पहिलो लकडाउनको ठिक अघि सन् २०२० को जनवरीमा एक हप्ता क्याराबियन टापुको देश जमैका जाने अवसर जुरेको हुँदा सोको अनुभव एवं संस्मरण साट्न खोजेको छु। क्षेत्रफलको दृष्टिले नेपालभन्दा १३ गुणाभन्दा पनि सानो र जनसंख्याको दृष्टिले १० गुणा सानो क्युबा र हिस्पानिओलापछि क्यारेबियन महासागरको तेश्रो ठूलो टापु जमैका प्राकृतिक विविधताले भरिपूर्ण छ।
उच्च भूभाग मझौला एवं अग्लो रुखहरुले भरिपूर्ण हरियाली जंगल, घना जंगलले भरिएको उपत्यका र घाँसको बुट्यानयुक्त पहाड तथा सेतो बालुवाको समुन्द्री किनारा भएको यो टापु क्यारेबियनको टापुहरु मध्ये एक अति सुन्दर टापुको रुपमा चिनिन्छ र प्रकृति प्रेमीहरुको लागि अत्यन्तै आकर्षक पर्यटनको केन्द्रको रुपमा रहेको छ। क्रिस्टोफर कोलम्बसले सन् १४९४ मा यो टापु देख्दा यो टापुको बारेमा भनेका थिए- ' आँखाले देखेको सबैभन्दा सुन्दर टापु!'
साविकमा स्पेनिश एवं ब्रिटिश उपनिवेशबाट गुज्रेको हाल स्वतन्त्र राष्ट्रको रुपमा रहेको यस टापुको प्राकृतिक विविधता एवं अपूर्व सौन्दर्यको कारण वर्षैनी लाखौं लाख पर्यटकहरु यस टापुमा ओइरिने गर्दछ। प्रतिवर्ष ४३ लाख पर्यटकहरु भ्रमण गर्ने एवं पर्यटनको आम्दानीको हकमा ३.७ अर्ब अमेरिकी डलर आय आर्जन गर्ने हुँदा पर्यटन व्यवसाय यस टापुको प्रमुख आयश्रोतको माध्यम बनेको छ।
उष्णटतबन्धीय मौसम भएको यस टापुमा सधैँ उष्ण मौसम हुने एवं प्रशस्त घाम लाग्ने हुँदा पर्यटकहरुको रोजाइमा अग्रपङ्तिमा पर्ने गरेको छ।
जमैकाको विभिन्न स-सानो सहरहरु फरक-फरक प्राकृतिक विविधताले भरिपूर्ण छ। हरियालीयुक्त पहाड, सेतो झरना, सुनौलो समुद्री तट, निलो-हरियो समुद्र, रंगीचंगी बनस्पती एवं विविध प्रकारका सामुन्द्रिक जीवहरुले भरिपूर्ण समुद्र मुनिको सजीव इकोसिस्टम, साना-ठूला जंगल, नदीनाला एवं तालतलैयाले भरिपूर्ण यो टापुमा पैदलयात्रा, साइकलयात्रा, जंगल सफारी, स्नोरकेलिङ, सर्फिङ प्रेमीहरु लगायत जुनसुकै प्रकारका प्रकृति प्रेमिहरुको लागि विविध प्रकारको मनोरञ्जनको क्रियाकलापहरु उपलब्ध छ।
जमैकाको सबैभन्दा ठूलो सहर किङ्गस्टन राजधानी भएता पनि अन्य सहरहरु- मोन्टेगो बे, नेग्रिल, ओचो रियोज र पोर्ट एन्टोनियो पर्यटकीय केन्द्रबिन्दुको रुपमा रहेको छ। यी सबै पर्यटकीय स्थलहरु जमैकाको उत्तरी खण्डमा पर्ने हुँदा त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल मोन्टेगो बे (स्थानीय बोलाइमा छोटकरीमा ‘मोबे’ को नामले चिनिने) भएको हुँदा मोबेबाट जमैकाको अधिकांश पर्यटकीय यात्रा सुरु हुन्छ।
आफ्नो अनुभवको आधारमा जमैकाको प्रमुख पर्यटकीय स्थलहरुको संक्षेप विवरण तल उल्लेख गरेको छु-
१. डुन्स रिभर फल
ओचो रिओज सहरमा पर्ने यो नदीरुपी झरना जमैकाको सबैभन्दा प्रख्यात एवं सबैभन्दा बढी अवलोकन गरिने प्राकृतिक आकर्षण हो। १८० फिट अग्लो डिलबाट बग्ने नदीरुपी यो झरना असंख्य ठूलो-ठूलो चट्टानहरुमा ठोकिंदै ६ सय फिटभन्दा तल खसेर क्यारेबियन समुद्रमा गएर शान्त हुन्छ। यसको प्रमुख आकर्षण भनेको पुछारमा रहेको समुद्रको सतहबाट पैदल यात्रा गरी निरन्तर बगिरहेको पानीमुनि रहेको ठूला-ठूला चट्टानहरु चढ्दै टुप्पोमा पुग्ने।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Dunns%20River%20Falls2%20-%20Trip%20Advisor.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
कठिनाइको हिसाबले मध्यम श्रेणीमा पर्ने यो साहसिक यात्राको लागि पानीमा नचिप्लिने रबरको ‘वाटर सुज’ को आवश्यकता पर्दछ। पानीमा निथ्रुक्क भिज्दै होसियारीका साथ चट्टानहरुमा पाइला राख्दै एवं झरनाको बीचमा ठाउँ-ठाउँमा पानीको स-सानो कुण्डहरुमा डुबुल्की लगाउँदै अगाडि बढ्नु पर्ने ३०-४० मिनेटको यो यात्रा अति रोमाञ्चकारी एवं बिर्सनै नसकिने अनुभूति गराउँछ।
यो स्थल प्राकृतिक दृष्टिले आर्कषणको स्थल मात्र नभई ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण छ। सन् १४९४ मा स्पेनको उपनिवेशमा गएको यो जमैका टापु १६३ वर्षपश्चात् सन् १६५७ मा स्पेनिश एवं ब्रिटिश बीचको ‘लास चोर्रेरासको युद्ध’ यहीं झरना नजिकै भएको थियो, जुन युद्धमा ब्रिटिशहरुले विजय प्राप्त गरी जमैका ब्रिटिशहरुको उपनिवेशमा पुग्न गयो।
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
२. ब्लु होल
ओचो रियोज्रबाट करिब २० मिनेटको मोटरको यात्रापश्चात पुगिने पहाडी भागमा खोचमा पर्ने यो झरनायुक्त जलकुण्ड जमैकाको दुर्लभ प्राकृतिक रत्नमा पर्दछ। प्रवेश गर्न शुल्क तिर्नु पर्ने यस झरनाकुण्डमा छिर्नेबित्तिकै यसको प्राकृतिक दृश्यले मन्त्रमुग्ध नहुने कोही नहोला। चारैतिर हरियाली जङ्गल एवं रंगीविरंगी फूलहरुले ढाकिएको डाँडाहरु, डाँडाको टुप्पोबाट तल चट्टानमा झरिरहेको झरना एवं झरनाको पानी जम्मा भएको साना ठूला निलो रंगको स्वच्छ पानी कुण्डहरु- प्रकृतिले जमैकालाई दिएको अनुपम उपहार! अत्यन्त मनमोहक यो दृश्यले थकानलाई बिर्साउँछ र आँखालाई ताजगी प्रदान गर्दछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Blue%20Hole2%20-%20Expedia.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
माथिबाट बगिरहेको झरनाको ठिक तल बसेर टाउको र पूरै शरीरलाई स्वच्छ चिसो पानीले प्राकृतिक मालिस लिन पाउनु अति आनन्ददायी अनुभव! अझ सानो-ठूलो चट्टानमा उभेर तल विभिन्न आकारको जलकुण्डहरुमा छलांग लगाउनेहरुको त लामो लाइन नै लाग्दछ यहाँ। छलाङ नलगाउनेहरु स्वच्छ जलकुण्डमा पौडीको मज्जा लिनु बडो आनन्दमय क्षण!
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Blue%20Hole4%20-%20Expedia.jpg)
३. मार्था ब्राइ नदी र्याफ्टिङ
मोबेबाट एक घण्टाभन्दा कमको गाडी यात्रामा पुग्न सकिने मार्था ब्राइ गाँउबाट सुरु हुने करिब ५ किलोमिटर खण्डको मार्था ब्राइ नदीमा एक घण्टाभन्दा बढीको जमैकाको मौलिक र्याफ्टिङले अवस्मरणीय अनुभूति दिलाउँछ। काठको प्रयोग नगरी ३० फिट लामो बाँसहरुलाई डोरीले बाँधी सतह बनाइएको जमैकाको यस डुँगाले करिब ३१५ केजी वजन थाम्न सन्कछ।
डुंगा चालकले लामो बाँसले डुंगा खियाउँदै विस्तारै-विस्तारै अगाडि बढाइने यो जलयात्रामा यस क्षेत्रको उष्णटतबन्धीय प्राकृतिक सौन्दर्य एवं वनस्पतिको अवलोकन गर्न सकिन्छ।
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
यो गाँउको नाम मार्था ब्राइ रहनुमा कहावत छ कि यो जमैकाको ‘टाइनो’ जातिको बासी, जो स्पेनिश अधिपत्य अघि यहाँको मौलिक जाति थिए र स्पेनिश अधिपत्य पश्चात् यो वर्गको विनाश भयो र त्यस जातिको यही नामको महिलाको नामबाट राखिएको हो। जब स्पेनिशहरु यस टापुमा सुनको खोजी गर्दै यहाँ पुगे, तिनीहरुले मार्थासँग सुनको खोजीको लागि सहयोग मागे। मार्थाले पनि ती स्पेनिशहरुलाई खोला छेउको गुफामा रहेको सुन देखाइदिइन्। तर ती स्पेनिशहरुले त्यस गुफाबाट सुन संकलन गरी लग्नु पहिले नै मार्थाले आफ्नो शक्तिको प्रयोग गरी सो नदीको बाटोलाई फर्काई उक्त गुफामा लगी टुङ्ग्याइदिइन्। फलस्वरुप स्पेनिशहरुले प्राण त्याग गरे।
यो पनि कहावत छ कि त्यो सुन यस नदीको कतै किनारामा गाडिएर राखिएको छ, जुन हालसम्म फेला परेको छैन। यस कहावतमा कति दम छ साथै सुनको परिमाण कति थियो त्यो त यकिनका साथ भन्न सकिन्न। तर हराएको खजाना खोजी गर्नेहरुको लागि यो स्थान १०० वर्ष अघिको रशियन क्रान्तिताका बोल्शेभिक रेड आर्मीबाट बचाउनको लागि ह्वाइट फोर्सले जार निकोलस द्वितीयको ५०० टन सुन सेन्ट पिटर्सवर्गबाट लगेर साइबेरियाको विशाल बैकाल ताल तल सुरक्षित राखिएको कहावतजस्तै सुन खोजीको लागि चाखलाग्दो स्थान पक्कै हुन सक्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Marth%20Brae%20River%20Rafting2%20-%20Trip%20Advisor.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
४. सेभेन माइल बिच
जमैकाको समुद्री किनारामा रहेको सानो रिसोर्ट सहर नेग्रिलको यो समुद्री तट जमैकाको सबैभन्दा सुन्दर एवं क्यारेवियन कै सुन्दर समुद्री तटहरुमध्ये एक पर्दछ। ‘ब्लडी बे’ र ‘लङ बे’ गरी दुई तटहरुलाई सेभेन माइलबीच भनिएको सेतो बालुवायुक्त यो समुद्री तटमा चिन्तामुक्त भई घाम तापेर आराम गर्न चाहनेहरुको अतिरिक्त पानीमा खेलिने विभिन्न खेलहरु लगायत ‘स्नोरकेलिङ’ गर्नेहरुको लागि अति प्रिय स्थानको रुपमा रहेको छ। समुद्री तटमा लहरै सानादेखि महंगा होटलहरु एवं रेष्टुरेन्टहरु भएको यो समुद्री तटमा पर्यटकहरु दिनभर चहलपहल गरेको देख्न सकिन्छ। दुई/तीन दिनदेखि महिनौं महिनासम्म बस्ने पर्यटकहरु पनि यहाँ भेटिन्छ।
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
५. नेग्रिल क्लिफ
क्यारेबियनमा प्रमुख पाँच साहसिक पर्यटन गन्तव्यहरु मध्ये एकमा पर्ने यो नेग्रिल क्लिफ प्रमुखतः दुई कुराहरुको लागि प्रसिद्ध छ- पहिलो, यहाँको चट्टानी डाँडाहरुबाट देखिने अति सुन्दर सूर्यास्तको दृष्य र दोश्रो, करिब ४० फिट माथिको चूनढुगांयुक्त चट्टानी डाँडाहरुबाट निलो समुन्द्रमा छलाङ्ग मार्नु। दुवै अति रोमाञ्चक अनुभव!
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Negril%20Cliff%20Sunset1%20-%20Trip%20Advisor.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
एकतर्फ क्यारेबियन समुन्द्रको किनारा अर्कोतर्फ गुफारुपी चट्टानी डाँडाको किनारा। साँझपख त्यस डाँडाबाट क्यारेबियन समुद्रतर्फ हेर्दा गाढा गुलाबी रंगको सूर्य ठीक नजरको सामुन्ने विस्तारै-विस्तारै क्यारेबियन समुन्द्रतर्फ झर्दै गर्दा पूरै समुन्द्रको सतह एवं चट्टानी डाँडाहरुको वातावरण गाढा सुन्तला रंगमा बदलिँदाको क्षण अति मनोरम!
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Negril%20Cliff%20Sunset3%20-%20Trip%20Advisor.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
त्यसमाथि सूर्य विस्तारै-विस्तारै क्यारेबियन समुन्द्रको सतहमा गई विलय हुँदा सूर्य समुद्रभित्र समाहित भएको भान हुने अत्यन्त सुन्दर सूर्यास्तको दृश्य- जीवनमा अनुभूति गरेको मध्येमा अत्यन्तै बहुमुल्य सूर्यास्त! यहाँको चट्टानी डाँडाहरुमा विभिन्न विलासी रिसोर्टहरु छन् जसमध्ये सूर्यास्तको दृश्य हेर्न आउने अत्यन्तै भिड लाग्ने रिक्स क्याफेबाट सूर्यास्तको दृश्य अति आकर्षक देखिन्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Negril%20Cliff%20Sunset7%20-%20Trip%20Advisor.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
६. मिस्टिक माउन्टेन
ओचो रियोजको पहाडी भागमा रहेको यो प्राकृतिक पार्क जमैकाको एक प्रमुख आकर्षणको रुपमा रहेको छ। ‘स्काई एक्सप्लोरर’ को यात्रा, जसमा खुला बेञ्चको केबल कारमा बसेर घना पहाडी जंगल बीचै-बीच भएर ७०० फिटमाथि मिस्टिक माउन्टेनको चुचुरोमा पुग्दा करिब २० मिनेटको यो मनोरम यात्रामा जङ्गल र उचाइबाट क्यारेबियन समुद्रको प्राकृतिक दृश्य अनुभव गर्न सकिन्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Mystic%20Mountain%20Bobsled2%20-%20Trip%20Advisor.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
त्यस्तै, अलि साहसिक यात्रा गर्नेहरुको लागि थप २ साहसिक क्रियाकलापहरु छन्- ‘बब्स्लेड’ र ‘जिप लाइन’। पहिलो, ‘रोलर कोस्टर’ मा बसेर र दोश्रो, फलामे तारमा डोरीले झुण्डिएर घना जंगल बीचै-बीच विद्युतीय माध्यमद्वारा गरिने यात्रा प्रकृतिप्रेमी तथा साहसिक यात्रा गर्नेहरुको लागि मजेदार अनुभूति प्रदान गर्दछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Mystic%20Mountain%20Sly%20Explorer3%20-%20Trip%20Advisor.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
७. डक्टर्स केभ बिच
मोबेको प्रमुख पर्यटकीय चहल–पहल हुने बजारक्षेत्र ‘हिप स्ट्रीट’ को मध्य भागमा रहेको सेतो बालुवा भएको यो सानो समुद्री तट निकै भिडभाड हुने गर्दछ। होटेल एवं रेष्टुरेन्टहरुले भरिपूर्ण हिप स्ट्रीटको यो समुद्री तट नेग्रिलको सेभेन माइल बिच वा अन्य समुद्री तट नपुग्नेहरुको लागि चित्त बुझाउने स्थलको रुपमा रहेको छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Doctors%20Cave%20Beach1%20-%20Trip%20Advisor.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Doctors%20Cave%20Beach2%20-%20Trip%20Advisor.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
माथि उल्लेख गरे बाहेक प्रशस्त समय हुने पर्यटकहरुको लागि उत्तरी खण्डको पुछारतर्फ रहेको सानो सहर पोर्ट एन्टोनियो र युनेस्कोको विश्व सम्पदामा परेको ब्लु माउन्टेन राष्ट्रिय पार्क उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा रहेको छ। यो पार्क पहाड, घना जङ्गल, झरना लगायत करिब ८०० प्रकारका वनस्पती २०० प्रकारका चराचुरुङ्गी एवं पुतलीहरु भएको अति मन लोभ्याउने प्राकृतिक मनोरमले भरिपूर्ण भएको हुँदा यसको यात्रा अति रोमाञ्चकारी हुन्छ। यहाँ उब्जनी हुने ब्लु माउन्टेन कफी संसारकै उत्कृष्ट एवं महंगो कफीहरु मध्येमा पर्दछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Blue%20Mountain1.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
त्यस्तै जमैकाको राजधानी किङ्गस्टन संगितको महान गायक बब मार्लीको निवास जुन उनकै नाममा समर्पित बब मार्ली म्युजियम र रेग्गी संगीतको जन्मघर ‘ट्रेन्च टाउन कल्चर यार्ड म्युजियम’ प्रमुख पर्यटकीय स्थलहरुको रुपमा रहेको छ।
क्यारेबियन महासागरको टापु भएकोले होला, यहाँको जीवनशैली बडा मस्त खालको छ। सार्वजनिक स्थलमा मादक पदार्थ पिउन कानुनले बन्देज गरेको छैन। सार्वजनिक स्थलमा शम्भो बाबाको प्रसाद- गाँजाको सेवन गर्नु गैरकानुनी भएता पनि डिस्पेन्सरी र निजी क्षेत्रमा गाँजाको सेवनलाई गैरकानुनी मानिँदैन। साथै गाँजाको खरिद-बिक्री लुकिछिपी तर सार्वजनिक रुपमै बबाल रुपमा हुने गरेको छ।
व्यक्तिगत सेवनको लागि आफ्नो घरमै निश्चित संख्यामा गाँजाको बोट रोप्न समेत छुट छ। शम्भो बाबाको दर्शनको लागि नेपालमा पशुपतिनाथ तीर्थस्थल भएजस्तै शम्भो बाबाको दर्शन बिना नै बाबामा लिन हुन चाहने शम्भो बाबाको भक्तहरुको लागि जमैका तीर्थस्थल नै मानिएमा फरक नपर्ला।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Opinion%20%26%20Blog/Jamaica/Blue%20Mountain2%20-%20Trip%20Advisor.jpg)
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
नेदरल्याण्ड, स्पेन, क्यानाडा, चेक रिपब्लिक, स्वीटजरल्याण्ड, मेक्सिको, अमेरिकाको केही राज्यहरु लगायत दर्जनौं देशहरुमा गाँजाको सेवनलाई कानुनी मान्यता प्राप्त छ भने क्यानाडा, अमेरिकाको केही राज्यहरु लगायत केही देशहरुमा त गाँजाको व्यापारिक उत्पादन नै हुने गरेको छ। साथै दर्जनौं त्यस्ता उत्पादक कम्पनीहरु त न्यूयोर्क स्टक एक्स्चेञ्ज तथा ‘नास्डाक’ मा सूचिकृत भई वर्षेनी अर्बौ डलरको शेयर कारोबार नै हुने गरेको छ।
हाम्रो जस्तो विकासशील देशमा चिकित्सक प्रयोग एवं यसको औषधीजन्य उत्पादनहरु निकासीको लागि गहन सुपरीवेक्षणमा यसको उत्पादनको लागि इजाजत दिइएमा राज्यलाई थप आम्दानीको श्रोत जुटने थियो।
बारबेक्यूको विधिमा तयार पारिने जमैकाको मौलिक स्वाद भएको ‘जर्क चिकेन’ यहाँको सबैभन्दा रुचाइएको परिकार हो। ठूला रेष्टुरेन्टहरुदेखि लिएर फूटपाथको ठेलागाडाहरुमा समेत जहाँतहीँ पाइने। वास्तवमा भन्ने हो भने सडकको खाना खाने संस्कृति भएको अधिकांश सहरहरुमा स्तरीय रेस्टुरेन्टहरुमा भन्दा सडकमा पाइने परिकारहरु एकदमै मौलिक एवं स्वादिष्ट हुने गर्दछ।
तस्बिर सौजन्यः ट्रिप एडभाइजर
एक पटक फूटपाथको ठेलागाडामा बेच्न राखिएको ‘जर्क चिकेन’ किनिरहँदा त्यसको बिक्रेताले आफ्नो इन्स्टाग्राम पेज रहेको र सो हेर्न मलाई सुझाएका थिए। सामाजिक सञ्जाल आजको जमानामा अत्यन्त शक्तिशाली भएको कुरा त इरान र इजिप्ट लगायत अरब मुलुकहरुमा सन् २०१० पछिको समयमा भएको राजनैतिक उथलपुथलको कारण नै सामाजिक सञ्जाल भएको ज्ञात त थियो।
साथै यसको शक्तिलाई आकलन गरेर नै होला चीन र उत्तर कोरिया लगायतका कतिपय राष्ट्रहरुले सामाजिक सञ्चालकहरु उपर प्रतिबन्ध नै गरेका छन्। तर जमैकाको सानो सहरको फूटपाथमा ठेलामा जर्क चिकेन बेच्नेको इन्टरनेटमा रहेको इन्स्टाग्राममा पेज? सामाजिक सञ्जालको कस्तो महत्व र उपयोग?
निश्चय नै क्रिस्टोफर कोलम्बसले भने झैं जमैका आँखाले देखेको सबैभन्दा सुन्दर टापु हो। समय र दह्रो खल्ती भएमा घुम्नै पर्ने देश हो- जमैका।
जमैकाको सम्बन्धमा थप केही रोचक तथ्यहरुः
- जेम्स बण्ड सिनेमाको लेखक इयान फ्लेमिङले उक्त ब्राण्डको १० सिनेमाहरुको कथा जमैकामा बसी लेखेका थिए।
- जमैकाको राष्ट्रिय पेय पदार्थ रम हो।
- रेग्गी संगीतको जन्म जमैकामा भएको थियो।
- बासिन्दाको हिसाबले संसारमै सबैभन्दा बढी गिर्जाघर जमैकामा रहेको छ।
- विश्वको ५ तेज धावकहरु मध्ये ४ धावकहरु जमैकाबासी हुन्।
- नेदरल्याण्डको आमस्टरडम सहरको कफी शपको शैलीमा जमैकामा गाँजा बिक्री गरिने औषधी पसल ‘मेडिकल मारिअुवाना डिस्पेन्सरी’ पाइन्छ।
- र अन्तमा, जमैकामा ठेलामा जर्क चिकेन बेच्ने बिक्रेताको पनि इन्टाग्राम पेज हुन्छ!