चितवन कृषि क्याम्पसदेखि कै प्रिय मित्र सुदिप जीले मलाई आन्तरिक पर्यटन प्रवर्द्धनको लागि टिम मिलाएर यात्राको लागि प्रस्ताव ल्याउनु भयो।
हाम्रो यात्राको उद्धेश्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्नेमात्र थिएन, यात्रा गरिएको ठाउँका समस्या पहिचान गर्नु पनि थियो।
छलफलमा यात्रा गर्दा पाटनभरिका मनोरम दृश्यहरू, फाँटैभरि फुलेका मसिना–मसिना रङ्गी–विरङ्गी चेरी र ल्वाङ फूलहरूले सुनौलो फाँटहरु, हिमश्रृंखलाहरू र पहेँलपुर झारफूलहरूको मनोरम दृश्य अवोलोकन गर्न सकिने सल्लाह दिएँ।
खप्तड यात्राको मिति निश्चित भयो- गत भदौ १८ गते।
यात्रा करिब ६/७ दिनको हुन्छ। यसमा १/२ दिन अघि–पछि पर्नसक्छ। २०/२५ हजार पैसाको जोहो गर्नुस्, माइन्ड मेकअप गर्नुस भने। कार्यक्रमको सेडुअल केही दिनभित्रै इमेल गरिदिन्छु’ सबै जनालाई मोबाइल म्यासेज गर्दिएँ।
यात्रा लिष्टमा मलगायत मित्रहरू सुदीप, राम, ईश्वर, निर्मल, तिलक, कृष्ण, सुरेन्द्र र क्यामेरा मेन बिबेक गरी ९ जनाको टिम भयौं।
सबै जना ठीक ७ बजे त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भेट हुने कुरा थियो।
सिल्पिङ ब्याग कसिएको रुकस्याक भिरेका झट्ट हेर्दै अनुभवी पदयात्रीजस्ता देखिने।
‘प्यासेन्जर गोइङ टु काठमाडौं टु धनगढी एअरपोर्ट आर रिक्वेस्टेड टु प्रोसिड इन गेट नंम्बर टु” बुद्ध एअरबाट एनाउन्समेन्ट भयो।
हामी गेट नम्बर २ हुँदै बसमा चढ्यौं। बसले हवाइजहाज भएको स्थानसम्म पुर्यायो र फटाफट आ-आफ्नो सिटमा बस्यौं। जहाज उड्यो।
करिब १ घण्टा १५ मिनेटको हवाईयात्रापश्चात हामी गेटा विमानस्थल, धनगढी पुग्यौं।
विमानस्थलबाट ट्याक्सी लिएर सिधै अत्तरिया बसपार्क गयौं। त्यहाँबाट बझाङ जाने बस सधैं बिहान ७ बजे छुट्दो रहेछ। तर त्यस दिन भने १० पनि बस गएको रहेनछ।
हामी १० बजे अत्तरियाबाट बझाङको चैनपुरका लागि हिँडेको बसमा चढ्यौं। बस हुइँकियो। गोदावरी कट्यो। यो बाटो नहिँडेको पनि ५ वर्ष भएछ।
निकै नौलो लाग्यो। निद्राले छोप्न थाल्यो। नागबेली कुइनेटाहरू, नदी/खोला किनारको भीरको बाटो। निद्रा लाग्दैमा निदाइहाल्न सकिने अवस्था पनि थिएन। अत्तरियाबाट बझाङको सदरमुकाम चैनपुर करिब ३५० किलोमिटर यात्रा गर्न १३ घण्टा लाग्थ्यो। हामी राति १० बजेतिर सदरमुकाम चैनपुर पुग्यौं।
![](/uploads/shares/2020/sujita/ghumfir khaptad/khaptad yatra (1).jpeg)
वि.सं. २०५८ सालमा प्रवेशिका परिक्षामा प्रवेश पत्रमा टाँस्ने फोटो खिच्न सदरमुकाम गएपश्चात मेरो दोस्रो यात्रा थियो चैनपुर।
पहिले सरकारी कार्यालय र केही पसलहरूमात्र भएको चैनपुर यसपटक आधुनिक सहरतिर उन्मुख थियो। मलाई बाटो र होटलहरू खोज्न पनि हम्मेहम्मे पर्यो।
एकैछिनको खोजतलासपछि हामी सदरमुकाममा रहेको होटेल होली डे इन मा बस्यौं। हामीलाई अलिक अपरिचित पाहुँना देखेर होटलका स्टाफले सोधीखोजी गर्नुभो।
मैले भने स्थानीय भाषामा बोलेर वातावरण सहज बनाइदिएँ।
दिनभरको यात्राले गलेका थियौं। त्यसैले खाना खाइवरी सुतिहाल्यौं।
भोलिपल्ट नास्ता गरी घुम्न निस्कियौं।
होटेलबाट चेक इनपश्चात् हामी करिब १० मिनेट पूर्वतर्फ रहेको हात्तिसार दरबारतिर लाग्यौं। हाल उक्त दरबारमा जिल्ला प्रशासन कार्यालय रहेकोले सर्वसाधारणको प्रवेशका लागि सहज पहुँच थियो। दरबारको छानामा रहेका स्लेट, प्राचिन कला र साहित्यले उक्त जिल्लाको संस्कृति थामेको भान हुन्थ्यो।
हाम्रो मुख्य उद्धेश्य खप्तडको अवलोकन गर्ने भएकोले हात्तिसार दरबारको २० मिनेट अवलोकनपश्चात सिमखेतस्थित बसपार्कतिर लाग्यौं। सिमखेतबाट गाडीमा करिब ३ घण्टा समय लाग्ने खप्तड छान्ना गाउँपालिकाको कालुखेती पुग्नु थियो हामीलाई।
१० वर्ष पहिले सदरमुकामबाट हिँडेरै करिब ६ घण्टाको पैदल यात्रा गर्नु पर्थ्यो तर अहिले विकासले फड्को मारिसकेको रहेछ। सिमखेतबाट खप्तड छान्ना गाउँपालिकाको कालुखेतीसम्म जीप चल्ने रहेछन्। तर, जीप टाइम सेड्युल अनुसार चल्ने रहेछ। हामीले रिजर्भ गर्ने निधो गर्यौं।
मोलमोलाई गर्दा करिब ४ हजार रुपैयाँमा हामीलाई कालुखेतीसम्म पुर्याइदिने पक्का भयो। हामी चैनपुर बसपार्क सिमखेतबाट ३२ किलोमिटर टाढा रहेको कालुखेतीतिर लाग्यौं।
![https://www.setopati.com/uploads/shares/2020/sujita/ghumfir khaptad/khaptad yatra (1).jpeg](/uploads/shares/2020/sujita/ghumfir khaptad/khaptad yatra (2).jpeg)
हिमाली जिल्लाको साँघुरोबाटो त्यसमाथि सडकै पिच्छेका युटर्न आकारका घुम्तीहरूले जीपको गति प्रतिघण्टा १५ दखि २० किलोमिटर। करिब ३ घण्टाको जीप यात्रापछि कालुखेती पुग्यौं। अब हामी हाइकिङका लागि तयार भयौं। कालुखेतीबाट करिब १ घण्टा उकालो लागेपछि मेरो पुर्ख्यौली घर पिठातोला गाउँ पुग्यौ जुन खप्तड राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्दछ र बझाङ जिल्लाबाट खप्तड प्रवेशको दोस्रो नाका।
त्यसरात हामी पिठातोलामा रहेको मेरो पुर्ख्यौली घरमा बस्यौं।
‘झुपडीदेखि सिंहदरबार सम्मको यात्रा संघर्षशील नै रहेछ साथीको’ सुदिपजीले साथीहरूलाई भनेको सुनें।
मेरा लागि खासै नौलो परिवेश थिएन तर, अन्य साथीका लागि भाषा फरक, स्वभाव फरक, संस्कृति फरक। मानौं उनीहरू ‘एलियन’हरूको दुनियाँमा थिए।
बिहानको खानापश्चात हामी खप्तड जान तयार भयौं।
बाटो पूरै उकालो। कलमी गरेकोजस्तो खप्तडी सल्लोको घना जंगल। सफा र शीतल मौसम। त्यसमा पनि लेकको जडीबुटीको बास्ना सहितको हावाले छुन थालेकोले उकालो रमाइलै किसिमले पार गर्दै ३ घण्टामा खप्तडको सुमरखाली पुग्यौं, जुन करिब ३२०० मिटर उचाइ अर्थात् हामी खप्तड रेन्जमा पुगिसकेका थियौं।
यस पटकको खप्तड क्षेत्रमा मेरो यात्रा पहिलो थिएन।
खप्तड क्षेत्रको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दा भएको कारण तथा ६ महिना चरिचरनका लागि निकुन्जले अनुमति दिने भएकोले करिब १५ वर्ष अगाडि म गाईवस्तुको गोठालोको भूमिकामा थिए। तर, यस बखतको यात्रा अलिक भिन्दै थियो। साथमा सहकर्मी साथीहरूलाई यस क्षेत्रका हरेक विशेषता बताउँदै यात्रा गर्दा मलाई भिन्दै अनुभूति भैरहेको थियो।
खप्तड क्षेत्र डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल भएकोले यस क्षेत्रमा प्रवेश गर्न चार वटै जिल्लाबाट सकिन्थ्यो। तर यस जिल्लाको पिठातोला हुँदै सुमरखाली नाकाबाट प्रवेश सहज र छोटो बाटो भएकोले मैले सहकर्मीहरूलाई यस नाकाबाट प्रवेश गराएको थिएँ।
टोपियारी (बोटहरूलाई निश्चित आकार दिने बागवानी अभ्यास) भन्ने कला मैले कृषि स्नातक पढ्दा सिकेको थिए तर खप्तड क्षेत्र प्रवेश गर्दा यहाँका घना जंगलमा स्पष्ट टोपियारी देखिन्थ्यो। अझ जडीबुटीको बासना, थरिथरि प्रजातिका चराहरूको चिरबिरले हाम्रो यात्रामा जोस, ऊर्जा र कौतुहलता जगाइरहेको थियो। खस्रे भ्यागुता र बझांगे पाहा (खप्तडमा मात्र पाइने भ्यागुता) यस क्षेत्रमा मात्र पाइने उभयचर हुन्।
मेरो गृह जिल्ला पनि बझाङ भएकोले साथीहरूले मेरो नाम बझाङे पाहा राखेका थिए।
उनीहरूले यहाँ यात्रा गर्नु अगावै यस क्षेत्रको विशेषताबारे अध्ययन सकेका रहेछन्। सुदिप जीले प्रश्न तेर्साइ हाल्नु भयो ‘ओइ बझाङे पाहा विश्वकै दुर्लभ जातिको हरियो छेपारो कहाँ देखिन्छ?’
अर्को साथीले भन्यो यो ठाउँ त जडीबुटीको विविधता भएको क्षेत्र रहेछ, यो बझाङे पाहाले यहीको जडीबुटीको व्यवसायिक खेती गरी यहाँका जनता धनि बनाउने काम गरे हुन्न?
जीवजन्तुको अवलोकन र प्रकृतिको सुन्दरताले खप्तडको पुलपुला भन्ने पाटन (चौर)मा पुगेको पत्तै भएन।
बझाङका स्थानीय गोठालाहरूको एक हुलसँग पनि केहीबेरसम्म सँगै हिँड्यौं। उहाँहरूलाई मैले स्थानीय भाषामै कुरा गरी पाहुनालाई देउडा सुनाइदिन अनुरोध गरें।
मेरो अनुरोधलाई स्वीकार गरी उहाँहरूले देउडा गीत गाउनु भयो ‘दशैं आउँदो, त्याहार आउँदो, खुसी हुँदा हामी, निकाई भया, रामडाई भया, सबै यात्री तमी” । मेरो सङ्गतले ‘आया हुन्, गया हुन्’ भन्ने थेगो साथीहरूले सिकिसकेका थिए। यहाँका मान्छेहरू अपरिचितसित धेरै नबोल्ने, बोलिहाले पनि लजाएर बोल्ने गर्दथे। उनीहरूको बोलीमा एक अनुशासित सामाजिक संस्कार र सामाजिक पद्धतिको झ-झल्को दिन्थ्यो।
सुदूरपश्चिमेली जनता जे पनि चुपचाप सहने अर्थात् प्याच्चपुच्च ठूलो स्वरमा कहिल्यै नबोल्ने। मनमा ठूलै दु:ख भरिएकोजस्तो मलिन अनुहारहरूले एक उपेक्षित वर्गको स्पष्ट झल्को दिन्थ्यो।
हामी नितान्त फरक प्राकृतिक माहौलमा थियौं, एक अलौकिक सौन्दर्यताले हामीलाई मन्त्रमुग्ध बनाइरहेको थियो।
मलाई खप्तड प्रिय लागिरहेको थियो किनकी खप्तडको साइनो मेरो जीवनका उकाली ओरालीसँग थियो। तर, खप्तडको प्राकृतिक दृश्यसँग भर्खरै इन्द्रियहरू साक्षात्कार भएका मेरा मित्रहरुलाइ भने खप्तड सुन्दर लागिरहेको थियो।
यहाँसम्म आइपुग्दा हामी खप्तडको शिखर बिन्दुमा थियौं। पहिलो पटक यहाँ यात्रा गर्दा अक्सर मान्छेलाई ‘हाइ अल्टिट्युड सिकनेस’ र जडीबुटीको गन्धले श्वासप्रश्वासमा समस्या ल्याउँछ। तर, सम्भावित दुर्घटनालाई मध्यनजर गरी मैले कागती, नुन लगायतका सामग्रीको बन्दोबस्ती गरिसकेको थिएँ।
जताततै लामा अनि थुम्का भएका हरिया फाँट अनि फाँटभरि पर्सियन कार्पेट ओछ्याएझैं थरिथरिका फूलहरू र तीमाथि उडिरहेका रंगीविरंगी पुतली, कस्तुरी र हिमचितुवाको आगमन र यस क्षेत्रबाट देखिने हिमश्रृङ्खलाहरूको दृश्यले सबै जना दंग थियौं।
![https://www.setopati.com/uploads/shares/2020/sujita/ghumfir khaptad/khaptad yatra (1).jpeg](/uploads/shares/2020/sujita/ghumfir khaptad/khaptad yatra (4).jpeg)
प्रकृतिको सुन्दर, शान्त, जैविक विविधताले भरिपूर्ण अध्यात्म, योग र ध्यान भूमि हो- खप्तड क्षेत्र।
त्यही भएर नै महाभारत कथाका पात्र युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएका भन्ने पौराणिक भनाइ छ।
करिब ९ घन्टाको पैदल यात्रापछि खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले निर्माण गरेको अतिथि गृहमा बेलुकी ७ बजेतिर पुग्दा करिब ५० किलोमिटरको यात्रा पूरा भइसकेको थियो।
अतिथि गृहमा एक दिनमा ३२ जनालाई बस्ने व्यवस्था गरिएको रहेछ। तर केही साथीहरूले टेन्ट र स्लिपिङ ब्याग समेत साथमा लिएर गएकाले मध्यरातसम्म हामी क्याम्प फाएर गर्दै बाहिरै बस्यौं।
समर सिजन भएकाले तापक्रम १५ डिग्री सेल्सियस थियो। भोलि घुम्ने ठाउँहरू खप्तड बाबाको कुटी, बुकि दह, खापर दह हो भन्दै मैलै साथीहरूलाई सुत्न सुझाँए।
बिहान ७ बजे।
गाईवस्तुको गलामा लगाइएको घाँडो (गाई भैँसी गलामा झुन्ड्याइने घण्ट) को ड्याङ डुङ् र घोडा दौडिएको आवाजले सबैलाई उठायो। निकुञ्ज कार्यालयबाट पुर्जी काटी डोटी, अछाम, बझाङ र बाजुराका बासिन्दाहरू खप्तडको खेल्ने खप्तड, दहपाटन, बुकीदह, सेले भावरमा अस्थायी गोठ (छाप्रा)हरू बनाएर ६ महिना चरिचरनका लागि बस्ने गर्छन्।
कात्तिकदेखि चिसो बढ्ने हुँदा बेंसीतिर फर्किन्छन्।
मलाई कक्षा ८ मा पढ्दा खप्तड क्षेत्रमा गाईवस्तुको गोठालोको भूमिकामा हुँदाको याद आयो।
![https://www.setopati.com/uploads/shares/2020/sujita/ghumfir khaptad/khaptad yatra (1).jpeg](/uploads/shares/2020/sujita/ghumfir khaptad/khaptad yatra (5).jpeg)
बिहानको ८ बजिसकेको थियो, हाम्रो यात्रा खापर दहका लागि सुरू भयो। खापर दह जाँदै गर्दा साथीहरूलाई बाटैमा रहेको करिब ५० मिटरजति क्षेत्रफलमा फेलिएको बुकी दहको पनि अवलोकन गर्न सुझाएँ।
सुदूरपश्चिमेली भाषामा बुकी भनेको सुख्खा हो। यो दह बर्खायाममा पानी परेको बेला ताल बन्छ र हिउँदमा सुख्खा हुन्छ। त्यसपछि हामी खापर दहतिर लाग्यौं। बाटोमा हिँड्दै गर्दा निर्मलको नजरमा हरियो छेपारोमा ध्यान गयो।
उसले कराउँदै भन्यो “ओइ हेर्न यार कस्तो हरियो छेपारो” ! उसको कौतुहलता मेटाउन म मात्र सक्थें। कारण रैथाने भएकोले, “साथी विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने क्षेत्रको सूचीमा यो क्षेत्र रहेको छ” मैले जवाफ फर्काएँ।
मैले यो क्षेत्र हिमचितुवाको पनि बासस्थान हो है ख्याल गरेर हिँडौं के भनेको थिए सबैजना ट्वाँक अडिएर मेरो वरिपरि आए, “हिमचितुवा नै आए त मसँग पनि केही विकल्प छैन है साथीहरू” भन्दा एकाएक सबैको अनुहारमा मलिनता छायो।
फोटो सुट सहितको रोमान्चकारी पदयात्रा, प्रकृतिको मनोरम दृश्यावलोकन, छिनमै वर्षात्, छिनमै हिउँ, केही बेरमै उडाउँलाझैं हावाहुरी त केहीबेरमै छिप्पिँदो घामले ३ घण्टाको हाइकिङ पूरा भएको हामीले पत्तै पाएनौं।
अगाडि खापर दह आइपुग्यो। खापर दहको आधा भाग एकदम डरलाग्दो छ भने आधा भागमा निलो कन्चन पानी छ । धार्मिक भनाइअनुसार निलो र कंचन पानी भएको भागमा खापर देउताको बास रहेको छ भने अँध्यारो तथा डरलाग्दो भागमा राक्षसको बास भएको किम्वदन्ती छ।
खापर दहको अवलोकनपश्चात हामी तहाँको स्थानीय भाषामा नामाकरण गरिएको खेल्ने खप्तड पाटनतर्फ लाग्यौं, जहाँ जंगल र पहाडहरूले घेरिएको विशाल पाटन रहेको छ।
![](/uploads/shares/2020/White rhododendron3.jpg)
बाटोमा बाघबुट्टे निगालोको कुरिलो रहेछ। सानोमा निगालोको कुरिलो काचै खाएको झलझली याद आयो। हत्त न पत्त मैले बाघबुट्टे निगालोको कुरिलो भाँचेर खाएँ। यद्यपि सो कार्य निकुन्जले कानुनी रूपमा बर्जित गरेको छ।
खेल्ने खप्तडको पाटनमा पाइला टेक्नेबित्तिकै पाटनको छेउभरि सेतो गुराँस चम्कियो, पाटनको फाँटभरि पर्सियन कार्पेट ओछ्याएझैं थरिथरिका फूलहरू र तीमाथि उडिरहेका रंगीविरंगी पुतलीले दिने प्राकृतिक सौन्दर्यले सबैलाई मन्त्रमुग्ध बनायो।
क्यामेरा म्यान बिबेकसहित अन्य साथीहरू रंगीविरंगी फूलहरूसित फोटो खिच्न व्यस्त थिए भने कोही चौरमा सर्बाङ्ग सुतेर मनोरन्जन लिइरहेका थिए।
मेरो ध्यान भने म गोठालो भई बस्दाको खर्क (काठको अस्थायी घर) तिर थियो। पाटनको परपट्टि करिब ५० वटा जति लसकरै खर्क(टहरा)हरू थिए भने १/२ वटा भत्किएको भग्नावशेष मात्रै देखिन्थे।
त्यही भत्किएको मध्येको एउटा खर्क जहाँ १५ वर्ष अगाडि मेरो बास हुन्थ्यो। पछि हामी विविध कारणले खप्तडमा गाईवस्तु चराउन लैजान नसकी त्यो खर्क छोड्न परेको थियो।
एकछिन खर्कको स्वरूप देख्दा मन अमिलो भयो।
![](/uploads/shares/2020/sujita/Red rhododendron.jpg)
म एकोहोरो घोरिएको सुदीपले कुरा बुझिसकेछ। “स्थायी भन्ने चिज संसारमै छैन यस्तै हो फर्किऊँ पाटी अब” उसले भन्यो।
दिउँसोको करिब ३ बजेको हुँदो हो हामी पुन: अतिथि गृहतिर फर्कियौं।
दिनभरिको करिब ८ घण्टाको थकाइले सबैजना लखतरान भएका थियौं। सुदीपजी थकानका बाबजुत पनि हँसाउन माहिर थिए।
‘यो खप्तडको एक रोपनी जग्गा मेरो नाममा गर्दिनँ मिल्दैन”? बलेको जवाफ सुनेर सबैजना गलल्ल हाँसे, मानौं दिनभरिको थकाइ एक शब्दले हरायो।
रामजीले भन्दै हुनुहुन्थ्यो ‘उच्च पर्वतीय खेलहरू आयोजना लागि खप्तड एक उपयुक्त ठाउँ रहेछ’।
रातको ९ बजिसकेको थियो। हामी भोलि घुम्ने ठाउँ र बिहान उठ्ने समयको निधो गरी सुत्यौं।
खप्तड क्षेत्र आध्यात्मिक हिसाबले पनि महत्वपूर्ण भएकोले यहाँको धार्मिकस्थलहरूको पनि दर्शन गरी जाऊँ भन्ने मेरो प्रस्ताव सबैले स्वीकारे।
अर्को दिन घुम्ने धार्मिक ठाउँ सहस्रलिंग थियो जुन धार्मिकस्थललाई यहाँका मानिसहरू भगवान शिवको प्रतीक मानी गंगादशहरा मेलामा पूजा आराधना गर्ने गर्दछन्।
हामी बस्ने अतिथि गृहबाट करिब ५ घण्टाको पैदल यात्रापश्चात सहस्रलिंग पुगिन्थ्यो।
बिहान ८ बजे हामी सहस्रलिंगको धार्मिक यात्राका लागि तयार भयौं। बाटोमा राखिएका संकेत बोर्ड पछ्याउँदै करिब ५ घण्टाको पैदल यात्रापछि हामी सहस्रलिंग पुग्यौं।
![](/uploads/shares/2020/sujita/khaptad (2).jpg)
बाटोमा साना-ठूला थुम्का (झोती)हरू प्रशस्त देखिन्थे जुन पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट बनेका भन्ने पनि किम्बदन्ती छ।
स्कन्द पुराणमा खप्तडलाई ‘खेचराद्री’ भनिएको छ र खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ।
पौराणिक कालमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरूले चौध वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको किम्वदन्ती छ। सहस्रलिंगको दर्शनपश्चात् हामी पुन: अतिथि गृहतर्फ फर्कियौं।
खप्तड यात्राको पाँचौ र अन्तिम दिनमा थियौं हामी। दुई दिन काठमाडौं पुग्न समय लाग्थ्यो अर्थात ठ्याक्कै ७ दिनको छुट्टी लिएर आएका हामी।
सहरको कोलाहलबाट एकान्त ठाउँ त्यसमाथि वन्यजन्तु, वनस्पति र रोमान्चकारी पदयात्राले सबैको शरीरमा नयाँ ऊर्जा मिलेको थियो।
साथीहरू अझै केहीदिन खप्तडमै बस्ने मनसायमा थिए।
तर, “मेरो त घरायसी समस्या पर्यो जतिसक्दो चाँडो फर्किन पर्ने भयो” रामजीको मलीन आवाज सहितको अनुरोध आयो।
उता सुदीपजी म तिर हेर्दै हुनुहुन्थ्यो, मैले अनुहारबाटै बसाइ थप लम्ब्याउन नसक्ने संकेत दिएँ।
हामी बसेको ठाउँबाट करिब ३० मिनेटको यात्रामा रहेको थुम्को (स्थानीय नाम बल्दे जुँडी)बाट देखिने हिमश्रृङ्खलाहरूको अवलोकनपश्चात फर्किने पक्का भयो।
स्थानीय भाषामा बल्दे जुडी भन्नाले साँढेको जुरो बुझाउँछ। त्यो थुम्का ठ्याक्कै साँढेको जुरोजस्तै।
![https://www.setopati.com/uploads/shares/2020/sujita/ghumfir khaptad/khaptad yatra (1).jpeg](/uploads/shares/2020/sujita/ghumfir khaptad/khaptad yatra (3).jpeg)
नेपाली सेनाले करिब ३० फिट अग्लो भ्यू टावर बनाइ सुदूरपश्चिमका विभिन्न हिमश्रृङ्खलाहरूको मनोरम दृश्य अवलोकका लागि सहज बनाइएको थियो। भ्यू टावरबाट दार्चुलाको अपि र बझाङको सैपाल हिमालको अवलोकन पश्चात खप्तड पर्यटनले गति नलिनुका कारणबारे समिक्षा गरी हामीले फर्किने योजना बनायौं।
पाटनका विभिन्न ठाउँहरूमा चाउचाउ र चकलेटका खोलहरूको थुप्रो, यत्रतत्र छरिएका कोक र फ्यान्टाका बोतलहरूले भर्जिनल्याण्डको धज्जि उडाइरहेका थिए।
खप्तड पर्यटनको स्थानीयसँग आर्थिक, सामाजिक, शैक्षिक कुनै सम्बन्ध देखिएन। होटल सञ्चालकले तिरेको करमा स्थानीयहरूको कुनै साइनो थिएन।
‘खप्तड सुदूरपश्चिम प्रदेशमै पर्छ भनेर आत्मरतिमा हराउनुबाहेक यसको अन्य उपयोगिता देखिन्न” मित्र सुरेन्द्रको आलोचनात्मक सुझावसहित हाम्रो छलफल अन्त्य भयो।
बिहानको १० बजिसकेको थियो खप्तडको बीच पानी, झिग्राना हुँदै डोटीको बाटो प्रयोग गरेर फर्किंने रुटको तय भएको थियो।
हामि बसेको अतिथि गृहबाट ४ घन्टा हिँडेपछि बीच पानी पुग्यौं।
एकजना बाजुराका भाइ खप्तडबाट सामान किन्न झिग्राना जाँदै रहेछन्।
![](/uploads/shares/2020/sujita/khaptad (4).jpg)
![](/uploads/shares/2020/sujita/khaptad (6).jpg)
मेरा मित्रहरूले सकि-नसकि ब्याग बोकी हिँडिरहेको देखि “सर तपाईंहरूलाई गाह्रो भयो, सबैको झोला मेरो डोकोमा राख्नुस झिग्रानासम्म म बोकिदिन्छु” ती भाइले भने।
देख्यौ नि मित्रहरू “सुदूरपश्चिम दिमागले होइन, भावनाले चल्छ” मेरो पछि-पछि हिँडिरहेका मेरा मित्रहरूलाई भनें, सबैले एकै स्वरमा भने “अँ हो रछ”। बिचपानीमा खाना खाएर पुनः ४ घन्टा हरर ओरालै–ओरालो हिँडेपछि हामी झिंग्राना पुग्यौं।
झिंग्रानाबाट गाडी चढेर सिलगढीमा बास बस्यौं। भोलिपल्ट सिलगढीको बसबाट धनगढी हुँदै हवाइईजहाजमार्फत् काठमाडौं फर्कियौं।
अन्तत: जीवनको एउटा अविस्मरणीय क्षण यसरी टुंगिए पनि मन मस्तिष्कमा खप्तड यात्रा भने सधैं स्पन्दन बनी धड्किरहने छ।