सेतोपाटी ब्रिफिङ
न्यूरोडको फुटपाथ विस्तार सामान्य तर महत्त्वपूर्ण काम हो। यो स्थानीय र संघीय सरकारबीच विवाद हुनुपर्ने विषय नै होइन। तर यसमा विवाद मात्र होइन, भनाभन र लाञ्छनाको शृंखला नै जारी छ।
पछिल्लोपटक मेयर बालेन शाहले न्यूरोडमा फुटपाथ विस्तार गर्न खनेको सडक संघीय सरकारले गिरीबन्धु टी-इस्टेट प्रकरणबाट ध्यान मोड्न पुरेको आरोप लगाएका छन्। उनले बिनासन्दर्भ लगाएको यो आरोप कति जायज हो?
न्यूरोड फुटपाथ विस्तारका सम्बन्धमा योभन्दा महत्त्वपूर्ण प्रश्न धेरै छन्।
यो विवाद किन यति धेरै चर्किएको छ? यसमा बालेन कति ठिक छन्, कति बेठिक? फुटपाथ विस्तार न्यूरोड क्षेत्रका बासिन्दा र व्यवसायीको हितमा कति छ र हितविपरीत कति छ? र, यो प्रकरणमा संघीय सरकारले ठिक रवैया देखायो कि देखाएन?
यी मुख्य प्रश्न समेटेर हामीले हाम्रा पाठकहरूका लागि पाँचबुँदे ब्रिफिङ तयार पारेका छौं।
१) बालेन शाहले न्यूरोड क्षेत्रको फुटपाथ विस्तार गर्न खोज्नु आफैमा ठिक छ। किनभने, न्यूरोड मानिसहरूको घुइँचो हुने ठाउँ हो।
यहाँ ओहोरदोहोर हुने मानिसको संख्याका तुलनामा फुटपाथ अति नै साँघुरा छन्। ती साँघुरा फुटपाथमा मानिसहरूको पकेट मारिनेदेखि महिलाहरूमाथि यौनिक दुर्व्यवहारसम्मका घटना हुन्छन्।
साँघुरा फुटपाथ व्यवसायीहरूको पनि हितविपरीत छ। किनभने, मानिसहरू गाडी चढेर न्यूरोड त जालान्, तर गाडीमै बसी बसी किनमेल गर्ने होइनन्। उनीहरू गाडीबाट ओर्लिएर नै एउटा पसलबाट अर्को पसल चहार्ने हुन्। फुटपाथमा हिँड्ने हुन्। त्यसैले फुटपाथ जति फराकिला र सजिला भए, त्यति नै धेरै मानिस न्यूरोडमा किनमेल गर्न आउने छन्। फराकिला फुटपाथमा हिँड्दा मानिसले पाउने आनन्दको अनुभूतिले पनि उनीहरूलाई तानिरहन्छ।
अहिले न्यूरोडबाट पार्किङ हटाएपछि मानिसहरूलाई झनै फुटपाथको दरकार छ। विशाल बजार, सिभिल मल, चाइना टाउन, निर्माणाधीन सुन्धारा पार्किङ र पुरानो बसपार्क लगायत ठाउँमा गाडी राखेर मानिसहरू न्यूरोड आउने भनेको फुटपाथमा हिँड्दै नै हो। यसले फुटपाथमा चाप बढेर थप साँघुरो हुने अवस्था छ। बजार जति साँघुरो हुँदै जान्छ, मानिसहरू किनमेलका लागि न्यूरोड जाने क्रम उति घट्दै जानेछ। यसले न्यूरोडको आर्थिक जीवन क्रमश: सुस्ताउन थाल्नेछ। यहाँका व्यवसायी र बासिन्दाले यो पाटोमा धेरै ध्यान दिएका छैनन्, जुन उनीहरूको सबभन्दा ठूलो चासोको विषय हुनुपर्ने हो।
मुख्य सहरका फराकिला सडक साँघुरो पारेर फुटपाथ बढाउने क्रम अहिले संसारभरका ठूला सहरमा बढ्दै गएको छ। धेरै सहरमा त त्यहाँका मुख्य भागमा सवारी निषेध गरेर मानिसहरू हिँड्ने मात्र व्यवस्था मिलाउन थालिएको छ। यस्तो कामले सहरका मुख्य र व्यस्त भागलाई पुनर्जीवन दिएको छ। बजारमा मानिसको आवतजावत बढेको छ। आर्थिक क्रियाकलाप वृद्धि भएको छ।
त्यसैले सडक साँघुरो पारेर फुटपाथ बढाउने काम होस् वा मुख्य भागमा सवारी निषेध गर्ने काम होस्, त्यो स्थानीय व्यवसायी र बासिन्दाको दीर्घकालीन हितमा छ। यो कुरा न उनीहरूले बुझेको देखिन्छ, न त मेयर बालेनले यसबारे स्थानीय बासिन्दा र व्यवसायीसँग बृहत् छलफल गरेका वा बुझाउन खोजेका छन्।
न्यूरोड क्षेत्र भनेको काठमाडौंको प्रमुख सम्पदा स्थल पनि हो। बाह्य र आन्तरिक पर्यटकहरू आउने ठाउँ हो। त्यसैले यो ठाउँमा सवारी निषेध गर्ने वा सवारी साधनका लागि सडक घटाएर फुटपाथ फराकिलो पार्ने काम झनै आवश्यक र जायज हो।
२) न्यूरोडका स्थानीय बासिन्दाले उठाएको एउटा कुरा भने जायज छ — यहाँ फुटपाथ विस्तार गरेपछि सडक यति साँघुरो हुन्छ, गाडीहरू प्राय: एक लाइनमा मात्र गुड्नुपर्ने हुनसक्छ। पछाडिको गाडीले अगाडिको गाडीलाई ओभरटेक गर्न कठिन हुन्छ। आपतकालीन स्थितिमा ठूलो आकारका एम्बुलेन्स र दमकल अगाडिको गाडीलाई ओभरटेक गरेर जान झनै गाह्रो हुन सक्छ। फुटपाथ विस्तार गरेपछि सडक जम्मा सात मिटर बाँकी रहन्छ। त्यसमा निकै कठिनका साथ तीनवटा गाडी पास हुन सक्छन्।
सडक साँघुरो भएपछि मानिसहरु किनमेल गर्न न्यूरोड कम आउँछन् भन्ने पनि त्यहाँका व्यवसायी र बासिन्दालाई डर छ। न्यूरोड घना बस्ती भएको इलाका हो। यो जति व्यावसायिक क्षेत्र हो, त्यति नै आवासीय क्षेत्र हो। त्यसैले स्थानीयको यो चासो सम्बोधन हुनु जरूरी छ।
सम्बोधन गर्ने तरिका पनि छ। कतिपय इन्जिनियरले यसको समाधान सुझाइरहेका छन्।
उनीहरूको सुझाव छ — न्यूरोडमा बालेनले चाहेजस्तो फुटपाथ विस्तार गर्ने हो भने सडक र फुटपाथलाई एउटै 'लेभल' मा ल्याउनु बेस हुन्छ। यसका लागि सडकको भाग कालोपत्रे गरेर फुटपाथको भागलाई ढुंगा वा इँटा बिछ्याएर वा अन्य किसिमको मार्किङबाट छुट्टयाउन सकिन्छ। यसो गर्दा सामान्य समयमा कालोपत्रे गरिएको सडकमा गाडी गुड्छन् भने ढुंगा वा इँटा बिछ्याइएको फुटपाथमा मानिस हिँडछ्न्। एम्बुलेन्स वा दमकल कुदाउनुपरेको अवस्थामा भने अन्य गाडीहरूले फुटपाथको खण्ड च्यापेर ठाउँ छाडिदिन सक्छन्।
बालेनले भविष्यमा समग्र न्यूरोडलाई सवारीमुक्त क्षेत्र बनाउने योजना पनि गरेका छन्। त्यो योजना कार्यान्वयन गर्न पनि फुटपाथ र सडकलाई एउटै लेभलमा ल्याउन जरूरी नै छ। त्यसैले अहिले नै फुटपाथलाई सडककै लेभलमा ल्याउने काम गरे सबैलाई 'विन-विन' अवस्था हुनसक्छ।
३) मेयर बालेन आफै स्ट्रक्चरल इन्जिनियर हुन्। उनले पनि यो वा यस्तै विकल्प सुझाउन सक्थे। सबभन्दा पहिला त आफ्नै वडाध्यक्षहरूलाई यो कुरा बुझाउन सक्थे। त्यसपछि उनीहरूसँगै गएर व्यवसायी र स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्न सक्थे।
उनले संसारभरिका प्रमुख सहरका मुख्य भागमा गरिएका फुटपाथ विस्तार र सवारी निषेधले कसरी मानिसहरूको ओहोरदोहोर बढेको छ, ती ठाउँले कसरी पुनर्जीवन पाएका छन् र व्यवसाय फस्टाएका छन् भनेर बुझाउन सक्थे। यसबारे प्रशस्तै अध्ययन भएका छन् र प्रशस्तै 'केस स्टडी' पनि तयार छन्। ती अध्ययन देखाएर न्यूरोडलाई पनि त्यस्तै बजार बनाउन सकिन्छ भन्दै स्थानीयको सहभागिता र समर्थन जुटाउन सक्थे। र, उनीहरूको समर्थनमै यो काम अघि बढाउन सक्थे।
खुला समाजले लोकतान्त्रिक विधिअनुसार चुनेको मेयरले कुनै पनि काम सुरू गर्नुअघि स्थानीयको सहभागिता र समर्थन जुटाउनु उनको आधारभूत जिम्मेवारी हो। जनतालाई सँगै लिएर हिँडनु मेयर बालेनको हितको कुरा पनि हो। तर बालेनको सबभन्दा कमजोर पक्ष त्यही हो।
उनलाई कुनै कुरा मनमा लागेपछि त्यो सही होस् वा गलत, त्यसमा अरूको कुरा नसुन्ने, अरूलाई बुझाउन नखोज्ने, सहभागितामूलक र सामूहिक निर्णयको प्रयत्न नगर्ने, बरू अरूलाई हप्कीदप्की गर्ने, उस्तै परे लाञ्छित गर्ने प्रवृत्ति छ। कार्यपालिका बैठकमा वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनसँग परेको उनको गलफत्ती त्यसैको परिणाम हो।
मेयर बालेनले न्यूरोड गेटदेखि जुद्धशमशेरको सालिक हुँदै इन्द्रचोक, पाको र खिचापोखरीका फुटपाथ विस्तार गर्न खोजेका छन्। इन्द्रचोकदेखि जुद्धशमशेरको सालिकसम्मको सडक उनले काट्न लगाएका थिए भने सालिकदेखि न्यूरोड गेटसम्म मार्किङ गरेका थिए। इन्द्रचोकदेखि जुद्धशमशेरको सालिकसम्म वडा नम्बर २४ मा पर्छ भने सालिकदेखि न्यूरोड गेटको भाग वडा नम्बर २२ मा पर्छ।
वडाध्यक्ष महर्जनले कार्यपालिका बैठकमा महानगरको फुटपाथ विस्तारको निर्णय पत्रपत्रिकाबाट थाहा पाउनुपरेको भन्दै विरोध गरे। यसले कार्यपालिका बैठकमा यसबारे पर्याप्त छलफल र निर्णय भएको छैन भन्ने देखाउँछ। सम्बन्धित वडाध्यक्षहरूलाई यसबारे थाहा दिइएको छैन र उनीहरूलाई सहमतिमा लिइएको छैन भन्ने पनि देखाउँछ।
कार्यपालिकामा वडाध्यक्ष महर्जनले प्रश्न गरेपछि मेयर बालेन झोक्किन्छन् र 'र्याप ब्याटल' शैलीमा ओर्लिएर वडा नम्बर २४ को सडक काटेकोमा २२ नम्बरका वडाध्यक्षको किन आपत्ति भन्दै प्रतिप्रश्न गर्छन्। वडाध्यक्ष महर्जन बालेनजस्तो वाकपटु छैनन्। त्यसैले उनले बालेनकै शैलीमा जबाफ फर्काउन सक्दैनन्। तैपनि उनले भन्न खोजेको कुरा प्रस्टै बुझिन्छ। फुटपाथ विस्तार त वडा नम्बर २२ मा पनि हुँदैछ, सडक मार्किङ भइसकेको छ, त्यसैले वडा नम्बर २४ को कुरा मात्र हो भनेर पन्छिन मिल्दैन भनेर उनी भन्न खोज्छन्। तर बालेनले त्यसबारे कुनै जबाफ दिँदैनन्।
आफ्नै कार्यपालिकाको टिमलाई विश्वासमा नलिइकन, उनीहरूलाई कुरा नबुझाइकन, त्यहाँका स्थानीय बासिन्दासँग छलफल नगरिकन र उनीहरूको विश्वास नजितिकन बालेनले कसरी विकास गर्न सक्छन्?
महानगरको नेताका रूपमा उनी कसरी सफल हुन्छन्?
भोलि योभन्दा ठूलो जिम्मेवारी र देश हाँक्ने जुन महत्त्वाकांक्षा उनमा छ, त्यो कसरी निर्वाह गर्छन्?
४) भौतिक परियोजना, निर्माण तथा यातायात मन्त्रालय र सडक विभागले पनि यो प्रकरणमा संयम अपनाउन र सही भूमिका खेल्न सकेका छैनन्।
उनीहरूले फुटपाथ विस्तारको आवश्यकता बुझेर, मेयरको स्वभाव र कमजोरी ख्याल गरेर सहकार्यको हात बढाउन सक्थे। फुटपाथ विस्तार गरौं तर मूल सडकको जिम्मेवारी सडक विभागको भएकाले निर्माणको काम हामी नै गर्छौं भन्न सक्थे। त्यसका लागि वडाध्यक्षहरूलाई साथमा लिने, कार्यपालिकाबाट पास गराउने र जनसहभागिता जुटाउने काम तपाईं गर्नुहोस् भन्न सक्थे। तर उनीहरूले त्यसो गरेनन्। बरू महानगरसँग वाकयुद्धमा ओर्लिए र तुरून्तका तुरून्त महानगरले खनेको ठाउँ पुर्न अघि सरे।
मेयर बालेनको सनक, एकलकाँटे व्यवहार र 'सेल्फ राइटियोसनेस' (आफू मात्रै ठिक) भन्ने सोचबाट कोही बेखबर छैन। त्यसैले मन्त्रालय र सडक विभागले उनीसँग 'इगो' साँध्न न्यूरोड क्षेत्रको बृहत्तर हितमा सम्झौता गर्न हुन्थेन। मेयरलाई देखाइदिन्छु भन्ने प्रवृत्तिमा उनीहरू लाग्न हुन्थेन।
बालेनले सडक विभाग र सडक डिभिजन कार्यालयअगाडि धुलो झार्ने गैरजिम्मेवार र बहुलठ्ठी काम गरेपछि मन्त्रालय र विभाग बिच्किएको देखिन्छ। त्यसपछि न्यूरोडमा बालेनले काटेको सडक पुर्ने म्याद दिन सडक डिभिजनले पत्र पठायो। अनि सोमबार आफै गएर सडक टाल्यो। न्यूरोड क्षेत्रमा गर्नैपर्ने फुटपाथ विस्तारको आवश्यक र दीर्घकालमा महत्त्वपूर्ण काम दुई पक्षको 'इगो' का कारण तुहियो।
न्यूरोडमा यो प्रयोग गर्न पाएको भए र त्यसको सकारात्मक परिणाम देखिएको भए बिस्तारै काठमाडौं र अरू प्रमुख सहरका मुख्य भागमा फुटपाथ विस्तार र सवारी निषेधको काम अघि बढ्थ्यो। त्यसले हाम्रा सहरहरू राम्रा हुन्थे। सवारी साधनको घन्चमन्चले खोसेको हाम्रो सहर र सडक आममानिसले फिर्ता पाउँथे। त्यो प्रयोग र अवसर अहिलेलाई गुमेको छ।
५) सडक विभागले सोमबार न्यूरोडमा काटिएको सडकको भाग पुरेर कालोपत्र गरेपछि मेयर बालेनले झनै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्। गिरीबन्धु टी-इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्यूरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तारमा अवरोध गरिएको उनको तर्क छ।
उनले फेसबुकमा लेखेका छन्, '१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनुहोला केपी ओलीज्यू! झापा गिरीबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनुभएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लिन्छ भन्ने लाग्दैन।'
उनले गिरीबन्धुको जग्गा प्रकरणबाट विषयान्तर गर्न संघीय सरकारले न्यूरोडमा आफ्नो तागत देखाएको आरोप लगाए पनि खासमा विषयान्तर गर्न बालेनले खोजेका छन्। उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई तोकेर जुन आक्रोश पोखेका छन्, त्यो अनावश्यक र नाजायज छ।
गिरीबन्धु टी-इस्टेटमा गम्भीर नीतिगत भ्रष्टाचार भएकोमा कुनै शंका छैन। त्यही भएर अदालतले त्यो निर्णय खारेज गरिसकेको छ। तर गिरीबन्धु टी-इस्टेट र न्यूरोड सडक विस्तारबीच टाढाको साइनो पनि छैन। आफ्नो सनक र एकलकाँटे प्रयत्न असफल भएपछि बालेनले त्यसको रिस एमाले र ओलीमाथि पोख्न खोजेका मात्र हुन्।
बालेनको व्यक्तित्वमा एउटा साह्रै कमजोर पाटो छ। उनी आफू मात्रै ठिक र आफूले भनेको सबैले सुन्नुपर्छ, मान्नुपर्छ भन्ठान्छन्। तर आफूले चाहिँ अरूको कुरा सुन्नु र मान्नुपर्दैन भन्ने भावना वा दम्भ बालेनमा यति धेरै सवार छ, यो नै उनको सबभन्दा ठूलो कमजोरी र दुर्गुण हो। अनि यो नै उनको सबभन्दा ठूलो शत्रु पनि हो।
यो यति ठूलो दुर्गुण हो, जसले म केही गर्छु भनेर राजनीतिमा आएका र आर्थिक आचरणका हिसाबले अहिलेसम्म कुनै कमजोरी नदेखिएका बालेनलाई भविष्यको नेताका रूपमा सिध्याउन सक्छ। यो कुरा बालेनलाई कसले भन्ने, कसले सुनाउने अनि उनले कसको कुरा सुन्ने!