भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन्।
दुई दिने नेपाल भ्रमणमा आएका मिश्रीले बिहीबार नयाँ दिल्ली फर्कनु अघि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार बिहान सिंहदरबारमा मिश्रीले शाहसँग भेट गर्नेछन्।
नेपालका प्रधानमन्त्रीको आगामी भारत भ्रमणको तयारीको सन्दर्भमा मिस्री नेपाल आइपुगेका हुन्।
मिश्रीले आजै परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपाल भारतका द्विपक्षीय विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाह आगामी नोभेम्बर २३ तारिखमा भारत भ्रमणमा जाने लगभग तय भएको छ। यद्यपी दुवै पक्षले भ्रमणको मिति घोषणा गर्न बाँकी छ।
प्रस्तावित भ्रमणका क्रममा ऊर्जा, व्यापार, पूर्वाधार विकास र यातायात सञ्जाल विस्तारका विषयलाई प्राथमिकता राख्ने सरकारको तयारी छ।
विशेषगरी रक्सौल–काठमाडौं रेलमार्ग, जनकपुर–अयोध्या रेल सेवा, पश्चिम सेती र सेती नदी–६ जलविद्युत् आयोजना, सीमा पूर्वाधार निर्माण तथा बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माणमा सहयोग, नेपाललाई थप एयर रूट लगायतका विषयमा छलफल हुनेछ।
प्रधानमन्त्री बनेपछि शाह पहिलो औपचारिक द्विपक्षीय भ्रमणमा भारत जान लागेका हुन्।
यसअघि शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क गएका थिए।
शाह प्रधानमन्त्री नियुक्त भए लगत्तै भारतीय विदेश सचिव मिश्री निम्तोका लागि नेपाल आउन चाहेका थिए। तर प्रधानमन्त्री शाहसँग भेटवार्ता नहुने भएपछि उनको भ्रमण रोकिएको थियो।
तर यसपटक भने भ्रमण तयारका लागि आएका मिश्रीसँग प्रधानमन्त्री शाहले भेट गर्न लागेका हुन् ।