अफ्रिकाको युगान्डास्थित रूपारेलिया फाउण्डेसनको आर्थिक सहयोगमा कैलालीको महेन्द्र शिशु माध्यमिक विद्यालयमा आधुनिक पुस्तकालय सञ्चालनमा आएको छ।
युगान्डाका लागि नेपालका मानार्थ वाणिज्यदूत तथा अफ्रिकाका उद्योगपति सुधीर रूपारेलिया अध्यक्ष रहेको फाउण्डेसनले पुस्तकालय स्थापनाका लागि पाँच हजार अमेरिकी डलर सहयोग गरेको हो।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित सो विद्यालयको पुस्तकालयमा १० हजारभन्दा बढी पुस्तक सहितको इ–लाइब्रेरी र पाठ्यपुस्तक सहितको आधुनिक पुस्तकालय सञ्चालनमा आएको हो।
साहित्यकार स्वर्गीय गगनसिंह थापाको स्मृतिमा सञ्चालित गगन फाउण्डेसनको संयोजनमा स्थापना गरिएको उक्त पुस्तकालय विद्यार्थी र शिक्षकको पठन–पाठन, अध्ययन–अध्यापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले पुस्तकालय सञ्चालनमा ल्याइएको हो।
पुस्तकालयमा राखिएका चार हजारभन्दा बढी नयाँ पाठ्य सामग्री सहितका पुस्तकहरू तथा ई–लाइब्रेरीमार्फत १० हजारभन्दा बढी पुस्तकहरूले विद्यार्थीहरूलाई थप अध्ययनमा मद्दत पुग्नेछ।
पुस्तकालयलाई आधुनिक रूपमा व्यवस्थित गर्न नेपाल लाइब्रेरी फाउण्डेसनले प्राविधिक सहयोग प्रदान गरेको हो।
पुस्तकालय सञ्चालनका लागि विद्यालयमा एक हप्तादेखि शिक्षक तथा कर्मचारीलाई पुस्तकालय व्यवस्थापन, ई–लाइब्रेरी सञ्चालन र डिजिटल स्रोत प्रयोग सम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिएको थियो।
पुस्तकालयको उद्घाटन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बालबालिकाको भविष्य उज्यालो बनाउन पुस्तकालयले थप सहयोग पुग्ने बताए।
कार्यक्रममा बोल्दै गगन फाउण्डेसनका संरक्षक हिक्मत थापाले आफूले अध्ययन गरेको विद्यालयमा पुस्तकालय स्थापना गर्न पाउँदा खुसी लागेको बताए।