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा होल्ड छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले सरकारले सिफारिस गरेर पठाएका सबै अध्यादेश अध्ययनकै क्रममा रहेको जानकारी दिए।
'राष्ट्रपति कार्यालयले अध्यादेश अध्ययन गरिरहेको छ,' उनले भने।
संविधानको धारा ११४ को उपधारा १ मा संघीय संसदका दुवै सदनको अधिवेशन चलिरहेको अवस्थाबाहेक तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने व्यवस्था छ। अहिले संघीय संसदका दुवै सदनको अधिवेशन पनि चलेको छैन।
यसअघि पनि राष्ट्रपतिले केही अध्यादेश तत्काल जारी नगरी अध्ययनका लागि समय लिने र आवश्यक पर्दा कारणसहित फिर्ता गर्ने गरेका थिए।
अध्यादेश रोकिएपछि राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबीच संवादको अभाव देखिएको स्रोतहरूको दाबी छ।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले अध्यादेश राष्ट्रपति कार्यालयमा होल्ड भएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई जानकारी गराएका थिए।
त्यसपछि प्रधानमन्त्री कार्यालयले उनलाई यसबारे राष्ट्रपति कार्यालयमा बुझ्न भनेको थियो।
'राष्ट्रपति कार्यालयले मन्त्री तिमिल्सिनालाई भेटका लागि समय नै उपलब्ध गराएन,' प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ।
त्यसपछि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयका सचिवसँग अध्यादेश होल्ड गरिनुको कारणबारे चासो राखेको स्रोतले बतायो।
लामो समयदेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच प्रत्यक्ष भेटघाट तथा संवाद भएको छैन। विगतमा प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिलाई भेटेर त्यसको आवश्यकता र मुख्य विषयबारे जानकारी गराउने अभ्यास थियो।
तर यसपटक प्रधानमन्त्री बालेन शाहले अध्यादेशबारे राष्ट्रपतिलाई प्रत्यक्ष जानकारी गराएका छैनन्। हालै सम्पन्न भारत भ्रमणबारे पनि उनले राष्ट्रपतिलाई जानकारी गराएका थिएनन्।
राष्ट्रपतिनिकट स्रोतका अनुसार राष्ट्रपतिले अध्यादेशका केही सैद्धान्तिक विषयमा चासो राखेकाले प्रधानमन्त्रीले भेटेर त्यसका विषयवस्तु र उद्देश्यबारे जानकारी गराउनु उपयुक्त हुने थियो, तर त्यसो भएन।
यसैबीच प्रेस काउन्सिल नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेशलाई लिएर नेपाल पत्रकार महासंघले चासो व्यक्त गरेको छ। महासंघको टोलीले कात्तिक २० गते शीतल निवास पुगेर राष्ट्रपतिसँग यस विषयमा छलफलसमेत गरेको थियो।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने उद्देश्यले सरकारले अध्यादेश ल्याउन खोजेको भन्दै महासंघ आन्दोलनमा छ। त्यस बेला राष्ट्रपतिले अध्यादेश अध्ययन गर्ने र संविधानविदहरूसँग पनि राय लिने आश्वासन दिएका थिए।
सरकारले सिफारिस गरेका तीनवटै अध्यादेश राष्ट्रपति कार्यालयले कहिले अध्ययन सक्छ र जारी हुन्छ भन्ने यकिन छैन।