परदेशीको दसैं
दसैं आउँदा घर जाने रहर जाग्छ। आमाबुबाको हातबाट टीका थाप्ने, परिवारसँग बसेर मीठोमसिनो खाने र चाडको खुसी साट्ने मन हुन्छ।
जर्मनीको म्युनिकमा बस्दै आएका कृतन गौतमका लागि यी रहर १३ वर्षदेखि फोनको पर्दामै सीमित छन्।
उनी हरेक दसैंमा परिवारसँगै चाड मनाउने चाहना मनमै साँचेर बस्छन्।
'दसैंमा घर जाने रहर कति छ कति! तर के गर्नु, परदेशमा आफूले चाहे जस्तो कहाँ हुन्छ र,' उनले भने।
कृतन सन् २०१० मा उच्च शिक्षा हासिल गर्न जर्मनी गएका थिए। पेशाले वैज्ञानिक उनी अहिले प्रोटेभो बायो कम्पनीको अनुसन्धान तथा विकास विभागका प्रमुख छन्। उक्त कम्पनीमा काम गर्न थालेको चार वर्षभन्दा बढी भइसक्यो। उनी विशेषगरी कृत्रिम मासु (आर्टिफिसियल मिट) सम्बन्धी अनुसन्धानमा केन्द्रित छन्।
उनकी श्रीमती स्वास्थ्य क्षेत्रमा काम गर्छिन्। उनीहरूका पाँच वर्षीय छोरा विद्यालय जान्छन्।
जर्मनीमा दसैं मनाउन कम्पनीबाट बिदा लिन कृतनलाई त्यति गाह्रो छैन। तर श्रीमतीको काम र छोराको विद्यालयको तालिका मिलाउन सहज छैन।
'अरू बेला बच्चाको स्कुलमा बिदा मिलाउन यहाँ धेरै गाह्रो छ। श्रीमतीको त त्यसरी बिदा लिनै मिल्दैन,' उनले भने।

कृतनका अनुसार छोराको विद्यालयमा अगस्टमा चारदेखि ६ हप्तासम्म बिदा हुन्छ। त्यही बेला छोराको हेरचाह गर्न उनी र श्रीमतीले आधा आधा समय बिदा लिने गरेका छन्। त्यसैले दसैंका लागि छुट्टै बिदा मिलाउन गाह्रो हुने उनी बताउँछन्।
दसैंको टीकाका दिन कृतन प्रायः बिदा बस्छन्। बिहानै नेपालमा रहेका आमाबुबा, हजुरआमा, दिदी र सासू–ससुरालाई फोन गर्छन्। राति नेपालमा टीका लगाउने बेला फेरि आमाबुबासँग फोनमा जोडिन्छन्। फोनबाटै आमाबुबाको हातबाट टीका लगाएझैं गरी आशीर्वाद थाप्छन्।
कृतन विदेश गएको १६ वर्ष भयो। सन् २०१३ मा बिहे गर्न नेपाल आएका थिए। संयोगले फूलपातीकै दिन उनको विवाह भयो। त्यसैले त्यो वर्ष उनले परिवारसँगै दसैं मनाउन पाए।
त्यसयता नेपालमा परिवारसँग दसैं मनाउने अवसर जुरेको छैन।
सुरूमा उनी र श्रीमती मात्रै जर्मनीमा हुँदा दसैं मनाउने चलन थिएन। दुवै जना काममा व्यस्त हुन्थे। भाइ पनि जर्मनी आएपछि उनीहरूले टीका लगाउन थाले।
छोरा जन्मिएपछि उसलाई पनि नेपाली संस्कार सिकाउनुपर्छ भन्ने लाग्यो।
'श्रीमती र म मात्र हुँदा त खल्लो लाग्थ्यो। ड्युटीमै हुन्थ्यौं। भाइ पनि यतै आएपछि टीका लगाउन थाल्यौं। बच्चा भएपछि त उसलाई पनि हाम्रो संस्कार सिकाउनुपर्छ भनेर मनाउन थालेका हौं,' कृतनले सुनाए।
दसैंका दिन कृतन घरमै बसेर परिकार बनाउँछन्। राति श्रीमती, भाइ–बुहारी र बच्चाहरू भेला भएर टीका लगाउँछन्।
कृतनका भाइ जर्मनी आएको पनि दस वर्षभन्दा बढी भइसक्यो। दुवै दाजुभाइ विदेशमै भए पनि चाडपर्वमा एकअर्काको साथ पाएका छन्।
नेपालमा रहेका आमाबुबा र आफन्तको सम्झना भने मेटिएको छैन। अरू बेला काममै व्यस्त हुने कृतनलाई दसैं नजिकिँदै जाँदा घर र परिवारको याद झन् बढी आउँछ।
चाडपर्वका बेला आमाबुबासँग फोनमा कुरा हुँदा घर फर्किन मन लाग्छ। तर नेपाल फर्किएपछि के गर्ने भन्ने चिन्ताले उनलाई पिरोल्छ।
कृतनका आमाबुबा एक पटक सन् २०२१ मा जर्मनी आएका थिए। छोरा जन्मिएको वर्ष पास्नीका लागि आएका उनीहरूले त्यही बेला परिवारसँग दसैं पनि मनाए। त्यसयता चाडपर्वमा उनीहरूको भेट हुन सकेको छैन।
आमाबुबा जर्मनी आउन चाहँदाचाहँदै पनि पारिवारिक जिम्मेवारीले रोकिएको कृतन बताउँछन्।

कलंकीस्थित घरमा ९० वर्षीया हजुरआमा आमाबुबासँगै बस्छिन्। उनलाई एक्लै छाड्न नमिल्ने र घरको हेरचाह गर्ने अरू कोही नभएकाले कठिन भएको हो।
'घरमा ९० वर्षको हजुरआमा हुनुहुन्छ। उहाँलाई एक्लै छाडेर बाआमा आउने कुरै भएन,' उनले भने।
पारिवारिक जिम्मेवारीसँगै नेपाल–जर्मनी हवाई यात्राको महँगो खर्चले पनि दसैंमा भेटघाट गर्न कठिन हुने गरेको छ। कृतनका अनुसार दसैंका बेला परिवारै नेपाल आउन हवाई टिकटमा मात्रै ३५ सयदेखि ३६ सय युरो खर्च लाग्छ।
परिवारका सदस्यहरूको आउजाउमै पाँचदेखि सात हजार युरोसम्म खर्च हुने भएकाले उनीहरू दसैंको समयभन्दा अघि वा पछि पारेर नेपाल आउँछन्।
कृतनलाई दसैंभन्दा तिहार बढी रमाइलो लाग्छ। काठमाडौंमा तिहारका बेला हुने झिलिमिली र चहलपहल उनको सम्झनामा अझै ताजा छ। जर्मनी गएपछि एक पटक मात्रै दिदीको हातबाट तिहारको टीका लगाउन पाएको उनले बताए।
नेपालमा परिवारसँग चाड मनाउन नपाए पनि जर्मनीमा रहेका नेपालीहरूसँग उनी दसैं–तिहारमा भेटघाट गर्छन्। नेपाली समुदायलाई समेटेर बनाइएको हिमालयन परिवारले हरेक वर्ष चाडपर्वका अवसरमा कार्यक्रम आयोजना गर्छ।
यसपालि कृतन पनि श्रीमती र छोरासहित कार्यक्रममा सहभागी हुने योजनामा छन्।