परदेशीको दसैं
दुबईबाट पोषण रिजालले घरमा फोन गर्दा छोराछोरीको एउटै आग्रह हुन्छ, 'बाबा, आउनु न!'
मन त उनको पनि दुबईको मरूभूमि छाडेर घर फर्किने, आमाबुबाको हातबाट टीका लगाउने र छोराछोरीलाई काखमा च्यापेर दसैं मनाउने नै थियो।
उनी घर आउने योजना पनि बनाउँदै थिए। तर, दसैंकै बेला ग्राहकसँगको भेटघाट तय भएपछि उनको योजना रोकियो।
'दसैंमा घर जाने योजना थियो, तर पन्ध्र दिनअघि मात्र जान नपाइने थाहा भयो,' उनले सुनाए।
घर आउन नपाउने भएपछि पोषणले परिवारलाई खबर गरे।
आमाबुबा र श्रीमतीले परदेशको बाध्यता बुझे पनि छोराछोरीलाई सम्झाउन सजिलो भएन।
उनीहरू दसैंमा बाबा घर आऊन् भन्ने चाहन्छन्। तर, कामको जिम्मेवारीले गर्दा यसपालि उनीहरूको आग्रह पूरा गर्न नसकेको उनले बताए।
'बच्चाहरूलाई अर्को वर्ष आउँछु भनेको छु,' उनले भने, 'परिवारको याद आए पनि हामी परदेशीले वास्तविकता स्वीकार गर्नैपर्छ। कामलाई प्राथमिकता दिनैपर्यो।'
स्थायी घर धादिङ भएका पोषण सन् २०२३ मार्चमा कामदार भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गएका थिए। सुरूमा उनले दुबईका विभिन्न रेस्टुरेन्टमा काम गरे।
डेढ वर्षअघि घरजग्गा सम्बन्धी कारोबार गर्ने भारतीय कम्पनी 'लाइका रियल्टी' मा आबद्ध भएका उनी सुरूमा पोर्टफोलियो म्यानेजर थिए। अहिले बढुवा भएर वरिष्ठ व्यवसाय प्रबन्धकका रूपमा कार्यरत छन्।
पोषणका अनुसार दुबईमा अक्टोबरदेखि डिसेम्बरसम्म घरजग्गाको कारोबार हुने सिजन हो। यो समयमा उनको कामको चाप पनि बढ्छ। ग्राहकलाई घरजग्गा किनबेच गराउन, भाडामा लगाउन र कारोबार व्यवस्थापन गर्नुपर्ने भएकाले उनी व्यस्त रहन्छन्।
त्यसैले दसैंमा बिदा मिलाएर नेपाल आउन उनलाई कठिन हुन्छ।
आफू घर आउन नपाए पनि पोषणले परिवारका लागि उपहार पठाएका छन्। दसैंका बेला उनका भाइहरू पनि परिवारसँगै हुन्छन्। परदेशमा हुँदा परिवारसँग बसेर चाड मनाउँदाको रमाइलो झनै बढी याद आउने उनी बताउँछन्।
'दसैंमा परिवारलाई धेरै मिस गरिन्छ। परिवारसँग हुँदाको रमाइलो नै अर्कै हुन्छ,' उनले भने।
गत वर्ष उनी घटस्थापनाको भोलिपल्ट नेपाल आएका थिए। यसपालि दुबईमै रहेका नेपालीहरूसँग मनाउने तयारी गरेका छन्।
त्यहाँ नेपालीहरूबीच एकअर्कालाई टीका लगाइदिने र जमरा लगाउने चलन रहेको उनले बताए।
उनले टीकाका दिन बिदा लिएर मन्दिर जाने र साथीभाइसँग टीका लगाउने योजना बनाएका छन्।
'घर जान नपाएका बेला यहीँ दसैं मनाउँछौं। चिनजानका आफूभन्दा ठूलाले सानालाई बोलाएर टीका लगाइदिन्छन्,' उनले भने।
उनका अनुसार दुबईमा हिन्दु मन्दिर छ। त्यहाँ गएर पूजा गर्न सकिन्छ। मुस्लिम बहुल देश भए पनि आफ्नो धर्म र संस्कृति अनुसार चाडपर्व मनाउन सहज रहेको उनले बताए।
दुबईमा साथीभाइसँग टीका लगाएपछि उनी नेपालमा रहेका परिवारसँग भिडिओ कल गर्छन्। फोनबाटै आमाबुबाले उनलाई टीका लगाएर आशीर्वाद दिन्छन्।
'बा–आमाले मलाई फोनबाटै टीका लगाएर आशीर्वाद दिनुहुन्छ,' पोषणले सुनाए, 'मैले पनि श्रीमती, भाइ–बुहारी, छोराछोरीलाई आशीर्वाद दिन्छु।'
