कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ।
यसका लागि नेपाल सरकारले कतार सरकारलाई आभार व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कतार सरकारको यो कदम मानवीय आधारमा गरिएको उद्धार निर्णय भएको उल्लेख गरिएको छ।
मन्त्रालयले कतारी अमिरले दिएको आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दपूर्ण सहकार्य थप प्रगाढ भएको प्रतीकका रूपमा मूल्यांकन गरेको छ।
विज्ञप्तिमा भनिएको छ, 'मानवीय आधारमा प्रदान गरिएको यो क्षमादानले नेपाल र कतार राज्यबीचको मित्रता तथा आपसी समझदारी अझ सुदृढ भएको स्पष्ट संकेत गर्दछ।'
परराष्ट्र मन्त्रालयका अनुसार कतारमा कार्यरत ठूलो संख्यामा रहेका नेपाली कामदार तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायका लागि यस्तो मानवीय कदमले सकारात्मक सन्देश दिएको छ।
साथै, यसले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।