परदेशीको दसैं
गत वर्ष स्वीकृती कुताल पहिलो पटक विदेश गइन्। साउनमा जर्मनी पुगेकाले उनले त्यस वर्ष घरमा दसैं मनाउन पाइनन्।
परिवारबाट टाढा रहे पनि साथीभाइसँग मनाइन्।
यसपालि उनको योजना फरक थियो।
पढाइ सकेपछि केही समय विश्राम गर्ने र दसैं–तिहार मनाउन नेपाल फर्किने सोचमा थिइन् उनी। गत वर्ष छुटेको दसैं यसपालि परिवारसँगै मनाउने उत्साह थियो।
तर दसैं आउनुअघि नै उनले पढेकै क्षेत्रमा काम गर्ने अवसर पाइन्। त्यही अवसरले उनको नेपाल फर्किने योजना रोकियो।
'गत वर्ष त पढ्न साउनमै आएकाले दसैं–तिहार मनाउन पाउँदिनँ भन्ने नै थियो। यो वर्ष चाहिँ जसरी पनि जान्छु भन्ने सोचेकी थिएँ, तर सोचेजस्तो भएन,' उनले सुनाइन्।
हुन त स्वीकृतीलाई दसैंभन्दा तिहार बढी मनपर्छ। तिहार सम्झिनेबित्तिकै उनको आँखाअघि आँगनभरि फुलेका फूल, झिलिमिली बत्ती र घरको चहलपहल आउँछ।
त्यसमध्ये पनि उनलाई सबैभन्दा बढी सम्झना आउँछ— दाजुभाइसँगको रमाइलो।
'अरू बेला दाजुभाइले खुट्टा ढोग्दैनन्। दसैं–तिहारमा भने कहिले आफै खुट्टा तानेर, त कहिले मैले जबर्जस्ती गरेर ढोग्थे,' उनले भनिन्, 'त्यो क्षण एकदमै धेरै मिस गर्छु।'
स्वीकृतीको घर काठमाडौंको धापासी हो। परिवारमा आमाबुबा, दाजुभाउजू र भाइ छन्। दाजु र भाइबीचकी एक्ली छोरी भएकाले पनि दाइ र भाइसँग बिताएका समय उनका लागि विशेष छन्।
'पढाइ र करिअरको खोजीले घरबाट टाढा, विदेशी भूमिमा छु,' उनले भनिन्।

स्वीकृतिले नेपाल ल क्याम्पसबाट बिसएएलएलबी सकेकी छन्। उनले करिब डेढ वर्ष एउटा कम्पनीमा काम गरिन्। त्यसपछि जागिर छाडेर आफ्नै ल फर्म खोलिन्।
करिब डेढ वर्ष ल फर्म चलाएपछि उनी स्नातकोत्तर तह पढ्न जर्मनी पुगेकी हुन्।
उनले म्युनिक इन्टेलेक्चुअल प्रोपर्टी सेन्टरमा 'इन्टेलेक्चुअल प्रोपर्टी एन्ड कम्पिटिसन ल' विषय पढिन्। नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी छुट्टै कोर्स पढ्न नपाइने भएकाले त्यस क्षेत्रमा थप पढ्न जर्मनी गएको उनी बताउँछिन्।
'नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी कोर्स नभएकैले म जर्मनी आएकी हुँ,' उनले सुनाइन्।
उनले पढेको एलएलएम कोर्स एक वर्षको थियो। त्यसैले पढाइ सकिएपछि नेपाल फर्किने सोचमा थिइन्। तर कामको अवसर पाएपछि योजना फेरियो।
अहिले उनी ट्रेडमार्क लयरका रूपमा एक कम्पनीमा काम गरिरहेकी छन्।
'आफूले पढेको विषयमै काम गर्ने अवसर पाएकी छु। केही समय जर्मनीमै बसेर कामको अनुभव लिन्छु,' उनले भनिन्।
उनी यसपालिको दसैं त्यहीँ रहेका नेपाली साथीभाइसँग मनाउँदै छिन्।
म्युनिकमा बस्ने नेपालीहरूको सानो समूहले हरेक वर्षझैं यसपालि पनि दसैं मनाउँदैछ। फ्रांकफर्ट र पासाउमा बस्ने नेपालीहरू पनि म्युनिक आएर उनीहरूसँगै चाड मनाउनेछन्।
'दसैंको दिन सबैले बिदा लिन्छौं। यहाँ हल भाडामा पाइन्छ। हल बुक गर्छौं,' स्वीकृतिले सुनाइन्, 'एक जना दाइ हुनुहुन्छ, उहाँले टीका लगाइदिनुहुन्छ।'