गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई पक्षबिच एकताका लागि जनवरीमा अधिवेशन प्रस्ताव गरिएको छ।
एनआरएनएका दुई पक्षबिच विभिन्न चरणमा भएको छलफलमा यस्तो प्रस्ताव गरिएको हो।
२०८२ असोजमा भएको ११ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी र गत वैशाखमा सम्पन्न एकताको अधिवेशनबाट निर्वाचित महेश श्रेष्ठ नेतृत्वमा गरी दुई कार्यसमिति रहेका छन्।
छलफलका क्रममा दुवै अध्यक्षको संयोजकत्वमा स्टेरिङ कमिटी बनाउने प्रस्ताव गरिएको बद्री केसी नेतृत्वको कार्यसमितिका एक पदाधिकारीले सेतोपाटीलाई बताए।
'अर्को अधिवेशन नभएसम्म दुवै कार्यसमितिका पदाधिकारी र सदस्यलाई स्विकार्ने प्रस्ताव गरेका छौं। स्टेरिङ कमिटीले निर्वाचन समिति अनुगमन समिति र सदस्यता वितरण समितिलाई पुनर्गठन गर्ने अनि एक महिनाको लागि सदस्यता खुलाउने समेत प्रस्ताव भएको छ,' ती पदाधिकारीले भने, 'थप सदस्यताका आधारमा नयाँ प्रतिनिधि चयन गरेर जनवरीमा १२ औं अधिवेशन गर्ने भनिएको छ।अधिवेशनमा दुवै अध्यक्षले उमेदवारी नदिने समेत प्रस्ताव भएको छ।'
ती पदाधिकारीका अनुसार संस्थापन पक्षले यसलाई स्विकारे पनि महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिमा एक मत हुन सकेको छैन। श्रेष्ठ नेतृत्वको कार्यसमिति एकताका लागि तयार नभएपनि आफुहरुले एकताको लागि ढोका खुला गरेर १२ औ अधिवेशन गर्ने उनले बताए।
'अध्यक्ष महेश श्रेष्ठ एकताका लागि तयार हुनुहुन्छ। उहाँको प्रयासलाई कार्यसमितिका सबैले साथ दिन्छन दिदैनन् भन्ने हो,' ती पदाधिकारीले भने,'विभिन्न पक्षकाहरु कार्यसमितिमा रहेकाले सहमति जुटाउन गाह्रो हुन्छ कि भन्ने चिन्ता हो।'