अहिले अमेरिकाकै १० उत्कृष्ट सफारी पार्कमध्येको एक हो- भर्जिनिया सफारी पार्क।
हामी बसेको ठाउँदेखि लगभग १९५.८ माइल पर, दक्षिण-पश्चिमको भर्जिनया राज्यको रकब्रिज काउन्टीस्थित सफारी पार्क गाडीबाट करिब ३ घण्टाको यात्रापछि पुग्न सकिने पर्यटकीय गन्तव्य हो।
सन् २०१९ को २५ जुलाई बिहीबार। बिहान ६ बजेर ४५ मिनेट।
माङगेना, दीपक, आर्य, अमूल्य, युयु र म भर्जिनिया सफारी पार्कको यात्रामा निस्कियौं। दीपकले ब्लूरिज पार्कवेलाई पूर्वतिर छोडेर गाडी हुँइकायो। ब्लूरिज पार्कवे उत्तरी क्यारोलिनाको ग्रेट स्मोकी पर्वत राष्ट्रिय निकुञ्जलाई शेनान्डोह राष्ट्रिय निकुञ्जसँग जोड्ने एकल एकाइको योजनामा बनाइएको ४६९ माइल लामो सडक हो।
सन् १९३५ मा ब्लूरिज पार्कवे बनाइएको थियो जसलाई पूरा गर्न ५२ वर्ष लाग्यो। स्काइलाइन ड्राइभ र ब्लूरिज पार्कवे भर्जिनिया राज्य सडक ४८ को अंश हो यद्यपी यसलाई राष्ट्रिय पार्कवेको नामले नै जानिन्छ र अमेरिकी सडकहरूमा यो प्राकृतिक सौन्दर्यको लागि प्रख्यात छ।
गुडिरहेको गाडीभित्र आर्य र अमूल्यले निन्द्रा पुर्याएर ब्युँझेपछि ह्यारिसनबर्गको एउटा पसलबाट खानेकुरा किनेर बाहिर पट्टीको हावाघरमा बसेर खायौं।
जातीय र भाषिक विविधताको गढ ह्यारिसनबर्गलाई पहिले ‘रकटाउन’ भनेर चिनिन्थ्यो। ६ जुन १८६२ मा शेनान्डोह उपत्यकाका दासहरू स्वतन्त्र भएपछि तिनीहरूले स्थापना गरेका ‘न्युटाउन’ भन्ने ठाउँ पनि ह्यारिसनवर्गमा नै रहेछ।
केहीबेर आराम गरी पुन: अघि बढ्यौं ह्यारिसनबर्गदेखि।
सफाचट मौसम, खुला नीलो आकाश, शेनान्डोह उपत्यकाको अनुपम दृश्यले मनलाई त्यतैतिर तानिरहेको छ। व्यस्त सडकमा सामान ढुवानी गर्ने लामा-लामा गाडी पनि भेटिन्थे। बिहान १०: ४५ बजे भएको थियो होला भर्जिनिया सफारी पार्क पुग्दा।
सफारी पार्क घुम्नलाई समय तालिका छुट्याइएको रहेछ। बिहान १०-१५, ११-३० अनि दिउँसो २ बजे।
आफैं गाडी गुडाएर सफारी पार्क घुम्न सकिने रहेछ। हामीले ट्याक्टरमा चढेर सफारी पार्क घुम्नलाई बिहान ११-३० बजेको टिकट लियौं।
१३ देखि ६४ वर्ष उमेरका लागि २१ डलर, ६५ देखि माथिका लागि २० डलर अनि २ देखि १२ वर्ष सम्मका लागि १४ अमेरिकी डलर प्रवेश शुल्क लाग्दो रहेछ।
जनावरलाई खुवाउने चारो एक बाल्टीको ४ डलर गरेर जम्मा ६ वटा बाल्टी किन्यौं।
ट्याक्टरको ट्रेलरमा बसाइयो हामीलाई। त्यसपछि कच्ची सडकमा ट्याक्टर गुड्न लाग्यो।
ट्याक्टर गुडेको आवाज जङ्गलमा गुञ्जिन थालेपछि जनावारहरू सडकमा आएर ट्याक्टरलाई घेर्न थाले।
हामीले जनावरहरूलाई बाल्टीको चारो खान दियौं। ट्याक्टरका ड्राइभरले नै गाइडको काम गर्दा रहेछन्।
यात्रा गर्दै जाँदा घटनाको बेलिविस्तार लगाउँथे।
यहाँ लगभग एक हजार जनावर रहेछन्। जंगलमा दक्षिण अफ्रिका,अमेरिकामा पाइने जनावरदेखि भारतमा पाइने जनावरसम्म रहेछन्। चारो खुवाउने क्रममा बाल्टीमा मुख लगाएका जनावरलाई हटाउनु गाह्रो हुँदो रहेछ।
रक्की माउन्टेन इल्कले मेरो हातबाट चारोको बाल्टी नै लिएर गयो। माङ्गेना र अन्यका चारोको बाल्टी पनि जनावरले लगेछ।
‘चारो सकि नहाल्नू है जनावारहरू अझै भेटिन्छन्’, ट्याक्टर चालक भन्दै थिए।
दीपक,आर्य, अमूल्य र युयुसँग भएको चार बाल्टी चारोलाई दुई बाल्टीमा खन्यायौं त्यसपछि दुई बाल्टीमा अलिक अलिक लगाएर ट्याक्टर नजिक आएका जनावरहरूलाई चारो खान दिँदै जङ्गल छिचोलेर माथि थुम्कोमा आइपुग्यौं।
यहाँबाट देखिने अपलाचियन पहाडका अंश भर्जिनियाको आठ र पश्चिम भर्जिनिया राज्यको दुइटा काउन्टीहरू समावेश भएको शेनान्डोह उपत्यकाको प्राकृतिक सौन्दर्य हेरेर आँखा थाक्दैन।
उत्तरी क्यारोलिना राज्यको सीमानामा पर्ने अमेरिकी मूलनिवासी चेरोकी जातिको आरक्षण क्षेत्र, विश्व सम्पदा क्षेत्रको सूचीमा परेको ग्रेट स्मोकी पर्वत राष्ट्रिय निकुञ्ज नामले जानिने श्रृङ्खलावद्ध पर्वतहरू, स्काइलाइन ड्राइभको रूपमा भर्जिनियाको सडक मार्गले छोएको शेनान्डोह राष्ट्रिय निकुञ्ज पनि अपलाचियन पर्वतमालाको अंश रहेछ।
यो पर्वतमाला उत्तरी अमेरिकाको पूर्वी भागमा अवस्थित एक विशाल पर्वत श्रृंखला हो। यसको विस्तार संयुक्त राज्य अमेरिकादेखि क्यानडाको पूर्वी इलाका सम्म भएकोछ।
सन् २००० सालदेखि चालू भएको भर्जिनिया सफारी पार्क स-साना पहाडका थुम्काहरूमाथि १८० एकड भूमिमा फैलिएको छ।
सफारी पार्कमा वनभोज क्षेत्र र सफारी गाउँ पनि रहेछ। गाउँ घुमेर बूढी चरोदेखि पेन्गुइन,कछुवा अनि बाख्रोदेखि सर्प आदि हेर्दाहेर्दै समयले फड्को मारेको पत्तो भएन।
दिउँसोको ३ बजे। सफारी पार्कपछि नेचरल ब्रिजलाई फेरो लगाउने हाम्रो इच्छालाई समयले साथ दिएन। अर्को पल्ट नेचरल ब्रिज घुम्ने बाचा गर्दै सफारी पार्कबाट बाहिरियौं।
साँझको ५ बज्नै लाग्दा बल्ल सेन्टरभिल्ले आइपुग्यौं। सेन्टरभिल्ले एक आधुनिक र घना जनसंख्या भएको सहर भएकोले यसलाई तीन प्रमुख सडकद्वारा सेवा पुर्याइएको छ।
युएस मार्ग २९ सहरको पश्चिमबाट अनि भर्जिनिया मार्ग २८ दक्षिणबाट प्रवेश गरेको छ।
यसरी नै अमेरिकी मार्ग २९ ले सेन्टरभिल्लेका दुई मुख्य किनमेल केन्द्रहरू बीचको अन्तर्क्रिया गर्दछ।
हाम्री पश्चिमतर्फको सडकबाट सेन्टरभिल्लेमा मोडियौं। यहाँको एउटा कोरियन रेस्टुरेन्टमा पस्यौं। मधुरो प्रकाशमा कोरियन खानामा विभिन्न प्रकारका मासुको स्वाद जिब्रोमा बोकेर घरतर्फ लम्कियौं। यात्रा सकिएको छैन। दीपकले गाडी गुडाउँदै छ। चिल्ला सडकमा गाडी गुड्दै छ …गुड्दै छ...