दुई जना विद्यार्थीले उज्वेकिस्तानको इन्टरनेसनल युनिभर्सिटीका लागि एमबिबिएसको पूर्ण छात्रवृत्ति पाएका छन्।
छात्रवृत्ति पाउनेमा २१ वर्षीया भावना रेग्मी र २१ वर्षीय सचिन कुमार प्रजापति छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसिया इन्टरनेसनल युनिभर्सिटीको सम्झौता अनुसार दुई जना विद्यार्थीले छात्रवृत्ति पाएका हुन्।
बिहीबार एनआरएनए कार्यालयमा आयोजित एक कार्यक्रमको बीचमा रेग्मी र प्रजापतिलाई छात्रवृत्ति हस्तान्तरण गरिएको हो।
एनआरएनएका अनुसार एमबिबिएस छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, होस्टल शुल्क, भोजन शुल्क, भिसा शुल्क, बीमा शुल्क तथा नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्न भएपछि नेपाल फर्किने हवाईजहाजको भाडा (एक पटकका लागि) एसिया इन्टरनेसनल युनिभर्सिटीले व्यहोर्ने व्यवस्था गरिएको छ।
एनआरएनए र एसिया इन्टरनेसनल युनिभर्सिटीको सम्झौता अनुसार अध्ययन अवधिमा कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च सम्बन्धित विद्यार्थी स्वयंले व्यहोर्नुपर्नेछ।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले एसिया इन्टरनेसनल युनिभर्सिटी, उज्बेकिस्तानबाट अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले उपलब्ध गराएमा वा तोकेको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्नुपर्ने शर्त राखिएको छ।
यस सम्पूर्ण प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेको भन्दै एनआरएनए केन्द्रीय सदस्य तथा विश्वविद्यालयका डिन डा.किशान भण्डारीलाई एनआरएनएले विशेष धन्यवाद समेत भनेको छ।