युरोपको सानो तर विश्वकै धनी देश लक्जम्बर्गको नाम तपाईंहरूमध्ये धेरैले सुन्नुभएको होला।
नेपाल बाहिर रहेकाहरूले यो देशको बारेमा धेरैथोरै जानकारी पनि पाउनुभएको होला। तर नेपालभित्रै हुनुहुन्छ र सामाजिक सञ्जाल हेरेर लक्जम्बर्गको बारेमा धारणा बनाइरहनुभएको छ भने तपाईंहरूले वास्तविकताभन्दा भ्रामक तथा सत्यभन्दा धेरै बाहिरको ‘फेक’ प्रचारबाजी धेरै सुन्नु र हेर्नु भएको छ। विशेषगरी नेपालभित्र र एसियाली मुलुकमा रहेका नेपालीहरूमाझ लक्जम्बर्गको बारेमा वास्तविकभन्दा नकारात्मक र भ्रामक खबरहरू बढी फैलाइएका छन्।
अहिले तपाईंले इन्टरनेटका विभिन्न माध्यमहरू युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतमा लक्जम्बर्गको बारेमा खोज्नुभयो भने वास्तविकताभन्दा धेरै बाहिर गएर अनावश्यक प्रचारबाजी गरेको पाउनुहुने छ।
विभिन्न सामाजिक सञ्जाल तथा वेबसाइट नै बनाएर लक्जम्बर्गको बारेमा बग्रेल्ती झूटा विज्ञापन, प्रचारबाजीहरू आँखै तिरमिराउने गरी देख्न पाइन्छ। यसमा विशेषगरी भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अनावश्यक प्रचारबाजी गरिरहेका छन्। अनि अहिले यसैको सिको गरेर नेपालमा पनि सामाजिक सञ्जालहरूमा लक्जम्बर्गको बारेमा विभिन्न खाले प्रचारबाजी भइरहेका छन्। ती सामग्रीमा सत्यताभन्दा झूट बढी छ।
-1749303455.jpeg)
-1749303452.jpeg)
पछिल्ला केही वर्षयता लक्जम्बर्गको नाममा नेपाललगायत एसियाली मुलुकहरूबाट मानव तस्करहरूले सयौं नागरिकलाई युरोपका विभिन्न देशमा छिराउने र गन्तव्यसम्म नपुर्याई त्यही छाडिदिएका घटनाहरू पनि सार्वजनिक भइरहेका छन्।
विशेषगरी कोरोनाको कहरपछि नेपालबाट हजारौंले लक्जम्बर्गको मीठो सपनामा देखेर दलाललाई लाखौं रकम बुझाए पनि लक्जम्बर्ग नआइपुग्नेहरूको कथा बैग्लै छ।
लक्जम्बर्गका लागि भनेर नेपालबाट सेन्जेन भिसा लगाएर आएकाहरूमध्ये धेरैजसो अहिले पनि रोमानिया, क्रोएसिया, बुल्गेरिया, माल्टा, पोल्याण्ड, पोर्चुगल तथा स्पेनमा बसिरहेका छन्। तीमध्ये कतिपयले कागजी प्रक्रिया सुरू गरेको भए पनि कतिपयले अप्ठ्यारो अवस्था बेहोर्नु परेको छ।
लक्जम्बर्गको भौगोलिक अवस्था
पूर्वमा जर्मनी, पश्चिम र उत्तरमा बेल्जियम र दक्षिणमा फ्रान्ससँग सिमाना जोडिएको युरोपको सुन्दर देश लक्जम्बर्ग कुल २ हजार ५ सय ८६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। भूगोलको हिसाबले नेपाल जस्तै भूपरिवेष्ठित देश भए पनि क्षेत्रफलको हिसाबले हेर्दा लक्जम्बर्ग नेपालभन्दा झण्डै साढे ५५ गुणा सानो देश हो।
युरोपको छैटौं सानो देशको रूपमा लक्जम्बर्ग रहेको छ भने लक्जम्बर्गभन्दा सानो युरोपेली देशहरूमा भ्याटिकन सिटी, मोनाको, सान मारिया, लिक्टनस्टाइन, माल्टा र एण्डोरा रहेका छन्।
युरोपियन युनियनको सन् २०२४ को तथ्यांकलाई आधार मान्ने हो भने लक्जम्बर्गको जनसंख्या ६ लाख ७२ हजार ५० रहेको छ। संसारकै सबभन्दा सुरक्षित देशमध्येको एक देशको रूपमा लक्जम्बर्गको नाम पनि आउँछ। संवैधानिक राजतन्त्र (ग्राण्ड डची) अर्थात् राजा रहेको मुलुक भए पनि कार्यकारी अधिकार भने सरकार प्रमुखमा निहित रहेको छ। प्रधानमन्त्रीले सो अधिकार प्रयोग गर्दछन्।
यहाँ कुल ४ वटा निर्वाचन क्षेत्र, १२ वटा प्रशासनिक क्यान्टोन र १ सय ५ वटा कम्युन (नगरपालिका) रहेका छन्। १२ वटा क्यान्टोनलाई सहरको दर्जा दिइएको छ। लक्जम्बर्ग देशभर मुख्यतया ३ वटा मात्रै जेलहरू रहेका छन्। युरोपेली सांस्कृतिक राजधानीको रूपमा सूचीकृत लक्जम्बर्ग भर १ सय ३० भन्दा बढी ऐतिहासिक महल छन्। सामान्य तथा धेरैजसो पानी पर्ने लक्जम्बर्गमा अंग्रेजी महिनाको मेदेखि सेक्टेम्बरसम्मको समयलाई गर्मी मौसमको रूपमा लिइन्छ। सेप्टेम्बरपछि मार्चसम्म मौसम चिसो हुने र पानी पर्ने क्रम भने निरन्तर जस्तै हुन्छ। नोभेम्बरको मध्यदेखि फेब्रुअरीको दोस्रो हप्तासम्म सामान्यतया यहाँ हिउँ पर्ने गर्दछ।
एक सय ८० देशका नागरिकको बसोबासस्थल
सानो देश भए पनि लक्जम्बर्गमा विश्वका १ सय ८० देशका नागरिकहरूको बसोबास रहेको सरकारी तथ्यांक छ। यसको मतलब कुल जनसंख्याको ५३ प्रतिशत जनसंख्या आप्रवासीहरूको रहेको छ। जसमा सबभन्दा बढी पोर्चुगिस नागरिकहरू रहेका छन्। त्यसका अलावा फ्रान्सेली, बेल्जियन, जर्मन तथा इटालियन नागरिकहरू क्रमशः दोस्रो, तेस्रो र चौथो नम्बरमा आउँछन्। दक्षिण एसियाली मुलुक नेपाल, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स लगायतका देशका नागरिकहरूको संख्या पनि उल्लेख छ। हालसम्म लक्जम्बर्गमा बसोबास गर्ने नेपालीहरूको संख्या सात सयको हाराहारीमा रहेको बताइन्छ। अधिकांश नेपालीहरू परिवारसहित लक्जम्बर्ग बस्दै आइरहेका छन् भने धेरैले आफ्नै व्यवसाय गरेका छन्।
यस्तै, ५ देखि ८ हजारको संख्यामा भारतीय नागरिकहरूसमेत लक्जम्बर्गमा बसोबास गर्दै आइरहेका छन्। दक्ष कामदार र भाषा जानेकाहरूलाई रोजगारीको सम्भावना बढी रहेकोले पनि पछिल्ला वर्षहरूमा यहाँ आउने आप्रवासीको संख्या बढ्दो छ।
-1749303453.jpeg)
सार्वजनिक यातायात निःशुल्क गर्ने विश्वको पहिलो देश
लक्जम्बर्ग विश्वको पहिलो देश हो जहाँ सार्वजनिक यातायातका साधनहरू निःशुल्क रूपमा प्रयोग गर्न पाइन्छ।
सन् २०२० को फेब्रुअरी २९ देखि यहाँको सरकारले देशभर रेल, सार्वजनिक बस तथा विद्युतीय ट्रामहरू निःशुल्क रूपमा सञ्चालनमा ल्याएका छन्। जसमा यात्रा गर्दा पर्यटकहरूले पनि शुल्क तिर्नु पर्दैन। कतिपय सार्वजनिक यातयात सेवाले सीमावर्ती छिमेकी देशहरूका निश्चित भूभागहरूसम्म नि:शुल्क रूपमा सेवा दिँदै आइरहेका छन्। बिहान सबेरैदेखि मध्यरातसम्म निरन्तर रूपमा सुविधासम्पन्न सयौं रेल, बस तथा ट्रामहरूले यहाँका लाखौं नागरिकलाई निःशुल्क सेवा प्रदान गरिरहेका छन्। लक्जम्बर्ग सरकारले यहाँको यातायात व्यवस्थापन अत्यन्तै सहज तथा व्यवस्थित गरेको छ। सुविधासम्पन्न सार्वजनिक यातयात–बस, रेल तथा ट्रलिबस लक्जम्बर्गका सहर र गाउँमात्रै होइन छिमेकी मुलुक बेल्जियम, जर्मन तथा फ्रान्सका धेरैजसो भूभागहरूमा सहज रूपमा सञ्चालनमा छन्।
यहाँको सरकारले निजी सवारी साधनभन्दा सार्वजनिक सवारी साधन प्रयोगमा यहाँका नागरिकहरूलाई प्रोत्साहित गरिरहेको छ। अनावश्यक ट्राफिक जामबाट मुक्ति पाउन, हरियाली जोगाउन तथा वातावरणीय प्रदूषण कम गर्न भन्दै सरकारले २०२० देखि सुविधायुक्त सार्वजनिक सवारी साधन निःशुल्क गराएको हो। जसले सहरको चोकदेखि गाउँका गल्लीसम्म अनवरत रूपमा सेवा प्रदान गरिरहेका छन्।
अझ रोचक तथा आश्चर्यको कुरा के छ भने लक्जम्बर्ग आउने कुनै पनि पर्यटक तथा यात्रुले यहाँको विमानस्थलमा उत्रिएपछि होस् वा घरबाट विमानस्थलमा जाने बेला किन नहोस्, ट्याक्सी तथा निजी सावारी साधनमा महँगो भाडा तिर्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्। देशको कुल क्षेत्रफलको एक तिहाइ भूभाग जंगल तथा हरियालीले भरिएको यो देशमा सरकारको यही दुरदर्शी योजनाको कारणले गर्दा यहाँ वायु प्रदूषणको असर खासै देखिँदैन।
विश्वमै सबभन्दा बढी न्यूनतम तलब दिने देश
विश्वमै सबभन्दा बढी न्यूनतम तलब दिने देशको रूपमा लक्जम्बर्गको नाम आउँछ। सन् २०२५ को जनवरीबाट लागू हुने गरी यो देशले १८ वर्ष पूरा भएका जुनसुकै व्यक्तिलाई पनि देशभित्र प्रतिदिन ८ घण्टा र प्रति हप्ता ४० घण्टाको दरले पूर्णकालीन काम गर्दा २ हजार ६ सय ३७ युरो ३५ सेन्ट तलब दिन्छ। जुन आधारभूत तहको कुल तलब हो (झण्डै ४ लाख १२ हजार नेपाली रुपैयाँ)। त्यसबाट आयकर तथा अन्य सामाजिक कर कट्टी गरेर बाँकी खातामा जम्मा हुन्छ। जुन लगभग २ हजार ३ सय (झण्डै ३ लाख ५९ हजार) को हाराहारीमा हुन आउँछ। तर कामदारको अवस्था, परिवार संख्या लगायतले पनि यो रकम थपघट हुनसक्छ। यो अदक्ष कामदारको न्यूनतम तलब मान हो। कामदार तथा कर्मचारीको दक्षता तथा क्षमता अनुसार अदक्ष, दक्ष, अति दक्ष लयायतको तह विभाजन हुन्छ र त्यही अनुसार मासिक तलबको स्केल तह अनुसार बढ्दै जान्छ।
विश्वकै धनी देश
अर्न्तराष्ट्रिय मुद्रा कोषले २०२४ मा जारी गरेको तथ्यांक अनुसार प्रतिव्यक्ति आयको हिसाबले लक्जम्बर्ग विश्वकै सबैभन्दा धनी देश हो। लक्जम्बर्गपछि दोस्रो धनी देशमा मकाउ र तेस्रोमा आयरल्याण्डको नाम आउँछ। यहाँको प्रतिव्यक्ति आय १ लाख ५५ हजार ९ सय १० डलर रहेको छ।
पछिल्लो केही वर्षयता लगातार रूपमा लक्जम्बर्ग विश्वको धनी देशको सूचीमा रहँदै आएको छ। २०२४ मा यहाँको राहदानी (पासपोर्ट) विश्वकै तेस्रो शक्तिशाली राहदानीको रूपमा रहेको छ।
आधा कामदार सीमावर्ती देशबाट आउँछन्
लक्जम्बर्गमा काम गर्ने कामदारमध्ये आधाभन्दा बढी सीमावर्ती देशहरूमा स्थायी बसोबास गर्ने नागरिकहरू रहेका छन्। एक तथ्यांक अनुसार सन् २०२४ को डिसेम्बरसम्ममा लक्जम्बर्गमा छिमेकी मुलुक फ्रान्सबाट ६९ हजार, बेल्जियमबाट ४० हजार तथा जर्मनबाट ३९ हजार पाँच सय कामदारहरू दैनिक रूपमा सीमा गरी काममा आउने गरेका छन्।
यो तथ्यांकमा यो वर्ष केही हजार कामदारहरू थप भएको सरकारी कार्यालयहरूले आफ्नो बुलेटिनमा उल्लेख गरेका छन्। सहज तथा नि:शुल्क सवारी साधनका कारण उनीहरूलाई यसरी काम गर्न सहज भएको हो। तुलनात्मक रूपमा लक्जम्बर्गमा बस्न भन्दा छिमेकी मुलुक फ्रान्स, बेल्जियम तथा जर्मनका सीमावर्ती क्षेत्रका सहरहरूमा बस्दा घरभाडा सस्तो हुने भएकाले उनीहरूले सीमा पारिलाई बासस्थानको रूपमा रोजेका हुन्।
कुनै प्राविधिक अवस्थामा बाहेक यातायातका साधनहरू नियमित र समयमै उपलब्ध हुने भएकोले कामदारहरूलाई यी देशमा बसेर लक्जम्बर्गमा काम गर्न कठिनाइ नहुने सीमापार कामदारहरू बताउँछन्।
-1749303454.jpeg)
३ वटा आधिकारिक भाषा
लक्जम्बर्गमा ३ वटा सरकारी आधिकारिक भाषा छन्। फ्रेन्च, लक्जम्बरिस् तथा जर्मन भाषा यहाँका आधिकारिक भाषा हुन्। तर यहाँको संसदमा लक्जम्बरिस भाषा प्रयोग गरिन्छ भने कानुनहरू फ्रान्सेली भाषामा लेखिएका हुन्छन्। यसका अलावा आप्रवासीमध्ये धेरैजसो पोर्चुगिस भाषीहरूको बाहुल्यता रहेकोले यहाँ पोर्चुगिस भाषा पनि व्यापक रूपमा प्रयोगमा रहेको छ।
हरेक सरकारी कार्यालयहरूमा पोर्चुगिस भाषा बोल्ने कर्मचारीहरू भेटिन्छन्। साथै अंग्रेजी भाषा पनि अन्य भाषाजस्तो धेरै प्रयोगमा रहेको छ। अधिकांश ठाउँमा अंग्रेजी भाषा सामान्य हिसाबले बोलचाल हुने गरेको छ।
अधिकांश दक्ष कामदारबीच प्रतिस्पर्धा हुने देश
अर्को कुरा, अधिकांश अवस्थामा लक्जम्बर्ग भनेको दक्ष कामदारहरूबीच प्रतिस्पर्धा हुने देश हो। यहाँका रोजगारीका अधिकांश स्थानमा कामका लागि पुग्नेहरू कुनै क्षेत्रमा दक्षता हासिल गरेका र सीप सिकेर गएका हुन्छन्। कतिपय त वर्षौंसम्म त्यही क्षेत्रमा काम गरेपछि मात्रै लक्जम्बर्गलाई गन्तव्य बनाउनेहरू भेटिन्छन्। त्यसैले कुनै ठाउँमा कामका लागि पुग्दा त्यहाँ त्यो क्षेत्रमा दक्षता र अनुभव बोकेका व्यक्तिहरूबीच कडा प्रतिस्पर्धा हुन्छ र त्यसबाट छानिएकोले मात्रै काम पाउँछन्। होटल, रेस्टुरेन्ट, क्याफे तथा क्याटरिङ्ग क्षेत्रको कुरा गर्दा यो क्षेत्रको बजार थप प्रतिस्पर्धी रहेको छ।
सानो देश, निश्चित अवसर भएकाले पनि होला अधिकांश अवस्थामा सम्बन्धित क्षेत्रमा काम गरेका दक्ष र अनुभवी कामदारलाई नै छनोट गरिन्छ। त्यसमा पनि फ्रेन्च, जर्मनी र लक्जम्बरिस भाषा जानेकालाई विशेष प्राथमिकता दिइन्छ। पोर्चुगिस तथा अंग्रेजी भाषा बोल्न जान्नेहरूका लागि कामको अवसर मिल्न सक्छ। तर सम्बन्धित क्षेत्रको अनुभव र भाषा, युरोपियन देशहरूको सवारी चालक अनुमति पत्रलाई काम दिने कम्पनीहरूले सधैं प्राथमिकतामा राख्ने गर्दछन्।
नेपाली, भारतीय तथा अन्य दक्षिण एसियालीहरूले सञ्चालन गरेको होटल तथा रेस्टुरेन्टमा काम पाउने सम्भावना रहे पनि सकेसम्म त्यहाँ पनि सम्बन्धित क्षेत्रको अनुभव महत्वपूर्ण मानिन्छ।
सानो तर शक्तिशाली देश
भूगोल र जनसंख्याको हिसाबले सानो देश लक्जम्बर्गले विश्वलाई पछि पार्दै विश्वको शक्तिशाली देशको सूचीमा आफ्नो देशको नाम लेखाउन सफल भएको छ।
‘ग्लोबल फाइनान्सियल पावर हाउस’ को रूपमा रहँदै आएको लक्जम्बर्गमा कूल कामको ३० प्रतिशत हिस्सा फाइनन्स (वित्तीय) क्षेत्रले ओगटेको छ।
वित्तीय क्षेत्रलाई लक्जम्बर्गमा आम्दानीको आधारशिला मानिन्छ। जसले देशको कुल ग्राहर्स्थ उत्पादनको ठूलो हिस्सा ओगटेको छ। विश्वका २५ भन्दा बढी देशका कुल १ सय १७ भन्दा बढी बैंकहरू लक्जम्बर्गमा छन्। जसमा विश्वका चर्चित बैंकहरू पनि पर्दछन्। बैंकिङ्ग, सूचना प्रविधि, स्टिल तथा औद्योगिक क्षेत्रमा धनी देश देश लक्जम्बर्गले यी क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरी विश्वका विभिन्न देशबाट दक्ष कामदारहरू भित्राइरहेको छ।
यसका अलावा, स्टिल उद्योग, सूचना तथा प्रविधि, दीगो ऊर्जा र जैविक प्रविधि, कार तथा सवारी साधनका पाटपुर्जाहरू, टायरहरू, ग्यास टर्बाइन आदिको निर्यात गरेर बर्सेनि करोडौं युरो आयात गर्दछ। साथै औद्योगिक क्षेत्रमा पनि लक्जम्बर्गले अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ।
सरकारले स्थानीय व्यापार कर, खुद सम्पत्ति कर, व्यक्तिग आयकर, मूल्य अभिवृद्धि कर लगायतबाट राजस्व संकलन गर्दै आइरहेको छ। जुन राज्यले आम्दानी गर्ने प्रमुख स्रोतको रूपमा रहेको छ।
युरोपियन युनियनका एक दजर्नन बढी कार्यालयको हब
युरोपियन युनियनका एकदर्जन बढी कार्यालयहरू लक्जम्बर्गमा छन्। युरोपेली संसदको महासचिवालय, युरोपेली न्याय अदालत, युरोपेली लगानी बैंक, युरोपेली लेखा परीक्षकहरूको अदालत, युरोपेली संघ परिषद्, युरोपेली आयोग, युरोपेयिन युनियनको सम्मेलन केन्द्र, युरोपेली सरकारी वकिलको कार्यालय, युरोपेली स्वतन्त्र व्यापार संघको न्याय अदालत लगायतका कार्यालयहरू र यसमा काम गर्ने विभिन्न देशका दशौं हजार विशेषज्ञहरूले लक्जम्बर्गलाई कर्मभूमि बनाइरहेका छन्। साथै विश्वप्रसिद्ध माइक्रोसफ्ट र अमेजनको कार्यालयहरू लक्जम्बर्गमा छन्।
रोजगारीका सम्भावना भएका यी क्षेत्रहरू
लक्जम्बर्गमा विशेषगरी सूचना प्रविधि, फाइनान्स, बैंकिङ, हेल्थ केयर, हस्पिटालिटी लगायतका क्षेत्रमा सधैं दक्ष कामदारहरूको माग भइरहेको हुन्छ। फाइनान्स क्षेत्रमा आफ्नो करियर बनाउन चाहनेहरूका लागि अमेजन उत्कृष्ट देशको रूपमा रहेको छ।
विशेषगरी बैंकिङ, फाइनान्स, फाइनान्स ल, इन्भेस्ट मेनेजमेन्ट लगायतका क्षेत्रमा हरेक कम्पनीहरूले दक्ष कामदारहरू मागिरहेका हुन्छन्। यी क्षेत्रमा काम गर्नका लागि सम्बन्धित कम्पनीका वेबसाइटमा गएर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै आवेदन दिन पाइने छ। यदि मापदण्ड पूरा गरेर भिसा लागेको अवस्थामा आकर्षक तलब र सुविधासहित काम गर्ने अवसर प्राप्त हुने गर्दछ।
यसका अलावा सूचना प्रविधिको क्षेत्रमा पनि लक्जम्बर्गमा सधैं दक्ष तथा अनुभवी कामदारको माग भइरहेको हुन्छ। विशेषत: आइटी विज्ञ, डाटा सुरक्षा, साइबर सुरक्षा, डेटा एनालाइसिस तथा आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई) क्षेत्रमा काम गर्ने दक्षता भएकाहरूलाई अवसरको धेरै सम्भावना छ।
मोबाइल टेक्नोलोजी, प्रोग्रामिङ्ग लगायतका क्षेत्रमा उच्च क्षमतायुक्त कामदारको मासिक न्यूनतम तलब ४ हजार युरोबाट तलब सुरू हुन्छ। उनीहरूको योग्यता र दक्षता अनुसार यो बढ्दै जान्छ। लक्जम्बर्गमा आउने दक्ष कामदारहरूको रोजाइमा पर्ने अर्को क्षेत्र हो इन्जिनियरिङ। यो क्षेत्रमा काम जानेका दक्ष कामदारहरूलाई पनि यहाँका कम्पनीहरूले निश्चित मापदण्ड पूरा गरेपछि काम दिन सक्छन्।
विशेषतः मेन्टिनेन्स इन्जिनियर, प्रोसेस इन्जिनियर, केमिकल इन्जिनियर लगायतका दर्जनौं पदहरूमा अहिले पनि यहाँका कम्पनीहरूले दक्ष कामदार खोजिरहेका छन्। जुन क्षेत्रमा काम गर्नेहरूको मासिक तलब तथा सेवा सुविधा आकर्षक रहेको छ। यस्तै हेल्थ केयर तथा सोसियल क्षेत्र अर्न्तगत चिकित्सक, डेन्टिस्ट, फर्मासिस्ट, नर्स, केयर गिभरमा पनि काम पाउने सम्भावना छ। तर यी क्षेत्रमा काम गर्नेहरूको हकमा फ्रेन्च, जर्मन, लक्जम्बरिसमध्ये कम्तीमा एउटा भाषा तथा अंग्रेजी भाषा जानेको र राम्रो अनुभव भएकाहरूलाई प्राथमिकतामा राख्ने गरिन्छ।
अस्पताल, नर्सिङ होम, थेरापी सेन्टर तथा केयर सेन्टरहरूमा दक्ष नर्स तथा केयर गिभरहरूको खाँचो रहेको यहाँका काम उपलब्ध गराउने कम्पनीहरूले आफ्नो वेबसाइटमा राखेका छन्। यी क्षेत्रमा कतिपय स्थानमा अनुभवी र दक्ष व्यक्तिलाई अंग्रेजी भाषा मात्रै जानेकाले पनि काम पाउने सम्भावना रहन्छ। यसका अलावा, लजिस्टिक क्षेत्र, हस्पिटालिटी, क्याफे तथा क्याटेरियङ्ग, निर्माण क्षेत्र लगायतमा पनि सीप र अनुभव भएका कामदारहरूलाई अवसरको सम्भावना छ।
-1749303453.jpeg)
सकारात्मक पक्ष
सानो देश र तुलनात्मक रूपमा थोरै जनसंख्या भएकोले यहाँका सरकारी कार्यालयका कामहरू अन्य देशको तुलनामा चुस्त र छिटो हुन्छन्। विशेषगरी यहाँको सरकारले १८ वर्ष मुनिका बालबालिकालाई उमेर समूह अनुसार निश्चित रकम दिने गरेको छ। जुन अन्य युरोपेली देशको तुलनामा उच्च छ। सरकारी तथा अर्धसरकारी विद्यालयमा शिक्षा पूर्ण रूपमा निःशुल्क रहेको छ भने निजी विद्यालयहरूमा केही निश्चित रकम तिरेर अध्ययन गर्ने व्यवस्था मिलाइएको हुन्छ। स्वास्थ्य क्षेत्र पनि तुलनात्मक रूपमा अग्रणी स्थानमा रहेको छ। अभिभावक काममा संलग्न भएको अवस्थामा उनीहरूसँग आश्रित परिवारका यहाँ रहेका सबैको स्वास्थ्य बीमा कार्यरत कम्पनीबाट स्वत: भएको हुनेछ। जसमा ८० प्रतिशत खर्च बीमाबाट जान्छ भने कतिपय अवस्था २० प्रतिशत आफूले तिर्नुपर्ने हुन्छ। बालबालिकाको चाहिँ पूर्ण नि:शुल्क हुने गरेको छ। यहाँको जीवनस्तर तुलनात्मक रूपमा युरोपकै गुणस्तरीयमा पर्दछ। विश्वविद्यालय पढ्न जाने विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्नका लागि उनीहरूको पढाइको स्तर हेरेर सरकारले शून्य ब्याजदरमा ऋण प्रदान गर्दछ। पढाइ सकेर काम गर्न थालेपछि सरकारले प्रतिमहिनाको दरले सो विद्यार्थीबाट रकम लिने गर्दछ।
रात्रिकालीन जनजीवन, मध्यरातसम्म हुने रात्रिकालीन व्यवसायहरू लक्जम्बर्गमा एकदमै न्यून छ। जसका कारण साँझ छिप्पिँदै जाँदा क्षेत्र समेत विस्तारै सुनसान देखिन्छ। तर सप्ताहन्तमा भने केही सहरी क्षेत्रमा भिडभाड देख्न सकिन्छ। जर्मनीको औद्योगिक सहर फ्रान्कफर्ट, बेल्जियमको राजधानी ब्रसेल्स, फ्रान्सको राजधानी पेरिस, स्विट्जरल्याण्डको जुरिज लगायतका सहरहरू केही घण्टाको यात्रामा पुग्न सकिने भएकाले पनि युरोपको केन्द्र भागको रूपमा लक्जम्बर्गलाई लिने गरिएको छ।
नकारात्मक पक्ष
यहाँसम्म पढ्दै आउँदा तपाईंलाई लाग्यो होला लक्जम्बर्ग सबै कुरा राम्रो मात्रै छन्, नराम्रो भन्ने केही छैन। तर त्यसो होइन, देख्दा सुन्दा जति सकारात्मक र लोभलाग्दो छ लक्जम्बर्गको जनजीवन, वास्तविक रूपमा उत्तिकै चुनौतीपूर्ण छ।
विश्वकै धनी देश भएसँगै यहाँको जीवनस्तर पनि गुणस्तरीय छ। गुणस्तरीय जीवन जिउनु भनेको हरेक क्षेत्रमा धेरै खर्च हुनु हो। त्यसैले लक्जम्बर्गको बसाइँ निकै खर्चिलो छ। विशेषगरी यहाँ भाडामा घर पाउन निकै कठिन र महंगो छ। २ बेडरूमको एउटा अपार्टमेन्ट भाडामा लिन सहरी क्षेत्रमा २२ सयदेखि २५ सय युरोसम्म पर्दछ। त्यसमा आफूले उपयोग गर्ने बत्ती, पानी, इन्टरनेट लगायतको खर्च थप हुन आउँछ। सहरबाट अलि बाहिर समेत घरहरू भेट्न मुस्किलजस्तै छ। जसको पनि कम्तीमा १८ सय युरोकै हाराहारीमा पर्न आउँछ। घर भाडामा लिन कडा सर्त पालना गर्नुपर्दछ।
काममा संलग्न रहेको प्रमाणपत्र, ३ महिनाको घरभाडा पूर्वभुक्तानी, गतिलो आयस्रोत लगायतलाई आधार बनाएर घर भाडामा लगाउने एजेन्सीहरूले घर भाडा लगाउने गर्दछन्। त्यसमा एजेन्सीको सेवा शुल्क (न्यूनतम एक महिनाको भाडा) थप तिर्नुपर्ने हुन्छ।
-1749303454.jpeg)
कतै नेपाली समुदाय तथा अन्य चिनजानको साथीभाइ तथा आफन्तकोमा कोठा पाउन सकियो भने त्यो सहज हुन्छ। जहाँ पारिवारका सदस्यको रूपमा तपाईंले कानुनी रूपमा बस्न पाउनुहुनेछ। तर त्यसको लागि घरको कोठा तथा त्यसको क्षेत्रफल पर्याप्त भएको हुनुपर्नेछ। जसको टुंगो स्थानीय नगरपालिका (कम्युन) ले आफ्नो रेकर्डमा हेरेपछि मात्रै निर्धारण गर्नेछ।
माथि नै भनिसकियो गुणस्तरीय जीवनसँगै लक्जम्बर्गको बसाइँ अत्यन्तै खर्चिलो छ। विशेष गरी यहाँ दैनिक उपभोग्य वस्तु, खाद्यान्न, यहाँका शैलुन, व्युटिपार्लर, रेस्टुरेन्टलगायत महँगा छन्। सेवामुखी व्यवसायहरूको सेवा लिँदा बढी खर्च बेहोर्नुपर्ने हुन्छ। परिवारको एक जना सदस्यले एउटा काम गरेर आउने तलब र त्यसको भरमा मात्रै घरखर्च चलाउन कठिन छ।
यदि न्यूनतम तलबमा काम गर्ने र एक जनाको मात्रै कमाइले ४ जनाको परिवार चलाउने सोच हो भने त्यो असम्भव जस्तै हुन आउँछ। तुलनात्मक रूपमा बेल्जियम, जर्मनी लगायतका देशमा भन्दा लक्जम्बर्गमा घरखर्च र घरभाडा अति उच्च छ। बेल्जियम, पोर्चुगल, जर्मनी लगायतका देशको तुलनामा यहाँ घर तथा अपार्टमेन्टहरू खरिद गर्न पनि निकै महँगो पर्न आउँछ। यी देशहरूको तुलनामा यहाँ झण्डै ३ गुणा बढी महंगो पर्न आउँछ। करिब १०० मिटर स्क्वायरको २ कोठाको एउटा अपार्टमेन्ट किन्न सहरी एरियामा कम्तीमा ६ लाख युरो र सहरबाट बाहिर साढे ४ देखि ५ लाख युरोसम्म पर्न आउँछ।
बैंकिङ प्रक्रिया सफल भएको अवस्थामा तपाईंसँग आश्रित पारिवार, तपाईंको खर्च, उमेर लगायतले तपाईंको ‘बैंकिङ्ग लोन’ स्वीकृत हुने नहुने निर्भर गर्दछ। स्वीकृत भएको अवस्थामा पनि अवस्था हेरेर १२ देखि १५ प्रतिशतसम्म अग्रिम भुक्तानी गर्नुपर्छ।
नेपालबाट वैध रूपमा कामदार भिसामा आउने सम्भावना लगभग शून्य
लक्जम्बर्गका अधिकांश क्षेत्रमा दक्ष कामदारबीच प्रतिस्पर्धा हुन्छ भनेर पहिल्यै उल्लेख गरिसकिएको छ। यहाँ काम गर्नका लागि वैध रूपमा दक्ष कामदार भिसामा भित्रिएको हुनुपर्दछ।
युद्धग्रस्त देशहरूका नागरिकहरूलाई युरोपेली युनियनको निर्णय र मापदण्ड अनुसार मानवताका आधारमा बसोबास तथा कामको अवसर प्राप्त भएको भए पनि अन्य स्थानबाट यहाँ आउनेहरूले कानुनी मापदण्ड पूरा गर्नैपर्दछ। कोरोना महामारीले विश्वव्यापी रूपमा पारेको आर्थिक मन्दीको असरले यहाँका व्यवसायहरूमा पनि ठूलो धक्का पुर्याएको थियो। जसको असर अहिले पनि देख्न सकिन्छ। यसका साथै रसिया तथा युक्रेनबीच विगत केहीवर्षदेखि जारी युद्धको असर पनि परेको छ। विशेषगरी युक्रेनबाट यहाँ धेरैजना सुरक्षा खोज्दै आइपुगेका छन्। जसले यहाँको रोजगारीको क्षेत्रलाई थप साँघुरो बनाइदिएको छ।
यहाँ कामदारको रूपमा आउन कि त युरोपेली युनियनसँग आबद्ध देशको नागरिक हुनुपर्दछ। नत्र भने यहाँको सरकारी निकायले सम्बन्धित कम्पनीलाई कामदार ल्याउनको लागि दिएको पत्र र सम्बन्धित क्षेत्रमा आवश्यक दक्ष कामदारको व्यक्तिगत विवरणसहितको आवश्यक कागजात अध्यागमनमा बुझाउनु पर्दछ।
प्रक्रियागत रूपमा भन्ने हो भने यहाँ कानुनी रूपमा दर्ता भएका कम्पनीहरूले दक्ष कामदारको माग गर्दै यहाँको रोजगार उपलब्ध गराउने सरकारी निकाय (आदम) समक्ष आग्रह गर्नुपर्दछ। आदमले आफूसँग काम खोज्नका लागि दर्ता भएका काम खोज्नेहरूको सूचीसँग सम्बन्धित कम्पनीहरूले खोजे अनुसारको कामदार छ छैनन् त्यसको खोजी गर्दछन्। कम्पनीहरूले खोजे जस्तो सम्बन्धित क्षेत्रमा दक्षता भएका कामदार यहीभित्रैबाट उपलब्ध हुन नसकेको खण्डमा मात्रै अन्य मुलुकबाट आवश्यक कामदार ल्याउने प्रक्रिया अघि बढाउनका आदमले ती कम्पनीहरूलाई पत्र दिन्छ।
-1749303454.jpeg)
आदमबाट प्राप्त सो पत्रमा उल्लेख भएअनुसारको जनशक्ति ल्याउनका लागि कम्पनीहरूले युरोप वा युरोप बाहिर रहेका गैरयुरोपेली नागरिकहरूबाट आह्वान गर्न अब पाउने छन्। तर त्यसका लागि कम्पनीलाई आवश्यक पर्ने कामदारले सम्बन्धित क्षेत्रमा मान्यताप्राप्त विश्वविद्यालयबाट डिप्लोमा अध्ययन गरेको, अनुभवी र दक्ष कामदार भएको प्रमाणसहितको सम्पूर्ण कागजातसहित अध्यागमन विभाग समक्ष निवेदन दिनुपर्दछ। अधिकांश अवस्थामा यसरी गएको निवेदन अध्यागमनबाटै अस्वीकृत हुने गर्दछ। अध्यागमनले स्वीकृति दिएको अवस्थामात्रै भिसा निश्चित हुने अधिकारीहरू बताउँछन्। तर त्यो दर लभगभ शून्य जस्तै छ। अहिले चर्चामा आएजस्तो लक्जम्बर्गमा रोजगारीको लागि ह्वारह्वार्ती भिसा पाइने अवस्था बिल्कुलै छैन। पछिल्ला केही वर्षयता औंलामा गन्न सकिने, दक्ष र सम्बन्धित क्षेत्रमा धेरै राम्रो सीप र अनुभव भएका केही व्यक्तिमात्रै रोजगारीका लागि यहाँ आएको गैरआवासीय नेपाली महासंघ लक्जम्बर्गका महासचिव बालहरी राई बताउँछन्।
सामाजिक सञ्जालमा लक्जम्बर्गको रोजगारीको बारेमा व्यापक रूपमा झूटा प्रचारबाजी भैरहेका छन्। पछिल्ला केही वर्षयता वर्क परमिट भिसामा आवेदन दिनेहरूको संख्या बढिरहेको परिप्रेक्ष्यमा भिसा पाउने दर भने लगभग शून्य जस्तै छ। त्यसैले कसैको लोभ, बहकाउमा नलागी यथार्थ बुझेर मात्रै लक्जम्बर्गका विषयमा निर्णय लिन महासचिव राईले सुझाव दिएका छन्।
'लक्जम्बर्गको बारेमा सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतमा अहिले भैरहेको प्रचारबाजीमा कुनै सत्यता छैन,' राई भन्छन्, 'पछिल्ला वर्षहरूमा लक्जम्बर्ग ल्याउने भन्दै पर्यटक भिसा लगाएर युरोपका विभिन्न मुलुकमा ल्याउने क्रम तीव्र भैरहे पनि त्यसरी पर्यटक भिसामा आएकाहरूले लक्जम्बर्गमा काम गर्ने र बस्ने अनुमति पाउँदैनन्।'
यहाँको सरकारी तथ्यांक अनुसार पनि विगत २ वर्षयता लक्जम्बर्गमा कामदार भिसामा नेपाल, भारत, बंगलादेश लगायतका दक्षिण एसियाली राष्ट्रबाट आउने दक्ष कामदारहरूको संख्या एकदमै न्यून छ। यहाँको सरकारले पनि सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो लक्जम्बर्गमा सहज रूपमा काम पाइने अवस्था नरहेको र कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै ज्ञान, सीप तथा भाषाको आधारमा काम पाइने भएकोले यसतर्फ सचेत रहन आग्रह गरेको छ।
-1749303452.jpeg)
-1749303454.jpeg)
विद्यार्थी भिसामा आउनेहरूको हकमा
विद्यार्थी भिसामा आउन चाहने विद्यार्थीहरूको हकमा अहिले पनि सम्भावनाहरू धेरै छन्। विशेष गरी स्नातक र स्नातकोत्तर तह अध्ययनको लागि लक्जम्बर्गमा बाहिरी देशबाट विद्यार्थीहरू आउने गर्दछन्। त्यसका लागि आफूले पढ्न चाहेको विषय हेरेर आफैले अनलाइनबाट आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिनुपर्ने हुन्छ।
यसरी निवदेन दिँदा कतिपय विषयहरू अध्ययनका लगि जर्मन, फ्रेन्ज वा लक्जम्बरिस भाषा जानेको हुनुपर्ने व्यवस्था छ भने कतिपयले ‘टोफल तथा आइइएलटिएस’ अनिवार्य गरेका छन्। केही अंग्रेजी भाषाका विषयहरू पनि अध्ययन गर्न पाइन्छ। यहाँको सरकारी विश्वविद्यालयमा अध्ययनका लागि छनोट भएको अवस्थामा विश्वविद्यालयको खर्च निकै कम पर्दछ। तर निजी विश्वविद्यालयको हकमा केही महंगो हुन आउँछ। त्यसरी आउने विद्यार्थीहरूले बस्ने बासस्थान आफैले निश्चित गरेको विषयमा सप्रमाण विश्वविद्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था रहेको एनआरएनए लक्जेम्बरका प्रवक्ता डिप्लव बराइली बताउँछन्।
विद्यार्थी भिसामा आउनेहरूले पूर्ण रूपमा काम गर्न पाउने छैनन्। सुरूमा उनीहरूले प्रतिहप्ता १५ घण्टा काम गर्ने अनुमति पाउँछन्। स्नातक अध्ययनमा आउनेहरूले सामान्यतया पूर्ण काम गर्ने अनुमति पाउँदैनन्। उनीहरूले हरेक वर्ष भिसा नविकरण गर्नुपर्ने हुन्छ। तर आफूले पढेकै विषय र क्षेत्रमा काम पाएको अवस्थामा भने स्नातक पास गर्ने विद्यार्थीले पनि पूर्णकालीन काम गर्ने अनुमति प्राप्त गर्दछन्। स्नातकोत्तर तहको अध्ययन पूरा गरिसकेपछि भने उनीहरूले १ वर्षको भिसा प्राप्त गर्दछन् जुन काम खोज्ने भिसाको रूपमा रहन्छ।
त्यसैले समग्रमा फेसबुक, टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालको भिडिओ हेरेर लक्जम्बर्गको बारेमा धारणा बनाउनु गलत हुनेछ। विशेषगरी दलाललाई मोटो रकम तिरेर यहाँ काम गर्न पाइने आशामा आउन असम्भव जस्तै छ। त्यसैले यसतर्फ बेलैमा सचेत बनौं। समय र पैसाको बबार्दी गर्नुभन्दा अघि सोचेर, विचार गरेर मात्रै प्रक्रिया अघि बढाउनु पर्छ।
(विगत २ दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न लामिछाने लक्जम्बर्गमा बस्छन्।)